बलियो नेता खोज्ने कि प्रणाली ?
हामी कुनै शब्दका बारेमा कहिलेकाहीँ अनावश्यक विवाद गर्छौ । संविधान निर्माणको प्रक्रियाका बेला हामीले राज्यको शासकीय स्वरूपको सन्दर्भमा कुरा गर्दा बारम्बार प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गर्यौं । माओवादीले राष्ट्रपति भनेको थियो, हामीले प्रधानमन्त्री भनेका थियौं । तर, त्यो गलत छ भन्ने सन्दर्भमा नेपाली कांग्रेसको तर्क ‘कम्युनिस्टहरू अधिनायकवादी हुन्छन् र उनीहरूले अधिनायकवादी शासन खोज्नका लागि यस्तो कुरा गरेका हुन्’ भन्ने आरोप लगायो । त्यो कांग्रेसको असाध्यै कमजोर बुझाइ थियो । मैले भन्ने गरेको थिएँ, आफूलाई दुनियाँको सबैभन्दा प्रजातान्त्रिक भन्ने मुलुक अमेरिकामा प्रत्यक्ष कार्यकारी राष्ट्रपति नै छ । आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै वैकल्पिक व्यवस्थाको हिसाबले विकास गरेको समाजवादी चीनमा पनि राष्ट्रपतीय प्रणाली नै छ । त्यसैले, यो प्रणाली कुन देशको कुन वादको भन्ने हुँदैन । त्यो प्रणालीले कसका हितमा काम गर्छ भन्ने कुरा ज्यादा महत्त्वपूर्ण हो ।
हामीले जनवादी शिक्षा प्रणालीको कुरा गर्यौं । धेरै पहिलेदेखि हामीहरूले यो शब्द प्रयोग गर्दै आइरहेका छौं । हामी स्वयं अनेरास्ववियुमा रहँदा कस्तो शिक्षा प्रणालीको विकास गर्ने भन्नेबारे अनेक प्रशिक्षण चलायौं । विद्यार्थीकालमा कहिलेकाहीँ हामीलाई अप्ठ्यारो पनि पथ्र्यो । त्यो के भने जनवादी शिक्षा भनेका छौं, केही न केही भिन्नता देखाउनैपथ्र्यो । भिन्नता खोज्न हामीलाई धेरै कठिन पनि हुन्थ्यो । खोजेर ल्याउनुपर्ने भएकाले त्यो ज्यादा बनावटी पनि हुन्थ्यो । त्यसपछि हामीले अनेरास्ववियुमा नयाँ दृष्टिकोण अगाडि बढायौं । २०५२ सालमा विराटनगरमा भएको १३औं राष्ट्रिय सम्मेलनमा म आफैंले प्रतिवेदन प्रस्तुत गरेको थिएँ, त्यहाँ मैले जनवादी शिक्षा भन्ने च्याप्टर उल्लेख नै गरिनँ, वैकल्पिक शिक्षा प्रणाली उल्लेख गरें, त्यो ज्यादा उपयुक्त हुन्छ भन्ने लाग्यो । शिक्षाले आखिर सेवा गर्ने भनेको व्यवस्थालाई नै हो । पुँजीवादी विचारअन्तर्गत कुनै व्यवस्था बनाइन्छ भने त्यहाँको शिक्षाले, राजनीतिले र अरू अनेक नीतिहरूले त्यो व्यवस्थालाई नै सहयोग पुर्याउँछन्, त्यसलाई बलियो बनाउने नै काम गर्छन् ।
हामी समाजवादीहरूले समाजवादी राज्य व्यवस्थाको कुरा गर्छौं भने हाम्रो शिक्षा नीतिले, अरू योजना र नीतिहरूले हामीले बनाउन खोजेको व्यवस्थालाई नै बलियो बनाउने हो ।
दुईटा विचारहरूका बीचमा भिन्नता त्यहीँनेर प्रकट हुन्छ । हामीले जुन विचार बोकेका छौं, चाहे जनवादी शिक्षा भन्नुस् वा वैकल्पिक शिक्षा भनौं, त्यो शिक्षाले मूलत: द्वन्द्वात्मक भौतिकवाद भन्नुस्, द्वन्द्वात्मक भौतिकवादलाई त्यसले बोक्छ कि बोक्दैन ? हाम्रा विद्यार्थीहरूलाई द्वन्द्वात्मक भौतिकवादी विधिबाट समाजलाई, दुनियाँलाई बुझ्ने दृष्टिकोण दिन्छ कि दिँदैन ? हामीले दिने शिक्षाले हाम्रा विद्यार्थीहरूको चेतनालाई आलोचनात्मक बनाउँछ कि बनाउँदैन ? हामी माक्र्सवादी हौं भने बुझ्नुपर्ने कुरा हो, माक्र्सवादले व्यक्तिलाई आलोचनात्मक बनाउँछ । हामीले दिएको शिक्षाले आलोचनात्मक बनाउँदैन र कुनै पनि कुरा, व्यवस्थाको अन्धभक्त मात्र बनाउँछ भने त्यो शिक्षा माक्र्सवादी, द्वन्द्वात्मक भौतिकवादी शिक्षा हुँदैन । त्यो आध्यात्मिक शिक्षा हुन्छ, हामी त्यस्तो शिक्षा दिने पक्षमा छैनौं ।
आजभोलि विश्वभर एउटा बहस चलिरहेको छ । आज त्यो बहस नेपाली समाजमा पनि आवश्यक छ । आज नभए पनि भोलिका दिनमा यो बहस गर्नैपर्छ । हामी बलियो नेता खोजिरहेका छौं कि बलियो प्रणाली खोजिरहेका छौं ? यो ज्यादै महत्त्वपूर्ण कुरा हो । आज सामाजिक सञ्जालहरूमा हेर्ने हो भने त्यहाँ हामीले बलियो नेता खोजिरहेको प्रस्ट देखिन्छ । तर, बलियो नेता खोजेर हुदैन, बलियो प्रणाली खोज्नुपर्छ । यदि बलियो प्रणाली बनाइयो भने त्यो प्रणालीभित्र नेता स्वत: बलियो हुन्छ । बलियो नेता खोजियो, प्रणाली केही पनि छैन भने त्यो नेताले केही पनि गर्न सक्दैन । त्यस्तो नेताप्रतिको जनताको विश्वास भताभुंग हुन्छ र अर्को वर्षदेखि त्यो नेतालाई गाली गर्न थालिन्छ । आजका दुनियाँका पुजिवाँदी पश्चिमा मुलुकहरूले वा चीनले वा अरू जति पनि प्रगति गरिरहेका मुलुकहरू छन्, तिनले सबैभन्दा पहिले संस्थाहरू, प्रणालीहरूलाई बलियो बनाएको हुनाले नै ती राष्ट्र बलिया भएका छन् । हामीले पटक–पटक नेता बलियो बनाउन खोज्यौं । नेता बलियो बनायौं भने त्यसले कहिलेकाहीँ गलत बाटो पनि लिइदिन्छ । ६ लेनको चौडा र बलियो बाटो बनायौं भने त्यहाँ पचासचक्के ट्रक पनि गुड्न सक्छ । तर, बाटो छैन । पचास चक्के ट्रक गुडाउन खोजियो भने दुर्घटना हुन्छ । त्यसकारण, शिक्षाले त्यो चेतना दिनुपर्छ । हामीले भनेको शिक्षाले देशभक्तिपूर्ण भावना दिनुपर्छ, व्यक्तिलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने बाटो देखाउनुपर्छ । जनवादी वा वैकल्पिक वा प्रजातानित्रक वा समाजवादी जे भने पनि त्यो शिक्षाले यो दिशा निर्दिष्ट गर्नुपर्छ ।
आज हामीकहाँ धेरै कुरा मिलिरहेका छैनन् । एउटै कुरा म भन्छु, हाम्रो राष्ट्रिय आवश्यकता के हो ? र, त्यो आवश्यकतालाई शिक्षाले बोकेको छ कि छैन ? हाम्रा नीतिनिर्माताहरू चाहे त्यो राष्ट्रिय योजना आयोगमा हुन् अथवा कतै हुन्, उनीहरूले जे नीति बनाउँछन्, त्यो नीति अनुसार शिक्षालाई पुर्नसंरचना गर्ने काम भएकै छैन । हाम्रा राष्ट्रिय आवश्यकता र नीति एकातिर छन्, शिक्षा अर्कातिर दौडिरहेको छ । हाम्रो मुलुकको समृद्धिको मुख्य आधार भनेको कृषि, जलस्रोत, पर्यटन आदि हुन् भन्ने गरेका छौं । अनि शिक्षाको पुन:संरचना गर्ने, शिक्षाको नीति बनाउने अथवा यो देशको समृद्धिका निम्ति नीति बनाउनेहरूले कृषि, जलस्रोत र पर्यटनमा आधारित शैक्षिक व्यवस्थाको व्यवस्था गरेका छन् कि छैनन् ? हाम्रा विश्वविद्यालयहरूले त्यसलाई प्राथमिकता दिएका छन् कि छैनन् । हाम्रो जनशक्तिको निर्माण त्यसअनुसार भएको छ कि छैन ? आज भूकम्पपछिको पुनर्निर्माणका लागि प्राधिकरण बनेको छ । हामीलाई हजारौं इन्जिनियर चाहिएको छ, हजारौं मध्यम वर्गको सीप भएको जनशक्ति चाहिएको छ । त्यो जनशक्ति हामीले पूर्ति गर्न सक्छौं कि सक्दैनौं ? आज पसिना मात्र बगाउने अदक्ष नेपाली युवालाई विदेशमा पठाएर हामीले ७ सय अर्बभन्दा बढी रेमिट्यान्स ल्याइरहेका छौं । त्यसमा २० प्रतिशत मात्र सीपयुक्त बनाएर पठाउने हो भने त्योभन्दा दोब्बर रेमिट्यान्स भित्रिन्छ । तर, हाम्रो शिक्षाले त्यो दिशा बोकेकै छैन । हामी विदेश जाँदा त्यहाँका कम्पनी मालिकहरूले भन्छन्, ‘तपाईंले अलिकति प्लम्बिङ गर्न जानेको मान्छे पठाइदिनुस्, हामी दोब्बर तलब दिन्छौं । अलिकति सीप भएको मान्छे पठाउनुस् न दोब्बर तलब दिन्छौं ।’ हामीले ती नीतिहरूलाई राम्रोसँग पछ्याइरहेका छैनौं ।
नेकपा एमालले नौमहिने शासन कालमा ‘आफ्नो गाऊँ, आफैं बनाऔं’ कार्यक्रम ल्यायो । यस्तो कार्यक्रमले नेपालको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँछ, ग्रामीण अर्थतन्त्रलाई सहरसँग जोड्छ, गाउँमा रोजगारीको अवसर सिर्जना हुन्छ, गाउँमा सहरीकरणको विकास हुन्छ, गाउँबाट विकासका आधार निर्माण हुन्छन् र जनसहभागिताका माध्यमबाट राष्ट्रले विकासको तरंग पैदा गर्छ भनेर नै त्यो कार्यक्रम ल्याइएको थियो । त्यस कार्यक्रमले नेपालमा साँच्चै ठूलो क्रान्ति पनि ल्यायो । गाउँमा ३ लाख रूपैयाँ पठाउँदा ३० लाखका काम भए । आज ३० लाख पठाउँदा ३ लाखको काम भएको छैन । हिजो हामी नै थियौं, ३ लाख पठाउँदा ३० लाखको काम गथ्र्यौ, आज पनि हामी नै छौं, ३० लाख पठाउँदा ३ लाखको काम गर्दैनौं । दक्षिण कोरिया जाँदा त्यहाँ हामीलाई पढाइयो, १९६२ मा त्यहाँ पनि हाम्रो आफ्नो गाउँ आफंै बनाऔं भन्नेजस्तै कार्यक्रम ल्याइएको रहेछ । त्यसले दक्षिण कोरियाको ग्रामीण अर्थतन्त्रलाई, त्यहाँका गरिब जनतालाई राज्यको तर्फबाट आवश्यक इन्टेन्सिभ दिँदै माथि ल्यायो । अहिले पनि त्यहाँ त्यो कार्यक्रमको ‘फलो अप भइरहेको छ । त्यसको रिसर्च गर्ने संस्था नै सयौं छन् । त्यसले पारेको प्रभाव बारे शोधपत्र बनाएर हामीलाई त्यहाँ जाँदा उनीहरूले पढाउने गरेका छन् । तर, हामीले यति ठूलो क्रान्ति गरेका थियौं ०५१ सालमा एमाले सरकारका बेला । तर, कुनै पनि विश्वविद्यालयमा, कुनै पनि पाठ्यक्रममा त्यो नौ महिने शासन कालको, आफ्नो गाऊँ आफै बनाऔं कार्यक्रमको पढाइ भएन । त्यस्ता कार्यक्रमबारे फलो अप नहुँदा ती कार्यक्रम आउने र हराएर जाने गरेका छन् । अनि कुनै विचारवादमा गएर त्यस्ता कार्यक्रम विवादित बनिदिन्छन् । नाम के राख्ने भन्नेमा विवादिन भइदिन्छ । यस्ता खालका कार्यक्रमहरू शिक्षाले दिनुपर्छ । एकपटक अन्नपूर्ण होटलमा गिरिजाप्रसाद कोइराला र डा. केदारभक्त माथेमाका बीच रोचक बहस भएको थियो । त्यो कार्यक्रममा म पनि थिएँ । गिरिजाबाबुले भन्नुभयो–‘विकास भनेको बाटो हो ।’ केदारभक्त माथेमाले भन्नुभयो– ‘विकास भनेको शिक्षा हो ।’ पाँचसात मिनेट मज्जाले सवालजवाफ चल्यो । आज पनि हामी नेताहरूलाई गाउँतिर घुम्न जाँदा त्यहाँका जनताले ‘हजुर, बाटो बनाइदिनुपर्यो, बिजुली ल्याइदिनुपर्यो’ भन्छन् । राम्रो विद्यायलय बनाइदिनुपर्यो, यो शिक्षकले राम्रो पढाएन, राम्रो पढाउने शिक्षक पठाइदिनुपर्यो भन्दै भन्दैनन् । शिक्षामा सुधार गर्ने कुराचाहिँ भन्दै भन्दैनन् । शिक्षामा सुधार गर्ने कुरा नै विकासको मुख्य कुरा हो, चाहे त्यो शिक्षालाई जुनसुकै नाम दिऔं । विकासको पूर्वाधार नै त्यही हो ।
One response to “बलियो नेता खोज्ने कि प्रणाली ?”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
बलिलो नेताले मात्र बलियो प्रणाली बनाउन सक्छ / मदन भण्डारी यशका उधाहरण हुन् / एमाले भण्डारी बिना नुन बिनाको तरकारी भएको छ /