एमालेमा सहमतिको ढोका बन्द !
काठमाडौं । आगामी असारको तेस्रो साताका लागि तोकिएको नेकपा (एमाले)को नवौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना टरेको छ । पार्टीभित्रको एक समूहले महाधिवेशन आउन ४२ दिन बाँकी छँदै सोमबार गुटका आधारमा पत्रकार सम्मेलनमार्फत अध्यक्षसहित प्रमुख पदाधिकारीको उम्मेदवारी घोषणा गरेपछि सहमतिको ढोका बन्द भएको हो ।
भावी अध्यक्षका रूपमा वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी ओलीले यसअघि नै अनौपचारिक रूपमा आ–आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । दुई नेता मिलाएर सर्वसम्मत नेतृत्व छान्ने समय महाधिवेशनको मञ्चमा पुग्दासम्म हुने भए पनि ओली समूहले नयाँ बानेश्वरस्थित होटल अल्फाबिटामा लन्चसहितको पत्रकार सम्मेलनमार्फत वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष र महासचिवमा एकलौटी उम्मेदवार घोषणा गरेको छ । रमाइलो कुरा त के छ भने विधानमा वरिष्ठ उपाध्यक्षको प्रावधान नै छैन । विधान परिर्वतन गर्दा पनि त्यसलाई महाधिवेशन प्रतिनिधिले अनुमोदन गर्नुपर्ने हुन्छ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षको प्रावधान पारित हुन्छ कि हँुदैन भन्न सकिन्न । तर, संसदीय दलको निर्वाचनका बेला गरिएको १० बर्से सम्झौतापत्र बमोजिम वामदेव गौतमको नाम अहिल्यै वरिष्ठ उपाध्यक्षका रूपमा घोषणा गरिएको छ । बाहिर–बाहिर सर्वसम्मत नेतृत्वको चर्चा गर्ने यो समूहले गरेको उम्मेदवारी घोषणले ऊ सर्वसम्मतिका लागि इमानदार नहरेको प्रतिक्रिया प्राप्त भएको छ ।
सो समूहबाट अध्यक्षका रूपमा अगाडि सारिएका नेता ओलीले नेपाल र भारतमा उपचार हुन नसकी बैंककमा उपचार गराइरहेकै बेला सोमबार विद्या भण्डारीले आफ्नो टिमको उम्मेदवारी घोषणा गरेकी हुन् । जसअनुसार, अरूलाई जंगबहादुर भनेर आरोपित गरे पनि १७ वर्षदेखि अखिल नेपाल महिला संघ कब्जा गरेकी भण्डारी स्वयम्ले उपाध्यक्ष छोड्ने कुरा भएन । त्यसैगरी, अहिले महासिचवका रूपमा कुनै प्रभावकारी काम गर्न नसकेका ईश्वर पोखरेल पनि दोहोरिने घोषणा गरिएको छ । सचिवमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र थममाया थापा आदिको नाम चर्चामा ल्याइएको छ ।
वरिष्ठ नेता नेपाललाई स्वीकार्न नसकिने कुरा तर्क गर्दा उक्त समूहले ‘पटक–पटक एउटै व्यक्तिलाई दोहोर्याउन नहुने’ कुरा कडा रूपमा उठाउँदै आएको छ । तर, उक्त समूहले प्रस्ताव गरेकामध्ये अध्यक्षमा प्रस्तावित ओलीबाहेक उपाध्यक्षमा प्रस्तावित गौतम र भण्डारी, महासचिवमा प्रस्तावित पोखरेल र सचिवमा प्रस्तावित पौडेल र पोखरेल सबैले पुरानै पदमा दोहोरिने योजना बनाएका छन् ।
ओली समूहको उम्मेदवारी घोषणाले सहमतिमा नेतृत्व चयनको सम्भावनालाई कमजोर बनाएको पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले टिप्पणी गरे । बुधबारसितको कुराकानीमा उनले भने– ‘महाधिवेशनको सन्दर्भमा महत्त्वपूर्ण कुरा भनेको विचार हो, विचारका सवालमा मस्यौदा कमिटीमा सहमति जुटेर केन्द्रीय कमिटीमा पनि सहमति जुट्ने विश्वास बढेका बेला यस्तो घोषणाले सर्वसम्मत् नेतृत्व चयनमा अप्ठ्यारो पार्छ’– उनले भने– ‘विचारमा सहमति जुट्नु भनेको नेतृत्वमा सहमति निर्माणका लागि पनि महत्त्वपूर्ण आधार हो । महाधिवेशनको मञ्चसम्म पुग्दा पनि सहमति निर्माणको गुन्जायस हुन्छ तर यस्ता कुराले सहमतिका साथ जाने कुरामा खतरा पैदा गर्छ ।’ विचार र पद्घतिका बारेमा पहिल्यै छलफल हुनु स्वाभाविक भए पनि अहिल्यै टिम घोषणा गर्ने कुराले अहिल्यैबाट पार्टीमा गुटबन्दी सिर्जना हुने अवस्था आउने उनको तर्क छ । सोमबारको भेलामा सहभागी पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली भने यो कुरा स्वीकार्दैनन् । अहिले उम्मेदवारी घोषणा भए पनि सहमति निर्माणका सन्दर्भमा यसमा पुर्नविचार हुनसक्ने उनले बताए । विचारको प्रश्नमा मस्यौदा कमिटीमा एकसरो छलफल भइसकेपछि नेतृत्वको व्यवस्थापनमा चर्चा हुनु स्वाभाविक भएको उल्लेख गर्दै उनले भने– ‘यो घोषणाले वैचारिक पक्ष ओझेलमा पर्ने र नेतृत्वको पक्ष प्रधान हुने हो कि भन्ने मात्र चिन्ता छ ।’ सहमतिका लागि सबै विकल्प अगाडि राखेर छलफल चलाउनुको सट्टा पार्टीमा एक खालको निषेधको प्रवृत्ति देखिएको र अरू जो कोही भए पनि हुन्छ तर अमूक व्यक्ति हुनु हँुदैन बरु ०३६ सालका नेतालाई दोहोर्याउनुपर्छ भन्ने कुरा एउटा समूहबाट जोडदार रूपमा अगाडि आएपछि यस्तो घोषणा गरिएको पनि ज्ञवालीले बताए । अहिले उम्मेदवारी घोषणा भए पनि आम कार्यकर्ताको चाहना सहमति नै होस् भन्ने रहेकाले प्रतिनिधि चयनको काम सकिएर महाधिवेशनसम्म आइपुग्दा सहमतिकै वातावरण बन्न सक्ने पनि उनले औंल्याए । मूल नेतृत्व पुरानो भए पनि हुने तर अरू पदाधिकारी दाहोरिनु नहुने भन्ने तर्कमा कुनै दम नभएको उल्लेख गर्दै उनले भने– ‘विधानले पनि दुई कार्यकाल भनेकाले यसलाई मुद्दा बनाउनुपर्ने म देख्दिनँ ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply