दुवै देशमा सकारात्मक प्रभाव
मोदीको प्रशंसा
काठमाडौं । दुईदिने भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नै स्वदेश फर्किए पनि काठमाडौंमा उनको चर्चा सेलाएको छैन । शैली, भाषण, द्विपक्षीय कुराकानी र सन्देशका हिसाबले यसअघिका भन्दा मोदीको भ्रमण पृथक् देखिएकाले त्यसका प्रभावका बारेमा चर्चा भइरहेको छ ।
भ्रमणका दुई सन्देश
नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले जति नेपाली नेताहरूलाई भेटे, सबैसँग एउटै कुराकानी गरेर नेपालका मामिलामा दख्खल नदिने स्पष्ट संकेत गरेका छन् । यस पटक मोदीले नेपाल भ्रमण गर्दा मुख्यत: दुई वटा सन्देश प्रस्ट भएको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार, पहिलो सन्देश हो– नेपालको आन्तरिक मामिला नेपालकै नेताहरूले मिलाउनुपर्छ, दिल्लीको मुख ताक्नु हुँदैन । त्यसका लागि मोदीले संसद्मा गरेको भाषणदेखि मधेसी नेताहरूसँगको भेटलाई लिन सकिन्छ । मोदीले आफूसँग साखुल्ले हुन खोजेका मधेसी नेताहरूलाई तराईका बारेमा मात्र होइन, पूरै देशका बारेमा सोच्न र पहाडियाविरोधी राजनीति नगर्न सुझाव दिनुले अब भारतको भावी कदममा फरक आउने अनुमान गरिएको छ । किनभने, एकाएक बनेका मधेसी दलहरू भारतकै आडमा आफूलाई शक्तिशाली ठान्दै आएकोमा मोदीको उक्त कथनले उनीहरूले आफ्नो धरातल हेर्ने मौका पाएका छन् । दोस्रो– नेपालको विकासका लागि भारत पहिलाझैं सम्झौताहरूको संख्या मात्र बढाउने पक्षमा छैन, जे हुन्छ, त्यतिमा मात्र कुरा गर्नुपर्छ । त्यसका लागि विगतमा सम्झौता भएका निर्माणाधीन आयोजनाहरू पूरा गर्न लाग्नुपर्छ ।
भारतमा आलोचना !
प्रधानमन्त्री मोदीले नेपालीको मन जित्ने गरी सुरुदेखि नै आफ्नो भ्रमण केन्द्रित गरेका थिए । संसद्मा नेपाली भाषामा बोल्न सुरु गरेर सबैको ध्यान खिचेका मोदीले गौतम बुद्धका बारेमा रहेको प्रचारलाई नामेट पार्ने गरी पटक–पटक नेपाललाई बुद्धको भूमि भनेर सम्बोधन गर्नुबाट उनले नेपाली जनभावना बुझेको रूपमा हेरिएको छ । मोदीको यस्तो भाषणका कारण नेपालमा प्रशंसा भइरहँदा भारतीय कतिपय सञ्चारमाध्यमहरूमा भने छिटफुट आलोचना देखिएको छ । नेपाललाई अधिक महत्त्व दिइएको भन्ने आशयका टिप्पणीहरू आए पनि समग्र राजनीतिमा भने मोदीको भ्रमणले सकारात्मक नै प्रभाव पारेको देखिएको छ ।
माओवादी पनि चुप
मोदीको भ्रमणको पूर्वसन्ध्यामा विरोध कार्यक्रम सार्वजनिक गरेको नेकपा–माओवादीले मोदी नेपाल आउँदा भने कुनै विरोध कार्यक्रम गरेन । उसो त मोदी नआउँदै माओवादी उपाध्यक्ष सीपी गजुरेलले मोदीले बोलाएमा भेट्न इच्छुक रहेको प्रतिक्रिया सार्वजनिक गरेका थिए । तर, माओवादी नेताहरूले भेट नपाए पनि कूटनीतिक रूपमा परिपक्वता देखाएको रूपमा यसलाई हेरिएको छ ।
राजावादी र हिन्दुवादी निराश
हिन्दू धर्ममाथि विश्वास राख्ने भाजपाले दुई महिनाअघि भारतमा जित हासिल गरेर मोदी प्रधानमन्त्री बनेपछि उत्साहित बनेका नेपालका पूर्वराजावादी र कथित हिन्दुवादीहरू यस भ्रमणबाट निराश बनेका छन् । मोदीले संसद्मा भाषण गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आग्रह गर्दै त्यसमा सहयोग गर्ने बताएपछि उनीहरू निराश बनेका हुन् । व्यक्तिगत रूपमा हिन्दू धर्मप्रति अगाथ आस्था राख्ने भएका कारण पशुपतिनाथको दर्शन र पूजाआजा गरे पनि धर्मनिरपेक्ष मुलुकको प्रधानमन्त्रीका रूपमा मोदीले व्यवहार गरेपछि धर्मको नाममा राजनीति गर्नेहरू खिस्रिक्क परेका हुन् ।
मधेसीलाई अलग्गै सन्देश
भारतबाट उच्चस्तरका नेताहरू आउँदा मधेसी दललाई अलग्गै भेट्नु नै आफैंमा अनुचित छ । नेपालभित्रका राजनीतिक दलका नेतालाई भेट्दा यो तराईको, यो पहाडको वा यो हिमालको भनेर भेट्नुभन्दा राष्ट्रिय राजनीतिमा उनीहरूको प्रभाव र उपस्थितिलाई आधार बनाउनुपर्छ । तर, पहिला विदेशमन्त्री सुष्मा स्वराज र पछि प्रधानमन्त्री मोदी आउँदा पनि मधेसी नेताहरूलाई अलग्गै भेट्नुलाई त्यति शोभनीय मानिएको छैन । तर, भेटमा जे कुरा भनियो भनेर सार्वजनिक भएको छ, त्यस आधारमा हेर्दा चाहिँ त्यो प्रशंसायोग्य छ । संसद्मा बोल्दा मधेसको साटो तराई शब्द प्रयोग गरेका मोदीले त्यही कारण गुनासो गर्ने नेताहरूलाई पनि नेपाली भएर हेर्न अनुरोध गर्नुले अब उताबाट फरक व्यवहार हुने अपेक्षा गरिएको छ ।
बीचैमा दुई भेट
प्रधानमन्त्री मोदीसँग क–कसले भेट्ने भन्नेबारेमा उनी नेपाल आउनुभन्दा पहिल्यै भारतीय दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर तय गरेको थियो । तर, नेपाल आइसकेपछि बीचैमा दूतावासले पहिला निर्धारण नभएका दुई वटा भेटहरू गराएको छ । सरकारको नेतृत्व गरिरहेको कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएका कारण उनीसँग भेट भइहाल्ने भएकाले कांग्रेसलाई अलग्गै भेटको समय मिलाइएको थिएन । तर, पछिल्लो समय भारतसँगको सम्बन्ध घनिष्ट बनाउँदै गएका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीगत रूपमा आफ्नो नेतृत्वमा भेटका लागि पहल गरेपछि दूतावासले उनीहरूलाई समय मिलाएको थियो । देउवाले आफूसँग उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला मात्र होइन, कोइराला परिवारका नेताहरू शेखर, सुजाता र शशांकलाई साथमा लिएर भारतलाई सन्देश दिन खोजेको रूपमा बुझिएको छ । त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि २० मिनेट अलग्गै भेटेर आफ्ना कुरा राखेका थिए ।
पूर्वप्रधानमन्त्रीसँग वार्ता भएन
परराष्ट्र मन्त्रालयले केही पूर्वप्रधानमन्त्रीहरूसँग मोदीको भेटका लागि समय मिलाएको थियो । दूतावाससँग कुरा हुँदा कम्तीमा सत्तारुढ दलका पूर्वप्रधानमन्त्रीहरूसँग भेट गर्ने तारतम्य मिलाइएको थियो । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाललाई फोन गरेरै जानकारी पनि गराएका थिए । तर, अर्का पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले पनि भेटका लागि आग्रह गरेपछि अन्तिममा कसैलाई भेट्ने, कसैलाई नभेट्ने भन्ने हुन्छ भनेर भेट रद्द गरिएको थियो ।
औपचारिक भेट नभए पनि मोदीले प्राय: पूर्वप्रधानमन्त्रीहरूसँग सोल्टी होटल र शीतल निवासमा छोटो कुराकानी गर्नुभएको थियो । पूर्वप्रम नेपालसँग शीतल निवासमा दिवाभोजका क्रममा मोदीले आफ्नो भ्रमण सफल रहेको र आगामी दिनमा यसबाट नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिने विश्वास बढेको बताउनुभएको थियो ।
सवारीमन्त्री नै भद्रगोल
सामान्यत: विदेशी अति विशिष्ट पाहुना आउँदा छुट्टै सवारीमन्त्री भनेर तोकिएको हुँदैन । यस पटक प्रधानमन्त्री अस्वस्थसमेत भएका कारण उहाँलाई सबै सूचना दिनका लागि र समन्वय गर्नका लागि सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाललाई सवारीमन्त्री तोकिएको थियो । यसमा पनि राजनीतिले काम गरेको बुझाइ परराष्ट्रमा छ । परराष्ट्रमन्त्री पाण्डे भ्रमणमा हावी हुने भएकाले त्यसलाई सन्तुलन गर्नका लागि रिजाललाई अघि सारिएको बुझाइ परराष्ट्रमा छ । स्रोतका अनुसार, परराष्ट्रमन्त्री पाण्डेले सवारीमन्त्री आवश्यक नपर्ने भन्दै प्रधानमन्त्रीलाई कन्भिन्स पनि गराएका थिए । ‘तर पछि, कता सल्लाह भएछ, उहाँ (मीनेन्द्र रिजाल) को नाम आयो’– स्रोतले भन्यो– ‘मन्त्री जस्तो मान्छे शिष्टाचार महापाल बन्न खोजेपछि के भन्नु र ?’ मन्त्री रिजालले प्रधानमन्त्री कोइरालाको हातै समातेर तानेपछि निकै आलोचना भएको थियो ।
प्रधानमन्त्री अलमलमा
एक त ७५ वर्ष काटिसकेका, त्यसैमा भर्खरै पाँच पटक क्यान्सरको थेरापी गरेर आएका प्रधानमन्त्री कोइराला भ्रमण अवधिभर साहै्र अहसज देखिएका थिए । फूलको गुच्छा कसरी दिने, कता फर्किने, कसरी स्वागत गर्ने, कता उभिने भन्ने जस्ता कुरामा प्रधानमन्त्रीलाई नसिकाइएको चाहिँ होइन रहेछ । स्रोतका अनुुसार, परराष्ट्रका शिष्टाचार अधिकारीहरूले यी सबै कुरा सिकाए पनि गर्ने बेलामा कोइरालाले सबै भुलेकाले भद्रगोल भएको थियो । विमानस्थलमा पाहुनालाई दायाँ पारेर उभिनुपर्छ भनेर सिकाइएको थियो तर उनले त्यो पनि बिर्से । अनि फूलको गुच्छाको टुप्पो अतिथितिर फर्काउनुपर्छ भन्ने पनि उनले भुले । त्यति मात्र होइन, हस्ताक्षर गर्ने कार्यक्रममा पनि कसरी कुराकानी गर्ने भन्नेबारेमा सिकाइए पनि उनले कुनै कुराको ख्याल गरेनन् ।
‘वान टु वान’मा के भयो ?
सिंहदरबारमा आइतबार औपचारिक वार्ता हुनुअघि दुई देशका प्रधानमन्त्रीबीच ‘वान टु वान’ अर्थात् एक्लाएक्लै कुरा भएको थियो । भन्नलाई ‘वान टु वान’ भनिए पनि त्यस्तो वार्तामा दुवै देशका केही अधिकारीहरू बसेका हुन्छन्, जसलाई ‘रेस्ट्रिक्टेड’ भनिन्छ । प्रधानमन्त्रीको कार्यालय कोठासँगैको कोठामा भएको उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, अर्थमन्त्री रामशरण महत, सञ्चारमन्त्री मीनेन्द्र रिजाल, मुख्य सचिव लीलामणि पौडेल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई, परराष्ट्रका कामु सचिव शंकर बैरागीलगायत आठ जना थिए भने उताबाट पनि त्यति नै संख्यामा थिए । उक्त बैठकमा पनि खास केही कुरा नभएको र विदेशमन्त्री तहमा भएका सहमतिको कार्यान्वयनकै बारेमा कुरा भएको स्रोतले बतायो ।
वामदेवद्वारा बीचैमा ‘महान्’
आफूलाई लागेका कुरा मनमा राख्न नसक्ने र प्वाक्क भनिहाल्ने बानी परेका एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतमले गत सोमबार ह्यातमा पनि त्यस्तै गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न पुगेको एमाले प्रतिनिधिमण्डलका सदस्य गौतमले कूटनीतिक मर्यादा ख्याल नगरी मनमा लागेको कुरा गरेपछि असजह वातावरण बनेको थियो ।
द्विपक्षीय कुराकानीमा जहिले पनि टोली नेताले बोल्ने र कुनै कुरा अपुग भएर उसैले संकेत गरेमा मात्रै अरूले बोल्ने चलन छ । त्यही अनुसार, मोदीसँग एमाले अध्यक्ष केपी ओलीले कुरा गरिरहेका थिए । जानासाथ आफ्नो साथमा रहेको प्रतिनिधिमण्डलका सदस्यहरूको परिचय गराउँदै ओलीले कुराकानी सुरु गरेका थिए । सुरुमा अंग्रेजीबाट सामान्य कुरा सुरु गरे पनि आफ्ना कुरा बुझाउन अप्ठेरो पर्दै गएपछि ओलीले हिन्दीमा कुराकानी गरिरहेका थिए । बीचमै गौतमले बोल्न खोजे र अप्ठेरो मान्दै ओली रोकिए । भेटमा सहभागी एक नेताले बताए अनुसार, त्यसपछि गौतमले मोदीतिर हेर्दै भने– ‘तपाईंले हिजो संसद्मा साह्रै राम्रो बोल्नुभयो । जताततै तपाईंको प्रशंसा भइरहेको छ । मलाई पनि खुबै मन पर्यो । वास्तवमा तपाईंं महान् हुनुहुन्छ ।’ मोदीलाई नै सुन्न अप्ठेरो हुने गरी गौतमले हिन्दीमा बोल्दै गएपछि मोदी स्वयम्ले रोकेर ‘बहुत–बहुत धन्यवाद’ भनेर ओलीतिर फर्किएका थिए । एमाले टोलीले मोदीसँग आधा घन्टा कुराकानी गरेको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply