संविधान नबन्दै कांग्रेस र एमालेबीच दूरी बढ्दै
काठमाडौं । एमाओवादीसहितको विपक्षी मोर्चा दोस्रो संविधानसभालाई पनि असफल पार्ने खेलमा लागिरहेका बेला सत्तापक्ष नेपाली कांग्रेस र नेकपा एमालेबीचको एकता झन् बलियो हुनुपर्नेमा यी दुई पार्टीबीच बिस्तारै–बिस्तारै दूरी बढ्न थालेको छ । जसले गर्दा एकातिर, संविधानसभा असफल पार्ने योजनामा लागेका एमाओवादीसहितका दलहरूको मनोबल बढेको छ भने अर्कोतिर धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिहरू सल्बलाउन थालेका छन् ।
एमालेको सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा संविधान निर्माण प्रक्रिया अगाडि बढाउन कांग्रेसले ढिलासुस्ती गरे सरकारबाट बाहिरिने विषयमा छलफल भयो भन्ने कुरा सार्वजनिक भएपछि विपक्षी दलहरू झन् जुर्मुराउन थालेका छन् । विपक्षी गठबन्धन, अझ त्यसमा पनि एमाओवादीको चाहना कांग्रेस र एमालेबीच फाटो उत्पन्न गराउनुमा नै केन्द्रित थियो । माघ ८ मा कुनै पनि हालतमा संविधान जारी हुन नदिनुका पछाडि त्यसपछि यो सरकारको असफलता देखाउने र सत्ता समीकरणमा फेरबदल ल्याउन सकिने एमाओवादी अभिप्राय धरेलै नबुझेका होइनन् । माघ ८ पछि एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्छ र प्रधानमन्त्रीबाट सुशील कोइरालाको बहिर्गमन हुन्छ भन्ने धेरैको अनुमानलाई गलत सावित गर्ने काम एमालेले गरेको थियो । माघ ८ पछि कोइराला सरकारको निरन्तरताका विषयमा नेपाली कांग्रेसभित्र जबर्जस्त बहस सुरु हुँदा बरु एमालेले नै यो सरकारको ‘डिफेन्स’ गर्ने काम गरेको थियो । संविधानसभालाई विफल पार्ने विपक्षीको योजना पूरा हुन नदिन एमालेले कांग्रेसको एकतालाई अझ खँदिलो बनाएको थियो । तर, पछिल्लो समयमा नेपाली कांग्रेसकै व्यवहारका कारण यी दुई पार्टीबीचको सम्बन्धमा दरारका धर्साहरू देखिन थालेका छन् । केही दिनअघि बसेको दुई दलको बैठकमा कांग्रेसले संविधान निर्माणको प्रक्रिया अगाडि बढाउने कुरामा त्यति चासो नदिई उल्टै एमाओवादीसँग नजिक भएजस्तो व्यवहार देखाएपछि एमाले कांग्रेसप्रति सशंकित बनेको हो । सोमबारको एमाले स्थायी कमिटीमा सरकारका बारेमा भएको छलफल त्यसकै अभिव्यक्ति भएको बताइन्छ ।
खासमा संविधान निर्माणको प्रक्रियाको विषय एमाले नेतृत्वको प्रतिष्ठासँग जोडिएको छ । एमाले अध्यक्ष केपी ओलीकै जोडबलमा संविधानसभामा प्रक्रिया सुरु भएको थियो । संविधानसभामा उक्त प्रक्रिया सुरु भएको ३८ दिन भइसकेको छ । तर, अनिश्चितकालका लागि संसद् स्थगन गरेर त्यो प्रक्रियालाई पनि बेवारिसे बनाइएको छ । एमाले अध्यक्ष ओलीले सहमतिका लागि धेरै कुर्न नसकिने भन्दै प्रक्रिया अगाडि बढाउनुपर्ने बताइरहेका छन् तर कांग्रेस सुनेको नसुनेझैं गरेर बसेको छ ।
एमालेलाई विपक्षी मोर्चाले पनि प्रहारको मुख्य तारो बनाएका छन् । गत शनिबार विपक्षी मोर्चाले खुलामञ्चमा गरेको कार्यक्रममा मोर्चाका संयोजक पुष्पकमल दाहालले आफ्नो भाषणको धेरै समय एमालेलाई गाली गर्नमा नै खर्चिए । सबैभन्दा ठूलो पार्टी कांग्रेस छ, प्रधानमन्त्री कांग्रेसकै छन् तर विरोध एमाले र यसका अध्यक्ष ओलीको हुनुले एमाओवादी र कांग्रेसबीचको दूरी नजिकिएको हो कि भन्ने आशंकालाई बलियो बनाएको छ । खुलामञ्चबाट एमाओवादी अध्यक्ष दाहालले ‘एमाले भन्ने पार्टीको काम नै छैन’ भन्दै कांग्रेसीको जुँगामा ताउ पनि लगाए । आफ्नै पार्टीको नेतृत्वको सरकारलाई काँधमा हालेर बसेको एमालेलाई गाली गरेको विषयमा कांग्रेसले पनि सन्चोको अनुभूति गरिरहेको छ ।
यी घटनाले पनि एमालेभित्र सरकार छाड्ने विषयको छलफलले प्रवेश पाएको बताइन्छ । कांग्रेस नेतृत्वले पछिल्लो समयमा संविधान निर्माण प्रक्रियालाई पार्टीको महाधिवेशनसँग जोडेर ढिलाइ गरेको बुझाइ एमालेको छ । अगामी भदौमा पार्टीको महाधिवेशन घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्रीकै रूपमा महाधिवेशन गर्न पाए शक्ति सन्तुलनलाई आफूअनुकूल पार्न सकिने निष्कर्षसहित प्रधानमन्त्री कोइरालाले भदौअघि संविधान जारी गर्न नचाहेको विश्लेषण गर्न थालिएको छ । एकातिर कांग्रेसको सहयात्री दलमाथिकै यस्तो रबैया, अर्कातिर विपक्षीको प्रहार पनि आफैंमाथि केन्द्रित भएपछि एमालेमा सरकार छाड्ने विषयको बहस पेचिलो बनेको हो ।
कांग्ेरस–एमाले बैठक
दुई पार्टीबीचको सम्बन्धमा दरार उत्पन्न भएको कुरा कांग्ेरस–एमाले दुवैको नेतृत्व तहले महसुस गरिसकेको छ । सोमबारको एमालेको स्थायी समिति बैठकले सरकारका बारेमा पुन:विचार गर्नुपर्ने विषयमा छलफल गर्यो भन्ने सुनेपछि हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक बसेको थियो । प्रधानमन्त्री सुशील कोइरालाको विशेष आग्रहमा बसेको बैठकमा आपसी सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply