नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै
२५ चैत, नुवाकोट । नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो ।
गत बिहीबार मध्यरातमा देवीघाटस्थित जालपादेवी मन्दिर नुवाकोटका ८५ वर्षीय धामी हरिमानसिंह डङ्गोल र ८३ वर्षीया धमिनी ज्ञानुमायाँ डङ्गोल आज बिहान धरमपानी पुगेका छन् । भैरवी वर्षबन्धन–२०७९ को सिन्दुरे जात्राका लागि लच्याङका ३२ नोले, ६० डोकेको नेतृत्वमा स्थानीय, जात्रालु, तीर्थालु एंव सुरक्षाकर्मीसहितले जालपादेवी मन्दिर देवीघाटमा पुर्याइएको भैरवीदेवीको रथ शुक्रबार साँझ ‘फिर्ती सवार’ गराएर आज बिहानीपख धरमपानीमा पुर्याइएको छ ।
बिहीबार राति जालपादेवी मन्दिर पुग्नुभएका धामीसहितको लावालस्कर पनि शुक्रबार मध्यरातमा देवीघाटबाट नुवाकोटतर्फ फर्काइएको छ । देवीघाटबाट मध्यरातमा लाम बगैँचा, वाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हुँदै धर्मपानीमा पुगेर अहिले विश्राम गरिरहनुभएको नुवाकोट दरबार मौला अमालका द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।
जालपादेवी मन्दिरमा पुर्याइएको भैरवीदेवी, अष्टमात्रिकासहितको रथयात्राको स्थानीयवासीसहित तीर्थालु, जात्रालुले शुक्रबार साँझ जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए । धामीधमिनी सहितको लावलस्कर भने मध्येरातको सङ्कटासन्न समयमा जालपादेवी मन्दिरबाट नुवाकोटतर्फ फर्काइएको छ ।
उहाँ (धामी) लाई शक्ति स्वरुपमा भगवान भैरवीदेवीको प्रतीकका रुपमा गु्रजुको तान्त्रिकविधि चढाइएको हुन्छ, उनले भने, धामीले प्रत्यक्ष रुपमा भगवानसँग साक्षत्कारका क्रममा देवीदेवता साथमा लिएको (सल्बलाएको) हुन्छ, सोही कारण धामीलाई मध्यरातमा कोही कसैले नदेख्ने गरेर फर्काइन्छ । सिन्दुरे जात्रा सरकारी जात्राका रुपमा राष्ट्र प्रमुखको निर्देशनमा सञ्चालन हुने गर्दछ ।
धामीको नियुक्ति, कपडा परिवर्तन, जात्रा सञ्चालनको धार्मिकसहितको आर्थिक व्यवस्थापन राष्ट्र प्रमुखको कार्यालयबाट हुनेछ भने सिन्दुरे जात्राको क्रममा धामीले गर्ने भविष्यवाणी गोप्य रुपमा राष्ट्र प्रमुख समक्ष पठाउनु पर्दछ, द्धारे शाहीले भने, शाक्य सम्वत १६९०÷९१ को लालमोहरअनुसार चैतशुक्ल पूर्णिमाको राति भैरवीको रथयात्रासहित जालपादेवी मन्दिरमा धामीले भोग खाएपछि भलोमन्दो जे बोल्छ सो हाम्रा हजुरमा (राष्ट्र प्रमुख) जायर गर्नु भन्ने पृथ्वीनारायण शाहबाट लालमोहर जारी भएकाले सोहीअनुसार जात्रा सञ्चालन गरिन्छ ।
भक्तजन तथा जात्रालु, तीर्थालुले धामी–धमिनी एवं जालपादेवी र भैरवीदेवी मन्दिरको एकै स्थानमा दर्शन गर्न पाउने अवसर हरेक वर्ष चैत शुक्ल पूर्णिमाको अवसरमा जुर्ने गरेको छ । भैरवी वर्ष बन्धनअन्तर्गत मनाइने सिन्दुरे जात्रा सरकारी जात्रा भए पनि नुवाकोटवासीले साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मानका साथ मनाउने गरेका छन् । गत फागूपुर्णिमामा लिङ्गो काटेर सुरु भएको भैरवी वर्षबन्धनको मुख्य दिन आज सिन्दुर खेलेर मनाए पनि लिङ्गो बिसर्जन लगायतका बाँकी धार्मिक विधि र प्रक्रिया दशमी (आगामी वैशाख २ गते) सम्म चल्नेछ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply