वायुसेवा निगममा मनपरी
काठमाडौं । ‘पहिलो गाँसमै ढुंगा’ भन्ने उखान नेपाल वायुसेवा निगमले पुन: एक पटक चरितार्थ गरेको छ । एक वर्षअघि दिल्लीसँगको नियमित उडान स्थगित गरेको निगमले केही समयअघि फ्रान्सबाट नयाँ एयरबस ल्याएपछि फागुन १३ गते बुधबारदेखि दिल्लीसँगको निगमको सम्बन्ध पुन: जोड्दै थियो । त्यही दिन नयाँ विमान एयरबस ३२० बाट दिल्ली पुग्ने अभिलाषा बोकी त्रिभुवन विमानस्थलमा पुगेर घन्टौं कुरेका यात्रु फेरि झोला बोकेर फिर्ता हुनुपर्यो । यसबाट निगमको नेतृत्व र व्यवस्थापनको असक्षमतामाथि पुन: प्रश्नचिह्न उठ्न पुगेको छ ।
निगमको नेतृत्व अक्षमताकै कारण सानोभन्दा सानो प्राविधिक त्रुटि देखाएर त्यस दिन दिल्ली उड्न एयरपोर्ट पुगिसकेका यात्रुलाई फर्काइएको थियो । हरेक पटक विश्वसनीयता गुमाउँदै आएको निगमले पुन: विश्वसनीयता गुमाएको छ । उक्त घटनापछि आफू वायुसेवाको विज्ञ भएका कारण निगममा चमत्कारै गरेर देखाउँछु भन्दै अध्यक्ष बनेका शिवशरण न्यौपाने, महाप्रबन्धक मदन खरेल र निगममा बसेर निजी विमान कम्पनीको सेवकका रूपमा काम गरिरहेका अप्रेसन विभागको निर्देशक क्याप्टेन ओमबहादुर गुरुङ नैतिक संकटमा परेका छन् ।
कसले गरायो उडान स्थगित ?
निगमलाई सीमित हवाई माफियाहरूले पर्दा पछाडिबाट चलाइरहेको बताइन्छ । निजी एयरलाइन्स कम्पनीको विश्वसनीयता बढाउन र तिनको व्यापार बढाउन निगमलाई बदनाम र धराशायी पार्ने काम पहिलेदेखि नै हुँदै आएको हो । यस पटक पनि त्यही नियति दोहोर्याइएको बताइन्छ । एक निजी विमान कम्पनीका सञ्चालकको डिजाइनमा निगमलाई पहिलो गाँसमै ढुंगा लाग्न पुगेको बताइन्छ । ती सञ्चालकहरूले निगमका केही पदाधिकारीहरूलाई राम्रै सहयोग पुर्याएको हुँदा यस्तो स्थिति उत्पन्न हुनपुगेको बताइन्छ ।
योजना पहिलेदेखि नै केही महिनाअघि नै महाप्रबन्धक खरेलले अप्रेसन विभागको निर्देशकबाट केबी पौडेल क्षेत्रीलाई हटाएर गुरुङलाई ल्याएका थिए । जहाज कहाँ र कसरी उडाउने
भन्ने विषयको तय सोही विभागले गर्छ । गुरुङ र एक निजी विमान कम्पनीको सञ्चालकबीच राम्रो सम्बन्ध मात्र भएको बताइन्छ । केही महिनापछि निगमबाट गुरुङले अवकाश भएपछि सोही निजी विमान कम्पनीमा काम गर्ने सहमतिसमेत भएको बताइन्छ । अहिलेसम्म विवादमा नफसेका, निगमको सदा भलो सोच्ने पौडेलबाट निजी विमान माफियाहरूको योजना अनुसार काम नहुने सोचेरै उनलाई पहिल्यै सो विभागबाट राजीनामा दिन बाध्य बनाएर गुरुङलाई ल्याइएको निगम स्रोतको दाबी छ ।
महाप्रबन्धक खरेलले सोही योजना अनुसार अनेक तनाव दिएर पौडेललाई उक्त विभाग छोड्न केही महिनाअघि बाध्य पारेको आरोप छ । निगममा बसेर निजी कम्पनीका भलो चाहने दर्जनौं चालकले असहयोग गरेपछि क्षेत्रीले राजीनामा दिएका थिए ।
निगमले अन्तर्राष्ट्रिय उडान थालेपछि सबैभन्दा पहिलो उडान गरेका स्थान दिल्ली हो । त्यसैले अनुमतिको समस्या हुने कुरै थिएन । पछिल्लो पटक मलेसियामा उडान भर्न थालेपछि बोइङको दिल्ली सेवा स्थगित गरिएको थियो । हवाई उडानको अनुमति भन्ने कुरा पटक–पटक लिनुपर्ने कुरा नभई शुल्क तिरेर नवीकरण गर्ने मात्र भएको बताइन्छ । तर पनि, पहिलो उडान स्थगित गराएर निगमलाई बदनाम गर्ने योजना अनुरूप नै सो उडान स्थगित गरिएको कर्मचारीहरू बताउँछन् ।
व्यवस्थापनलाई मतलब छैन उडान स्थगित भएर यात्रु त्रिभुवन विमानस्थलबाट फिर्ता भएलगत्तै निगममै कार्यरत तीनवटा युनियनको संयुक्त समितिले विज्ञप्ति निकालेर माफी मागेको छ । लामो समयदेखि लथालिंग अवस्थामा चलेको निगमका कर्मचारीहरूले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘दिल्ली उडानले सेवा विस्तार र स्तरोन्नति हुने आशा थियो । तर, पहिलो उडान नै रद्द हुनु लज्जाजनक हो ।’ वक्तव्यमा संयुक्त युनियनका अध्यक्षहरूले हस्ताक्षर गरी ‘यस्तो कार्यप्रति व्यवस्थापनसमक्ष खेद व्यक्त गर्दै पुनरावृति भएमा मूकदर्शक नहुने’ चेतावनीसमेत दिएका छन् ।
निर्देशकद्वारा दोहोरो सुविधा निगममा उपनिर्देशकसम्मलाई गाडी सुविधा दिइएको छ । तर, अधिकांश हाकिमहरूले भने निगमले व्यवस्था गरेको गाडी नलिने तर इन्धन भने नियमित रूपमा लिइरहेको बताइन्छ । उपनिर्देशकलाई प्रतिमहिना ६० लिटर र निर्देशकलाई ८० लिटर इन्धन दिने व्यवस्था छ । त्यस्तै, मर्मत सम्भारका नाममा वर्षको २५ हजार रुपियाँसम्म पनि पाइन्छ । हाकिमहरूले कार्यालय आउ–जाउमा त कार्यालयको गाडी चढ्छन् नै, बिहे, भोजभतेर र बिदाका दिन पनि निगमले व्यवस्था गरेको गाडी दुरुपयोग गर्ने गरेका छन् । बिदाका दिन तथा अन्य घरायसी प्रयोजनका लागि निगमको पहेँलो नम्बर प्लेटको गाडी चढ्दा प्रश्न उठाउन सक्ने भएको हुँदा पहँेलो प्लेटको निगमको गाडी कार्यालयमा यथेष्ट हुँदाहँुदै निजी नम्बरका राता प्लेटका गाडी भाडामा लिन लगाएर प्रयोग गर्ने गरिएको छ । चालू हालतका करोडौं मूल्य बराबरका निगमका पहेँलो प्लेटका गाडी भने निगम परिसरमै पछाडिपट्टि त्रिपाल ओढाएर राखिएको सहजै देख्न सकिन्छ प । निगममा उपमहाप्रबन्धक, निर्देशक र उपनिर्देशक गरी ३० जना हाकिमहरू हाल कार्यरत छन्, ती सबैले निजी व्यक्तिहरूसँग भाडामा गाडी निगमलाई लिन लगाएर सोही गाडी प्रयोग गरिरहेका छन् । त्यसरी गाडी दुरुपयोग गर्ने निर्देशकहरूमा आरबी शाह, कर्णबहादुर थापा, तथा उपनिर्देशकहरू डोलेश्वर कोइराला, राजेश श्रेष्ठ, रवीन्द्र श्रेष्ठलगायत रहेको बताइन्छ ।
तीन जनासँग मात्र पहेँलो प्लेटनिगमका अध्यक्ष न्यौपाने, महाप्रबन्धक खरेल र उपमहाप्रबन्धक किरण पौडेल क्षेत्रीले मात्र अहिले पहेँलो प्लेटको गाडी चढेर हिँड्ने गरेका छन् । ‘गाडी निगमसँग जति पनि छन् । तर, चालकको अभाव देखाएर सो गाडी पन्छाउने काम गरिएको छ’– निगमका एक कर्मचारीले भने । चालकको अभाव देखाएर ती गाडीहरू प्रयोग नगर्नका लागि रिक्त चालकमा नियुक्तिसमेत गरिएको छैन । निगमकै पूर्व कर्मचारीहरूले खरिद गरेका रातो प्लेटका गाडीहरू निगमले भाडामा लिने र अधिकांश हाकिमले त्यस्तै गाडी प्रयोग गरिरहेका छन् । निगमका पूर्व कर्मचारीहरूको व्यापार बढ्ने र निगमलाई दोहन गर्न सकिने उनीहरूको बुझाइ छ । निगममा चालक भएर अवकाश भएका अधिकांशले रातो प्लेटको गाडी खरिद गरेर निगमलाई नै भाडामा लगाएका छन् भने त्यसरी भाडामा लगाउनेमा एक जना पूर्वनिर्देशक समेत रहेको निगम स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
-
परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
-
बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply