डनका मुद्दामा विलम्ब
काठमाडौं । विशेष अदालतले हेर्दै आएको पाँच डनका सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लम्बिएका लम्बियै छन् । छ महिनामा फैसला हुनुपर्ने मुद्दा झन्डै दुई वर्ष पुग्न लाग्दा पनि फैसला हुन सकेको छैन । सम्पत्ति शुद्धीकरण विभागले कुख्यात डन चक्रे मिलन र उनकी श्रीमती इन्दिरा घले, दीपक मनाङे भनिने राजीव गुरुङ र उनकी श्रीमती पासाङ डोल्मा गुरुङ, पर्शुराम बस्नेत र उनकी श्रीमती अन्जुसिंह बस्नेत, अभिशेक गिरी र गणेश लामा, उनकी श्रीमती लक्ष्मी लामा तथा भाइहरू पाल्साङ लामा, विनोद लामा, राकेश लामालगायतलाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालत ऐन २०६९ मा भ्रष्टाचार, अनियमिततानक्कली शैक्षिक प्रमाणपत्र तथा घुस–रिसवतसम्बन्धी मुद्दा अदालतमा दर्ता भएको छ महिनाभित्र फैसला गरिसक्नुपर्ने उल्लेख छ । विभागले २०७० जेठ ५ गते दर्ता गरेको ती डन विरुद्धको मुद्दामा अझै फैसला हुन सकेको छैन । विशेष अदालत ऐन मस्यौदा गर्दा ‘मान्छे पक्रिएर ल्याइएको हँुदा बहस गरीवरी छ महिनाभित्र फैसला गरिसकिने’ सोचले छ महिनाको म्याद राखिए पनि अधिकांश आरोपी फरार हुने र त्यसलाई म्याद जारी गरी अदालतमै हाजिर गराउन छ महिना लाग्ने हुँदा छ महिनाभित्र फैसला गर्न नसकिएको विशेष अदालतका रजिस्ट्रार नातिबाबु लामिछानेले जानकारी दिनुभयो । पर्याप्त जनशक्तिको अभाव र एउटै मात्र इजलास भएकाले अदालतले अपेक्षाकृत रूपमा काम गर्न नसकेको बताउने गरेकामा अहिले छ जना न्यायाधीश भएपछि पनि कामले गति लिन सकेको छैन । अहिले विशेष अदालतमा अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरू भूपेन्द्र राई, पवनकुमार शर्मा, नरेन्द्र शिवाकोटी, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनी छन् ।
इजलासमा दिनहँु ५ देखि ७ वटासम्म नयाँ थुनछेकको मुद्दा आउने र त्यसका कारण नियमित रूपमा प्रक्रियामा रहेका मुद्दाको फैसला गर्ने मिति पर सर्ने गरेको बताइएको छ । एउटै मुद्दामा हप्तांै बहस चल्ने तथा एउटा मुद्दामा १ सय ९७ जनासम्म प्रतिवादी हुन्छन् । आयल निगमको तेल चोरी काण्डमा ९७ जनालाई विपक्षी बनाइएको छ । यस्तो समस्याले गर्दा विशेष अदालतमा ढिलासुस्ती भएको बताइन्छ ।
चक्रे मिलनको मुद्दा अब फैसलातिर जान्छ भनेर अदालत स्रोतले गत भदौ पहिलो हप्ता नै भनेको थियो । त्यसबेला सरकारी साक्षी र व्यक्तिगत साक्षी बुझ्ने काम सकिएर तत्काल देखिएको प्रमाण बुझ्ने काम सकियो भनिएको थियो । भैपरी केही नआए फैसला हुन्छ भनिएको सो मुद्दामा अझै पेसी चढ्दै र प्रमाण बुझ्दैमा बितिरहेको छ । सो मुद्दामा वैशाख १३ गतेका लागि पेसी तोकिएको छ । सो दिन पनि फैसला हुन्छ भन्ने निश्चित छैन । ‘प्रमाण बुझ्न आवश्यक देख्दा प्रमाण झिकाउन आदेश हुन्छ, अन्यथा फैसला हुन्छ’– अदालतका एक कर्मचारीले भने।
दीपक मनाङेको मुद्दा पनि फैसलातिर उन्मुख भएको गत भदौमै अदालतले बताएको थियो । भदौ १६ का लागि साक्षी र बकपत्र बुझ्न तोकिएको र सो बुझेपछि फैसलामा चढ्छ भनिएकामा अझै फैसला भएको छैन । त्यसयता ६ महिना बितिसकेको छ । यही चैत ९ गतेका लागि फैसला हुने भनेर पेसीमा चढेकोमा सो दिन पेसी सूचीबाट हटाइएको थियो । ‘नभ्याइएकाले वैशाख ९ गतेका लागि तोकिएको’ रजिस्ट्रार लामिछानेले जानकारी दिनुभयो ।
अर्का चर्चित डन पर्शुराम बस्नेत विरुद्धको मुद्दामा पनि गत भदौ ३० गतेका लागि पेसी तोकिएको थियो । अहिले उनले आर्जन गरेको भनिएको घरजग्गा उनकै हो/होइन भन्ने प्रमाण बुझ्ने तथा कम्पनी रजिस्ट्रार कार्यालयबाट उनको कम्पनीको लगत झिकाउने काम भइरहेको र सो बुझेपछि मात्र फैसलामा चढ्ने रजिस्ट्रार लामिछानेले जानकारी दिनुभयो ।
विराटनगरका अर्का डन अभिशेक गिरीविरुद्धको मुद्दा पनि टुंगिसकेको छैन । पेसी हाल्दा पनि लामो समयसम्म हाजिर हुन नआएपछि मुद्दा सरेको थियो । ‘पछि मात्र उनकी श्रीमती हाजिर भइन् । अहिले पेसी तोकिएको छ’– अदालत स्रोतले भन्यो । गणेश लामाविरुद्धको मुद्दा त झनै अलमलमा छ । ‘सरकारी वकिलको कार्यालयबाट मुद्दा नै नचलाउने आशयको राय आएकाले मुद्दा नै अलमलमा थियो, पछि बहस नोट पेस गर्न आदेश भएको छ×’– अदालत स्रोतले भन्यो । यसअघि भदौमा सरकारी साक्षी बुझ्न बाँकी थियो । विभागले लामा र उनकी श्रीमती तथा भाइहरूविरुद्ध समेत मुद्दा दायर गरेकोमा बकपत्र नआएपछि पक्राउपुर्जी जारी गर्दै महानगरीय प्रहरी परिसर हनुमानढोकालाई पत्र लेखेको थियो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०(२) मा स्रोत नखुलेको सम्पत्तिका हकमा दुइ वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना गरी त्यसरी आर्जित गैरकानुनी सम्पत्ति जफत गरिने उल्लेख छ ।
– शन्तराम बिडारी
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply