संविधानसभामा वितण्डा
‘जंगली हर्कत’को सर्वत्र निन्दा
काठमाडौं । सहमति हुनुपर्छ भन्ने तर सहमति हुन नदिने एमाओवादीको नीतिका कारण मुलुक मुठभेडको अवस्थामा पुगेको छ । सोमबार राति संविधानसभाको बैठकमा प्रक्रिया सुरु गर्न लाग्दा पुष्पमकल दाहाल र बाबुराम भट्टराईको निर्देशनमा एमाले अध्यक्ष केपी ओली र सभामुख सुवास नेम्वाङमाथि आक्रमण भएपछि एमाओवादीको उक्त कमदलाई जंगली हर्कत भन्दै सर्वत्र निन्दा भएको छ ।
राति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न नपाएकाहरूले बिहानै पत्रिका हेर्नासाथ कस्ता जंगली रहेछन्, अझै सुध्रिएका रहेनछन्, संविधान बनाउन दिँदैनन्, लोकतन्त्र बुझेकै रहेनछन्, कस्ता असभ्य रहेछन् भन्ने जस्ता स्वतस्प्फूर्त प्रतिक्रिया दिइरहेका थिए । एमाओवादी आबद्ध मोर्चा, ड्यास माओवादी र पद्रमरत्न तुलाधरको जातीय मोर्चाले आयोजना गरेको मंगलबारको नेपाल बन्दको देशभरि प्रतिवाद भएको छ । स्वत:स्फूर्त रूपमा उक्त बन्दको अवज्ञा गर्दै विभिन्न ठाउँमा जुलुससमेत निस्किएका छन् । संविधान बनाउन संविधानसभामा पठाएका सभासद्हरू एकातर्फ संवादको बाटो छोडेर तोडफोडमा उत्रिने अनि अर्कातिर बन्द आयोजना गरेर जनतालाई सास्ती दिने भन्दै चर्को आलोचना भएको छ ।
सहमतिका लागि दिनभर भएका प्रयास विफल भएपछि दलहरू आफैंले घोषणा गरेको माघ ८ को मितिमा जनतालाई निराश हुन नदिनका लागि कांग्रेस, एमालेलगायतका दलले प्रक्रिया भए पनि सुरु गर्ने प्रस्ताव अघि बढाएका थिए । संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईले बोल्दा नै उनले सभासद्लाई आक्रमण गर्नका लागि उक्साएपछि मध्यरातमा संविधानसभा भवनमा एमाओवादीका सभासद्हरू आक्रमणमा उत्रिएका थिए । उनीहरूमध्येका एकले एमाले अध्यक्ष ओलीको टाउकोमा ताकेर हान्न लाग्दा सभासद् ऋषिकेश पोखरेलले छेकेका थिए । त्यसअघि एमाओवादीका अर्का एक सभासद्ले ओलीको छातीमा ताकेर माइक्रोफोनले हानेका थिए । सभामुख नेम्वाङलाई हातपात गर्न जान थालेका एमाओवादी सभासद्लाई रोक्दा १२ जना मर्यादापालकमाथि चोटपटक लागेको थियो ।
सहमतिबाट पछि हटेर आक्रमण
आइतबार राति शीर्ष बैठक सकेर नेताहरू घर फर्किंदा सहमतिको मोटामोटी खाका बोकेका थिए । एमाओवादी र मधेसी दलहरूले भनेझैं मिश्रित निर्वाचन प्रणालीमा जाने, राष्ट्रपति र प्रधानमन्त्रीबीच अधिकार बाँडफाँट गर्ने, ६ प्रदेश बनाउने र तिनको नाम बहुजातीय राख्ने वा प्रदेश सभालाई गर्न दिने भन्नेमा मोटामोटी सहमति बनेको थियो । सोमबार बिहानसम्म पनि एमाओवादी नेताहरू त्यो सहमतिप्रति सहमतै थिए । तर, जब दिउँसो १ बजे शीर्ष नेताहरूको बैठक बस्यो, तब उनीहरूले कुनै सहमति नै भएको छैन भनेपछि वार्ता भाँडिएको थियो । त्यसपछि निराश र आक्रोशित बनेका एमाओवादीका नेताहरूले अरू पार्टीका नेतामाथि आक्रमण गर्न सभासद्लाई उकासेका थिए ।
दिउँसैदेखि थियो तयारी
एमाओवादीले दिउँसैदेखि संविधानसभामा तोडफोड गर्ने र नेताहरूमाथि आक्रमण गर्ने योजना बनाएको थियो । गत चुनावमा एमाले अध्यक्ष ओलीसँग लज्जास्पद पराजय भोगेका एमाओवादीका केन्द्रीय सदस्य गोपाल किराँतीले त पहिलादेखि नै ओलीमाथि आक्रमण गर्ने आफ्नो पार्टीको योजना रहेको र हिजो मौका मिलेकाले आक्रमण गरिएको सार्वजनिक गरेका छन् । आफ्ना सभासद्लाई दिउँसैदेखि आक्रमणका लागि एमाओवादी नेताहरूले तयार पारेका थिए । उनीहरूले आज संविधानसभामा जे पनि हुन सक्छ भनेर कसैलाई बाहिर जान दिएका थिएनन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत एमाओवादी नेताहरूले उक्त धम्की दिएका थिए ।
नियोजित षड्यन्त्र : एमाले
यसैबीच, मंगलबार अपराह्न संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको एमाले स्थायी समितिको बैठकले सोमबार एमाओवादी सभासद्द्वारा गरिएको आक्रमणलाई मानव सभ्यतामाथिको आक्रमणको संज्ञा दिँदै त्यसलाई नियोजित ठहर गरेको छ । सचिव योगेश भट्टराईका अनुुसार, बैठकले उक्त घटनाको छानबिनको माग गर्दै त्यसमा संलग्नहरूमाथि कारबाहीको माग गरेको छ । नेपाल राष्ट्रलाई असफल पार्ने घटनाका रूपमा त्यसलाई गम्भीरतापूर्वक लिँदै एमालेले त्यसका कारण संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने अभियानबाट विचलित नहुने निष्कर्ष पनि निकालेको छ ।
त्यसलगत्तै बसेको संसदीय दलको बैठकमा पनि घटनाका बारेमा छलफल गर्दै आइन्दा यस्ता घटना भए सशक्त प्रतिवाद गर्ने निर्णय भएको छ ।
सर्वत्र निन्दा
एमाओवादीको उक्त आक्रमणको चौतर्फी चर्को आलोचना र विरोध भएको छ । सहमति कायम हुन नसकेमा प्रक्रियामा जानु स्वाभाविक हुँदाहुँदै त्यसलाई अवरोध गर्ने गरी एमाओवादीले गरेको आक्रमणबाट उसको लोकतान्त्रिक निष्ठामाथि पुन: प्रश्न उब्जिएको छ । पछिल्लो संविधानसभाको निर्वाचन परिणाम आइसकेपछि त्यसलाई स्वीकार गर्न नसकेर आफूलाई लोकतान्त्रिकरण हुन बाँकी नै रहेको प्रमाणित गरेको एमाओवादीले यस पटक फेरि आफू सच्चिन धेरै बाँकी रहेको पुष्टि गरेको छ । सामाजिक सञ्जालदेखि विभिन्न मञ्चहरूबाट एमाओवादीको उक्त कदमको चर्को आलोचना भएको छ ।
दाहालको मुहारमा मुस्कान
अमनलाल मोदी, जनार्दन शर्मालगायतका सभासद्हरूले कुर्सी भाँच्दा, माइक तोड्दा, माइकले अन्धाधुन्द सत्तारुढ पार्टीका सभासद्माथि आक्रमण गर्दा त्यहीँ रहेका एमाओवादी अध्यक्ष पुष्पमकल दाहाल चाहिँ खुसी देखिन्थे । मध्यरातमा सार्वजनिक भएका तस्बिरहरूमा पनि दाहाल मुसुक्क हाँसेको देखिन्छ । साथमा रहेका भट्टराई चाहिँ अलि गम्भीर मुद्रामा देखिन्छन् । दाहाल चाहिँ साह्रै निर्दयी नेताका रूपमा चिनिन्छन् ।
कांग्रेस र एमालेलाई तर्साउन वैद्यसँग अंकमाल
संविधानसभाभित्रै संघर्ष गर्ने, आफ्ना एजेन्डा लागू गराउने र त्यसका लागि दबाब दिने योजना एमाओवादीले बनाउनुलाई अन्यथा मान्न सकिन्न । तर, संविधानसभाको निर्वाचनलाई नै जनतामाथिको धोकाको संज्ञा दिँदै त्यसलाई खारेज गर्नुपर्ने माग गर्दै आएको मोहन वैद्य नेतृत्वको माओवादीसँग कार्यगत एकता गर्नुलाई पनि दाहालको अवसरवादी चरित्रका रूपमा हेरिएको छ । कथम सोमबार प्रमुख दलहरूबीच सहमति भएको भए पनि दाहालले वैद्यसँग मिलेर आयोजना गरेको बन्द फिर्ता लिन सक्ने थिएनन् । सत्तारुढ दलहरूसँग बार्गेनिङका लागि वैद्यसँगको अंकमाललाई दाहालले बार्गेनिङ चिप्सका रूपमा प्रयोग गरेको देखिएको छ ।
अब के हुन्छ ?
एमाओवादी र मधेसी दलको अवरोधका कारण माघ ८ मै संविधान बनाउन सम्भव नभए पनि एमाले र कांग्रेसले एक महिनाभित्र संविधान ल्याउने तयारी गरेका छन् । प्रक्रियामा प्रवेश गरेर सहमतिका लागि ढोका खुला राख्ने ती दुई दलको योजना छ । स्रोतका अनुसार, आफूले जतिसुकै कोसिस गर्दा पनि प्रक्रिया नरोकिने र लोकतान्त्रिक संविधान जारी हुने पक्कापक्की भएपछि एमाओवादी अन्तिम बेलामा आएर यति धेरै आत्तिएको हो । एमाओवादीका नेताहरूसँग नियमित सम्पर्कमा रहेका एक नेताले भने– ‘प्रक्रिया छोडेर जाने अवस्थामा पनि एमाओवादीको छैन । साथै, यही प्रक्रियाबाट जाँदा आफूले भने जस्तो हुँदैन भन्ने पनि उसलाई थाहा छ । त्यही भएर वितण्डा मच्चाइरहेको छ ।’
प्रक्रियामा गएर एक महिनाभित्र संविधान ल्याउने तयारीस्वरूप माघ ८ भित्रै कांग्रेस र एमोले उक्त प्रक्रिया सुरु गर्न खोजेका छन् । एमालेका वरिष्ठ नेता झलनाथ खनालले दुई दलबीच एक महिनाभित्र संविधान ल्याउने सहमति भएको बताएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply