बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
काठमाडौं — चालु आर्थिक वर्ष २०८२/०८३ मा नेपालको आर्थिक गतिविधि प्रदेशअनुसार असन्तुलित देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रादेशिक लेखा तथ्यांकअनुसार बागमती प्रदेशले सबैभन्दा उच्च आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ भने मधेस प्रदेशको वृद्धिदर सबैभन्दा कमजोर रहने देखिएको छ।
कार्यालयका अनुसार चालु आवमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। उपभोक्ताको मूल्यमा आधारित राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। यसमध्ये बागमती प्रदेशको वृद्धिदर ५.४० प्रतिशत पुग्ने अनुमान छ, जुन राष्ट्रिय औसतभन्दा उल्लेख्य रूपमा बढी हो।
विपरीत अवस्थामा मधेस प्रदेशको आर्थिक वृद्धि केवल १.३१ प्रतिशतमा सीमित रहने प्रारम्भिक अनुमान गरिएको छ। गत वर्ष मधेसको वृद्धिदर ४.४३ प्रतिशत रहेकामा यस वर्ष तीव्र गिरावट आएको देखिन्छ।
बागमतीको अर्थतन्त्र सबैभन्दा ठूलो
प्रदेशगत जीडीपीको हिसाबले पनि बागमती अग्रस्थानमा रहेको छ। चालु आवमा बागमतीको अर्थतन्त्र २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जसले राष्ट्रिय अर्थतन्त्रमा करिब ३६.७ प्रतिशत योगदान गर्नेछ।
त्यसपछि कोशी प्रदेशको अर्थतन्त्र १० खर्ब ४३ अर्ब रुपैयाँ, लुम्बिनीको ९ खर्ब ३७ अर्ब, मधेसको ८ खर्ब ६३ अर्ब, गण्डकीको ५ खर्ब ९३ अर्ब, सुदूरपश्चिमको ४ खर्ब ६४ अर्ब र कर्णालीको २ खर्ब ७७ अर्ब रुपैयाँ रहने अनुमान छ।
वार्षिक वृद्धिदरका आधारमा गण्डकी प्रदेश ५.०१ प्रतिशतसहित दोस्रो स्थानमा देखिएको छ। सुदूरपश्चिमको वृद्धिदर ३.२८ प्रतिशत, कोशीको ३.१३ प्रतिशत, कर्णालीको २.९४ प्रतिशत र लुम्बिनीको २.८७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
कृषि अझै अधिकांश प्रदेशको आधार
औद्योगिक वर्गीकरणअनुसार बागमतीबाहेक सबै प्रदेशको अर्थतन्त्रमा कृषिको योगदान सबैभन्दा बढी रहेको देखिएको छ। बागमतीमा भने थोक तथा खुद्रा व्यापार मुख्य आर्थिक गतिविधिका रूपमा देखिएको छ।
कोशी र मधेस प्रदेशमा व्यापार क्षेत्र दोस्रो ठूलो योगदानकर्ता बनेको छ। बागमतीमा घरजग्गासम्बन्धी कारोबार सेवाले दोस्रो स्थान ओगटेको छ। गण्डकी र कर्णालीमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र महत्वपूर्ण योगदानकर्ताका रूपमा देखिएका छन् भने लुम्बिनी र सुदूरपश्चिममा शिक्षा क्षेत्र दोस्रो ठूलो हिस्सामा रहेको छ।
त्यसैगरी प्रशासनिक सहयोगी सेवा, खानी तथा उत्खननजस्ता क्षेत्र अधिकांश प्रदेशमा कमजोर देखिएका छन्।
विद्युत् र ग्यास क्षेत्रमा उच्च वृद्धि
राष्ट्रिय स्तरमा सबैभन्दा तीव्र वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा हुने अनुमान गरिएको छ। यसको वृद्धिदर २०.९३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि यही क्षेत्रले सबैभन्दा उच्च वृद्धि गर्ने अनुमान छ। कर्णाली र सुदूरपश्चिममा भने वित्तीय तथा बिमा सेवाले उच्च वृद्धि गर्ने देखिएको छ।
तर मधेस प्रदेशको कृषि क्षेत्र, साथै लुम्बिनी र सुदूरपश्चिमको सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा नकारात्मक वृद्धिदर रहने अनुमान गरिएको छ।
प्रतिव्यक्ति आयमा पनि बागमती अगाडि
प्रतिव्यक्ति जीडीपीको हिसाबले पनि बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ। चालु आवमा बागमतीका नागरिकको औसत प्रतिव्यक्ति आय २ हजार ६ सय ४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
राष्ट्रिय औसत प्रतिव्यक्ति जीडीपी १ हजार ५ सय १३ अमेरिकी डलर रहने अनुमान छ।
प्रदेशगत रूपमा गण्डकीको प्रतिव्यक्ति आय १ हजार ६ सय ५१ डलर, कोशीको १ हजार ४ सय १०, लुम्बिनीको १ हजार २ सय ८, सुदूरपश्चिमको १ हजार १ सय ७०, कर्णालीको १ हजार १ सय ८ तथा मधेसको सबैभन्दा कम ९ सय ३४ अमेरिकी डलर रहने अनुमान गरिएको छ।
विश्लेषकहरूले प्रदेशगत आर्थिक असमानता अझै गहिरिँदै गएको संकेत यी तथ्यांकले दिएको बताएका छन्। विशेषगरी मधेस प्रदेशमा कृषि उत्पादन, लगानी र रोजगारी विस्तारमा चुनौती देखिएकाले आर्थिक वृद्धि सुस्त बनेको विश्लेषण गरिएको छ।
सम्बन्धित समाचार
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply