कैलाली घटनाका पछाडि कसको हात ?

काठमाडौं । नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एकजना दुईबर्से नाबालकसमेतको ज्यान जाने गरी सोमबार कैलालीको टीकापुरमा भएको घटनामा घुसपैठ भएको थारू नेताहरूले बताएका छन् । उनीहरूले ती घुसपैठिया को हुन् भन्ने बताएका छैनन् । तर, यो घटनाको पृष्ठभूमि आफूलाई मधेसको ठेकदार सम्झने र मधेसका नाममा राजनीतिक ‘तर’ मारिरहनेहरूले निर्माण गरेको कुरामा कुनै दुविधा छैन ।
सोमबार जुन ठाउँमा त्यो कहालीलाग्दो घटना भयो, त्यही ठाउँमा एक हप्ताअघि मधेस आन्दोलनका आह्वानकर्ताले घरेलु हतियारसहित आन्दोलनमा आउन जनता उकास्ने र सम्प्रादायिकता भड्काउने काम गरेका थिए । नेपालको राजनीतिका संदिग्ध पात्र एवम् कांग्रेस नेता अमरेशमकुमार सिंह, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई भड्काएर आन्दोलनमा हतियारसहित आउन उर्दी गरेका थिए । घटना हुनुभन्दा केही घन्टाअगाडि फोरम नेपालका महासचिव तथा सभासद् रामजनम चौधरीले पनि ‘जनतासँग लड्न सरकारसँग गोली कति छ ?’ भन्दै उत्तेजित प्रश्न गरेका थिए । घटनापछि सिहंले लोकतन्त्रमा हिंसा हुन सक्दैन भन्दै घटनाबाट आफूलाई टाढा राख्ने प्रयत्न गरेका छन् तर यस्ता पात्र र प्रवृत्तिलाई राज्यले छानबिनको घेरामा ल्याउनै पर्छ ।
आयोजकले भनेजस्तै यो घटना घुसपैठियाकै कारण भएको हो भने ती घुसपैठियाको निक्र्यौल गर्ने जिम्मा उनीहरूले नै लिनुपर्छ । होइन भने दोष अन्यत्र थोपरेर क्षम्य नहुने यो घटनाबाट भाग्न उनीहरूले पाउँदैनन् । राज्यले उनीहरूलाई समेत छानबिनको घेरामा ल्याएर कारबाही गर्ने आँट देखाउनुपर्छ । कैलाली मात्र होइन, मधेसका अन्य जिल्लाहरूमा राजनीतिलाई धमिलो पारेर माछा मार्न सक्रिय तत्त्वहरूले वातावरणलाई उत्तेजित बनाउने काम गरिरहेका छन् । सोझा जनतालाई ५० लाख दिने भन्दै आन्दोलनमा ज्यान दिन खुलेआम आह्वान गरिएको छ । यस्तो नांगो नाच देखाउँदा पनि राज्य त्यसप्रति गम्भीर नबन्नु अर्को दु:खद् पाटो हो ।
ब्गअर्कातिर, कैलाली घटनालाई लिएर प्रमुख तीन राजनीतिक दलका सुदूरपश्चिमका तीन नेताको समाजिक सञ्जालमार्फत आलोचना गरिएको छ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले शीर्ष नेताको बैठकमा थारूको मागलाई सम्बोधन गर्नै नहुने अडान लिएका कारण पनि यस्तो परिस्थित उत्पन्न भएको हो भन्नेहरूको जमात बढ्दै छ । एमाओवादी नेता डा. बाबुराम भट्टराईले ट्विटरमार्फत ‘शेर’ हरूका कारण यो अवस्था आएको भन्दै दोष सिधै देउवातिर देखाएका छन् । एमाले नेता भीम रावलले मंगलबार पत्रकार सम्मेलन गरेर घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
संमयमता अपनाउन सबै दलको आग्रह
कैलाली घटनापछि प्रमुख राजनीतिक दलहरूले संमयमता अपनाउन सबैमा आग्रह गरेका छन् । घटना लगत्तै बसेको एमाले स्याथी समितिको बैठकले देशभर भइरहेका घटनाले हिंसात्मक रूप लिएको भन्दै साम्प्रदायिक सद्भाव भड्किन नदिन सबैमा अपिल गरेको छ । टीकापुर घटनापछि सोमबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकले सदियौंदेखिको सामाजिक एकता कायम राख्न अपिल गरेको हो ।
बैठकले घटनामा घाइते भएकाहरूको स्वास्थ्योपचार गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न खुट्टा नकमाउन पनि एमालेले सरकारसँग माग गरेको छ । संविधान जारी गर्न जति ढिलो भयो त्यति संविधानविरोधी तत्त्वले खेल्ने र त्यसमा आतंककारी तत्त्वहरूको पनि घुसपैठ भएर सामाजिक एकता खल्बलिने भन्दै एमालेले जतिसक्दो चाँडो संविधान जारी गर्नुपर्ने निर्णयसमेत गरेको छ । कांग्रेस संसदीय दलको आकस्मिक बैठकले टीकापुरमा थारू समुदाय र प्रहरीबीच भएको झडपमा सुरक्षाकर्मी मारिएकोप्रति दु:ख व्यक्त गर्दै संयम रहन अपिल गरिएको प्रस्ताव पारित गरेको प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए । संविधान निर्माण भइरहेका बेला हिंसात्मक घटना घटाइनु दु:खद् र खेदजनक भएको भन्दै कांग्रेसले हिंसाबाट नभएर वार्ताबाट सबै समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
एमाओवादीले शान्ति, सद्भाव र एकता कायम राखेर समस्याको समाधानमा सहयोग गर्न आन्दोलनरत सबै पक्षलाई अपिल गरेको छ । टीकापुर घटनाले स्तब्ध बनाएको पनि एमाओवादीले जनाएको छ ।
‘संविधान निर्माणको ऐतिहासिक कार्यभार अन्तिम चरणमा पुगेको बेला कतिपय समुदायका भावना अझै समेटिएका छैनन् । त्यसका लागि जनतामा चिन्ता र पीडा देखापर्नु स्वाभाविक हो । जनताका जायज चिन्ता र मागलाई सम्बोधन गरेर नै यस प्रकारका दु:खद् घटनालाई रोक्न सकिन्छ,’ सोमबार साँझ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी आन्दोलनरत, जनसमुदाय, राजनीतिक दल र नागरिक समाज सबैमा शान्ति, सद्भाव र एकता बनाई समस्या समाधान गर्न सहयोगका लागि अपिल गर्छ ।’
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply