कसले रोक्यो डीआईजी बढुवा ?
काठमाडौं । कुनै अधिकारीले नपाएको अधिकार प्रयोग गर्यो भने त्यसलाई अख्तियार दुरुपयोग मानिन्छ । तर, कानुनले दिएको अधिकार पनि प्रयोग गरेन भने त्यसलाई के भन्ने ? प्रहरी मुख्यालयमा अहिले यस्तै चर्चा हुने गरेको छ ।
प्रहरी नियमावलीले डीआईजी बढुवाका लागि सिफारिस गर्न गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक र प्रशासन हेर्ने एआईजी सदस्य रहने सिफारिस समिति रहने व्यवस्था गरेको छ । त्यसको सिफारिसमा मन्त्रीस्तरीय निर्णयबाट डीआईजीमा बढुवा गर्ने व्यवस्था पनि नियमावलीमा छ । तर, गृहमन्त्री वामदेव गौतम र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच क–कसलाई बढुवा गर्ने भन्नेमा कुरा नमिल्दा दुई महिनादेखि चार डीआईजी रिक्त छन् । यसो हेर्दा चार जना त हो भन्ने लागे पनि चार जनाको बढुवा रोकिएको असर तलसम्म पर्दा डेढ सयभन्दा बढी प्रहरी अधिकारीहरू मर्कामा परेका छन् । चार डीआईजीको बढुवा हुनासाथ २२ जना एस्एस्पीमा, ३२ जना एस्पीमा, ४२ जना डीएस्पीमा र ६२ जना निरीक्षकमा बढुवा हुने बाटो खुल्छ । शान्ति–सुरक्षाको जिम्मा लिएर फिल्डमा खटिनुपर्ने प्रहरी अधिकारीहरू आफ्नै बढुवा कहिले होला, होला कि नहोला भन्ने चिन्तामा रहनुपरेपछि त्यसको असर सुरक्षा निकायमा पर्ने नै भयो ।
प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले प्रहरी सम्मेलनका कारण व्यस्त भएकाले बढुवा समितिको बैठक बोलाउन ढिलाइ भएको बताए । ‘आईजी साब, यसैमा व्यस्त हुनुहुन्छ, प्रहरी सम्मेलन सकिएपछि बैठक बस्छ होला ।’ गृहसचिव सूर्य सिलवालको अध्यक्षतामा रहेको उक्त समितिमा आईजी अर्याल र प्रशासनका एआईजी रमेशशेखर बज्राचार्य सदस्य छन् ।
स्रोतका अनुसार, चार डीआईजीका लागि १६ जना एस्एस्पी दौडमा छन् । ०४४ चैत २९ गते एकै दिन प्रहरी निरीक्षक बनेका ती १६ जनामध्येबाटै डीआईजी बनाइने भए पनि क–कसलाई पार्ने भन्नेमा गृहमन्त्री र आईजीबीच कुरा मिलिसकेको छैन । आफूलाई आवश्यक पर्यो र ‘खुसी पार्न’ सक्यो भने वरिष्ठता मिचेर पनि ध्रुवबहादुर प्रधान र रमेश चन्द ठकुरीलाई आईजीसमेत बनाइसकेका गौतमले यसपटक एसएस्पी विजय भट्टको नाममा अडान लिएका कारण आईजी अर्यालले बढुवा समितिको बैठकमै रुचि नदेखाएको स्रोतको दाबी छ । स्रोतले भन्यो– ‘खोइ किन हो, विजय भट्टले गृहमन्त्रीजीलाई यति धेरै प्रभावित पारेछन् कि अरू जे भए पनि हुन्छ, एक जना विजयको चाहिँ हुनैपर्छ भन्ने अडान आएको छ’– स्रोतले भन्यो– ‘वरिष्ठता र कार्यक्षमता दुवैमा कमजोर भट्टलाई बढुवा गर्न आईजीले मानेका छैनन् ।’
प्रहरीभित्र योग्यता र कार्यक्षमतामा विश्वास राख्ने अधिकारीका रूपमा परिचित आईजी अर्यालले आफ्नो हातमा भएका बढुवामा त्यही छायाँ प्रतिविम्बित गर्न खोजेको प्रहरी अधिकारीको भनाइ छ । यसपटक बढुवाका लागि प्रतिस्पर्धामा रहेका १६ एसएस्पीमा रणबहादुर चन्द, हेमन्त पाल, घनानन्द भट्ट, गोविन्द निरौला, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य, विजय भट्ट, लव विष्ट, रमेशकुमार भट्टराई, गणेश केसी, केदारमानसिंह भण्डारी, लक्ष्मण न्यौपाने, शिव लामिछाने, रमेश पाण्डे र सुरेश केसी छन् ।
यसैबीच, सार्कको बेला हेडक्वार्टर तानिएका नेताका पीएसओहरूमध्ये नियम नै नबनाई पहुँच र भनसुनका आधारमा फिर्ता पठाउन थालिएको छ । सुरक्षा महाशाखाका एसएस्पी शिव लामिछानेले र कार्य विभागका एआईजी गणेश राईको सल्लाहमा एमाओवादी नेताका पीएसओलाई फिर्ता पठाएको छ । मंगलबारसम्म अरूका पीएसओ हेडक्वार्टरमा हाजिर लगाएर घाम ताप्दै रहे पनि माओवादी महासचिव रामबहादुर थापा, एमाओवादी नेता वर्षमान पुन र दीनानाथ शर्माका पीएसओ भने फिर्ता गइसकेका छन् ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply