कसरी अघि बढ्ला एमाले ?
वामदेवको लडाउने दाउ
काठमाडौं । ‘पार्टीलाई असहयोग गर्ने होइन । पार्टी बिग्रिन दिएर खुच्चिङ गर्ने होइन । जे जिम्मेवारी प्राप्त हुन्छ, त्यसलाई इमानदारीसाथ पालना गर्ने हो, पार्टीलाई बलियो बनाउने हो ।’
आइतबार साँझ आफूलाई भेट्न पुगेका तीनवटा छुट्टाछुट्टै टोलीसँग एउटै स्वरमा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भन्दै हुनुहुन्थ्यो– ‘महाधिवेशन एउटा प्रक्रिया हो । जे जसरी भए पनि त्यो सकियो । अब त्यही आधारमा चल्नु हुँदैन । पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ ।’ उहाँको भनाइ सुन्दै गरेका कार्यकर्ताले प्रश्न गरे– ‘तपाईंको भूमिका के हुन्छ ?’ कत्ति विलम्ब नगरी नेपालले भन्नुभयो– ‘यो पार्टी स्थापना गर्दादेखि म नेतृत्वदायी तहमा छु । पार्टीले जे जिम्मेवारी दिन्छ, केन्द्रीय कमिटीले जे भन्छ, त्यही आधारमा चल्छु । हार्नेलाई जित्नेले समेटेर लिनुपर्छ, केपी कमरेडसँग कुरा हुन पाएको छैन । उहाँको के सोच छ, मलाई थाहा भएन । तर, मेरो भूमिका पार्टीका नीति–विचारलाई बोकेर पार्टीलाई स्थापित गर्ने, बलियो बनाउने र राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि हुनेछ ।’
वरिष्ठ नेता नेपाललाई त्यस दिन भेट्न पुगेका युवा संघ, अखिल र भेरीका कार्यकर्ताले एउटै निर्देशन पाएपछि भिन्नै अनुभूति बोकेर फर्किएका थिए । पार्टीको निर्वाचित नेतृत्वलाई सघाएर जानुपर्छ भन्नेमा अध्यक्षका प्रत्यासी नेपालबाट प्रस्ट निर्देशन पाए पनि निर्वाचित नेतृत्वले कसरी समेटेर लैजान्छ भन्नेमा भने उनीहरूमा दुविधा छ । भेरीका एक कार्यकर्ताले भने– ‘माथि नेताहरूबीच हार्दिकता कायम भएछ भने पनि भेरीमा कुण्ठाग्रस्त र निरंकुश सोच भएकाले जितेका कारण काम गर्न सहज छैन ।’
कम हुँदै कटुता
एमालेका नेताहरू निर्वाचनका बेलामा स्वाभाविक रूपमा एक–अर्काप्रति आक्रामक थिए । कतिपयले व्यक्तिगत रूपमा पनि एक–अर्का नेतालाई अपमानजनक व्यवहार गरेका थिए । उद्घाटन सत्रमा अध्यक्षका प्रत्यासी केपी ओलीले सम्बोधन गर्दा वरिष्ठ नेता माधव नेपालको नामै लिन चाहनुभएन । तर, निर्वाचनपछि विस्तारै त्यो कटुता कम हुँदै गएको छ । अहिले अनौपचारिक रूपमा नेताहरूबीच संवाद गराउने व्यक्तिको सर्वथा अभाव खड्किए पनि नेताहरूबीच क्रमश: हार्दिकता विकास हुँदै गएको छ । स्रोतका अनुसार, दुवै पक्षबाट निर्वाचित पदाधिकारीहरूका बीचमा समन्वय गर्ने र काम गर्ने सहज वातावरण बनाउने काम महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले गरिरहनुभएको छ । महासचिव पोखरेलले बुधबारसँग भन्नुभयो– ‘हिजो एउटा परिस्थिति थियो । सर्वसम्मति गर्न सकेको भए बेग्लै हुन्थ्यो । एउटा प्रक्रियाबाट टुंगोमा पुगेपछि अब सधैंभरि त्यही कुरा समातेर हुँदैन । मैले सबै साथीहरूसँग यही अनुरोध गरिरहेको छ ।’ महासचिव पोखरेलले आफू अब कुनै गुटले आयोजना गरेका भेला, बैठक वा छलफलमा सहभागी नहुने उल्लेख गर्दै अरू निर्वाचित पदाधिकारीलगायतलाई पनि त्यही आग्रह गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अब संस्थागत रूपमा चल्नुपर्छ । त्यसका लागि हामी सबैले फराकिलो छाती बनाउनुपर्छ ।’
अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षण गरेर सिंगापुरबाट हिजो स्वदेश फर्केकाले अब नेताहरूबीच कार्यविभाजनका बारेमा छलफल सुरु हुनेछ । आ–आफ्ना समूहमा केही छलफल भए बेग्लै कुरा, सामूहिक रूपमा बसेर कार्यविभाजनका बारेमा नेताहरूबीच छलफल हुन सकेको छैन ।
वामदेव बढी आक्रामक
पार्टीभित्र निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएपछि त्यस प्रक्रियालाई बिर्सेर उपाध्यक्ष वामदेव गौतम विवाद चर्काउन र त्यसबाट फाइदा लिन बढी उद्यत भएको अरू नेताहरूले महसुस गरेका छन् । एक पदाधिकारीका अनुसार, अध्यक्ष ओलीसँग पहिलादेखि निकट रहेका र अझ माधव नेपालसँग व्यक्तिगत रूपमा राम्रो सम्बन्ध नभएका नेताहरू पनि मिलेर जानुपर्छ र त्यसका लागि नेपाललाई विश्वासमा लिनुपर्छ भन्ने धारणा राख्छन् । तर, गौतम भने पेलेर जानुपर्ने भन्दै पार्टीभित्र नेताहरूबीच फाटो ल्याउन सक्रिय रहेको बुझाइ ती नेताको छ । उनले भने– ‘ओली कमरेड अध्यक्ष भइसक्नुभयो । अब उहाँलाई सफल बनाउनुपर्छ । तर, उहाँ (वामदेव) मा त्यस्तो देखिँदैन ।
उपाध्यक्ष गौतमले माधव नेपालसँग मात्र ईबी साँध्नुभएको छैन, यसबीचमा निवर्तमान अध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनाललाई पनि चिढ्याउनुभएको छ । अघिल्लो बिहीबार प्रचार–प्रसार उपसमितिले बागबजारको ‘हार्दिक’ होटलमा पत्रकारहरूलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रमलाई त्यही रूपमा बुझिएको छ । विधान अनुसार, दोस्रो मर्यादाक्रममा रहने वरिष्ठ नेता अध्यक्षको अनुपस्थितिमा स्वत: एक नम्बर मर्यादाक्रममा रहन्छन् । कार्यक्रममा खनाललाई प्रमुख अतिथि भनेर बोलाइएको थियो । तर, आसन ग्रहण गराउँदा गौतमको कोटाबाट केन्द्रीय सदस्य बनेका सूर्य थापाले खनाल एक्लैको साटो खनालसहित गौतम र महासचिव पोखरेललाई संयुक्त आसन ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दा पनि गौतमले खनाललाई होच्याउँदै गुटबन्दी गर्नु र फरक–फरक गुटका भेला गर्नु ठीक रहेको भन्दै त्यस्तो गर्नु हुँदैन भन्ने खनालले पनि रोक्न नसकेको भन्दै व्यंग्य गर्नुभएको थियो । गौतमले खनाल उपस्थित रहेको पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यक्रममा पनि आफू कार्यबाहक अध्यक्ष भएका कारण प्रमुख अतिथि हुनुपर्छ भन्ने जिद्दी गरेको बताइन्छ ।
उता, भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटमा पनि खनाललाई ओभरटेक गर्दै गौतम आफैं अघि सर्नुभएको थियो । त्यही भएर खनाल न एमालेको टोलीसँग मिसिएर ह्यात पुग्नुभयो, न त लैनचौरमा आयोजित दिवाभोजमा नै सहभागी हुनुभयो ।
कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका गौतमले अर्का वरिष्ठ नेता नेपाललाई सक्दो अपमान गर्नुहुने नै भयो । कतिसम्म भने प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्केपछि पहिलो पटक आयोजित सर्वदलीय बैठकका बारेमा गौतमले नेपालाई जानकारी नै दिनुभएको थियो । प्रधानमन्त्री कोइरालाले आफैं फोन गरेर निम्ता दिएपछि नेपाल बालुवाटार पुग्नुभएको थियो । भोलिपल्ट विवाद समाधानसम्बन्धी बैठकमा शीर्ष नेताहरूलाई बोलाउने कार्यक्रममा पनि गौतमले नेपाललाई खबर गर्नुभएन । सोमबार बालुवाटारमै आयोजित सर्वदलीय बैठकमा सहभागिताका लागि पनि गौतमले खबर नगरेपछि उपमहासचिव पौडेलले फोन गरेर आग्रह गर्नुभएको थियो ।
वामदेवको दाउ
आफूनिकट धेरै नेताले केन्द्रीय कमिटीमा हारेपछि त्यसको दोष ओली पक्षलाई दिँदै आएका गौतमले ओली पक्षले भूगोलमा हार्नुमा महासचिव पोखरेलको भूमिका मुख्य रहेको बताउन थाल्नुभएको छ । केन्द्रीय कमिटीमा आफू निकट जम्मा नौ जना सदस्य आएपछि आत्तिनुभएका गौतमले ओलीसँग महासचिव पोखरेलको पनि दूरी बढाएर निकट हुने उपाय गरिरहनुभएको छ । एमालेको एक उच्च स्रोतका अनुसार, महासचिव पोखरेललगायतका नेताहरू अब पार्टीमा गुटबन्दी मेट्नुपर्ने पक्षमा लाग्दैगर्दा गौतम भने पुरानै आधारमा गुटका भेला जारी राख्नुपर्ने, कार्यविभाजनमा पनि त्यही रबैया अपनाउनुपर्ने र माधव नेपाल पक्षलाई पेलेरै जानुपर्ने पक्षमा लाग्ुनृभएको छ । माधव नेपाललाई पेल्न सकियो र ईश्वर पोखरेललाई ठीक ठाउँमा राख्न सकियो भने आफ्नो दुनो सोझ्यान सकिन्छ र कार्यबाहक खान पाइन्छ भन्ने हिसाब गौतमले निकाल्नुभएको छ ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply