कसको जालमा पर्दै छन् प्रचण्ड ?
काठमाडौं । दुई नाउमा खुट्टा टेक्यो भने के हुन्छ भन्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थाहा नभएको होइन । विगतमा एउटा खुट्टा मोहन वैद्यको जनविद्रोहमा र अर्को खुट्टा बाबुराम भट्टराईको शान्ति–संविधानको नाउमा राख्दा पार्टी जोगाउन नसकेको पीडा उनलाई हुनुपर्ने हो । तर, त्यसबाट उनले सिकेका रहेनछन् । त्यही भएर होला, अहिले फेरि दुई नाउमा खुट्टा टेकेका छन् : एकातिर संविधानसभाबाट आफ्ना एजेन्डा लागू गराउनुपर्छ भनिरहेका छन् भने अर्कातिर संविधानसभा खारेजीको माग गरिरहेका मोहन वैद्यलगायतका उग्रपन्थीहरूसँग गठजोड बढाउँदै लगेका छन् ।
सतहबाट हेर्दा दाहाललाई भारतले समर्थन गरिरहेको भ्रम परेको छ । माघ ८ गते प्रक्रिया सुरु नगर्नका लागि भारतीय राजदूत रञ्जित रायले खुलेआम लबिङ गरेका कारण उनलाई भारत आफ्नो पक्षमा छ भन्ने परेको छ । भारतले बढी विश्वास र भर गर्ने मधेसी दलहरूलाई साथमा लिएकाले पनि दाहाल त्यो विश्वासमा छन् । साथै, विगतमा आफ्नैविरुद्ध पार्टीमा उचालिएका र प्रयोग भएका नेता बाबुराम भट्टराईलाई साथमा लिएका कारण पनि भारत आफूसँग खुसी छ भन्ने दाहाललाई लागेको हुन सक्छ । विगतमा भारत राजनीतिक नेतृत्वभन्दा खुफिया एजेन्सीसँग निकटम रहेका कारण उनीहरूलाई नजिकाबाट बुझेको ठान्ने दाहालले त्यही बलमा नेपालको संविधान निर्माण प्रक्रियालाई नै धरापमा पार्न खोजेका छन् ।
भारतीयको दोहोरो गोटीचाल
भारतीय सत्ताधारीहरूका विभिन्न च्यानल छन् भन्ने कुरामा जानकारहरूको एक मत नै छ । आफ्नै चाकडी गर्नेहरूमध्ये पनि एउटासँग एकथरीले डिल गर्दछ भने अर्कोसँग अर्कोथरीले डिल गरिरहेको हुन्छ । उदाहरणका लागि भारतीय योजनामा कांग्रेस छोडेर तमलोपा गठन गरेका महन्थ ठाकुर भारतीयहरूका सबभन्दा विश्वासपात्रमध्ये एक हुन् । साथै, अमरेशकुमार सिंह त आफूलाई खुलेआम भारतीयहरूको प्रतिनिधि भन्नमा गर्व गर्छन् । ती दुवै अघिल्लो र यस पटक एउटै निर्वाचन क्षेत्र (सर्लाही–८) बाट चुनाव लडे । निश्चित थियो, एक जनाले हार्ने र अर्काले जित्ने । दुवै आफ्ना विश्वासपात्रबीच लडाइँ गराउन पनि भारत तयार रहन्छ भन्ने अर्को उदाहारण राजेन्द्र महतो र महेन्द्र राय यादव हुन्, जो सर्लाही–४ बाट चुनाव लडे र राजेन्द्रले हारे । एक विश्लेषक भन्छन्– ‘यो भारतको दोहोरो गोटी चालको परिणाम हो ।’
अहिले बाहिरबाट हेर्दा एमाओवादी र मधेसी मोर्चालाई भारतले सहयोग गरेको देखिए पनि भित्री रूपमा कांग्रेस र एमालेसँग पनि ऊ संवादमा छ भन्ने प्रस्टै छ । एक अर्का जानकार भन्छन्– ‘नेपालको राजनीतिमा भारतीय चासो र संवेदनशीलता कांग्रेस र एमालेलाई थाहा नहुने कुरा होइन । झन् दिनदिनै जस्तो भारतीय दूतले नेताहरूलाई भेटिरहेका छन् । यस्तो बेलामा भारतसँग केही कुरा नभएर प्रक्रिया अघि बढेको होला भन्ने मलाई चाहिँ विश्वास छैन ।’
ती विश्लेषकका अनुसार, एकातिर एमाओवादी र मधेसी दललाई समर्थन गरे जस्तो देखाउने र अर्कातिर सत्ताधारी दललाई प्रक्रिया अघि बढाउन प्रोत्साहित गर्ने योजना भारतको छ । उनी भन्छन्– ‘नभए संविधानसभाको प्रक्रिया नै अघि बढ्ने थिएन ।’
दाहालसँग बदला †
नेपालमा १० वर्ष जनयुद्ध चल्दा दाहाल, भट्टराईलगायतको एमाओवादी नेतृत्व साढे आठ वर्ष भारतीय संरक्षणमै रह्यो । सन् २००४ मा भारतीय आन्तरिक गुप्चर संस्था आईबीको योजनामा एमाओवादी नेतृत्वले भारतीय प्रधानमन्त्री कार्यालयमा भारतका भित्री स्वार्थका विरुद्ध काम नगर्ने भन्दै लिखित निवेदन नै दिएको खुलासा एसडी मुनीले गरिसकेका छन् । आर्थिक, नैतिक र भौतिक सहयोग गरिरहेको एमाओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि पनि भारतले मूलधारका राजनीतिक दलहरूलाई प्रोत्साहित गरेकै हो । यस पृष्ठभूमिमा भारतीय पक्षले दाहालबाट ठूला अपेक्षा गरेको बुझिन्छ ।
तर, दाहाल जब सत्तामा गए, तब भारत उनीबाट अपेक्षित खुसी भएन । पहिलो विदेश भ्रमण चीनबाट गरे भनेर तरंगित भएका भारतीयहरू दाहालले पशुपतिबाट भारतीय पुजारी हटाउन खोज्दा र बिनाकारण प्रधानसेनापति हटाउँदा चिढिए । त्यही कारण सत्ता छोड्नुपर्दाको झोक दाहालले आफ्नो सबै विगत बिर्सेर सार्वजनिक रूपमै पोख्दा भारतीयहरूमा गहिरो ठेस पुगेको छ । एक जानकार उच्च अधिकारी भन्छन्– ‘ती सबैको बदला भारतले दाहालसँग लिन चाहे जस्तो देखिन्छ । त्यही भएर भारतले अहिले उनलाई खेलाइरहेको छ ।’
स्रोतका अनुसार, भारतले दाहालबाट भएका तीन वटा कुरामा धेरै चित्त दुखाएको थियो । पहिलो, एमाओवादीको भ्रातृसंगठनले भारतले नेपालको सीमा मिच्न थालेको देखाउँदै उनको झन्डाको सर्प बनाएर त्यसलाई बुटले कुल्चिएको क्यालेन्डर बनाएर बाँडेको थियो । तत्कालीन भारतीय राजदूत राकेश सूदले एक पटक त्यही झन्डा लिएर दाहाललाई दिएका पनि थिए । दोस्रो, एमाओवादी नेता गोपाल किराँतीको नेतृत्वमा तत्कालीन राजदूत सूदलाई सोलुखुम्बुमा जुत्ता प्रहार गरिएको थियो, जुन कूटनीतिक इतिहासमा बिरलै भएको पाइन्छ । तेस्रो, भारतलाई ‘प्रभु’ भन्दै सार्वजनिक रूपमा गरिएको मानमर्दनले संस्थापन पक्षमा निकै खैलाबैला मच्चिएको थियो ।
ती जानकार नेताले बुधबारसँग भने– ‘दाहालले अर्को वर्षबाट पार्टीको नेतृत्व छोड्ने घोषणा गरिसकेका छन् । यस अवस्थामा उनलाई फेरि कहिल्यै उठ्न नसक्ने गरी पंगु बनाएर आफूले चाहेका व्यक्ति (बाबुराम) लाई एमाओवादीमा बलियो बनाउने भारतको चाहना देखिन्छ ।’
त्यही भएर दाहाललाई अहिले संविधानसभाबाट टाढा बनाउँदै असान्दर्भिक र अपरिपक्व बनाउने कसरत भइरहेको बुझिन्छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply