कार्यकर्तालाई जिम्मेवारी नदिइएकोमा एमालेमा असन्तुष्टि
काठमाडौं । ‘म मन्त्रीबाट फर्केको तीन महिना भयो । मैले के काम गरौं भनेर नेताहरूलाई सोधें । मलाई तपाईं मन्त्री हुँदा दस्तावेज पढ्न पाउनुभएको थिएन होला, पढ्नोस् भनेर किताब दिनुभयो । मैले अहिलेसम्म काम पाएको छैन । म जस्तो पोलिटब्युरो सदस्यले पनि काम गर्न पाएको छैन भने पार्टी कसरी बन्छ ?’
मन्त्री हुँदा एमालेको शिर ठाडो हुने गरी काम गरेर वाहवाही पाएका लालबाबु पण्डितले मंगलबार प्रज्ञा प्रतिष्ठानको सभा हलमा खचाखच भरिएका कार्यकर्ताबीच यसो भनिरहँदा काम पाएनौं भन्ने नेता उनी मात्र एक्ला थिएनन् । तल बसेका कार्यकर्ताले पनि भनिरहेका थिए, हामीले पनि काम पाएका छैनौं, केही जिम्मेवारी दिइएको छैन ।
मदन भण्डारी अध्ययन केन्द्रले आयोजना गरेको ‘संविधानको कार्यान्वयन : राष्ट्र र पार्टी निर्माण’ विषयक राष्ट्रिय विमर्शमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पार्टीका निकायहरूमा कार्यकर्तालाई जिम्मेवारी नदिइएको भन्दै रोष प्रकट गरे ।
जिम्मेवारी छैन कार्यकर्तालाई कार्यक्रममा बोल्दै वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो, ‘पार्टीका मेरुदण्ड भनेका कार्यकर्ता हुन्, ती मेरुदण्ड बलिया भएनन् भने पार्टी बलियो हुँदैन, पार्टीलाई बलियो बनाउन मेरुदण्ड बलियो बनाउनुपर्छ ।’
अर्का वरिष्ठ नेता माधव नेपालले कार्यकर्तालाई जतिसक्दो बढी जिम्मेवारी दिएर काममा सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँको कथन थियो, ‘यति लामो समयसम्म कार्यकर्तालाई जिम्मेवारी नदिएर राख्नुहुँदैनथ्यो, राखिएको छ, जुन गलत भएको छ । ’
कहाँकहाँ छ खाली ?
एमालेमा केन्द्रीय निकाय, विभाग र अञ्चल कमिटीहरूमा मनोनयन गरिएको छैन । केन्द्रीय कमिटीमा रिक्त स्थान पूर्ति गरिए पनि पुराना नेताहरूलाई जिम्मेवारी दिने केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा नेताहरूलाई जिम्मा दिइएको छैन । कुनै निकायमा नभएका कारण यसअघि केन्द्रीय कमिटीमा बसिसकेका पुराना र अनुभवी नेताहरूको मर्यादाक्रमसमेत छैन ।
त्यसैगरी, एमालेमा दैनिक काम गर्न बनाइएका ३१ ओटा विभाग पनि अहिलेसम्म गठन हुन सकेका छैनन् । विभाग गठनका लागि सम्बन्धित विभागीय प्रमुखले नाम सिफारिस गरे पनि लामो समयसम्म मापदण्ड बनाउने भन्दै संगठन विभागमा अड्काइएको थियो । तीमध्ये २६ विभागमा रहने सदस्यहरूको नाम केन्द्रीय सचिवालयमा पठाइएको पनि महिना दिन बितिसकेको छ । तर, दुई पक्षीय विवादका कारण त्यहाँबाट नाम पारित भएर स्थायी समितिमा पुगेको छैन । महासचिव ईश्वर पोखरेलले सचिवालयको बैठक नै नबोलाएका कारण ती नाममा छलफल नै हुन सकेको छैन ।
अञ्चल समन्वय कमिटीमा मनोनयन गर्ने सदस्यहरू मनोनयन नै गरिएन । अब अञ्चल खारेज भइसकेका कारण मनोनयन नहुने स्थिति छ । अब प्रदेश बनेका कारण ती निकायमा कसरी कमिटी बनाउने भन्नेमा अन्योल छ ।
तीन हजार कार्यकर्ताले काम पाएका छैनन्, बेरोजगार छन्, सचिव योगेश भटराईले भन्नुभयो, ‘ती कार्यकर्तालाई किन काम दिइएको छैन, बुझ्न सकिएको छैन ।’
एमालेमा बैठक बस्दैन
एमालेमा बैठक नै आयोजना नगरेको गुनासो नेताहरूले कार्यक्रममा गरे । बैठक बसेर संस्थागत रूपमा गर्नुपर्ने निर्णयहरू व्यक्तिगत आधारमा गरिएकोमा एमालेका नेताहरूले आक्रोश व्यक्त गरे । सचिव भटराईले भन्नुभयो, ‘हामी अहिले बहुपदीय प्रणालीमा छौं, अमेरिकी राष्ट्रपतीय प्रणालीजस्तो अध्यक्षात्मक प्रणालीमा छैनौं । हाम्रो विधानमा सबैको अधिकार निश्चित गरिएको छ, कुनै व्यक्तिलाई एक्लै निर्णय गर्ने अधिकार दिइएको छैन ।’
कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भन्नुभयो, ‘प्रधानमन्त्रीले हावाबाट बिजुली निकाल्ने कुरा गर्नुभएको छ, घरघरमा ग्याँस पाइप जोड्ने भन्नुभएको छ, काठमाडौंमा मेट्रो चलाउने भन्नुभएको छ । यी एमालेका योजना हुन्, एमाले समृद्ध नेपाल बनाउन चाहन्छ । तर, यी कुनै कुराबारे पनि बैठकमा छलफल भएको छैन, त्यसैले हामीले सार्वजनिक रूपमा यसको प्रचार गर्न पाएनौं । किनभने, पार्टी बैठकबाट होइन, पत्रपत्रिकाबाट हामीले यी कुरा थाहा पायौं ।’भूकम्प गएयता एमालेको केन्द्रीय कमिटीको बैठक नै बसेको छैन ।
केन्द्रका अध्यक्ष योगेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बोल्नुभएको थियो भने सञ्चालन ठाकुर गैरेले गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply