विपक्षी मोर्चामा खटपट: आन्दोलन बोक्नु न टोक्नु
काठमाडौं । दोस्रो चरणको आन्दोलन अन्तिम चरणमा आइपुग्दा विपक्षी मोर्चाभित्र पुन: खटपट सुरु भएको छ । यो खटपटसँगै जारी आन्दोलनका कार्यक्रम उनीहरूकै लागि बोक्नु न टोक्नु भएका छन् ।
जातीय संघीयताको कुरा गर्ने एमाओवादी नेतृत्वमा भएको सडक आन्दोलनले कुनै परिणाम दिँदैन भन्ने कुरामा मधेसकेन्द्रित दलहरू सहमत बन्दै गएका छन् । उनीहरूले हिजोदेखि सुरु गरेको तीनदिने आम हड्तालले समस्या झन् बल्झाउने भन्दै मधेसी मोर्चाभित्रको सबैभन्दा ठूलो घटक मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सडक आन्दोलन गलत भएको सार्वजनिक रूपमा बताइरहेका छन् । उनीसँगै राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले पनि आन्दोलनबाट सफलतामा पुग्न नसक्ने भन्दै वार्तामा जोड दिनुपर्ने अभिव्यक्ति दिएका छन् ।
एकातिर मधेसकेन्द्रित दलहरूसँग अप्राकृतिक सम्बन्ध गाँस्ने र अर्कातिर माओवादीका अरू घटकसँग पनि एकताको प्रचार गराउने एमाओवादी शैलीबाट मधेसी मोर्चा सबैभन्दा बढी सशंकित भएका छन् ।
माओवादीबीचको एकताको कुराले एमाओवादीसँग मोर्चाको दूरी बढाउने मधेसी नेताहरूले खुलेआम बताउने गरेका छन् । संघीयताको एजेन्डा मधेस आन्दोलनबाट स्थापित भएको हो । संघीयताका बारेमा एमाओवादीले लिखितमा मधेसवादी दलहरूसँग प्रतिबद्धता जनाए पनि अरू माओवादीले मधेसी दलहरूलाई क्षेत्रीयतावादी र भारतपरस्तका रूपमा चित्रण गर्ने गरेका छन् ।
आफूहरूलाई हेर्ने दृष्टिकोण नै फरक रहेका ती शक्तिसँगको एकताको कुरा एमाओवादीको आफ्नो दुनो सोझ्याउने चालबाजीका रूपमा नै प्रकट भएको विषयमा मधेसवादी दलहरूभित्र बहस सुरु भएको बताइन्छ । एमाओवादीले आफूहरूलाई अप्ठ्यारो परेका बेला मात्र उपयोग गरेका हुन् कि भन्ने कोणबाट पनि मधेसवादी दलमा छलफल चल्न थालेको बताइन्छ ।
एमाओवादी अध्यक्ष दाहालको दोहोरो चरित्रका कारण मोर्चाको एकता धेरै लिन टिक्नेमा आशंका गर्न थालिएको छ । त्यसो त एमाओवादी र मधेसवादी दलबीचको यो एकता एजेन्डाले भन्दा पनि संविधानसभा निर्वाचनको परिणामले जुराइदिएकोमा कुनै शंका छैन । निर्वाचन परिणाममा यी शक्ति पछाडि धकेलिएपछि जोडिएको अप्राकृतिक गठजोडको भविष्य लामो नरहने प्रस्टै छ ।
पछिल्लो समयमा मधेसवादी दलको सरोकारभित्रै नपर्ने सत्य निरुपण तथा मेलमिलापको विषयमा पनि यो मोर्चालाई प्रयोग गरिएकोमा मधेसी नेताहरू एमाओवादीप्रति सन्तुष्ट नभएको बताइन्छ । मधेसको शक्तिलाई आन्दोलनमा प्रयोग गरेर एमाओवादीले आफ्नो अभीष्ट पूरा गर्न खोजेको रूपमा मधेसी नेताहरूले लिएका छन् । तराई मधेस लोकतान्त्रिकका नेता हृदयेश त्रिपाठीले त अबको आन्दोलनको एजेन्डा मधेसी दल आफंैले तय गर्ने, अरू कसैको भरोसामा नअडिने बताइसकेका छन् ।
संविधानसभाबाट कुनै पनि हालतमा संविधान बन्न नदिने एमाओवादीको सोचले मुलुकलाई झन् अन्धकारमा धकेल्ने कुरा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले बुझिसकेका छन् । त्यही भएर उनी बारम्बार वार्ता र छलफलबाट निकास खोज्नुपर्ने बताउँदै आएका छन् भने एमाओवादी नेताहरू आन्दोलनका कुरा मात्र गर्दै आएका छन् । आन्दोलनका कार्यक्रम घोषणा गर्दा पनि मधेसी दलका कुरा सुन्ने भन्दा पनि संविधानसभा नै बहिष्कार गरेका अन्य माओवादी घटकको दबाबले बढी काम गरेको बताइन्छ ।बढ्दो खटपटकै कारण हिजो पहिलो दिनको आम हड्तालका कार्यकर्ता सोचेजस्तो सडकमा ननिस्किएको बुझिएको छ ।
तीन दिनको आम हड्तालले जनताको समर्थन पाउने भन्दा उल्टो प्रत्युपादक हुने भन्दै आम हड्ताल स्थगित गरेर विरोधको स्वरूप फेर्नुपर्ने धारणा मोर्चामा बलशाली रूपमा आएको बुझिएको छ । यस्ता आन्दोलनले आम जनता र उद्योगी व्यापारी प्रतिकारमा उतार्ने खतरा रहने भन्दै कार्यक्रम फेर्नुपर्ने सुझाव मोर्चाभित्र आएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply