घेराबन्दीबीच पहिलो चरणमा एमाले पहिलो शक्ति
काठमाडौं । २० वर्षपछि सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणामसँगै मुलुकको राजनीतिमा नेकपा (एमाले) पहिलो राजनीतिक शक्तिका रूपमा पुनःस्थापित भएको छ । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रको ‘प्रतिपक्षीविरुद्धको घेराबन्दी’ र सत्ता दुरुपयोगलाई तोड्दै एमाले पहिलो राजनीतिक शक्तिका रूपमा पुनःस्थापित भएको हो ।
कुल २ सय ८३ स्थानका लागि भएको निर्वाचनमा मंगलबारसम्मको परिणाममा कांग्रेसलाई २० सिटले पछि पार्दै एमालेले १ सय २२ स्थानमा विजय हासिल गरेको छ भने चार महानगरमध्ये काठमाडौं, भरतपुर र पोखरामा विजय निश्चित गर्दै अग्रता हासिल गरिरहेको छ । उता, चर्चितमध्येको हेटौंडा उपमहानगरपालिकासमेत थोरै मतान्तरमा एमाले नै अग्रपंक्तिमा रहेर विजय उन्मुख देखिएको छ । ९२ नगरपालिकामध्ये एमालेले ५० प्रतिशतभन्दा बढीमा एकलौटी विजय हासिल गरेको छ भने गाउँपालिकामा समेत ४० प्रतिशतभन्दा बढी स्थानमा विजयी बनेको छ । यस हिसाबले हेर्दा स्थानीय तहमा कम्तीमा ५० प्रतिशत जितेर बहुमत प्राप्त दल बन्ने एमालेको लक्ष्य लगभग पूरा भएको छ । ३१ जेठका लागि तोकिएको दोस्रो तहको निर्वाचनमा कम्तीमा अहिलेकै रफ्तारमा विजय हासिल गर्दा मात्रै एमालेले त्यो लक्ष्य पूरा गर्ने स्पष्ट संकेत देखिएको छ । यो परिणाम २०५४ सालको स्थानीय निर्वाचनबराबर नभए पनि दोस्रो चरणको निर्वाचन सम्पन्न भइसक्दा त्यस हाराहारीमै एमालेले स्थानीय सरकारमा विजय हासिल गर्ने स्थिति बन्दै गएको बताइन थालिएको छ ।
सत्तारूढ गठबन्धनका बाबजुद एमालेले पाएको यो सफलतासँगै कांग्रेसले पहिलो चरणमै हार स्वीकार गरेको छ भने माओवादी केन्द्रले तेस्रो स्थानप्रति सन्तोष व्यक्त गरेर चुनाव गराउनुलाई नै आफ्नो विजयका रूपमा व्याख्या गरेको छ । उसको त्यस व्याख्यालाई सांगठनिक क्षयीकरण र घट्दो लोकप्रियतालाई ढाकछोप गर्ने प्रयासका रूपमा सर्वत्र टिप्पणी गरिएको छ ।
सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले निर्वाचनमा एमाले बलियो रहेका स्थानमा घेराबन्दी गर्ने पहिलो रणनीति अख्तियार गरेका थिए । दोस्रो, सत्ताको आडमा पैसा परिचालन र धाँधली गरेका थिए । त्यसअनुसार काठमाडौं, चितवन, पोखरा, धादिङ, दोलखालगायतका करिब एक दर्जन जिल्लामा दुई दलले गरेको घेराबन्दी, सत्ता दुरुपयोग र धाँधलीलाई तोड्दै एमाले ती सबै जिल्लामा सानदार बहुमतका साथ विजय प्राप्त गरेको छ । काठमाडौं र दोलखामा माओवादी लगभग बढारिएको छ । अन्य स्थानमा पनि दुवै दलले परिणाममा धक्का ब्यहोरेका छन् । गठबन्धनसँगै सत्ता दुरुपयोग गर्दै दोलखामा धाँधलीबाट कांग्रेसले दुई गाउँपालिकाको अध्यक्ष मात्रै जित्न सफल भएको छ । कांग्रेसले जितेको भनिएको दोलखाको बैत्तेश्वर गाउँपालिकाको तीन मतदान केन्द्रमा प्रहरीलाई नियन्त्रणमा लिएर बुथ कब्जा गरिएको भिडियो सार्वजनिक हुँदा पनि निर्वाचन आयोगले कुनै कारबाही लिन सकेन । उता, भरतपुरमा सत्ताको दुरुपयोग गर्दै निर्वाचन आचारसंहिताविपरीत करोडौं पैसा बाँडिए पनि प्रधानमन्त्री प्रचण्ड–पुत्री रेणु दाहाललाई भारी मतान्तरले पछि पार्दै एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली विजयतर्फ उन्मुख भइरहेका छन् ।
निर्वाचन घोषणा भइसकेपछि सरुवा, नियुक्ति, बढुवा, बजेट यताउति अर्थात् रकमान्तरण गर्ने काम आचारसंहिताविपरीत हुने गर्दछ । तर, एमालेले पटकपटक निर्वाचन आयोगमा उजुरी गर्दागर्दै पनि ती कुनै पनि काम नरोकिएकै स्थितिमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । यहाँसम्म कि बुथ कब्जा गरिएका भिडियोहरू सामाजिक सञ्जालहरूमा भाइरल हुँदा पनि निर्वाचन आयोग मूकदर्शक बनेको छ । निर्वाचनको संघारमा सरकारका मन्त्रीहरू पैसा बाँड्दाबाँड्दै सरकारी गाडीसहित पक्राउ परेका छन्, कतिपय स्थानमा लखेटिएका छन् । प्रदेश नम्बर ६ मा सरकारले करोडौं रकम दुरुपयोग हुने गरी बाँडेको प्रमाणसहित एमालेले निर्वाचन आयोगमा उजुरी गरेको थियो । तर, आयोगले सम्बन्धित मन्त्री या प्रधानमन्त्रीलाई एउटा स्पष्टीकरण सोध्नेसमेत आँट नगरेको बताइन्छ । यी सबै हर्कतका बाबजुद पहिलो चरणको निर्वाचनबाट प्राप्त परिणामप्रति एमालेले सन्तोष व्यक्त गरेको छ । प्रतिपक्षीविरुद्धको घेराबन्दी, धाँधलीको प्रयासका बाबजुद प्राप्त परिणाम सन्तोषजनक रहेको एमाले स्थायी समितिले निष्कर्ष निकालेको छ । ‘हामीले ५० प्रतिशत स्थान जित्ने अपेक्षा गरेका थियौं, सरकारको धाँधली र सत्ता दुरुपयोगको घटनाका बाबजुद सन्तोषजनक परिणाम ल्याएका छौं,’ एमाले उपाध्यक्ष वामदेव गौतम भन्छन्, ‘२०५४ सालकै जतिको नतिजा नआए पनि दोस्रो चरणको निर्वाचनसम्म त्यस हाराहारीकै नतिजा ल्याउने गरी हामी अघि बढ्नेछौं ।’ एमालेले दोस्रो चरणको निर्वाचनमा बाहिरी प्रचारात्मक कामसँगै मसिनो तरिकाले घरदैलो अभियानलाई तीव्रता दिने रणनीति अख्तियार गरेको छ । त्यस निम्ति एक÷दुई दिनभित्रै चारवटै प्रदेशका उम्मेदवारको सूची सार्वजनिक गर्ने एमालेको तयारी छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply