संविधान नबन्दै भित्रभित्रै सरकारको खेल
काठमाडौं । संविधान कहिले बन्छ भन्ने ठेगान छैन । तर, काठमाडौंको राजनीतिक वृत्तमा भावी सरकारका बारेमा त्यसभन्दा बढी चर्चा चल्न थालेको छ । हालै भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले काठमाडौं भ्रमण गरेर फर्केपछि कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा उत्साहित हुन थालेका छन् भने एमाले पंक्तिमा संशय पैदा भएको छ ।
पहिलो विकल्प : सुशीलकैमा समावेश
एक उच्च स्रोतका अनुुसार, पहिलो चरणमा सुशील कोइराला नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सरकार बनाउने नाममा सरकारमा आउन तयार भएर बसेका विजय गच्छदार र एमाओवादीलाई सहभागी गराउने कोसिस हुनेछ । सोमबार मात्रै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केही पत्रकारहरूसँगको अन्तक्र्रियामा संविधान जारी हुने अवस्था आएमा त्यस बेलामा राष्ट्रिय सरकारका बारेमा सोच्न सकिने भन्दै भित्रभित्रैका खेलको संकेत गर्नुभएको छ । स्रोतले भन्यो– ‘उहाँलाई यसका बारेमा थाहा नहुने कुरा भएन । अब सहमति बन्दा संविधानका बारेमा मात्र होइन, प्याकेजमा सरकारका बारेमा समेत बन्छ ।’
तर, स्रोतले पछिल्ला दिनमा प्रधानमन्त्री कोइरालासँग दक्षिणी छिमेकी सन्तुष्ट नरहेको तर्क गर्दै कोइराला क्याम्पलाई नचिढाउनका लागि मात्र त्यो कार्ड अघि सार्न लागिएको बतायो । स्रोतले भन्यो– ‘कोइराला क्याम्प नभड्कियोस् र शेरबहादुर देउवालाई धेरै अप्ठेरो नपरोस् भनेर मात्रै त्यस्तो प्रस्ताव अघि सार्न खोजिएको हो, जुन कार्यान्वयन गर्ने भित्री इच्छा भारतको छैन ।’
दोस्रो विकल्प : ओली होइन, देउवा
यसै पनि सुशील कोइरालाले ‘संविधान जारी भएपछि राजीनामा दिन्छु’ भनेकै छन् । त्यस्तो अवस्थामा स्वाभाविक विकल्पका रूपमा एमालेले दाबी गर्छ । एक वर्षअघि नै संविधान जारी हुनासाथ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखको निर्वाचन हुने सहमति भइसकेको छ । त्यस्तो बेलामा सरकार बदलिने कुरा निश्चित नै हुने भयो । साथै, अब सरकार बन्दा त्यसको पहिलो दाबेदार एमाले अध्यक्ष केपी ओली हुन् भन्ने पनि सबैलाई छर्लंगै छ । तर, शक्तिकेन्द्रसँगको निरन्तरको चिसिँदो सम्बन्ध, ओलीको सम्पर्क भएका सूत्रहरूको घटिरहेको शक्ति र कांग्रेसको दाउपेचका कारण ओलीलाई रोक्ने प्रयास अहिलेदेखि नै सुरु भइसकेको सूचना एमाले नेताहरूले पनि पाएका छन् । एमाले र कांग्रेसले अघि सारेका सात प्रदेशमा उत्तर दक्षिण भू–भाग नजोडिए पनि ओलीले भाषणमा उत्तर दक्षिण प्रदेश बनाउनुपर्छ भन्न छोडेका छैनन् । नेपाली जनताको यस चाहनालाई भारतले आफ्नो विरोधका रूपमा सम्झेको छ । त्यही कारण मात्र ओलीलाई रोक्न चाहिँ खोजिएको होइन । एमाओवादी र मधेसी दलहरूले दक्षिणतिर बढाएको पहुँचले पनि ओलीलाई अप्ठेरोमा पार्ने विश्लेषण गरिएको छ ।
त्यस्तो अवस्थामा जे भन्यो, त्यही मान्ने र कुनै पनि राष्ट्रिय विषयहरूमा ठोस धारणा अघि नसार्ने कांग्रेस नेता शेरबहादुर देउवा दक्षिणको रोजाइमा पर्न थालेको बुझाइ छ । त्यसका लागि ओलीलाई रोक्ने अभियानमा केही मधेसी नेताहरूलाई उक्साइरहेको बताइन्छ । आफूलाई दक्षिणका दूतका रूपमा चिनाउन चाहने अमरेशकुमार सिंहहरूले बिना प्रसंग ओलीको विरोध गर्नुलाई त्यही रूपमा लिइएको छ ।
ओलीसँग किन आगो ?
एमाले अध्यक्ष ओलीले पछिल्ला दिनमा लिएका अडानलाई दक्षिणले रुचाएको छैन भन्ने प्रस्टै छ । बिनाहैसियत टाउकामा चढिरहेका मेधसी दलहरूलाई ओलीले कुनै भाउ नदिएपछि दक्षिणी छिमेकीले आफ्नो उपेक्षा जस्तो ठानेको रूपमा प्रचार भइरहेको छ । अझ एमाओवादी मोर्चाले अघि सारे जस्तै माग लिएर आफ्नो निवास पुगेका भारतीय राजदूत रञ्जित रायलाई ओलीले कूटनीतिक मर्यादा सम्झाइदिएपछि त उनी आगो हुने नै भए । भारतीय पक्ष ओलीसँग आक्रोशित हुनुको अर्को कारण पनि यसैस ँग जोडिएको छ, त्यो राजदूत रायलाई ओलीले भनेको भन्दै सञ्चारमाध्यममा सार्वजनिक भएका कुराहरू । स्रोतले भन्यो– ‘त्यसबाट राजदूत रायले आफ्नो अपमान भएको महसुस गरेका छन् ।’
एभरेस्टमा कोसियारीसँग भातभान्सा
यसैबीच, नेपाल भ्रमणमा आएका सत्तारुढ भारतीय जनता पार्टीका उपाध्यक्ष तथा नेपाल मामिलाको जिम्मेवारी पाएका भगतसिंह कोसियारीसँग एमाले अध्यक्ष ओलीले लामो कुराकानी गरेका छन् । बानेश्वरस्थित एभरेस्ट होटलमा गत शनिबार राति कोसियारीको सम्मानमा रात्रिभोज आयोजना गरेर ओलीले राजनीतिक रूपमा सम्बन्ध राख्न र नेपाल भारत सम्बन्धलाई उचाइमा पुर्याउन आफू सक्रिय रहेको भन्दै कन्भिन्स गर्ने कोसिस गरेका थिए । आफूनिकट दुई नेता विद्या भण्डारी र ईश्वर पोखरेलका साथै आफ्नी श्रीमती राधिका शाक्यलाई साथमा राखेर ओलीले भारतीय पक्षमा आफ्ना बारेमा रहेका हुन सक्ने आशंका मेट्ने कोसिस गरेका थिए ।
कोसियारीले पछि आफू बसेको होटलमा फर्केर आफ्नो भ्रमणको
चाँजोपाँजो मिलाउने नेपालीहरूसँग गरेको कुराकानीमा ओलीले एक पटक छिट्टै भारत भ्रमणमा जान चाहेको, त्यहाँको राजनीतिक नेतृत्वसँग सम्बन्ध राम्रो बनाउन चाहेको र यी सबै आधारमा भावी सरकारको नेतृत्व गर्न चाहेको विवरण सुनाएका थिए । कोसियारीको भनाइ थियो– ‘ओली इन्टेलिजेन्ट नेता छन् तर उनको कुनै पनि पार्टीसँग राम्रो सम्बन्ध रहेनछ । कांग्रेस उनीसँग डराएको रहेछ, एमाओवादी र मधेसी दलहरू नामै सुन्न चाहँदा रहेनछन् । यस्तो अवस्थामा हामीले चाहेर मात्रै पनि केही हुने होइन । नैनीताल क्षेत्रबाट लोकसभा सदस्यमा निर्वाचित कोसियारी एक पटक छोटो अवधिका लागि उत्तराखण्डको मुख्यमन्त्री पनि भइसकेका भाजपाका वरिष्ठ उपाध्यक्ष हुन् । अविवाहित र सरल स्वभावका यी लोकसभामा सार्वजनिक सुनुवाइ समितिका अध्यक्ष पनि छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट यिनलाई भाजपाको नेपाल नीतिको जिम्मेवारी दिएपछि पटक–पटक भ्रमण गर्दै आएका छन् । कोसियारीले नेपाल भ्रमणका क्रममा मुख्य राजनीतिक दलका मुख्य नेताहरूसँग कुराकानी गरेका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply