एमालेले गरेरै देखायो
काठमाडौं । हरेक राजनीतिक दलले समावेशी राजनीतिको वकालत गर्दै आएका छन् । तर, अधिकांश दल त्यसलाई आफ्नै पार्टीभित्र लागू गराउन चुकिरहेका छन् । यस्तो बेला नेकपा (एमाले)ले भने त्यसलाई व्यवहारमै उतारेर देखाएको छ ।
केही दिनअघि एमालेले पार्टीको सर्वोच्च निकायको रूपमा रहेको स्थायी समितिमा जनजाति, मधेसी, दलित समुदायका नेताहरूलाई स्थान दिएर समावेशी राजनीतिको नमुना देखाएको छ । स्थायी समितिमा महिला सहभागिता पनि राम्रै छ । त्यही क्रममा एमालेले आशालाग्दा नेताहरू किरण गुरुङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डललाई स्थायी समितिमा मनोनयन गरेको छ । अरू राजनीतिक दलहरूले माथिल्लो निकायमा वर्षौंदेखि पिछडिएको मानिँदै आएको जनजाति, मधेसी र दलित समुदायका नेताहरूलाई स्थान दिने सवालमा आनाकानी गरिरहेका बेला एमालेले भने तिनै समुदायका नेतालाई गहन जिम्मेवारी सुम्पेर समावेशीकरणको उच्च उदाहरण प्रस्तुत गरेको हो ।
एमालेले स्थायी समितिमा विभिन्न समुदायका नेताहरूलाई चुनेर समावेशीकरणको उत्कृष्ट नमुना देखाएसँगै स्थायी समितिमा नै आगामी दिनमा पार्टीलाई हाँक्ने क्षमता बोकेका शंकर पोखरेल, सुरेन्द्र पाण्डेजस्ता सशक्त नेताहरूलाई पनि लगेको छ । गुटगत राजनीति र विवादभन्दा माथि उठेर आगामी दिनमा पार्टीलाई नयाँ गतिसहित हाँक्नसक्ने सक्षम नेताहरूलाई स्थायी समितिमा पुर्याउने एमालेको सुझबुझपूर्ण निर्णयले पार्टी पंक्ति र जनसमुदायमा समेत उत्साह वृद्धि गरेको बताइन थालेको छ ।
समावेशीताको दुहाई दिने नेपाली कांग्रेस, एमाओवादी जस्ता ठूला राजनीतिक दलहरूको माथिल्लो तहमा अझै पनि दलित समुदायको नेताले प्रवेश पाएका छैनन् । एमालेले जुझारु र सशक्त नेता छविलाल विश्वकर्मालाई स्थायी समितिमा पुर्याएर दलित समुदायका व्यक्ति पनि ठूला पार्टीको माथिल्लो निकायमा पुग्न सक्छन् भन्ने सन्देश दिएको छ । दलित समुदायका नेताले पहिलो पटक एमालेको माथिल्लो निकायमा पुग्ने अवसर पाए पनि जनजाति समुदायका नेता भने यस्तो अवसरबाट वञ्चित भएको भने पाइँदैन । एमालेबाट छुट्टिएर गएका अशोक राईले आठौं महाधिवेशनपछि उपाध्यक्षजस्तो महत्त्वपूर्ण पद पाएका थिए । तर, नवौं महाधिवेशनपछि जनजाति समुदायका पृथ्वीसुब्बा गुरुङ सचिवमा निर्वाचित भए पनि स्थायी समितिमा भने जनजाति नेताहरूको उपस्थिति पातलो रहेको हुँदा एमालेले सोही पक्षलाई मध्यनजर गर्दै गण्डकी क्षेत्रका पुराना नेता किरण गुरुङलाई मनोनयन गरेको छ ।
एमालेले झेल्दै आइरहेको एउटा ठूलो आरोप हो– एमाले मधेस विरोधी दल हो । तर, ०२८ सालदेखि नै मधेसमा रहेर एमालेको राजनीति हाँकिरहेका सत्यनारायण मण्डललाई स्थायी समितिमा लगेर मधेसी समुदायको भावनाको उच्च कदर गरेको महसुस गरिएको छ ।
स्थायी समितिमा मनोनयन भएका एमाले नेता विश्वकर्मा एमालेले स्थायी समितिलाई समावेशी बनाइएकोमा खुसी व्यक्त गर्दै अरू राजनीतिक दलहरूले पनि एमालेको यो कदमको अनुकरण गर्नुपर्ने बताए । उनले भने– ‘यो एमालेले लिएको एउटा अनुकरणीय कदम हो । जसरी नेपाली समाज विविधतायुक्त रहेको छ, त्यसरी नै एमालेमा पनि विविधता रहेको छ भन्ने सन्देश प्रवाहित भएको छ । यसले एमालेप्रति आम जनताको विश्वासमा अभिवृद्धि गरेको छ ।’ नेपाली समाजको संरचना र तस्बिर जे–जस्तो छ, राजनीतिक पार्टीहरूको संरचनामा पनि त्यसकै प्रतिविम्ब पर्ने बताउँदै विश्वकर्माले भने–‘एमालेले लिएको यो निर्णयले जनताको बहुदलीय जनवादको मान्यता र आत्मालाई आकार दिने हिसाबले पहलकदमी भएको मैले ठानेको छु ।’ एमालेको नेतृत्व पंक्तिले सहमतिका साथ पोलिटब्युरो, स्थायी समिति र अरू कार्ययोजनाहरू टुंगो लगाउँदै गएकोमा खुसी जनाउँदै उनले भने– ‘यो धेरै नै सकारात्मक कदम हो र यसले आम कार्यकर्ता र जनपंक्तिलाई उत्साहित तुल्याएको छ ।’
मधेसको राजनीतिमा भिजेका सत्यनारायण मण्डलले आफूलाई स्थायी समितिमा लैजाने पार्टीको निर्णयले गौरवान्वित तुल्याएको बताए । उनले भने–‘एमाले मधेसविरोधी पार्टी हो भन्ने आरोप अरू राजनीतिक दलहरूले लगाउँदै आएका थिए । तर, अहिले एमालेले स्थायी समिति, पोलिटब्युरोमा मधेसी समुदायका ७ जना व्यक्तिहरूलाई मनोनयन गरेको छ । यसले एमाले मधेसविरोधी दल होइन भन्ने प्रमाणित भएको छ ।’ एमालेको यस्तो निर्णय कोसेढुंगा रहेको बताउँदै उनले भने– ‘अब हामीलाई मधेसमा गौरवका साथ पार्टीको काममा लाग्ने वातावरण बनेको छ । समयको मागअनुसार एमालेले यस्तो निर्णय गरेको हुँदा एमाले मधेसविरोधी पार्टी हो भन्ने कुरा अब मेटिएको छ ।’ मण्डलले थपे– ‘मधेसमा वर्षौंदेखि ठूलो विभेद रहँदै आएको छ । र, मधेसमा रहेको विभेदलाई मेट्ने दिशामा एमालेले पहिलादेखि नै पहल गर्दै आइरहेको हो । मधेसमा व्याप्त विभेदलाई हटाउने कार्यमा एमाले संवेदनशील छ ।’ आफूलाई स्थायी समितिमा ल्याएकोमा खुसी व्यक्त गर्दै मण्डलले भने– ‘अहिले पार्टीले राम्रो मूल्यांकन गरेको छ । मूल्यांकनको परिपाटी सही ट्रयाकमा आउन लागेको संकेत देखिएको छ ।’
अर्का स्थायी समिति सदस्य किरण गुरुङले एमालेले स्थायी कमिटी विस्तार गरेर पूर्ण बनाइँदा सकारात्मक सन्देश गएको बताए । उनले भने– ‘नवौं महाधिवेशनको बेला समूह–समूह बनेर जे–जस्तो परिस्थिति सिर्जना भए पनि अहिले भने पार्टी एक ढिक्का भएको देखिएको छ । यसले राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव पार्ने देखिन्छ ।’ गुरुङले स्थायी समिति समावेशी बनाइएको र नयाँ र पुराना दुवै पुस्तालाई समेटिएको हुँदा खुसीसमेत व्यक्त गरे ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply