आराम पुगेन : चिकित्सक
२७ दिनपछि गत शनिबार म्याक्स अस्पतालबाट डिस्चार्ज गर्दा केपी ओलीलाई डाक्टरले दिएको सुझाव छ– ‘आराम गर्नुहोस् ।’ त्यसका लागि भेटघाट कम गर्नुपर्छ । तर, दक्षिण दिल्लीको सुल्तानपुरस्थित इम्पायर अपार्टमेन्टको तेस्रो तलाको ३ सय २ नम्बर कोठामा पुग्दा लाग्छ– यो ओली–निवास बालकोट नै हो ।
आइतबार साढे ११ बजे बुधबार प्रतिनिधि त्यहाा पुग्दा ओलीलाई भेट्न करिब एक घन्टा प्रतीक्षा गर्नुपरेको थियो । एमाले केन्द्रीय सदस्य देवराज भार भर्खर भित्रबाट निस्किएका थिए भने भित्र झापाका कार्यकर्ता कुन्दन भट्टराईको जोडीले कुराकानी गरिरहेको थियो । त्यसपछि पालोमा थिए– बाँकेका डा. केशव सुवेदी । बिहानैदेखि मानिसहरूको बाक्लो उपस्थिति सुरु भइहाल्छ । ओलीको स्वभाव नै छ– कुरा गर्न थालेपछि आगन्तुकलाई जान भन्नुहुन्न । त्यही कारण उहााकी पत्नी राधिका शाक्यले अलि कडा हुनुपरेको छ । ‘बसेर कुरा गर्न थाल्दा गरेको गर्यै गर्नुहुन्छ’– राधिकाको अनुभव छ– ‘त्यही भएर आफैं बसेर कुराकानी छोट्याउने गरेकी छु । तर, पनि, टाढा–टाढाबाट शुभेच्छा बोकर आइपुगेकालाई नभेटाई फर्काउने कुरा भएन, जुन कुरा उहाा स्वयम्लाई मन पर्दैन ।’
१५ दिन काठमाडौंस्थित ग्रान्डी र २७ दिन दिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा बस्दा, लगातार औषधि खाादा, स्लाइन चढाउादा र बायप्सी जााचका लागि शरीरको मासु निकाल्दा ओलीको शरीर शिथिल बनेको छ । पहिलादेखि नै खानमा त्यति रुचि नदेखाउने ओलीलाई अहिले झन् खान मन लाग्दैन । पछिल्लो पटक बायप्सी जााचका लागि मासु निकाल्दा त्यसको असर बढी परेको छ । ओलीले बुधबारसँग भन्नुभयो– ‘बायप्सी गर्ने भनेको शरीरभित्र इनार खनेर मासु निकाल्ने काम हो । त्यसले अलि दु:ख दिएको छ ।’
प्रत्यारोपण गरिएको मिर्गाैलालाई शरीरले बाहिरी अंग भनेर नसहने भएका कारण मिर्गौला बचाउन शरीरलाई लठ्याउनका लागि औषधि दिइन्छ । त्यही कारण शरीरको प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएका कारण संक्रमण छिटो हुने गर्दछ । ओलीलाई पनि यस्तै भएको चिकित्सकको भनाइ छ । बाहिर हिँड्दा र भेट्दा त्यस्तो संक्रमण छिटो हुन्छ । कोठामै आराम गरिरहँदा पनि एसीका कारण ओलीलाई हाच्छ्युँ आइरहेको थियो । ‘यो एसी पनि सीधा अगाडि पर्यो’– ओलीले भन्नुभयो– ‘चिसो लागिहाल्छ ।’
भेट्न आउने शुभेच्छुकसँग ओली आफ्नो चिरपरिचित शैलीमा ठट्टा गर्न खोज्नुहुन्छ, हँसाउन खोज्नुहुन्छ । तर, शिथिल शरीरले त्यस्तो अनुमति दिएको छैन । ‘सब ठीक हुन्छ’– ओलीको आत्मविश्वास छ– ‘बीचमा चुनाव आदि भएका कारण अलि धपेडी भएको हो, त्यसकारण अलिकति अप्ठेरो भयो, अब त्यस्तो हुँदैन ।’ ओलीको एउटा हात सुन्निएको छ भने अर्को हातबाट पटक–पटक स्लाइन दिँदा यसै बिरामी जस्तो भएको छ ।
सात वर्ष पहिला दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराइएपछिको ओलीको यो सबभन्दा लामो अस्पताल बसाइ हो । पत्नी राधिकाको सदाबहार गुनासो छ– ‘भेटघाट नै धेरै भयो, लापरबाही भयो । उहाँलाई कति भन्छु, मान्ने होइन ।’ मान्नु पनि कसरी ? नेता भएपछि मानिसहरू भेट्न आउने नै भए, आएपछि कुराकानी गर्नैपर्यो । तर, समयको ख्याल नगरेर लामो–लामो कुरा गर्नमा भने रोक लगाउन स्वास्थ्यले बाध्य पारेको छ ।
अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने युरोलोजिस्ट डा. अनन्तकुमार र नेफ्रोलोजिस्ट डा. दिनेश खुल्लरले म्याक्स अस्पतालमा ओलीको उपचार गरेका थिए । ओलीको प्रोस्टेटको अपरेसन गरिएको छ । अस्पतालबाट डिस्चार्ज भए पनि केही समय अब्जरभेसनमा राख्नुपर्ने र नियमित अस्पताल जानुपर्ने भएका कारण ओली कम्तीमा दुई साता जति दिल्लीमै रहनहुनेछ । मंगलबार भएको फलोअप परीक्षण सन्तोषजनक रहेको डा. अनन्तकुरमाले बताउनुभयो । बुधबारसँग अस्पतालमै कुरा गर्दै डा. कुमारले भन्नुभयो– ‘उहाँलाई ठीक भएको छ । खाली रिकभरीका लागि हामीले अब्जरभेसनमा राखेका छौं । नेपाल फर्किनुभयो भने भाषण, भेटघाट र कुराकानी सुरु भइहाल्ला भनेर अलि आरामका लागि यतै रहन भनेका हौं ।’ उहाँका अनुसार ओलीको मुख्य समस्या नियमितताको कमी हो । मिर्गौगाको बिरामीले औषधि, खानपिन, भेटघाट, दौडधुप सबै निश्चित रूपमा मात्रै गर्नुपर्नेमा त्यसो नभएकाले समस्या आएको उहाँको भनाइ छ ।
अहिले परिवारलाई लागेको छ– बिरामी पर्नासाथ ग्रान्डी अस्पताल लैजानुको साटो सिधै दिल्ली ल्याएको भए छिटो निको हुने रहेछ । किनभने, ग्रान्डीमा बाइप्सी जस्तो शरीरलाई असर गर्ने परीक्षण एक पटक गरेपछि केही पत्ता लागेन, फेरि गर्नुपर्यो भनिएको थियो । म्याक्समा पनि दायाँ हात सुनिनुको कारण पत्ता लगाउन अप्ठेरो परेको थियो । ओलीको मिर्गाैलामा भने कुनै समस्या नरहेको डा. अनन्तकुमारले बताउनुभएको छ ।
आइतबार साँझ वरिष्ठ नेता माधवकुमार नेपालसँग ओलीले आधा घन्टाभन्दा बढी कुराकानी गर्नुभएको थियो । लामो समय अस्पताल बस्नुपर्दा पनि ओली राष्ट्रिय राजनीतिका बारेमा उत्तिकै चिन्तित र अद्यावधिक हुनुहुन्छ । ओलीलाई साना–साना कुराको पनि जानकारी छ । दुई नेताबीच स्वास्थ्यका अलावा राष्ट्रिय राजनीतिकै बारेमा धेरै कुरा भएको थियो । ओलीलाई भेट्नै लागि एअर इन्डियाको उडानबाट आइतबार साँझ छ बजे दिल्ली उत्रिनुभएका नेपाल सिधै सुल्तानपुरस्थित इम्पायर अपार्टमेन्ट पुग्नुभएको थियो । त्यहाँबाट बाह्रखम्बास्थित नेपाली दूतावास पुगेर रात बिताउनुभएका नेपाल दिउँसो साढे १२ बजेको उडानबाट नेपाल फर्किनुभएको थियो ।
क–कसले भेटे ?
कतिपय नेता र शुभेच्छुक नेता ओलीलाई भेट्नै भनेर नेपालबाट आएका छन् भने कतिपयले कामको सिलसिलामा यतै आएको बेला भेटेर फर्केका छन् । उपप्रधानमन्त्री वामदेव गौतम, स्वास्थ्यमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री कर्णबहादुर थापा, कांग्रेस नेता प्रदीप गिरी र रमेश लेखक, पूर्वसचिव बृन्दा हाडा र गोविन्द कुसुम, युवा संघका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष निरु पाल, सभासद् मनकुमार गौतमलगायत अस्पतालै पुगेका थिए । त्यसैगरी, ओलीलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल, संविधानसभाको निर्वाचनमा तनहुँबाट प्रत्यासी रहेका किसान श्रेष्ठ, झापाबाट प्रत्यासी रहेका एलपी सावाँ, डा. उपेन्द्र कोइराला, ह्वाइट हाउस कलेजका सञ्चालक युवराज शर्मा, पत्रकार कनकमणि दीक्षितलगायतले पनि भेटेका थिए ।
नेता ओलीलाई भेट्न नेपाली उद्यमीहरू पनि अस्पताल नै पुगेका थिए । उद्योगपति विनोद चौधरी, उपेन्द्र कोइराला, सीपी खेतान, उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले पनि ओलीलाई भेटेका थिए ।
भारतीय नेताद्वारा पनि शुभेच्छा
नेता ओलीलाई भेटेर स्वास्थ्यलाभको शुभेच्छा प्रकट गर्न भारतीय नेताहरू पनि अस्पताल पुगेका थिए । सत्तारुढ कांग्रेस आईका महासचिव दिग्विजय सिंह, विदेश विभाग प्रमुख डा. करण सिंह, विपक्षी भाजपाका उपाध्यक्ष भगवतसिंह कोसियारी, विदेश विभाग प्रमुख विजय जोली, राष्ट्रवादी कांग्रेसका महासचिव डीपी त्रिपाठी, उत्तराखण्डका सांसद अजित कुमारका साथै राहुल बरुवा, विजय प्रताप, भारतीय विदेश मन्त्रालयका सहसचिव अभय कुमारलगायतले भेटेका थिए ।
नेपाली दूतावासले पनि ओलीको उपचारमा सक्दो सहयोग गरेको छ । कार्यबाहक राजदूत खगनाथ अधिकारी आफ्नो टोली लिएर बेला–बेलामा अस्पताल पुग्ने गर्दछन् भने अरू कर्मचारीले पनि व्यक्तिगत रूपमा समेत चासो राखिरहेका छन् । नेपालमा ओलीको उपचारमा संलग्न डाक्टरद्वय कैलाश भण्डारी र दीलिप शर्मा पनि गत साता दिल्ली आउनुभएको थियो । ओलीसँग उहाँकी पत्नी राधिका त हुनुहुने नै भयो, सहयोगीका रूपमा राजेश बज्राचार्य साथमै हुनुहुन्छ भने दिल्लीमा प्रवासी नेता युवराज बाँस्कोटाले नियमति साथ दिनुभएको छ । ओलीलाई गत फागुन १८ गते दिल्ली ल्याइएको थियो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply