अरूलाई तर्साउन एकताको अस्त्र
काठमाडौं । संविधानका अन्तर्वस्तुमा दलहरूबीच सहमति नजुटिरहेका बेला एमाओवादीले सत्तापक्षलाई तर्साउन नयाँ अस्त्र प्रयोग गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको योजनामा सोमबार राजधानीमा टुटेफुटेका सबै माओवादीले ‘माओवादी आन्दोलन पुनर्गठन अभियान’ घोषणा गर्नुलाई त्यही रूपमा हेरिएको छ ।यसको अगुवाइ दाहाल निकट जनार्दन शर्माले गर्नुभएको छ । सोमबारको घोषणा सभामा एमाओवादी, वैद्य नेतृत्वको नेकपा–माओवादी, हालै वैद्यसँग फुटेको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीदेखि एमाओवादी छाडेर अर्कै पार्टी बनाइसकेका मातृका यादव र मणि थापासम्मको उपस्थिति थियो ।
एमाओवादी र नेकपा–माओवादीबीच एकताका लागि कार्यदल गठन भइसकेपछि भएको यो कार्यक्रमले माओवादी कार्यकर्तामा नै भ्रम छर्ने काम गरेको बताइन्छ । चन्द निकट माओवादीका एक नेताले भने– ‘यो घोषणा सभासँग पार्टी एकताको कुनै सम्बन्ध, साइनो छैन ।’ उनले यो घोषणासभा खासगरी विप्लव र जनार्दनबीच दुई तीन चरणमा भएको सल्लाह अनुसार नै गरिएको पनि बताए । एमाओवादीबाट जनार्दन र पासाङ, चन्द माओवादीबाट धर्मेन्द्र बास्तोला र वैद्य माओवादीबाट कुलप्रसाद केसीले यो कार्यक्रमको अगुवाइ गर्ने सल्लाह भएको पनि उनले बताए । ‘तर यसलाई पार्टी एकताको रूपमा प्रचार गरिएको छ, त्यो होइन’– उनले भने– ‘माओवादी आन्दोलनलाई नै पुनर्गठन गर्ने अभियान हो, एकता अभियान होइन ।’
बाहिर जे भए पनि एमाओवादी अध्यक्ष दाहालले भने यो अभियानलाई सत्तापक्ष तर्साउने गतिलो अस्त्रका रूपमा प्रयोग गर्न शर्मालाई अह्राएको बताइन्छ । यो अभियानलाई शर्माले भने आफ्नो शक्ति आर्जन गर्ने उद्देश्यले अघि बढाएको बताउनेहरू पनि एमाओवादीभित्रै छन् । एमाओवादी निकट स्रोतले भन्यो– ‘विगतमा लडाकुहरूमाझ बलियो उपस्थिति बनाएका उनी लडाकु तितरबितिर भएसँगै एक्लिँदै आएका छन्, पार्टीभित्र कमजोर बनेको छवि सपार्ने शर्माको दाउ छ ।’ लडाकुमाझ बलियो हुँदा शर्माले पार्टीको केन्द्रीय कमिटीमा फुपूको छोरा वसन्त शर्मा, बहिनी नारायणी शर्मालगायतका आफन्त ११ जनालाई ल्याउने सफलता पाउनुभएको थियो । तर, अहिले केन्द्रीय कमिटीमा उहाँ एक्लिँदै गएको बताइन्छ । शर्माले खासगरी वर्षमान पुनलाई आफ्नो प्रतिस्पर्धी ठान्ने गरेको पनि स्रोतले बतायो । सोमबारको भेलामा धेरैजसो लडाकुहरूको उपस्थिति हुनुले पनि यसका पछाडि शर्माको नियतलाई झल्काउँछ ।
वैद्य माओवादीका केन्द्रीय सदस्य महेश्वर दाहालले घोषणा सभाले पार्टी नयाँ ढंगले पुनर्गठन हुँदैछ भन्ने सन्देश दिएको बताउनुभयो । जनार्दन शर्मा, देवेन्द्र पौडेलदेखि आहूतिसम्मका नेताको यो अगुवाइले केही न केही अर्थ राख्ने उहाँले बताउनुभयो । युवाहरूको अगुवाइमा सुरु भएको यो शक्ति अगाडि बढ्ने पनि उहाँको भनाइ थियो ।एकतामा प्रश्नएमाओवादी र नेकपा–माओवादीबीच हुने भनिएको एकता पनि तत्काल सम्भव नहुने माओवादी स्रोतले बतायो । एकताका लागि कि एमाओवादी संविधानसभाबाट बाहिरिनुपर्छ कि वैद्यले संविधानसभा स्विकार्नुपर्छ । अहिलेको अवस्थामा यी दुवै असम्भव कुरा भएकाले एकताको हल्लाका पछाडि पनि सत्तापक्षलाई तर्साउने उपाय लुकेको बताइन्छ । एमाले अध्यक्ष केपी ओली निवासमा भएको वार्तामा कुरा नमिल्नु र त्यसको भोलिपल्टै एकताका लागि दुवै दलले विज्ञप्ति जारी गर्नु योजनाबद्ध भएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply