ओलीसँग भारत दंग !
काठमाडौं । बाहिर ‘एमाले अध्यक्ष केपी ओली र भारतबीच सम्बन्ध चिसिएको’, ‘ओलीसँग भारत चिढिएको’ जस्ता चर्चा चलिरहेका छन् । तर, एक साताभित्र अध्यक्ष ओलीलाई भेट्ने दुई भारतीय कूटनीतिक अधिकारीहरूले भने उहाँको खुलेर प्रशंसा गरेका छन् ।
गत साता पहिलो पटक नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव सुब्रमण्यम जयशंकरको अध्यक्ष ओलीसँगको पहिलो भेट थियो । यसअघि अमेरिकाको राजदूत रहेका जयशंकर स्वयम्ले भेट हुनासाथ आफू पहिलो पटक नेपाल आएको उल्लेख गर्दै नेपाललाई नजिकबाट बुझ्न यस पटकको भ्रमण फलदायी हुने अपेक्षा गरेका थिए । अध्यक्ष ओलीले आफ्नो चीरपरिचित शैलीमा स्थितिलाई सहज बनाउँदै हिन्दी वा अंग्रेजी केमा कुरा गरौं भन्दै ती दक्षिण भारतीय अधिकारीलाई छक्क पारेका थिए । जुनमा गरे पनि हुन्छ भन्दै उनले उत्तर दिएपछि पनि ओलीले तै पनि भनेर सोधेका थिए । त्यसपछि ४५ मिनेटसम्म अंग्रेजीमा कुरा गर्दा ओलीको धाराप्रवाह प्रवचन सुनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अत्यधिक मन पराएर दुई महिना पहिला सजाथा सिंहलाई बीचै बिदा गरेर सचिव नियुक्त ती कूटनीतिज्ञ छक्क परेका थिए ।
स्रोतका अनुसार, कुनै उत्तेजना, भावावेश र प्रतिक्रियामा नआएर अध्यक्ष ओलीले नेपाल र भारतबीचको प्रागऐतिहासिक कालदेखि ऐतिहासिक काल हुँदै अहिलेसम्मको सम्बन्धको चर्चा गरेका थिए । ओलीको भनाइ थियो– ‘दुई देशबीच मात्र होइन, यहाँका जनताबीच विशिष्ट सम्बन्ध छ, चराचुरुंगीबीच सम्बन्ध छ, पानी र माटोबीच सम्बन्ध छ । यस्तो सम्बन्धलाई कसैले बनाएर बन्ने र भत्काएर भत्काउने कुरा सम्भव छैन ।’ भारतले व्यक्त गरेको सद्भाव, सहयोग र शुभेच्छा नेपालका लागि जहिले पनि आवश्यक रहने उल्लेख गर्दै अध्यक्ष ओलीले शान्ति प्रक्रिया, संविधान निर्माण, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र नेपालको समृद्धिका लागि यस्तो सहयोग पाइरहने अपेक्षा व्यक्त गरेका थिए । ओलीको भनाइ थियो– ‘बीचमा कसैले केही भ्रम सिर्जना गर्न खोज्नु र यस ऐतिहासिक सम्बन्धलाई दुरुपयोग गर्न खोज्नु बेग्लै कुरा हो । तर, दुई देशबीचको सम्बन्ध सधैं हार्दिक छ ।’
भेटघाटपछि फर्किएर भारतीय विदेश सचिव जयशंकरले आफ्नो टोलीसँग आफू अध्यक्ष ओलीको भनाइबाट प्रभावित भएको र उहाँको कुरा तथ्यमा आधारित रहेको प्रतिक्रिया दिएका थिए ।अध्यक्ष ओलीलाई पछिल्ला दिनमा संघीयताका बारेमा उनले राखेको स्पष्ट अडानका कारण एमाओवादी र मधेसीवृत्तबाट भारतविरोधीका रूपमा चित्रित गर्न खोजिएको बेला भारतीय उच्च कूटनीतिज्ञको उक्त कुराकानीले विशेष प्रभाव राख्ने विश्लेषण गरिएको छ । भारतका बारेमा कहिल्यै पनि उत्तेजक, पूर्वाग्रही र असन्तुलित अभिव्यक्ति नदिनुका साथै आफूले राखेको अडानमा जोसुकैसँग पनि कडा कुरा गर्न पछि नपर्ने ओलीको स्वभावका कारण उनका बारेमा पछिल्ला टिप्पणी हुने गरेका छन् । स्रोतले भन्यो– ‘तर ओलीले त्यसरी राखेका अडानबाट भारत बेखुसी हुनुपर्ने केही कारण देखिँदैन ।’
आइतबार सँँझ एमाले अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका भारतीय राजदूत रणजीत रायसँग पनि ओलीको लामो र खुलस्त कुराकानी भएको स्रोतले बतायो । माघ ८ को सेरोफेरोमा राजदूत रायले एमाओवादीले अघि सारेकै प्रस्तावलाई सहयोग पुग्ने जस्तो गरी ओलीसँग कुरा गरेपछि बढेको भनिएको चिसोपन हटाउन आइतबार साँझको भेटले काम गरेको उच्च स्रोतले बतायो । स्रोतले भन्यो– ‘विवादित विषयमा ओलीले पनि केही भन्नुभएन भने रायले पनि मुख खोल्नुभएन ।’ मधेसको संवेदनशीलतालाई ख्याल गर्नुपर्ने भारतीय चाहनालाई ओलीले पनि नबुझेका चाहिँ छैनन् । भाषा, संस्कृति र आफूसँग जोडिएको भूभाग भएका कारण आउने स्वाभावित सरोकारलाई त्यही रूपमा सम्बोधन नगर्ने पक्षमा ओली पनि छैनन् । स्रोतले भन्यो– ‘उत्तर दक्षिण सीमांकन गर्नेमा अडान लिइरहेका ओलीले पर्सादेखि सप्तरीसम्मको भूभागलाई अलग्गै प्रदेश बनाउने कुरामा यत्तिकै सहमति जनाएका छैनन् । उनले राजनीति बुझेरै त्यस्तो काम गरेका छन् ।’ आइतबारको भेटमा पनि यसका बारेमा सामान्य चर्चा भएको थियो ।
भारतलाई विवादित बनाउने कोसिस
नेपालका राजनीतिक दलहरूका बीचमा कुनै विषयमा विवाद उत्पन्न हुनु, कुरा नमिल्नु र त्यही आधारमा एकअर्कालाई दोषारोपण गर्नु कुनै असामान्य कुरा भएन । स्वयम् भारतमा पनि दिनदिनै एकअर्का दल र तिनका नेतालाई चर्को आरोप लगाउने प्रतिस्पर्धा तीव्र नै छ । तर, त्यही निहुँमा नेपालका राजनीतिक दलहरूले छिमेकी भारतलाई विवादमा तान्नुलाई दुर्भाग्यपूर्ण ठानिएको छ । मधेसमा आफ्नो राजनीति धरापमा पर्ने भएपछि आत्तिएका मधेसी नेता र तिनको बुइ चढेका एमाओवादी नेताहरूले ‘संघीयताका बारेमा भारतको धारणा यस्तो छ, उस्तो छ’ भारत यस्तो चाहन्छ, उस्तो चाहन्छ भन्दै भारतलाई विवादमा ल्याउने कोसिस गरिरहेका छन् । जबकि, एमाले र कांग्रेसका शीर्ष नेताहरूसँग भेट्दा भारतीय राजनीतिक, प्रशासनिक र कूटनीतिक नेतृत्वले पटक–पटक एउटै कुरा भनिरहेको छ– ‘नेपालमा के आवश्यक हुन्छ भन्नेबारेमा नेपालका दलहरूले नै निर्णय गर्ने हो, हामी त्यसलाई सघाउँछौं ।’ भारतको यस सदासयतालाई सही रूपमा बुझेर अघि बढ्नुपर्नेमा दूतबासमार्फत एकअर्कालाई प्रभावित पार्न नेपालकै नेताहरू पुग्ने भएकाले भारत विवादमा पर्ने गरेको छ ।
एक उच्च स्रोतले भन्यो– ‘नेपालका केही नेताहरू परजीवी भइसके । सानोभन्दा सानो कुरा पनि दूतबासमा सोध्ने उनीहरूको पुरानो बानी गएन । पटक–पटक भारतको नाम मुछेर उनीहरूले मधेसी जनतालाई नै दोस्रो दर्जाको नागरिक बनाउन खोजेका छन् ।’
ओलीको अडान स्पष्ट
भारतीय दूतबासले दिल्लीस्थित साउथ ब्लकलाई गर्ने रिपोर्टिङमा ओलीको आलोचना गर्नुको साटो उनी स्पष्ट नेता रहेको रिपोर्ट गर्ने गरेको उच्च स्रोतले जानकारी दिएको छ । उक्त स्रोतका अनुसार, भनेको कुरामा अडिने र त्यस विषयमा सम्झौता नगर्ने अध्यक्ष ओलीको अडानलाई हेरेर नै भारतले आफ्नो रणनीति बनाइरहेको छ । ‘बाहिर जति हल्ला भए पनि ओली र भारतबीचको सम्बन्ध विश्वासमा अडेको छ’– उक्त स्रोतले भन्यो– ‘त्यही भएर उनका अडानबाट भारत रिसाउने वा झोक्किने भन्ने प्रश्नै उठ्दैन ।’
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply