प्रतिनिधि चयन सकियो, नेपालको पक्षमा ६५ प्रतिशत
काठमाडौँ । यही असार १९ देखि २५ गतेसम्म काठमाडाँैमा हुने नेकपा (एमाले)को नवौँ महाधिवेशनका लागि देशभर र प्रवासमा समेत प्रतिनिधि चयनको काम सकिएको छ । असार ७ र हिजो गरी दुई चरणमा भएको प्रतिनिधि चयनको अन्तिम परिणाम हिजो बेलुकीसम्म आइसकेको थिएन । हिजो साँझसम्म आएको देशव्यापी परिणाम अनुसार अध्यक्षका प्रत्यासी माधवकुमार नेपालको पक्षमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधि छनोट भएका छन् ।
हिजो प्रतिनिधि चयनका लागि निर्वाचन भएका जिल्लाहरूमध्ये रामेछापको क्षेत्र नं. २, दोलखा, सिन्धुपाल्चोक, धनुषा, सप्तरी, चितवन, उपत्यका, भेरी अञ्चलका बाँके, बर्दिया र सुर्खेतका साथै सेतीको बाजुरा, डोटी र कैलालीको परिणाम यो समाचार तयार पार्दासम्म आइसकेको थिएन । यीमध्ये रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धनुषा र सेती अञ्चलका जिल्ला नेपाल पक्षधरको पकड रहेको जिल्ला भएको हुनाले उनको पक्षमा प्रतिनिधि संख्याको प्रतिशत ६५ बाट पनि बढ्ने अनुमान गरिएको छ ।
अहिलेसम्म आएका प्रतिनिधि हेर्दा मेचीबाट नेपाल पक्षमा ६३ जना छन् भने ओली पक्षधर ५४ जना छन् । झापामा मात्र ओलीले नेपाललाई पछाडि पारेका छन् । तर, त्यसलाई मेचीकै अरू जिल्लाले भने चुनौती दिएको देखिन्छ । मेचीको इलाममा नेपाल पक्षका २६ र ओलीका ८ जना आएका छन् । ताप्लेजुङमा १३ जनामा सबै नेपाल पक्षकाले जितेका छन् । त्यस्तै, पाँचथरमा नेपालका ८, ओलीका १३ र झापामा नेपालका १६ र ओलीका ४३ प्रतिनिधि आएका छन् । कोसी अञ्चलमा नेपालका १ सय जना प्रतिनिधि चयन भएका छन् भने ओलीका ३३ जना मात्रै छन् । कोसी अन्तर्गत संखुवासभामा नेपालका ११, ओलीका २, तेह्रथुममा नेपालका ८, ओलीका ३, धनकुटामा नेपालका १३, ओलीका १, भोजपुरमा नेपालका ११ ओलीका ५, मोरङमा नेपालका ३६, ओलीका १८, सुनसरीमा नेपालका ३८ र ओलीका ४ प्रतिनिधि छानिएका छन् ।
सगरमाथा अञ्चलभरिमा नेपालका ५० प्रतिनिधि छानिएका छन् भने ओलीका १७ जना छानिएका छन् । सप्तरीको प्रतिनिधि छनोट हिजो भए पनि परिणाम भने आइसकेको छैन । अन्य जिल्लामा सोलुखुम्बुमा नेपालका ६, ओलीका १, ओखलढुंगामा नेपालका ९, ओलीका २, खोटाङमा नेपालका १२, ओलीका ५, उदयपुरमा नेपालका १०, ओलीका ४ र सिरहामा नेपालका १३ र ओलीका ५ प्रतिनिधि छनोट भएका छन् । सगरमाथा अञ्चलभरिका ६ जना प्रतिनिधि कतै पनि खुलेका छैनन् ।
जनकपुर अञ्चलमा दोलखा, रामेछाप, सिन्धुली र धनुषाको प्रतिनिधि चयन प्रक्रिया हिजो भए पनि यो समाचार तयार पार्दासम्म रामेछाप क्षेत्र नं. १, सिन्धुली क्षेत्र नं. १ र ३ को मात्र नतिजा आइसकेको छ । जस अनुसार रामेछापको उक्त क्षेत्रमा नेपालका पक्षमा ५ जना आएका छन् भने ओली पक्षमा १ जना पनि आएनन् । सिन्धुलीका दुईवटा क्षेत्रमा नेपालका १२ र ओलीका २ जना प्रतिनिधि छानिएका छन् । महोत्तरीमा सबै १४ जना प्रतिनिधि नेपाल पक्षका छन् । सर्लाहीमा नेपाल पक्षका १२ प्रतिनिधि छनोट भए भने ओली पक्षका ४ जना छनोट भएका छन् । समग्र जनकपुरमा नेपाल पक्षमा ४३ प्रतिनिधि आए भने ओली पक्षमा ६ जना मात्र आएका छन् ।
नारायणीमा नेपाल पक्षमा ६१ प्रतिनिधि छन् भने ओली पक्षका ३६ जना छन् । हिजो निर्वाचन भएको चितवनको परिणाम भने आइसकेको छैन । अन्य जिल्लामा बारामा नेपालका ९, ओलीका १२, पर्सामा नेपालका १४, ओलीका ७, रौतहटमा नेपालका २७, ओलीको शून्य र मकवानपुरमा नेपालका ११, ओलीका १७ प्रतिनिधि आएका छन् ।
वाग्मतीका धादिङ, नुवाकोट, रसुवा र काभ्रेको मात्र परिणाम आइसकेको छ । अन्य ठाउँमा प्रतिनिधि छनोट प्रक्रिया भइसके पनि हिजो साँझसम्म परिणाम आएको थिएन । परिणाम आएका जिल्लाहरूमध्ये धादिङमा नेपालका १५, ओलीका ११, रसुवामा नेपालका ४, ओलीका ३, नुवाकोटमा नेपालका ९, ओलीका ६ र काभ्रेमा नेपाल पक्षधर ८, ओली पक्षधर १८ प्रतिनिधि छानिएका छन् । वाग्मतीमा अहिलेसम्म दुवै पक्षका ३८/३८ प्रतिनिधि आएका छन् ।
लुम्बिनीमा नेपाल पक्षमा ९३ र ओली पक्षमा ९२ प्रतिनिधि छानिएका छन् । यस अञ्चल अन्तर्गत नवलपरासीमा नेपालका १९, ओलीका १३, रूपन्देहीमा नेपालका २७, ओलीका २८, अर्घाखाँचीमा नेपालका १०, ओलीका १६, पाल्पामा नेपाल–ओली दुवैका १३/१३, गुल्मीमा नेपालका १४, ओलीका ८, कपिलवस्तुमा नेपालका १० र ओलीका १४ प्रतिनिधि छानिएका छन् ।
गण्डकीमा भने ओलीले नेपाललाई केही संख्याले पछाडि पारेका छन् । गण्डकीमा नेपाल पक्षमा जम्मा ४७ प्रतिनिधि आए भने ओली पक्षमा ६२ प्रतिनिधि आएका छन् । त्यस्तै सात जना प्रतिनिधि कतै पनि खुलेका छैनन् । यस अञ्चल अन्तर्गत लमजुङमा नेपालका ७, ओलीका ९, कास्कीमा नेपालका १०, ओलीका ३०, स्याङ्जामा नेपालका १९, ओलीका ११, तनहुँमा नेपालका १०, ओलीका १२, गोरखामा १० मा सबै ओलीका र मनाङमा नेपालका १, ओलीका २ प्रतिनिधि छानिएका छन् ।
धौलागिरिमा नेपालको पक्षमा २४ प्रतिनिधि आएका छन् भने ओलीका पक्षका २१ जना छन् । यहाँ पनि २ जना प्रतिनिधि कतै खुलेका छैनन् । यस अञ्चल अन्तर्गत बाग्लुङमा नेपालका ९, ओलीका ७, पर्वतमा नेपालका ९, ओलीका ७, म्याग्दीमा नेपालका ३, ओलीका ६, मुस्ताङमा नेपालका ३, ओलीका १ प्रतिनिधि छानिएका छन् ।
त्यस्तै राप्ती अञ्च अन्तर्गत पाँच जिल्लाबाट नेपाल पक्षमा जम्मा २२ प्रतिनिधि छानिएका छन् भने ओली पक्षमा २४ जना छानिएका छन् । यहाँ पनि एक जना कतै खुलेका छैनन् । यहाँ रोल्पामा नेपालका ७, ओलीका ४, रुकुममा नेपालका ९, ओलीका ३, सल्यानमा नेपालका ५, ओलीका ७, प्यूठानमा नेपालका १, ओलीका १० प्रतिनिधि छानिएका छन् । दाङमा हिजो प्रतिनिधि छनोट प्रक्रिया पूरा भए पनि परिणाम आएको छैन ।
भेरी अञ्चल अन्तर्गत परिणाम आएका तीन जिल्ला सुर्खेत, दैलेख र जाजरकोटमा ओली नेपालभन्दा ९ प्रतिनिधिले अगाडि छन् । सुर्खेतमा नेपालका ९, ओलीका १३, दैलेखमा नेपालका १९, ओलीका १७ र जाजरकोटमा दुवैका ७/७ प्रतिनिधि छानिएका छन् । यो अञ्चलमा पाँच जना प्रतिनिधि कतै पनि खुलेका छैनन् ।
कर्णालीमा नेपालका प्रतिनिधि ओलीका भन्दा दोब्बर छन् । नेपालका २७ प्रतिनिधि आएका छन् भने ओलीका १४ मात्र छन् । डोल्पामा नेपालका ३, ओलीका ४, मुगुमा नेपालका ७, ओलीका ४, हुम्लामा नेपालका ९, ओलीका २, कालीकोटमा नेपालका ८ र ओलीका ४ प्रतिनिधि आएका छन् । जुम्लाको परिणाम आउन बाँकी छ ।
सेतीमा अहिलेसम्म नेपालको पक्षमा ३० प्रतिनिधि आएका छन् भने ओलीको पक्षमा ७ जना मात्र छन् । यस अञ्चल अन्तर्गत बझाङमा नेपाल पक्षका ८, ओलीका ७ र अछाममा २२ मा पूरै नेपाल पक्षका छानिएका छन् । अरू जिल्लाको परिणाम आइसकेको छैन ।
महाकालीमा नेपालको पक्षमा ४५ प्रतिनिधि छन् भने ओलीको पक्षमा १३ जना छन् । यस अञ्चल अन्तर्गत दार्चुलामा नेपालका ५, ओलीका ४, बैतडीमा नेपालका १५, ओलीका ६, डडेल्धुरामा नेपालका ५, ओलीका २ र कञ्चनपुरमा नेपालका २० र ओलीका १ जना मात्र प्रतिनिधि छनोट भएका छन् ।
त्यस्तै भारत प्रवासमा नेपालका २८, ओलीका ७, भारतबाहेकको प्रवासमा नेपालका १०, ओलीका ३ प्रतिनिधि छानिएका छन् । यहाँ पाँच प्रतिनिधिको नाम आउन बाँकी नै छ । भूपू सैनिकतर्फ पाँचमा पूरै नेपाल पक्षधर छानिएका छन् । १ सय १९ सदस्यीय केन्द्रीय कमिटीमा नेपालको पक्षमा ५९ जना छन् भने ओली पक्षमा ६० जना, त्यस्तै १ सय २३ सदस्य आउने केन्द्रीय निकाय तथा आयोगमा ७१ जना नेपाल पक्षका छन् भने ५२ जना ओली पक्षका छन् । केन्द्रीय कार्यालयका दुई जना कतै पनि खुलेका छैनन् । केन्द्रीय विभागबाट आउने २२ जनामा दुवै पक्ष हाराहारीमा छन् ।
यसरी हेर्दा अहिलेसम्म नेपाल ओलीभन्दा २ सय ९५ संख्याले अगाडि देखिन्छन् । अहिलेसम्म आएको करिब १ हजार ५ सय हाराहारीको यो संख्यामा नेपालको पक्षमा ८ सय ९३ देखिन्छन् भने ओलीको पक्षमा ५ सय ९८ जना देखिएका छन् ।
दुई जिल्लामा ओली समूह शून्य
एमालेको नवौँ महाधिवेशनका लागि भएको प्रतिनिधि चयनमा अध्यक्षका प्रत्यासी वरिष्ठ नेता नेपालको गृहजिल्लामा अर्का प्रत्यासी ओली समूहबाट एक जना पनि प्रतिनिधि छानिएनन् । सो जिल्लाबाट चुनिएर आएका २७ जनामध्ये सबै नेपाल पक्षका हुन् । त्यस्तै, महोत्तरीमा पनि ओली समूहको हालत त्यस्तै छ । यहाँबाट छानिएका कुल १८ प्रतिनिधि सबै नेपाल पक्षका छन् ।
लुम्बिनीमा पनि नेपालको अग्रता
ओली समूहले आफ्नो गढ भनेर प्रचार गर्ने लुम्बिनी अञ्चलमा पनि नेपाल समूहले अग्रता लिएको छ । अञ्चलबाट छानिएका कुल १ सय ८३ प्रतिनिधिमध्ये नेपाल समूहको पक्षमा ९३, ओली समूहको पक्षमा ९२ जना छन् ।
ठूला अञ्चलमा पनि नेपाल नै अगाडि
पार्टीको धेरै संगठित सदस्य भएका र धेरै प्रतिनिधि आउने ठूला अञ्चलमा पनि वरिष्ठ नेता नेपाल समूहले नै अग्रता लिएको छ । लुम्बिनीमा मात्र होइन, नेपाल समूहले अर्को ठूलो अञ्चल कोसीमा पनि धेरैले अग्रता लिएको छ ।
रामआधारको फेरि लुट्ने दाउ
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक बनेर करोडौँ रुपियाँको चलखेल गरेका पूर्वमहानिर्देशक रामआधारप्रसाद साह पुन: सोही विभागमा फर्किने दाउमा छन् । उद्योगमन्त्री कर्णबहादुर थापालाई चुनौती दिँदै उनी विभागमै आउने कसरतमा लागेका हुन् ।
उद्योगमन्त्री थापाले विगतमा बदनाम भएको भन्दै उनलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा काजमा पठाएर विभागकै वरिष्ठ उपमहाप्रबन्धक विश्वबाबु पुडासैनीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएपछि यादव विक्षिप्त भएका थिए । उनले ‘आफूलाई मन्त्रीले अकारण हटाएको’ भन्दै अदालतमा मुद्दासमेत हालेका थिए र अदालतले तत्काल नहटाउन अन्तरिम आदेश पनि दिएको थियो । पछि सो आदेश खारेज भई मन्त्रिपरिषद् बैठकले यादवको सरुवा विज्ञान मन्त्रालयमा गरेको हो । दुई वर्षसम्म विभागमा महानिर्देशक हुँदा करोडौँ कमाएका साह फेरि विभागको हर्ताकर्ता बनेर गुणस्तर चिन्ह प्रदान गरी चलखेल गर्ने सुरमा रहेको बताइन्छ । उनलाई पूर्वउद्योगमन्त्री अनिल झाले त्यहाँ कार्यरत वरिष्ठ कर्मचारीलाई खानी विभागमा पठाएर साहको बढुवा गरेको भन्दै तीव्र विवाद भएको थियो ।
चाउचाउ, चिजबल, दूधलगायतका उत्पादनमा गुणस्तर चिन्ह अनिवार्य नभए पनि सिमेन्ट, डन्डी, ग्यास रेगुलेटर, सिलिन्डर, कर्कट पाता, वायरिङ तार, ड्राइसेल ब्याट्री, बल्वलगायतको वस्तुले गुणस्तर चिन्ह प्राप्त नगरी बजारमा उत्पादन लैजान पाइँदैन । अहिलेसम्म ६४ ब्रान्डका सिमेन्टलाई गुणस्तर चिन्ह प्रदान गरिएको छ । साहले त्यस बेला खुलेका नयाँ सिमेन्ट उद्योगसँग करोडौँ कमिसन लिएर गुणस्तर चिन्ह प्रदान गरेका थिए । १० वटा कम्पनीलाई त उनले गुणस्तर चिन्ह प्रदान गर्नुअघि प्रिपेड घूस लिएका थिए । एउटा सिमेन्ट उद्योगले गुणस्तर चिन्ह लिँदा कम्तीमा १० लाख रुपियाँ तलमाथि नै नगरी घूस दिने चलन छ ।
विगतमा जस्तै ब्रह्मलुट मच्चाउन पाउने आशमा साह सरुवा बदर गराउन लागिपरे पनि उनको सरुवा बदर नहुने मन्त्रालय स्रोतले बतायो । पूर्वमहानिर्देशक साहले आफूले गल्ती नगरे पनि मन्त्री थापाले बेनामे उजुरी हाल्न लगाएर छानबिन कमिटी बनाई आफूलाई बदनाम गराएको आरोप लगाए । गुणस्तर चिन्ह प्रदान गर्दा घूस खाएको भन्ने कुरा बिनाआधार र बिनाप्रमाणको कुरा भएको उनको जिकिर छ ।
।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply