वामदेवद्वारा दिनदिनै तमासा
काठमाडौं । सत्ता र शक्ति हत्याउन माहिर नेकपा (एमाले) का सीमित नेताहरूमध्येका एक वामदेव गौतम यतिबेला विवादै विवादको भूमरीमा रुमल्लिनुभएको छ । गौतमले एकातिर महाधिवेशनको मुखमा पार्टीमा नेताहरुबीच विभाजन ल्याउने र सहमति हुन नदिने गरी दिनदिनै अभिव्यक्ति दिइरहनुभएको छ भने अर्कातिर हारगुहार गरेर तेस्रो पटक पाएको मालदार गृहमन्त्रालय पनि राम्ररी सम्हाल्न सक्नुभएको छैन ।
पछिल्लो पटक काठमाडौंका एसएस्पी रमेश खरेल आफूलाई भेटघाट गर्न नआएको भन्दै सार्वजनिक रुपमा हास्यास्पद टिप्पणी गरेर गृहमन्त्री गौतम विवादमा मात्र तानिनुभएको छैन, उहाँको मानसिकता कस्तो छ भन्ने पनि प्रस्ट पार्नुभएको छ । आफू गृहमन्त्री भएपछि प्रहरीका अन्य उच्च अधिकृतहरू भेटघाट गर्न आए पनि खरेल भने आफूलाई भेट्न नआएको भन्दै गृहमन्त्री गौतमको आक्रोश थियो । घुमाउरो पारामा आफू सिंहदरबार र पुल्चोकमा रहेको जनाउ दिँदै भेटघाट गर्न नआएका एसएसपी खरेलप्रति उहाँले धम्कीपूर्ण भाषामा भन्नुभएको थियो– ‘मसँग भेट्दा स्वाभिमान गिर्छ भन्ने उसले ठानेको छ । त्यसो भए म पनि हेर्दैछु ।’
एसएसपी खरेलप्रति धम्कीपूर्ण टिप्पणी गरेपछि गृहमन्त्रीको सो टिप्पणीलाई लिएर अहिले विभिन्न क्रिया–प्रतिक्रिया चलिरहेका छन् । सामाजिक सन्जालहरूसमेत गृहमन्त्री गौतमको टिप्पणीको विपक्षमा उभिएका छन् र उहाँको टिप्पणीलाई गृहमन्त्रीको ‘चाकडी मोह’को संज्ञा समेत दिएका छन् । र, गृहमन्त्री गौतमको खरेलप्रतिको टिप्पणीले ‘चेन अफ कमान्ड’मा चल्ने गृह मन्त्रालयको समेत धज्जी उडाएको बताइन्छ । गृहमन्त्री गौतमले खरेलप्रति आक्रोश व्यक्त गरेलगत्तै प्रहरी संगठनभित्र राम्रो र इमानदार छवि बनाएका खरेललाई काठमाडौं प्रहरी प्रमुखबाट हटाउन खोजिएको त होइन ? भन्ने अनुमान पनि अहिले लगाइँदैछ । ०५४ सालमा गृहमन्त्री हुँदा गौतमले ३६ दिनमै तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको फूली खोसेर धु्रवबहादुर प्रधानलाई प्रहरी महानिरीक्षक बनाउनुभएको थियो । पछि, अदालतले उहाँको कदमलाई गैरकानुनी ठहर गरेको थियो ।
महत्वाकांक्षी नेताका रुपमा परिचित गौतमले ०५४ मा पार्टी फुटाएर ०५८ मा एमालेमा विलय गराएपछि अहिले पहिलो पटक आफूलाई निकै शक्तिशाली ठान्नुभएको छ । अनेक सम्झौता, तिकडम र योजनाका साथ तेस्रो पटक उपप्रधानमन्त्री बन्नुभएका गौतममा अहिले राजनीतिक महत्वाकांक्षा पनि ह्वात्तै चुलिएको छ । अब उहाँले प्रधानमन्त्री बन्ने सपना देख्न थाल्नुभएको छ । एमालेको नवौं महाधिवेशन नजिकिँदै जाँदा अध्यक्षमा केपी शर्मा ओलीलाई जिताउने सपनासहित उहाँले भन्न थाल्नुभएको छ– ‘अब अध्यक्ष ओली र म प्रधानमन्त्री हुँ ।’
एमाले संसदीय दलको नेता चयन गर्नेक्रममा एकै रातमा ओली–गौतमबीच समीकरण निर्माण भएको थियो । अहिले गौतमले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टीको नेतृत्व एउटै व्यक्तिले तीन–तीन पटक गर्न नहुने तर्क पनि राख्दै आउनुभएको छ । तर, आफू चाहिँ तीन–तीन पटकसम्म उपप्रधानमन्त्री हुनका लागि मरिहत्ते गर्न पनि उहाँ चुक्नुभएन ।
गृहमन्त्री भएपछि छोटो अवधिमै सर्वाधिक विवादमा मुछिनेहरूमध्ये गौतम मात्रै पर्नुहुन्छ । इतिहासमा अरू गृहमन्त्रीहरू छोटो समयमै सायदै विवादमा तानिएका थिए । खरेल प्रकरणमा विवादित हुनुअघि गृहमन्त्री गौतम हेलिकोप्टर प्रकरणबाट सर्वत्र आलोचित हुनुभएको थियो । पार्टीको एउटा सामान्य कार्यक्रमदेखि आफ्ना गुटका नेताको आफन्तको बिहेमा हेलिकोप्टर उडाएर अनावश्यक खर्च गर्दा उहाँ पार्टीभित्र र बाहिरसम्म आलोचनाको पात्र बन्नुभएको थियो । गृहमन्त्री भएको तेस्रो दिनदेखि हेलिकोप्टर चढेर राज्यको सम्पत्ति दुरूपयोग गर्न थाल्नुभएका उहाँले आधा महिनाको अन्तरालमा गएको फागुनमा पाँच पटक हेलिकोप्टर सयर गर्नुभएको थियो ।
प्रधानमन्त्री बन्ने दिउसै सपना देख्न थालेयता गौतमको बोली र व्यवहार ठेगानमा छैन । तर, डेढ महिने कार्यकालमा उहाँ पहिलो प्राथमिकताका कामहरूप्रति भने उदासीन देखिनुभएको छ । संविधानसभाको चुनावअघि नै नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुन सकिरहेको छैन । रिक्त सात जना एआईजीमा बढुवा नहुँदा प्रहरी संगठनभित्रका काम प्रभावित बन्नपुगेको छ । तर, गृह मन्त्रालय सम्हालेको डेढ महिना बितिसक्दा पनि गौतमले एआईजीमा बढुवा गर्नेतिर आफ्नो ध्यान दिनुभएको छैन । मुख्य प्राथमिकतामा भन्दा पनि उहाँको ध्यान खुद्रे र फुटकर विषयहरूमा नै बढी केन्द्रित भइरहेको छ । र, यिनै विषयहरूले गृहमन्त्री गौतमलाई अहिले विवाद र आलोचना खेप्न बाध्य तुल्याएको छ ।
०६१ सालमा शेरबहादुर देउवाको सरकारमा जानका लागि पनि गौतमले पार्टीभित्र निकै कसरत गर्नुभएको थियो । त्यतिबेला भरतमोहन अधिकारीलाई सरकारको नेतृत्व गरेर पठाउने स्थायी समितिको निर्णयका विरुद्ध केपी ओली र उहाँले ‘नोट अफ डिसेन्ट’ नै लेख्नुभएको थियो । एमालेको इतिहासमा व्यक्तिका विरुद्ध ‘नोट अफ डिसेन्ट’ लेखिएको त्यो नै पहिलो पटक थियो । पछि ०६४ मा चुनाव हारे पनि उहाँ पार्टीभित्र ‘यसपटक पनि भएन भने मैले त सोच्नुपर्ने हुन्छ’ भन्दै पुष्पकमल दाहालको सरकारमा गृह मन्त्रालयसहित उपप्रम हुनुभएको थियो । उहाँले मन्त्रिपरिषद्बाट तत्कालीन सेनापति रुक्मांगद कटवाललाई हटाउने निर्णयमा साथ दिनुका साथै पार्टीमा पनि निरन्तर एमाओवादी एजेन्डाको वकालत गर्दै आउनुभएको थियो ।
गौतमलाई नजिकबाट चिन्ने एमालेका एक केन्द्रीय सदस्यका अनुसार यसपटक सरकारमा नजानका लागि उनी निकट नेता–कार्यकर्ताले भेटेरै अनुरोध गरेका थिए । गौतमलाई आफूहरूले दिएको सुझाव उद्यृत गर्दै ती केन्द्रीय सदस्यले भने– ‘तपाईं नेतृत्व हस्तान्तरणको अभियानमा छु भन्नुहुन्छ । तर, मौका पाउँदा पटक–पटक आफैं जानु राम्रो हुन्न । उही मन्त्रालय र उही हैसियतमा कतिपटक जाने ?’ तर, गौतमले उनीहरूको भनाइ सुन्ने कुरा भएन । उहाँको भनाइ उद्यृत गर्दै अर्का एक केन्द्रीय सदस्यले भने– ‘मलाई धेरै ऋण लागेको छ । भर्खरै तीन करोडमा घर बेचें । त्यसले कुमारी बैंकको ऋण तिर्न ठीक्क हुन्छ । त्यसैले यसपटक सरकारमा जानैपर्ने भएको छ ।’
पार्टीमा किसान, सरकारमा प्रहरी
गौतमले एमालेमा किसानको जिम्मा लिनुभएको छ । मालेबाट एमालेमा विलय भएयता उहाँले किसान महासंघलाई आफ्नो अभियानको थलो बनाइरहनुभएको छ । बेला–बेलामा ‘सरकारले किसानका विपक्षमा काम गर्यो’ भन्दै मागपत्र पनि पेस गर्नुहुन्थ्यो । उहाँले नयाँ नेपाल कृषि अभियान नामक सहकारी चलाएर १० वर्षभित्र खर्बमा कारोबार गर्ने भन्दै केशवलाल श्रेष्ठहरूलाई काममा लगाइरहुनभएको छ । एमालेका एक केन्द्रीय सदस्य प्रश्न गर्छन्– ‘तर उहाँलाई सरकारमा जाँदा गृह मन्त्रालय किन चाहिन्छ ? आफैंले उठाएका मागहरू पूरा गर्नका लागि कृषिमन्त्री भए हुँदैन ? ८१ प्रतिशत किसान भएको मुलुकमा कृषि मन्त्रालय महत्त्वपूर्ण हुन्छ कि डन्डा चलाउने गृह मन्त्रालय ?’
एमालेमा एक पटक केपी ओली र अर्को पटक भीम रावलले गृहमन्त्री भएर राम्रै छवि बनाउनुभएको छ । तर, वामदेव जहिले मन्त्री बन्दा पनि विवादित हुने गर्नुभएको छ । उहाँको पालामा विमानस्थलबाट सुन तस्करीको लाइन नै खुल्नु संयोग मात्र होइन होला । अझ उहाँले सबभन्दा बढी चलखेल प्रहरीमा गर्नुहुन्छ । वरिष्ठता मिचेर प्रहरी महानिरीक्षक बनाउन पछि नपर्ने गौतमले यसपटक मन्त्री भएपछि के–के उपद्रो मच्चाउनुहुने हो ? हेर्न बाँकी छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply