भारतसँग ओलीको सम्बन्ध ‘राम्रो’
“कसैले चाहेर पनि बिगार्न सक्दैन” काठमाडौं । राजनीतिक बजारमा छिमेकी भारत एमाले र त्यसका अध्यक्ष केपी ओलीसँग ‘रिसाएको’ चर्चा छ । एमाओवादी मोर्चालाई सहमतिमा लैजान उसले गरेको अनुरोधमा ओली अनुदार देखिएपछि भारतसँग सम्बन्ध चिसिएको विश्लेषणलाई स्वयम् ओलीले चाहिँ अस्वीकार गर्नुभएको छ ।
सोमबार दैनिक र साप्ताहिक पत्रिकाका सम्पादकसहितका वरिष्ठ पत्रकारहरूसमक्ष ओलीले खुलेरै भन्नुभयो– ‘कसै–कसैले अहिले एमालेसँग भारतको सम्बन्ध राम्रो छैन, केपी ओलीसँग राम्रो छैन भनेको सुन्छु । तर, त्यो गलत कुरा हो ।’ आफ्नो चिरपरिचित शैलीमा उदाहरण दिँदै ओलीले भन्नुभयो– ‘दायाँतिर बसेकाले मेरो दायाँ कान मात्र देख्छ र ‘केपी ओलीको दायाँ कान मात्र रहेछ’ भन्छ । बायाँतिर बसेकाले मेरो बायाँ कान मात्र देखेर ‘केपी ओलीको बायाँ कान मात्र रहेछ’ भन्छ । यथार्थ त्यस्तो होइन । मेरा दुवै कान छन् ।’
भारतसँग नेपालको धेरै पुरानो र हार्दिक सम्बन्ध रहेको चर्चा गर्दै ओलीले भन्नुभयो– ‘दुई देशका बीचमा धेरै लामो सम्बन्ध छ । राजीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक मात्र होइन, प्रागऐतिहासिक र प्राकृतिक सम्बन्ध पनि छ । त्यसलाई कसैले चाहेर पनि बिगार्न सक्दैन । बिगार्ने कुरै सोच्न सकिन्न ।’ भारतका बारेमा बोल्दा जहिले पनि सचेत रूपमा, तौलेर र उसलाई मन नपर्ने गरी नबोल्ने नेताको छवि बनाएका ओलीले पछिल्लो पटक तराईलाई एउटै प्रदेश हुन नदिने अभिव्यक्ति दिएपछि भारत चिढिएको रूपमा अर्थ लगाइएको छ । यस प्रसंगमा सोधिएको प्रश्नमा ओलीले उक्त कुरा बताउनुभएको हो ।
नेपाल र भारतका बीचमा जनस्तरदेखि नै लामो सम्बन्ध रहेको चर्चा गर्दै ओलीले भन्नुभयो– ‘खाना पकाउँदा पकाउँदै नुन सकियो भने लौ न अलिकति नुन देउ त भनेर पल्लोघरमा मागिन्छ । बीचमा १० गजा हुन्छ ।’ ओलीले आफ्नो कुुरामा जोड दिन चरा, पुतली र हात्तीको उदाहारण दिनुभयो । उहाँको भनाइ थियो– ‘यताको पुतली भुर्र उडेर उता जान्छ र फूलमा बस्छ, उताको चरा भूर्र उडेर यता आएर धान खान्छ । असमको हात्ती मोरङमा आएर बाली खान्छ । न भिसा, न पासपोर्ट †’
एमाओवादी र मधेसी मोर्चाले उठाएका मागबारेमा माघको पहिलो साता भारतीय राजदूत रञ्जित राय ओली निवास बालकोट नै पुगेका थिए । ओली र रायबीच कुरा मिल्न सकेन । तर, भारतीय कूटनीतिज्ञहरूको एमाओवादी र मधेसी मोर्चाका नेताहरूसँग चाहिँ कुरा मिलिरहेको देखिन्छ । यसबारेमा संकेत गर्दै ओलीले त्यस रूपमा लिन नहुने बताउनुभयो । उहाँको भनाइ थियो– ‘डिप्लोम्यासीमा कसैले नमीठो कुरा गर्दैन । कसैले कुरा गर्दा सुनेर मीठा कुरा गरेर पठाइदियो होला । त्यसलाई अन्यथा रूपमा लिन मिल्दैन ।’
अध्यक्ष ओलीले भारतसँग आफ्नो राम्रो सम्बन्ध रहेको र राम्रै सम्बन्ध रहने स्पष्ट पार्नुभयो ।
ओलीका चार कथा
प्रसंग अनुसारका कथा, सन्दर्भ सामग्री र व्यंग्य गर्नमा माहिर ओलीले चार रोचक कथा पनि सुनाए । अध्यक्ष निर्वाचित भएको सात महिनापछि त्यतिबेला गरेको सहयोगका लागि समेत धन्यवाद दिन भन्दै बोलाइएका पत्रकारहरूसमक्ष अध्यक्ष ओलीले सहमतिका बारेमा आफ्नो भनाइ र सीमाका बारेमा दुई घन्टा छलफल गरे ।
चश्मा र टोपीको ‘गिभ एन्ड टेक’
एमाओवादी र मधेसी मोर्चासँग छलफल बन्द भइरहेको बेला अहिले सत्तापक्षलाई ‘गिभ एन्ड टेक’ गरेर अघि बढ्न सुझाव आइरहेका छन् । ओलीसमक्ष त्यस्ता सुझाव नआउने कुरै भएन । यसबारेमा छेउमै बसेका दुई पत्रकारलाई देखाउँदै ओलीले भने–
मैले कुन्दनजी (अर्याल)को टोपी र चश्मा खोसेर लिएँ । अनि उहाँले आफ्नो सामान फिर्ता माग्नुभयो । मैले दिन मानिनँ । अनि नारायणजी (वाग्ले) अघि सरेर केको झगडा गरिरहेको ? ‘गिभ एन्ड टेक’ गर न भन्नुहुन्छ ? केमा ‘गिभ एन्ड टेक’ गर्नुहुन्छ कुन्दनजी– टोपीमा कि चश्मामा ?’ ओलीले मुलुकको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, साम्प्रदायिक सद्भाव र जातीय एकतामा कुनै हालतमा सम्झौता नहुने दोहोर्याए ।
नक्कली र सक्कली आमा
पछिल्लो दिनमा एमाओवादी र मधेसी मोर्चाले गत ०६९ जेठ २ गते दलहरूका बीचमा भएको सहमतिलाई आधार बनाउन माग गरिरहेका छन् । त्यतिबेला एमाओवादी ठूलो दल भएको बेला गरिएको सहमति अहिले मान्न कांग्रेस–एमाले तयार छैनन् । शक्ति सन्तुलनमा आएको परिवर्तन र त्यही कारण आम मनोविज्ञानमा देखिएको फेरबदलका कारण अहिले पुराना ‘गलत कुरा मान्न आफूहरू तयार नरहेको’ ओलीले स्पष्ट पारे ।
विगतमा भएका अनुचित सहमतिहरू मान्नैपर्ने बाध्यता नरहेको भन्दै ओलीले दुई आमाको झगडाको कथा सुनाए ।
दुई जना महिलाले एउटा बच्चा आफ्नो सन्तान भएको दाबी गरे । मुद्दा न्यायाधीशकोमा गयो । दुवैको दाबी सशक्त थियो । न्यायाधीशले फैसला गर्न सकेन । अनि उसले एउटा उपाय निकाल्यो र भन्यो– ‘अब यो बच्चा आधा–आधा गर्ने र तपाईंहरूले त्यही आधा–आधा लिएर जाने ।’ एक महिलाले तुरुन्तै भनिन्– ‘श्रीमान्, मलाई आधा नै भए पनि मेरो छोरो चाहिन्छ । ठीक छ ।’ तर, तुरुन्तै अर्की महिलाले भनिन्– ‘श्रीमान्, यो छोरालाई आधा–आधा नगरियोस् । यो बच्चा त्यसैलाई दिइयोस् । मेरो बच्चा होइन, त्यसैको बच्चा हो ।’
‘विगतमा हामीले त्यसैगरी बच्चा दिनुपरेको थियो’– ओलीले भने– ‘कम्तीमा बच्चा त बाँच्न पाउँछ, उसैको छोरो भए पनि जीवन त रहन्छ भनेर हामीले पनि कतिपय अनुचित सम्झौतामा हस्ताक्षर गरेका थियौं ।’
स्मरण रहोस्, एक मधेस प्रदेश दिने सम्झौता ओली उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएको बेला भएको थियो ।
छ दार्शनिक र एक माझीको नियति
एमाओवादीले भन्दैमा जनता सडकमा नआउने र फेरि उसले भन्दैमा जनयुद्ध नहुने भन्दै ओलीले ठीक बेलामा जनताले ठीक जवाफ दिने गरेको सम्झाए । ‘सबै जनताले पढेका छैनन्, लेख्न जान्दैनन्, दर्शन बुझेका छैनन्’– ओलीले भने– ‘तर, निर्णय गर्ने बेलामा जनताले सही निर्णय गर्छन् ।’ अघिल्लो संविधानसभामा भएको गल्ती जनताले आफैं पछिल्लो निर्वाचनबाट सच्चाएको भन्दै ओलीले त्यसलाई ‘जन करेक्सन’ को संज्ञा दिए ।
ओलीले ६ जना दार्शनिक र एक जना माझीको कथा यसरी सुनाए–
छ जना दार्शनिक एउटा डुंगा चढेर समुद्र पार गर्दै रहेछन् । एउटा दार्शनिकले सोधेछ– ‘ए, माझी तिमीले दर्शनका बारेमा सुनेका छौ ?’ माझीले ‘अहिलेसम्म त्यस्तो शब्दै सुनेको थिइनँ हजुर’ भनेछ । अनि अर्काले अन्तरिक्षका बारेमा सुनेका छौ ? भनेर सोध्दा पनि माझीले ‘केही थाहा छैन’ भनेछ । सोधेका कुनै कुरा नजानेपछि सबैले भनेछन्, ‘तिमीलाई केही थाहा रहेनछ, तिम्रो आधा जीवन बेकार रहेछ ।’
विस्तारै आँधी आउन थालेछ । अनि डुंगा टल्पलायो । माझीले सोधेछ, तपाईंहरूलाई पौडी खेल्न त आउँछ होला नि ? सबैले एक स्वरले भने, आउँदैन । त्यसपछि माझीले जवाफ दिएछ– ‘तपाईंहरूको पूरै जीवन बेकार रहेछ ।’
माझीले जस्तै जनताले पनि ठीक बेलामा ठीक जवाफ दिने गरेको उनले बताए ।
कपाल काट्न सिक्नु कमाराका टाउकामा
अध्यक्ष ओलीले अहिले नेपालमा विदेशी शक्तिबाट विभिन्न खालका प्रयोगहरू भइरहेको भन्दै रोष व्यक्त गरे । युरोपतिर प्रयोग भएको समावेशीताको यहाँ गलत व्याख्या भएको पनि उनले बताए । उनले नेपालीमा पुरानो भनाइ रहेको भन्दै भने– ‘कपाल काट्न सिक्नु, कमाराको टाउकामा’ भने जस्तै भएको छ । कपाल बिग्रे पनि कमाराकै बिग्रिन्छ, काटिए उसैको काटिन्छ । राम्ररी सिकेपछि मात्रै मालिकको कपाल काट्ने । अहिले नेपालमा त्यस्तै प्रयोग गर्न खोजिएको छ, गिनीपिग बनाउन खोजिएको छ ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply