वैचारिक बहसमा ओली पक्ष रक्षात्मक
फरक मत नल्याउने
काठमाडौं । अहिले एमालेमा नेपाली समाज कुन अवस्थामा छ भन्नेमा चर्को बहस छ । पुष्पलालको नेतृत्वमा २००६ वैशाख १० गते कम्युनिस्ट पार्टी स्थापना गर्दा गरिएको विश्लेषण अनुसार नेपाल अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ वा माक्र्सवाद स्वयम्ले परिकल्पना गरेअनुरूप यसले पुँजीवादतिर पाइला हालेको छ ? नेतादेखि कार्यकर्तासम्म यही बहसमा भाग लिइरहेका छन् ।
यस बहसको केन्द्रमा छन्, एमालेका युवा नेता घनश्याम भुसाल । पार्टीमा खास जिम्मेवारी नपाउँदा पनि नेपाली समाजको अवस्थाका बारेमा विमर्शमा संलग्न रहँदै आएका भुसाल नै यस्ता नेता हुन्, जसले पहिलो पटक एमालेमा समाजको विश्लेषणका बारेमा फरक मत राखेका थिए । भुसालले अनेक तथ्य, तथ्यांक र विश्लेषणहरू अघि सार्दै नेपाली समाज पुँजीवादमा प्रवेश गरेको र त्यसका पनि विभिन्न चरणमध्ये अहिले दलाल पुँजी रहेको विश्लेषण अघि सार्दा सुरुमा धेरैलाई त्यति गम्भीर विषय लागेको थिएन । अघिल्लो महाधिवेशनमा उनले आफ्ना केही साथीहरूसँग मिलेर पूरक मतका रूपमा प्रस्ताव नै पेस गरेका थिए । त्यतिबेला झलनाथ खनाललाई सघाएका भुसालले आफ्नो मत स्थगित राखेका थिए । तर, पछि बसेको केन्द्रीय कमिटीको बैठकले उनको प्रस्ताव बमोजिम नेपाली समाजको वर्ग विश्लेषण गर्न केशव बडालको संयोजत्वका कार्यदल बनाए पनि सहकारीमै व्यस्त बडालले त्यो काम गर्न भ्याएनन् । तर, भुसाल स्वयम् भने आफ्नो मतलाई बलियो बनाउन निरन्तर सक्रिय देखिन्थे । अहिले एमाले अध्यक्ष झलनाथ खनालले आधिकारिक रूपमै आफ्नो दस्तावेजमा उक्त कुरा ल्याएका छन्, जसलाई वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थन छ ।
ओली पक्ष रक्षात्मक
विचारका मामिलामा ‘कसैसँग सम्झौता नगर्ने’ भन्न रुचाउने केपी ओली पक्षीय नेताहरू यतिबेला रक्षात्मक बनेका छन् । स्वयम् नेता ओलीले उखान टुक्का प्रयोग गरेर नेतृत्वको दाबी गर्नु र वरिष्ठ नेता नेपाललाई होच्याउनुबाहेक सैद्धान्तिक विषयमा मुख खोलेका छैनन् । दुई साताअघि बानेश्वरको अल्फाबिटामा विचार बुझाउनका लागि आयोजना गरिएको पत्रकारहरूसँगको भेटघाटका क्रममा त्यस समूहका विचारकका रूपमा प्रस्तुत भइरहेका शंकर पोखरेलले एक घन्टा बोलेकोमा ५० मिनेट भुसालकै विरोधमा खर्च गरे । अहिले ओली पक्षसँग कुनै नयाँ विचार छैन । त्यही भएर भुसालले अघि सारेको विचारको खण्डन र आलोचनामै ओली समूहको सम्पूर्ण समय खर्च भइरहेको छ ।
ओली समूहले ००६ सालमा पुष्पलालले अघि सारेको मान्यतालाई नै बोकेका कारण त्यससँग नजिक रहेका नेता–कार्यकर्तालाई पनि मन परेको छैन । जस्तो, ओलीलाई अध्यक्ष बनाउने भन्दै कस्सिएका उपाध्यक्ष वामदेव गौतमले गत मंगलबार सभागृहमा आयोजित सार्वजनिक कार्यक्रममै घोषणा गरे– ‘यस्ता विचारले पार्टी चलाउन सकिँदैन ।’ अरू धेरै नेता–कार्यकर्ता पनि यस्तो पुरानो र यथास्थितिवादी विचारसँग सहमत छैनन् ।
झलनाथलाई झुक्याउन असफल
अध्यक्ष झलनाथ खनाललाई घारघुर पारेर आफू अनुकूल अर्धसामन्तीवाला दस्तावेज ल्याउने र अर्थसामन्ती समाज छैन भन्नेलाई अल्पमत भनेर पेल्ने ओली पक्षको योजना असफल भएको छ । दस्तावेज मस्यौदा समितिको बैठकमा उठेका विषयहरूका आधारमा अध्यक्ष खनाल र महासचिव ईश्वर पोखरेललाई मस्यौदा गर्ने जिम्मा दिइएको थियो । कता लागेमा फेरि जित्न सकिएला भनेर चिन्तित रहेका पोखरेलले ‘म ड्राफ्ट गर्छु, अनि फाइनल गरौँला’ भनेपछि मस्ताराम स्वभावका अध्यक्ष खनालले धेरै पर सोच्ने कुरा भएन र ‘हुन्छ’ भनिदिए । तर, चलाखीपूर्वक पोखरेलले त्यो मस्यौदा गर्ने जिम्मा भाषामा लिपापोती गर्ने कला भएका प्रदीप ज्ञवालीलाई दिए । कुनै बेला राजतन्त्रका मामिलामा ओलीलाई दक्षिणपन्थी भन्दै आलोचना गरे पनि अहिले सामन्तवादवाला लाइनका कडा पक्षपोषक रहेका ज्ञवालीले त्यही अनुकूल मस्यौदा गर्ने नै भए । अनि अभिनयमा पोख्त पोखरेलले ‘भैगो नि त, यहाँ सबैका विचार आइसके, अब केन्द्रीय कमिटीमै छलफल गरौँला’ भनेर त्यही प्रतिवेदन पारित गराउन खोजेका थिए । तर, अरू काममा त्यति ढंग नपुगे पनि पढ्ने–लेख्ने मामिलामा एमालेमा सबभन्दा माथि मानिने अध्यक्ष खनालले त्यो कुरा मानेनन् र एक पटक म सम्पादन गर्छु भनेर रोके । स्थायी समितिको बैठकमा पनि पोखरेलले त्यही प्रतिवेदन पारित गराउन कोसिस गरेका थिए । तर, अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमले नमानेपछि त्यो प्रयास पनि असफल भएको थियो ।
जब अध्यक्ष खनालले सम्पादन गर्न सुरु गरे, त्यसपछि मात्रै उनी छाँगाबाट खसेझैँ भए । त्यहाँ त उनका नाममा उनी स्वयम्ले विरोध गर्दै आइरहेको पुरानो विचारलाई भाषाको लिपापोती गरेर ल्याइएको रहेछ । अनि उनले त्यसलाई पूरै डिलिट गरे र घनश्याम भुसालहरूले उठाउँदै आएको धारणालाई स्थान दिए । अहिले मस्यौदा समितिको बैठकमा के भनेर बोल्ने भनेर ओली पक्षका नेताहरूलाई सकस परिरहेको छ ।
ओली पक्षले फरक मत नल्याउने
विचारभन्दा नेतृत्वमा जोड दिइरहेको ओली पक्षले आफू संस्थापन हुने गरी विचार ल्याउन गरेको प्रयास असफल भए पनि अर्को विचार ल्याउन भने नसक्ने भएको छ । मस्यौदा कमिटीको चलाखी काम नलागेपछि त्यस समूहका नेताहरू ‘माक्र्सवाद–लेनिनवाद सबैले मानेकै छन्, जनताको बहुदलीय जनवादको लाइनमा अघि बढ्ने हो । त्यस क्रममा समाज यहाँनेर छ कि त्यहाँनेर छ भनेर किन गलफत्ती गर्नु ?’ भन्दै पन्छिन थालेका छन् । शंकर पोखरेलले गत शनिबार एउटा कार्यक्रमा त्यस्तै रक्षात्मक अभिव्यक्ति दिएर विचारको बहसलाई पन्छाउने संकेत दिए ।
विचारका मामिलामा ओली समूह एमाले स्पष्ट अल्पमतमा छ । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र ओलीलाई समर्थन गरिरहेका उपाध्यक्ष वामदेव गौतम विचारका मामिलामा एकै ठाउँमा छन् । विचारमा बढी बहस चर्काउँदा गौतमसँग दूरी बढ्ने भएका कारण सोचीविचारी ओलीका लागि उक्त समूहले विचारमा सौदाबाजी गर्ने नीति लिएको बुझाइ अर्को पक्षको छ ।
बहुदलीय जनवाद हतियार
ओली समूहले आफ्नो मुख्य सम्पत्तिका रूपमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादमा प्रतिलिपि अधिकार कायम राख्ने कोसिस गरिरहेको छ । गत शनिबार मनमोहन अधिकारीको स्मृतिमा आयोजित कार्यक्रममा शीर्ष नेताकै सामु भण्डारीकी पत्नी विद्याले मुखै खोलेर आफ्नो परिवारले ठूलो बलिदानी गरे पनि आफूले अध्यक्षमा दाबी नगरेर केपी ओलीलाई अघि सारेको बताइन् ।
विगतमा जनताको बहुदलीय जनवादप्रति आलोचक रहेका भुसाललगायतलाई देखाएर उक्त समूहले आक्रामक हुने नीति लिए पनि बहुदलीय जनवादले त्यतिबेला समेट्न नसकेका गणतन्त्र, संघीयता, समावेशिता जस्ता विषयलाई अस्वीकार गरेर जान सक्ने अवस्था छैन । त्यही भएर उक्त समूहले जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउनुपर्छ भन्ने कुराको खण्डन गर्न सकेको छैन ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply