राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक युक्रेनको पक्षमा
१९ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन्।
रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्नेसम्बन्धी संयुक्त राष्ट्रसंघको आपतकालीन महासभामा प्रस्तुत प्रस्तावका पक्षमा नेपालले पनि मतदान गरेको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले पक्षमा मतदान गरेको हो। अमेरिकालगायत पश्चिमा मुलुकसँगै नेपाल पनि युक्रेनमा रुसले गरिरहेको सैन्य आक्रमणको विरोधमा उभिएको हो।
संयुक्त राष्ट्रसंघ महासभाका १९३ सदस्य देशमध्ये नेपालसहित १४१ वटाले प्रस्तावका पक्षमा मत हालेका हुन्। उक्त प्रस्तावमा रुसले युक्रेनमा जारी राखेको हमला रोकिनुपर्ने माग छ। युक्रेन मामिलामा विश्वका मुलुक विभाजित देखिएका छन्। अमेरिका र उसका गठबन्धनमा रहेका मुलुकले रुसको कडा विरोध गर्दै युक्रेनका पक्षमा वकालत गरिरहेका छन्। जसमा नेपाल पनि सहभागी भएको हो।
रुससँग रणनीतिक समन्धमा रहेका मुलुकले उसलाई नचिढ्याउने नीति लिएका छन्। जसमा नेपालका दुई छिमेकी चीन र भारतसमेत छन्। उनीहरुले बुधबार भएको मतदानमा अनुपस्थित रहेर आफूहरू रुसविरुद्ध नरहेको सन्देश दिएका छन्।
त्यसैगरी युक्रेन मामिलामा रुसले लिएको अडानमा थोरै मात्र देशले समर्थन गरेका छन्। नेपालका दुई छिमेकी चीन र भारत मतदानमा अनुपस्थित रहे भने रुस, सिरिया र बेलारुसलगायतले प्रस्तावका विपक्षमा मत दिए।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यसमेत रहेको रुसलाई कूटनीतिक रुपमा एक्ल्याउने पश्चिमा मुलुकको रणनीतिअनुसार प्रस्ताव पेस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९८२ पछि पहिलोपटक संयुक्त राष्ट्रसंघको आपतकालीन महासभा बैठक बसेको हो। यस्तो बैठक विशेष अवस्थामा मात्र बोलाइन्छ।
एक साताअघि पनि नेपालले युक्रेनका पक्षमा मत दिएको थियो। युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा भएको मतदानमा नेपाल युक्रेनका पक्षमा उभिएको हो। स्विट्जरल्यान्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाललगायत २९ देशले युक्रेनका पक्षमा मतदान गरेका हुन्।
ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषदमा आपतकालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका थिए। नेपाल पनि अहिले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य हो।
४७ सदस्यीय काउन्सिलमा युक्रेनका पक्षमा मतदान गर्ने २९ मुलुकको सूचीमा बेलायत, जर्मनी, फ्रान्स, जापान, नेदरल्यान्ड, कतार र दक्षिण कोरियालगायत छन्। यी देश अमेरिकी धुरीका मानिन्छन्। यी मुलुकसँगै नेपालले पनि युक्रेनका पक्षमा मत हालेको हो।
परराष्ट्र मन्त्रालयले गत साता विज्ञप्ति जारी गरी युक्रेनमा रुसको हस्तक्षेपको विरोध गरिसकेको छ। त्यस्तै रुसनिकट मानिने क्युबा, इरियाट्रिया र भेनेजुएलाले युक्रेनका विपक्षमा मत हालेका छन्।
रुसले एक सातादेखि जारी राखेको सैन्य आक्रमणले युक्रेनको राष्ट्रिय सुरक्षा संकटमा परेको छ। अमेरिका र पश्चिमा मुलुकले युक्रेनलाई थप हतियार पठाइरहेका छन्। युक्रेनले अमेरिकी धुरीको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिने प्रयास गरेपछि रुस चिढिएको हो। युक्रेनलाई नेटोको सदस्य हुनबाट रोक्न रुसले त्यहाँ सैन्य हमला गरिरहेको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply