‘माधव नेपाल मैदान छोडेर भाग्दैन’
२०४७, त्यसभन्दा अगाडि र पछाडिका राजनीतिक परिवर्तनमा निर्वाह गरेको भूमिका अनि अहिलेका राजनीतिक शक्तिबीचको अवस्था हेर्ने हो भने नेकपा (एमाले) नेपालको राजनीतिमा पहिलो र केन्द्रीय शक्ति हो । यसबीचमा नेकपा (एमाले)को नवौं महाधिवेशन आउँदै छ । कसै–कसैले महाधिवेशनलाई नेतृत्वको छिनाझम्टीका रूपमा हेरेका छन् भने कसै–कसैले वैचारिक बहसका लागि जायज समयका रूपमा लिएका छन् । अझ कसै–कसैले त यसलाई नेतृत्वको बद्ख्वाइँ गर्ने हिसाबले पनि प्रयोग गरिरहेका छन् । महाधिवेशनका बेला पार्टी एकता र भावनामा आँच पुर्याउनुपर्ने कुनै कुरा छैन ।
पहिलो कुरा हामी सबैको केन्द्रबिन्दु र निसानामा पार्टी निर्माण हुनुपर्छ । राष्ट्र र जनताका निम्ति हामीले सोच्नुपर्छ । सामाजिक परिवर्तनका लागि काम गर्नु हाम्रो पहिलो दायित्व हो । पार्टी पार्टीका निम्ति मात्रै होइन, पार्टी पौवाको निम्ति होइन, पार्टी सामाजिक र क्रान्तिकारी परिवर्तनका लागि हुनुपर्छ । देशको मर्यादालाई जोगाउन, स्वाभिमानको रक्षा गर्न, लोकतन्त्र स्थापित, सुदृढ र विस्तार गर्न नेकपा (एमाले) चाहिएको छ । लोकतान्त्रिक संस्कारका लागि नेकपा (एमाले) चाहिएको छ । समाजबाट गरिबी, अन्याय र अत्याचारको अन्त्य गर्न पार्टी चाहिन्छ । जब हाम्रो ध्यान कुर्सीमा मात्रै जान्छ, नेतृत्वमा मात्रै जान्छ, तब त्यो पार्टी अराजक हुन जान्छ र भिडतन्त्रमा परिवर्तन हुन्छ ।
अहिले जहाँ गए पनि अध्यक्षको दावा र घोषणा गर्दै हिँड्ने प्रवृत्ति बढेको छ । आफ्ना लागि तर्क–कुतर्क सबै गर्दै हिँड्ने चलन चलेको छ । यसले पार्टीलाई दूरगामी असर पार्छ । हाम्रो ऐतिहासिकता बिर्सन पुगिन्छ । पहिलो सर्त हो– पार्टी क्रान्तिकारी हुनुपर्छ, परिवर्तनको बाहक हुनुपर्छ । सबै खालका व्यक्तिवादी र निम्नपुँजीवादी चरित्रका विरुद्ध युद्धको उद्घोष गर्नुपर्छ । आफू आए सबै ठीक हुन्छ भन्ने सोचको अन्त्य हुनुपर्छ ।
युवाहरू पार्टीका मात्रै होइन, देशकै कर्णाधार हुन् । समाजमा तपाईंहरू स्थापित हुनुभयो र तपाईंलाई हाईहाई गर्न थालियो भने त्यसबाट पार्टी बलियो हुन जान्छ । तपार्इंलाई हेर्नेबित्तिकै मान्छे भाग्न थाले भने पार्टी समाप्त हुन्छ । तपाईंको त्याग, इमानदारी र निष्ठाका कारण पार्टीको भविष्य राम्रो हुन जान्छ । यतिबेला मैले अनेरास्ववियुको पाँचौं सम्मेलनबाट आएको नेतृत्वलाई सम्झिरहेको छु । ती कर्मठ व्यक्तिहरू आउँदो महाधिवेशनबाट नेतृत्वमा आउनुपर्छ । कार्यशैली र आचरण राम्रो भएका व्यक्ति नेतृत्वमा आउनुपर्छ । मैले मेचीदेखि महाकालीसम्म त्यस्तै व्यक्तिहरू आउनुपर्छ भनेर खोजिरहेको छु ।
क्रान्तिको झन्डालाई निरन्तर अगाडि सार्न सक्नुपर्छ । हामीसँग शक्ति छ भनेर चुप लाग्यौं भने हामी शून्यमा पुग्न सक्छौं । जादु गर्न सिपालु पुष्पकमल दाहालका अगाडि सबै चनाखो हुनुपर्छ । युद्धको राजनीति गरे पनि, चुनावको राजनीति गरे पनि संगठन बलियो हुनैपर्छ । त्यसलाई समर्थन गर्ने ठूलो जमात नै आवश्यक छ । युद्धको राजनीतिबाट होइन, जनताको बहुदलीय जनवादबाट मात्रै जनताको नेतृत्व गर्न सकिन्छ भन्ने विश्वास एमालेमा छ । त्यही कारण एमाओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम एमालेले गर्न सकेको हो ।
२०४९ सालको पाँचौं महाधिवेशनबाट हामीले जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रूपमा स्वीकार गर्यौं । तर, त्यसअघि देखि नै त्यसका बारेमा छलफल र चर्चा चलेको थियो । शान्तिपूर्ण राजनीतिबाट जनताको नेतृत्व गर्ने, सरकारमा जाने र शक्ति सञ्चय गर्ने अनि फेरि जनताको पक्षमा काम गर्ने काम जनताको बहुदलीय जनवाद हुन्छ । बन्दुकबाट क्रान्ति हुन्छ भन्नेहरूले १७ हजार नेपाली आमाका सन्तानको रगतमा होली खेले । देशलाई बेहाल अवस्थामा पुर्याए । अर्बाैं अर्बको सम्पत्ति नोक्सान गरे । जातीय, क्षेत्रीय एकतामा खलल पुर्याउने काम गरे । आज आएर नेपालमा जनयुद्धको सान्दर्भिकता थियो/थिएन भन्ने कुरा विस्तारै बुझ्न थालेका छन् ।
यस हिसाबमा हामीले नेपाली कम्युनिस्ट आन्दोलनभित्र श्रेष्ठता हासिल गरेका छौं ।
नेकपा (एमाले)ले अगाडि सारेको जनताको बहुदलीय जनवादले नेपाली जनतालाई धेरै अगाडि बढाउन मद्दत गरेको छ । सिंगो राज्य र समाजको लोकतान्त्रिकीकरणमा यसले ठोस योगदान पुर्याएको छ । हामी प्रतिस्पर्धा र पहलकदमीबाट पछि हट्दैनौं, अघि बढ्छौं । ०६४ सालको सम्पन्न संविधानसभाको निर्वाचनमा हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौं । तर, हामी निरन्तर जनताका बीचमा गयौं र आफ्ना कुरा बुझायौं । जनताले पनि यसबीचको अवधिलाई दाँजेर हेरे र ०७० सालमै आफ्नो पुरानो निर्णय उल्टाइदिए । जनता देश टुक्रिएको होइन, एकताबद्ध भएको हेर्न चाहन्छन् । यसको प्रवक्ता नेकपा (एमाले) हो । त्यही भएर यसप्रति जनताको आशा छ, विश्वास छ । अग्रगामी उचित विचारहरूलाई आत्मसात् गरेर सबै शक्तिलाई साथमा लिएर जान सक्ने क्षमता नेकपा (एमाले)सँग मात्र छ ।
यस्तो पार्टीको नेतृत्व पनि कुशल व्यक्तिले मात्रै गर्न सक्छ । आजसम्म जिम्मेवारीमा ‘फिट’ नभएका र ‘टेस्टेड’ व्यक्तिहरूले नेतृत्व लिन खोजिरहेका छन् । फुटबलमा गोलकिपरको भूमिका निभाउन नसक्नेले क्याप्टेन बन्न खोजेर हुन्छ ? गोलकिपरको भूमिका खेल्न नसक्ने, खेलाडीको भूमिका निभाउन नसक्ने, पोस्टको रक्षा गर्न नसक्नेले क्याप्टेन बन्न खोज्ने ? जो उत्तीर्ण हुन बाँकी छ, त्यस नयाँ पुस्तालाई दिनुपर्छ ।
मैले सुुनें– भाषण गर्नेहरूले पुस्तान्तरणको कुरा गरे रे ! क पछि ख, खपछि ग हुन्छ । टिमको खोजी हुन्छ । टिममा क्याप्टेनको खोजी हुन्छ । ‘१५ वर्ष चलाइसकेको’ भन्दै भाषण गरेको पनि सुनें । सर्वसम्वत हुन्छ रे ! निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने र आँट नभएकाहरूले सर्वसम्वत भनिरहेका छन् । मैदानमा आएपछि थाहा हुन्छ । माओवादीसँग टक्कर लिने मान्छे हो, माधव नेपाल । ज्ञानेन्द्रसँग टक्कर लिएर आएको माधव नेपाल टक्करसँग कहिल्यै डराउँदैन । आफ्नै पार्टीको सरकारको विरोध गर्दै विरोधीसँग मिल्दै हिँड्नेहरूसँग ऊ डराएन । फेरि मैलाई पदलोलुप भन्ने ? म पार्टी बचाउने पक्षमा छु । योग्य र कुशल व्यक्तिले पार्टी हाँक्नुपर्छ । कार्यकर्ताले कसलाई पत्याउँछन्, त्यही आउनुपर्छ । आउने अप्ठ्याराहरूलाई सामना गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्छ ।
एमालेभित्र बौद्धिक, सैद्धान्तिक र वैचारिक क्षमता भएका नेताहरू छन् । पार्टी नेताहरूको व्यवस्थापन पनि गर्नुपर्छ । मन परेन भन्दैमा नेताहरूको बद्ख्वाइँ गर्नु हुँदैन । कुनै नेताको चाकडी नगर्नूस्, पछि नलाग्नुस् । पार्टीको पछाडि लाग्नुस् । त्यसबाट एमालेको उन्नति हुन्छ । व्यक्तिको पछाडि लाग्यो भने ऊ सकिन्छ, तपार्इं पनि सकिनुहुन्छ ।
प्रतिस्पर्धा राम्रो कुरा हो । प्रतिस्पर्धादेखि किन डराउने ? कसैसँग कुन खुबी हुन्छ, कसैसँग कुन । सबैको खुबी समेट्न सक्ने क्षमता भएको व्यक्तिको आवश्यकता छ । गणतन्त्रको नेता को ? नेकपा (एमाले) हो । वास्तविकता र साँचो एउटै कुरा हुन्छ । ०६२ साल साउनमा एमालेको केन्द्रीय कमिटी बैठकले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रमा जाने निर्णय गर्यो । देशभर जनतामा जाने कार्ययोजना बनायो र बुटवलबाट त्यसको सुरुआत भयो । बुटवलमा भएको विशाल सभालाई सेना र माओवादीले रोक्ने कोसिस गरे । मैले त्यहीँबाट चेतावनी दिएको हुँ– ‘जनतालाई रोक्ने काम तत्काल बन्द गर । गणतन्त्रको सुनामी ल्याउनेछौं ।’ कतिपयले त्यतिबेला मेरा कुराको खिसिट्युरी गरे– ‘माधव नेपालले गणतन्त्र ल्याउने रे !’ मैले सबै नेता कार्यकर्तालाई उत्साहित बनाउने देशव्यापी लहर ल्याउने काम गरें ।
मैले कांग्रेसको महाधिवेशनमा गएर नेपाली कांग्रेसलाई ंंराजतन्त्रसँग घाँटी जोड्न छोडिदिन र गणतन्त्रको बाटोमा आउन भनें । मभन्दा पछि गिरिजाप्रसाद कोइरालाले ‘माधव नेपालको कुरामा विश्वास नगर्नुस्’ भन्दै भाषण गरे । र, उनीहरूले त्यहाँबाट निर्णय गर्न मानेनन् । मैले ज्ञानेन्द्रलाई चेतावनी दिएँ– ‘अब राजतन्त्र नढाली हामी तिमीसँग वार्ता गर्दैर्नौं ।’ उनले विदेशी पठाए, आफ्नै स्वकीय सचिव पठाए । तर, हामी झुकेनौं ।
वैशाख ७ गते करण सिंहले पार्टी कार्यालयमा आएर सम्झाउन खोजे । वैशाख ८ गते राजाबाट वक्तव्य आयो । तर, हामीले मानेनौं । अर्काे वक्तव्यका लागि हामीले मस्यौदा बनाएर पठायौं । उनले दुई वटा वाक्य– ‘प्यारा देशवासीहरू’ र ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ थपेर सुनाए । उनले जनताको सार्वभौमसत्ता स्वीकार गर्छु भने । हाम्रो लडाइँ थियो– सार्वभौमसत्ता अधिकार कसको हातमा छ ? जनताको हातमा भएको अधिकारलाई उनले किन प्रयोग गरिरहेका छन् ।
कसै–कसैले भनेको सुनें– प्रतिगमन आधा सच्चियो भन्ने अनि पछि टाङ लुकाउने ? गणतन्त्रको कुरा गर्दा टाँगा चढेर बिदेसिने भन्ने, मन्त्री बन्न ताउरमाउर गर्ने र मन्त्री बन्न दौरा–सुरुवाल सिलाएर बस्ने हाम्रै साथीहरू होइनन् ? सम्झना गर्नुहोस्, सरकारमा जान दाम्लो चुँडाउने र चुँडाएर जाने को थिए ? सरकारमा जानु हुँदैन भन्ने माधव नेपालबाहेक को थियो ?
माधव नेपाल कसैसँग डराउँदैन । यस्ता कुरा गर्नुहुन्छ भने म उम्मेदवार बन्न तयार छु । मेरो सिद्धान्त छ, नबिराउनु नडराउनु । मैले कुनै शिर निहुराउने कामै गरेको छैन । कसैको बद्ख्वाइँ पनि गरेको छैन । नाम काढी–काढी कसैलाई गाली पनि गरेको छैन । कार्यकर्ताहरूलाई भन्न चाहन्छु, व्यक्तिगत रूपमा नेताहरूको आलोचना नगर्नुस् । नेता भनेका नेता हुन्, उनीहरूको मान राख्न सिक्नुस् । तपाईंले अरूको मान राख्नु हुन्न भने तपाईंको मान पनि अरूले राख्दैन । स्वस्थ प्रतिस्पर्धा गर्नुस् । म टक्कर लिने व्यक्ति हुँ । म आफू गल्ती गर्दिनँ । अरूले कसैले मानमर्दन गर्छन् भने त्यसलाई सहन्न ।
(सोमबार काभ्रेमा आयोजित युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठकमा व्यक्त धारणाको सम्पादित अंश)
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply