21st February 2018, Wednesday

E-budhabar

मुद्रणमा मुद्रा मिलाउने खेल



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्रण विभागमा छपाइ मेसिन खरिद गर्दा अनियमितता भएको भन्दै छानबिन अघि बढाएको छ । डिजिटल प्रिन्टिङ मेसिन खरिदमा तोकेबमोजिमको मापदण्ड नभएको उजुरी परेपछि अख्तियारले पत्र काटेर सबै विवरण पठाउन निर्देशन दिएको हो ।
श्रेष्ठ एन्ड अमृत ट्रेडर्स कम्पनीले सप्लाई गरेको रिको ब्रान्डको मेसिनको बजार मूल्य १८ देखि २० लाख पर्ने भए पनि हाल त्यसको मूल्य ६८ लाखबराबरको कायम गरी बिल पेस गरेपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारले २६ असारमा परेको उजुरीलाई छानबिनका लागि भन्दै खरिद गरिएको मेसिनको अवस्था तथा त्यसको सञ्चालन खर्चसमेत सबै विवरण उल्लेख गरी पठाउन निर्देशन दिएको छ । तर, अहिलेसम्म विभागले विवरण नपठाएको अख्तियार स्रोतले जनायो । अख्तियार स्रोतका अनुसार २०७३ साल चैतमा पनि प्रिन्टिङ टोनर, मसी तथा कागज सप्लाईमा अत्यधिक खर्च बढेको तथा सप्लाई गर्ने कम्पनीबाट टेन्डर नै नगरी कोटेसनको आधारमा सप्लाई गरेको भन्दै अख्तियारले सचेतसमेत गराएको थियो । साथै, राष्ट्रिय सर्तकता केन्द्रले पनि सचेत गराएको थियो ।
हाल विभागमा बलभद्र गिरी महानिर्देशक रहेको छन् । अख्तियारले उनी र भण्डारण अधिकृत दीपक पोखरेलको नाममा समेत सो विषयमा लिखित जवाफ पेस गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो । अख्तियारको उक्त ताकेतापछि मन्त्रालयले शाखा अधिकृत सुरेशबाबु घिमिरेको नेतृत्वमा छानबिन गर्न टोलीसमेत बनाएको छ । रिको ब्राण्डको मेसिन खरिद गरेपछि नेपालमै त्यसको तालिम लिन सकिने व्यवस्था भए पनि त्यहाँका दुई कर्मचारीलाई तालिमका लागि भन्दै विभागले सिंगापुरसमेत पठाएको थियो । अहिले सो मेसिन सञ्चालनमा ल्याइएको छैन ।
अख्तियारले प्रश्न उठाएपछि मेसिन नै फिर्ता गर्ने कि भन्ने मनस्थितिमा मुद्रण विभागका महानिर्देशक गिरी र भण्डार विभागका अधिकृत पोखरेल रहेको विभाग स्रोतले जनाएको छ । भण्डारण अधिकृत पोखरेलले विभागको मापदण्डअनुसारको मेसिन नआएकाले सञ्चालनमा नल्याएको बताए । ‘हामीले अघिल्लो वर्षको पैसाले मेसिन खरिद गरेका हौ तर विभागको प्राविधिक समितिले दिएको मापदण्डअनुसार पूरा नभएकाले मेसिन सञ्चालनमा आएको छैन,’ उनले भने ।
उनका अनुसार ए थ्री साइजको २ हजार सिट पेपर अट्ने ट्रे हुनुपर्ने मापदण्ड थियो तर त्यो पूरा भएन । कम्पनीले उक्त सर्त पूरा गरेपछि मात्रै विभागले मेसिन सञ्चालनमा ल्याउने उनको जवाफ थियो । साथै, मुद्रण विभागलाई आवश्यक पर्ने कागजमसी टोनर आदि खरिद गर्दा समेत आवश्यक प्रक्रिया पूरा नगरी व्यापारीसँगको मिलेमतोमा कागजी प्रक्रिया मिलाई लिने गरिएको समेत खुलेको छ । लामो समयदेखि विभागमा स्वस्तिक इन्टरप्राइजेज र चण्डिको इन्टरप्राइजेजबाट कागज खरिद हुँदै आएको छ । सो कागज खरिदमा पनि अनियमितता भएको भन्दै अख्तियारले प्रश्न उठाएको छ ।
विभागमै रहेको पुरानो अफसेट मेसिन मर्मत गर्दा पनि अनियमिता गरेको आरोप लागेको छ । सो मेसिन मर्मत गर्दा २ लाख ६३ हजारको बिल आएको भए पनि त्यसमा भण्डारणका अधिकृत पोखरेलले ८३ हजार थप गर्न लगाएका थिए । साथै, विभागमा रहेको पाले बस्ने कोठाको मर्मतबापत ३५ हजार रूपैयाँ खर्च देखिए पनि लेखापाल कमल परियारसँगको मिलेमतोमा अधिकृत पोखरेलले १ लाख २५ हजारको बिल पेस गर्न लगाई भुक्तानीसमेत गरिएको छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?

काठमाडौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आयोजना निर्माणका क्रममा ठेकेदारले उत्खननपछि आएको ढुंगा बेच्न पाउनुपर्ने लबिइङमा स्थानीय जनप्रतिनिधिहरू नै लागेका छन् । नीतिगत- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

ईश्वरको नाममा

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ खाँदा परम्परागत रूपमा चलिरहेको ‘ईश्वरको नाममा’ शपथ लिन चाहेनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

प्रेमको वरिपरि

पछिल्लो समय, नेपाली साहित्यमा फस्टाउँदो विधाका रूपमा गजल विधा रहेको छ । र, गजल लेखनमा समर्पित रहेका स्रष्टाहरूले गजल–लेखनमा नयाँनयाँ प्रयोग र अनेक विषयवस्तुलाई उठाउन पनि चाहेका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा