पाँचौं तलामा अध्यक्षलाई केरकार
काठमाडौं । ‘आगामी महाधिवेशनमा तपाई अध्यक्षमा उठ्ने हो कि होइन्, होइन भने तपाईंको समर्थन माधवलाई हुन्छ कि केपीलाई, आजै हामीलाई प्रस्ट पार्नुपर्यो ।’ नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डको पाँचौं तलामा भेला भएका मध्ये आफ्ना निकट मानिने केही युवाहरूले र्याखर्याख्ती पारेपछि नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले पुरानै कुरा दोहोर्याउँदै भने– ‘मेरो नाममा सबै साथीको समर्थन हुन्छ भने पछि हट्दिनँ तर सहमति भएन भने म कुनै हालतमा उम्मेदवारी घोषणा गर्दिनँ ।’
कुरा गत शनिबारको हो । कार्यक्रमका आयोजक थिए, एमाले भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुका पाँच पूर्वनेताहरू । युवा संघको अध्यक्षमा पराजित इन्द्रलाल सापकोटा र निरज आचार्य, अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमारी झाँक्री, अनेरास्ववियुको अध्यक्षमा पराजित सोभियत ढकाल र लक्ष्मण लम्सालले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका थिए । बेलुकीको खानपिन पनि त्यहीँ गरेर दिउँसो २ बजेदेखि सुरु भएको कार्यक्रमबाट अध्यक्ष खनाल राति ९ बजे मात्र बाहिरिएका थिए । कार्यक्रममा सहभागीहरूले आ–आफ्नो कुरा राखेपछि अध्यक्ष खनालले अन्तिममा सबैका जिज्ञासा मेटाउने प्रयास गरेका थिए । आफ्नो नाममा सहमति नभए कसलाई समर्थन गर्ने ? भन्ने सहभागीको जिज्ञासामा खनालको जवाफ थियो– ‘म पार्टीको एउटा सफल अध्यक्ष हुँ त्यसैले मेरो नाममै सहमति बन्छ भन्ने विश्वास छ । यदि भएन भने कसलाई समर्थन गर्ने भनेर मैले कुनै नेतालाई अहिलेसम्म वचन दिएको छैन, जसको विचारले नेतृत्व गर्छ, उही अध्यक्ष हुन्छ, यसमा हतारिनुपर्ने कुनै जरुरत छैन ।’
अनौपचारिक भनिएको भेलाको सञ्चालन अखिलका पूर्वनेता लम्सालले गरेका थिए । झन्डै ८५ जना युवा विद्यार्थीको उपस्थिति रहेको भेलामा पूर्व विद्यार्थी नेतृ रचना खड्काले पार्टीलाई दक्षिणपन्थी भासबाट जोगाउन ठोस पहल गर्नुपर्ने बताएकी थिइन् । युवा संघका पूर्वनेता सापकोटा र आचार्यले साझा गुनासो अध्यक्ष सामु पोखेका थिए । ‘हामी युवा संघमा हार्यौं, त्यसपछि पार्टीले केही जिम्मेवारी पनि दिएन । हाम्रो नाम अध्यक्षको डायरीमा पनि अटाएन ।’ उनीहरूको गुनासो सम्बोधन गर्दै अध्यक्ष खनालले भने– ‘तपाईंहरू आफ्नो क्षमता विकास गर्नुस्, विषयवस्तुमा राम्रो कमान्ड राख्नुस्, समयले तपार्इंहरूलाई अवसर दिनेछ ।’ आफूले पार्टीमा केही पनि नमागी निरन्तर लागिरहँदा चार चोटी पार्टीको नेतृत्व गर्ने ठाउँमा पुगेको खनालको भनाइ थियो ।
सहभागी अर्का युवा नेता सूर्य ढकालको चिन्ता अर्कै थियो ।
‘वामदेव कमरेडलाई उपमहासचिव बनाउने, केपी कमरेडलाई प्रभावशाली नेता भन्ने र केन्द्रीय सदस्यहरूलाई महाधिवेशनको पदेन प्रतिनिधि बनाउने विधानविपरीतका अभ्यासबाट पार्टीलाई कता लैजान खोजिएको हो ? यस्ता कुराले ठीक परिणाम दिँदैन ।’ अध्यक्षले ढकालको प्रश्नको जवाफ दिँदा पूरा हल हाँसोले गुन्जिएको थियो । खनालको जवाफ थियो– ‘पदेन प्रतिनिधिसम्बन्धी एजेन्डा महाधिवेशनमा निर्णयार्थ प्रस्तुत हुन्छ, पास भएन भने हामी घर फर्कनुको विकल्प छैन । बरु तपार्इंहरू त्यो एजेन्डा अस्वीकृत बनाउन आजैबाट माहोल निर्माणमा लाग्नुस् ।’ तपाईं म इलामबाट प्रतिनिधि बन्छु भनेर घोषणा गर्नुस भन्ने माग हलबाट आउँदा खनालले त्यसको कुनै जवाफ दिएनन् । बरु प्रश्नको समर्थनमा हलमा तालीको गड्गडाहट भएको थियो । कार्यक्रममा युवा विद्यार्थी नेताहरू थोमस बास्तोला, दिलु पन्त, राजु गुरुङ, मन्जु यादवलगायतले पनि आ–आफ्ना गुनासा अध्यक्ष खनालसामु राखेका थिए ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply