सुुन तस्कर र प्रहरीबीच सम्बन्ध विच्छेद !
काठमाडौं । प्रहरीकै मिलोमतोमा ठूलो मात्रामा सुन तस्करी हुन्छ भन्ने बुझाइ चिर्दै प्रहरीले सुन तस्करको ठूलो जालो पत्ता लगाएको छ । एसएसपी पुष्कर कार्कीको टोलीले लामो समयदेखि सुन तस्करीमा संलग्न ठूला गिरोह समातेपछि भित्रभित्रै धेरेतिर हल्लीखल्ली मच्चिएको छ ।
भन्सारमा चोरी पैठारी भएका सुन, चाँदी र क्यारियर पक्राउ हुने तर मुख्य कारोबारी चाहिँ बिरलै मात्रामा कारबाहीमा पर्ने गरेकोमा प्रहरीको महानगरीय अपराध महाशाखाले सञ्जाल नै फेला पारेको दाबी गरेको छ । प्रहरी अनुसन्धानले चीनबाट नेपालमा सुन तस्करी गर्ने पाँच तहको गिरोह भेटाएको छ । त्यसमा साधारण भरियादेखि अन्तर्राष्ट्रिय बिक्रेतासम्मको पहिचान भइसकेको प्रहरीको दाबी छ । पछिल्लो अनुसन्धानबाट तातोपानी नाका हुँदै ठूलो मात्रामा सुन तस्करी गर्ने प्रमुख जालो तोड्न सफल भएको प्रहरीको दाबी छ । गिरोहको प्रमुख लगानीकर्तामा बिक्की भनिने बालकृष्ण अग्रवाल, सावरमल जोधानी र आकाश बज्राचार्य भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताउनुभयो । उनीहरूमध्ये अग्रवाल र बज्राचार्य पक्राउ परेका छन् भने जोधानी फरार छन् ।बिक्की र जोधानीको विशाल बजारमा विभिन्न सामानहरूको पसल छ भने बज्राचार्यको न्युरोडमा युनाइटेड गोल्डमार्क नामक पसल छ । बिक्की र जोधानी साझेदार हुन् । उनीहरूका कर्मचारी जयराज भट्ट र मिलन तामाङ पनि पक्राउ परेका छन् । तिनै कर्मचारीले मध्यस्थकर्तामार्फत सुन तस्करीका लागि भरिया खोज्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसरी मध्यस्थता गर्नेहरूमा मोहन चौधरी, विशाल चौधरी र श्रीराम चौधरी छन् । उनीहरूमध्ये मोहन र विशाल पनि पक्राउ परिसकेका छन् ।
उक्त समूहको तल्लो तहमा बसेर काम गर्ने भरियाहरूमा प्रवीण तिमिल्सिना, नन्दकिशोर चौधरी, देउता तिमिल्सिना, सत्यनारायण चौधरी, रामराज चौधरी र धु्रव तिमिल्सिना छन् । ध्रुवबाहेक अरू सबै पक्राउ परेका छन् । करिब दुई महिना लामो अप्रेसनपछि पक्राउ परेका १४ जनाविरुद्ध जिल्ला अदालतमा संगठित अपराध निवारण ऐन २०७० अनुसार प्रहरीले मुद्दा दायर गरेको छ । यसअघि भन्सार ऐन अनुसार मात्र मुद्दा चलाइने गरिएकोमा बढी सजाय दिलाउन र यस्तो प्रवृत्तिमा रोक्न पहिलो पटक संगठित अपराध ऐन अनुसार महाशाखाकै परामर्शमा मुद्दा दायर गरिएको एसएसपी कार्कीले जानकारी दिनुभयो । महाशाखाले सुन तस्करविरुद्ध चलाएको अभियानको नाम ‘अप्रेसन अक्टोपस’ राखेको थियो ।
किलोलाई बोरा !
पक्राउ परेकाहरूको मातहतमा सिधै दलाली गर्ने र भरियाको दुई गिरोह रहेको बताइन्छ । नेपालमा पाँच तहको गिरोह मात्र नभई तीभन्दा माथि रहेर काम गर्ने र तिब्बतमा नेपालीलाई सुन बेच्ने व्यक्ति पनि प्रहरीले पत्ता लगाएको छ । नागा भोटे भनिने नागेन्द्र भोटेसँग नेपाली गिरोहले सुन किनेर ल्याउने गरेको प्रहरीले पत्ता लगाएको छ । उनीहरूले सुनबारे कुरा गर्दा एक किलोलाई एक बोरा र हुण्डीलाई चिठी भनेर कोड भाषा प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ ।
पवन सरैया नामक अर्का व्यक्ति पनि सुन तस्करीमा अग्रवाल, जोधानी र बज्राचार्यलाई सहयोग गरेको भन्दै अनुसन्धानको दायरामा आएका थिए । यद्यपि, उनी सुन तस्करीमा भन्दा पनि बढी गैरकानुनी हुण्डी कारोबारमा संलग्न रहेको भेटिएको बताइन्छ ।
प्रहरीका अनुसार भरियालाई प्रतिकिलो २० देखि ५० हजार रुपियाँ दिने गरिन्छ । भरियाको मुख्य तस्करसँग चिनजान हुँदैनथ्यो । मध्यस्थकर्ताले गोप्य रूपमा सुन ओसार्ने काम गराउँथे । मोटरसाइकल तथा जुत्तामा राखेर सुन तातोपानी र रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइने र अधिकांश सुन भारतमा पुग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । एक किलोमा उनीहरूले खर्च कटाएर तीनदेखि पाँच लाख रुपियाँ कमाउँदै आएको प्रहरी पत्ता लगाएको छ ।
विगत दुई वर्षयता प्रहरीले पटक–पटक तस्करीको सुन बरामद गर्दै आए पनि मुख्य तस्कर भने पक्राउ परेका थिएनन् । भरिया मात्र पक्राउ परेको कुरा आएपछि नै आफूहरूले विस्तृत अनुसन्धान गरी तस्करलाई समात्न सकेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी कार्कीले बताउनुभयो ।
को–को पक्राउ परे ?
महाशाखाले गत माघ २१ देखि २३ गतेसम्म गोप्य रूपमा तस्करीको सुनको कारोबार गर्ने पसलहरूमा छापा मारेको थियो । न्युरोडस्थित युनाइटेड गोल्डमार्क, बौद्धस्थित मामन स्टोर्स, टेबहालस्थित बालाजी एन्ड सन्स् तथा बांगेमुडास्थित संगम स्टोर्समा छापा हानी प्रहरीले पाँच जना पक्राउ गरेको थियो । भक्तपुर दधिकोट–४ स्थायी घर भएका संगम स्टोरका सञ्चालक रमेश खड्काले हाल बांगेमुढा नगलमा सुन पसल चलाउँदै आएका थिए । उनको चार वटा पसलबाट ५ किलो सुन, ५६ किलो चाँदी, स्रोत नखुलेको ४ करोड ७४ लाख नगद तथा केही भारतीय रुपियाँ र चिनियाँ युयान पनि बरामद भएको थियो ।
प्रहरीले बालाजी एन्ड सन्स्का सञ्चालक बालु जगन्नाथ धाङगे, युनाइटेड गोल्ड मार्कका सञ्चालक आकाशकुमार बज्राचार्य र संगम ज्वेलर्स चलाउँदै आएका रमेश खड्कालाई पक्राउ गरेको हो । त्यसमध्ये धाङ्गे भारतको महाराष्ट्िरस्थत साङ्ली, आटपाडी थाना स्थायी घर भई हाल न्युरोड टेबहालमा बस्दै आएका थिए । बज्राचार्य भने पोखरा उपमहानगरपालिका–१ का स्थायी बासिन्दा हुन् । त्यस्तै, बौद्धस्थित मामन स्टोर्स पसलका सञ्चालक नरेश अग्रवालको घर भारतको दार्जिलिङ हो । मोरङका शिवराज श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठ बालाजी एन्ड सन्स् पसलबाट पक्राउ परेका हुन् । मोरङ, हसन्दह गाविस वडा नं. ७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने श्रेष्ठ सो पसलका सञ्चालक हुन् । उक्त पसलमा ठूलो मात्रामा नगद भेटिएकाले उनलाई पनि पक्राउ गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको महाशाखाले जनाएको छ ।
के–के भयो बरामद ?
छापा हानिएका चार पसलबाट प्रहरीले ५ किलो २ सय ३५ ग्राम सुन, ५६ किलो चाँदी, ४ करोड ७४ लाख नगद, २ लाख भारु र ४ हजार ६ सय चाइनिज युआन बरामद गरेको छ ।
सबैभन्दा धेरै नगद र सुन बालाजी एन्ड सन्स्बाट बरामद भएको छ । महाशाखाका अनुसार उक्त पसलबाट २ किलो १ सय ७६ ग्राम सुन, १५ किलो ८ सय ४० ग्राम चाँदी, ३ करोड २२ लाख रुपियाँ नगद, ४० हजार भारु बरामद भएको छ ।
त्यस्तै, युनाइटेड गोल्ड मार्टबाट तीन किलो ५९ ग्राम सुन, ५ किलो ४ सय ६१ ग्राम चाँदी र ३० हजार नगद बरामद भएको छ । बौद्धस्थित मामन स्टोर्सबाट २८ लाख ७६ हजार ५ सय नेपाली रुपैयाँ, १ लाख ५९ हजार ४ सय भारु र ४ हजार ६ सय चिनियाँ युआन बरामद गरेको छ । बांगेमुडास्थित संगम ज्वेलर्सबाट ८१ लाख ५५ हजार, ७ सय ३० रुपियाँ नगद, ३४ किलो चाँदी बरामद भएको छ ।
स्रोत खुल्न नसकेपछि उक्त पैसा फिर्ता नगरी थप छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको प्रहरीको दाबी छ । पक्राउ परेका चारै जनासँग बिगो बराबर धरौटी मागिएको तर धरौटी बुझाउन नसक्दा उनीहरू थुनामै रहेको बताइन्छ । तर, सुनचाँदी व्यवसायीहरूले भने प्रहरीले आफूहरूको पसलमा हचुवाको भरमा छापा हानेर दु:ख दिएको आरोप लगाएका छन् ।
प्रहरीका अनुसार आर्थिक वर्ष ०७१/७२ को माघसम्ममा काठमाडौं उपत्यकामा मात्र ७१ किलो सुन बरामद भइसकेको छ भने उपत्यकाबाहेक अन्य क्षेत्रमा ६० किलो बरामद भएको छ । विमानस्थल, भन्सार, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लगायत सबै इकाइहरू इस कार्यमा संलग्न रहेको छ । महाशाखाले मात्र ३५ किलो सुन बरामद गरिसकेको महाशाखाको दाबी छ । यसअघि आव ०७०/७१ म उपत्यकामा ६६ किलो तथा अन्य क्षेत्रमा ७७ किलो तथा आव ०६९/७० मा उपत्यकामा ६८ किलो तथा अन्य क्षेत्रमा ८ सय ८४ किलो सुन बरामद भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
विमानस्थलमार्फत तस्करी
एयरपोर्टमार्फत पनि सुन भित्रिने गरेको छ । केही दिनअघि वैदेशिक रोजगारबाट फर्किएका झापाका बोधराज पौडेल १३ किलो सुनसहित पक्राउ परेका थिए । दोहा सुन तस्करीको एक समूहले भरिया बनाएर उनीमार्फत सुन पठाएको थियो । वैदेशिक रोजगारबाट फर्किएको कामदारमाथि कम शंका हुने भएकाले तस्करहरूले यस्तो तरिका अपनाएका हुन् । हाल संगठित मुद्दा दायर गरिएको समूह नेपालमा सुन तस्करीको मुख्य गिरोह भएको प्रहरीको भनाइ छ । सो गिरोह पक्राउ परेपछि चीनबाट तस्करी भएर आउने सुन ९५ प्रतिशत रोकिएको एसएसपी कार्कीले बताए ।
मलद्वारभित्र अवैध सुन
चीनको खासाबाट ना१ज ४७५७ नम्बरको गाडीमा काठमाडौं आइरहेका ५ जनालाई मलद्वारमा लुकाई ल्याएको अवैध सुन ४.००१६ केजीसहित महानगरीय अपराध महाशाखाले भक्तपुरको सल्लाघारीबाट गाडीसहित मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर ठिमी नगरपालिका–३ बोडे बस्ने रामेछाप ठोसे गाविस–१ का २९ वर्षीय भरत कार्की, ठिमी–१ निकोसेरा बस्ने रामेछाप ठोसे गाविस–१ का ३३ वर्षीय लक्ष्मण कार्की, ठिमी–३ बस्ने दोलखा जिरी गाविस–७ बोडेका ३४ वर्षीय सुनिलकुमार खड्का, काठमाडौं महानगरपालिका–११ थापाथलीका ३२ वर्षीय ईश्वर बस्नेत र काठमाडौं महानगरपालिका–३५ जडिबुटी बस्ने सिन्धुपाल्चोक गाथी गाविस–३ का गाडी चालक १९ वर्षीय सुभाष राउत रहेका छन् ।
भरतको साथबाट ४ थानको सुन ९९७.६०० ग्राम, लक्ष्मणको साथबाट ४ थानमा रहेको सुन ९८१.४०० ग्राम, सुनिलकुमारको साथबाट ४ थानको सुन ९९५.८०० ग्राम, ईश्वरको साथबाट ४ थान सुन १०२६.८०० ग्राम र चालक राउतको साथबाट २ थान मोबाइल बरामद भएको छ ।
उनीहरूले शरीरभित्र सुन लुकाएको आशंकामा स्वास्थ्य परीक्षणका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगी एक्सरे परीक्षण गराउँदा मलद्वारभित्र कण्डमले बेरी लुकाएको अवस्थामा ४ जनाको साथबाट उक्त परिमाणको अवैध सुन बरामद भएको हो । अवैध सुन, सवारी साधन र सवारी चालकसमेतलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply