पुर्पुरोमा हात राख्ने कि धूलो टक्टक्याउँदै अघि बढ्ने ?
दस वर्षे सशस्त्र द्वन्द्व र अत्यासलाग्दो राजनीतिक संक्रमणकालका कारण कठिन अवस्थाबाट गुज्रिरहेको नेपाल बैशाख १२ मा आएको महाविनाशकारी भूकम्पपछि अझै कठिन अवस्थामा पुगेको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको उक्त विनाशकारी भूकम्पले सिंगो नेपाल र छिमेकका आसपासका भूभागलाई समेत कम्पायमान बनायो । तर, भौतिक र मानवीय क्षतिका हिसाबले देशको राजधानी काठमाडौं उपत्यका र त्यस आसपासका अन्य १२ जिल्ला सबैभन्दा बढी प्रभावित भए । उक्त विनाशकारी भूकम्पका कारण यतिबेलासम्म करिब ८ हजार मानिस मरेका, हजारांैं घाइते भएका, लाखांै विस्थापित भएका तथ्यहरु सार्वजनिक भएका छन् । लामो खोज तथा उद्धारपछि पनि अझै सयौं मानिस बेपत्ता छन् । भूकम्पका कारण नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पनि अछुतो रहन सकेन । सिंहदरबारमा अवस्थित प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय र मुख्यसचिवको कार्यालय क्षतिग्रस्त बनेका छन् । यसैगरी राष्ट्रपति भवन, सैनिक मुख्यालय, प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंक, सर्वोच्च अदालत जस्ता महत्वपूर्ण भवनहरु समेत क्षतिग्रस्त भएका छन् । विनाशकारी भूकम्पले काठमाडांैंको चिनारीको रुपमा रहेको काष्ठमण्डप र ऐतिहासिक धरहरा खण्डहरमा परिणत भएका छन् । ऐतिहासिक सम्पदाका रुपमा रहेका वसन्तपुर, पाटन, भक्तपुर, नुवाकोट र गोरखा दरबार क्षतिग्रस्त भएका छन् । सयांैं ऐतिहासिक तथा पुरातात्विक मठमन्दिरहरु खण्डहरमा परिणत भएका छन् । सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, काभ्रे, दोलखा लगायत जिल्लाहरुमा ८० प्रतिशतभन्दा बढी घर तथा गोठहरु प्रयोग गर्नै नसक्ने गरी भत्किएका वा चर्किएका छन् । साथै, भूकम्पमा परी हजारौं घरपालुवा पशुपन्छीहरु मरेका छन् । मान्छेले आफ्नो आवश्यकताका लागि लामो समय लगाएर सञ्चय गरेका वस्तु र अन्नपातहरु सबै घरसँगै माटोमा विलिन हुनपुगेका छन् । यसरी भूकम्पका कारण घरसंँगै हरेक मान्छेको आत्मिक आस्था र आत्मविश्वासको आधार भत्किएको छ । त्यसमाथि विनाशकारी भूकम्पको विनासको लीला यत्तिकै रोकिने अवस्था छैन । किनकि यस विनाशकारी भूकम्पले चिराचिरा परेको पहाडी भूबनोटमा वर्षायाम लाग्ने बित्तिकै बाढीपहिरो जस्ता अनेक प्राकृतिक प्रकोपहरु बढ्ने अवस्था छ । भग्नावशेषमा पुरिएका सञ्चित वस्तुहरु तथा घरपालुवा पशुपन्छीहरु सड्न गई अनेक प्रकोप र महामारी फैलिने खतरा पनि त्यत्तिकै छ । त्यसमाथि मानिसले आफ्नो सुरक्षा र सुविधाका लागि आफैले निर्माण गरेका घर–संरचनाबाट नै आफूलाई असुरक्षित ठानिरहेको अवस्था छ । यस्तो अवस्थामा भूकम्पका कारण मानव बस्तीमा समेत धाँजा फाटेकाले पुन:स्थापनाको काम समेत थप चुनौतीपूर्ण बन्न पुगेको छ । भूकम्पको कम्पन र प्रतिकम्पनले ठाउँ–ठाउँमा पहिरो गएका कारण ग्रामीण क्षेत्रका सडक र गोरेटाहरुसमेत क्षतिग्रस्त भएका छन् । यसबाट एक गाउँबाट अर्को गाउँमा जान समेत कठिन बनेको छ । जसबाट राहत र पुन:स्थापनाको काम प्रभावित बनिरहेको छ ।
यसरी भूकम्पको एउटा झट्का र त्यसका प्रतिकम्पनका कारण वर्षौं लगाएर निर्माण गरिएका अर्बांैका भौतिक संरचनाहरु भत्किएका छन् । त्यसमाथि मानवीय र मनोवैज्ञानिक क्षतिको हिसाबकिताब गरेर नै साध्य छैन । अब दसकौंंसम्म त्यसको प्रत्यक्ष र परोक्ष असर नेपाली समाजले ब्यहोर्नुपर्ने बाध्यकारी स्थिति सिर्जना भएको छ । विज्ञहरुले ठूलो भूकम्पपछि अर्को त्यसै प्रकारको ठूलो भूकम्प नआउने कुरा बताइरहँदा पनि मानिसहरुले त्यसलाई सहजै विश्वास गर्न सकिरहेका छैनन् । भूकम्पले सिर्जित गरेको त्रास यति भयावह रह्यो कि भूकम्प गएको पाँच दिनसम्म त झण्डै आधा जनसंख्या नै खुला आकाशमा बस्न बाध्य भए । अहिले पनि भूकम्पका साना प्रतिकम्पनहरुले समेत मानिसलाई त्रसित बनाउने गरेको छ । उक्त विनाशकारी भूकम्पको समयमा आफन्त गुमाएका, बासस्थान र भौतिक सम्पत्ति समेत गुमाएर अत्यन्त कठिन परिस्थितिको सामना गरेका व्यक्तिहरुमा भविष्यप्रतिको असुरक्षाबोध र जीवनको अस्तित्वमाथि नै संकटको अनुभूतिले ठूलो मात्रामा मानसिक समस्या पैदा गरेको छ । भूकम्पबाट सुरक्षित रहेका अग्ला घरहरुमा त्रासकै कारण यतिबेला आम मानिसहरु बस्न डराइरहेको अवस्था छ । आफू बस्ने घरहरु भत्किएको वा बस्न नहुने गरी क्षतिग्रस्त बनेका कारण शिविर वा आफ्नै भत्किएका भग्नावशेषको छेउमा अस्थायी आश्रय लिएर बस्नेहरुको संख्या पाँच लाखभन्दा बढी छ । नब्बे सालको भूइँचालोको प्रत्यक्ष पीडा बेहोरेकाहरु नगन्य रहेका र त्यतिबेलाको पीडा विस्मृतिमा समेत पुगेका बेला आएको यस विनाशकारी भूइँचालोले उत्पन्न गरेको क्षति र त्यसबाट मानिसले भोग्नुपरेको अकल्पनीय पीडाका दृश्यहरुले प्रत्यक्ष पीडामा नरहेको क्षेत्रका जनतामा समेत त्यसको गहिरो मनोवैज्ञानिक असर परिरहेको छ । तसर्थ यस विनाशकारी भूइँचालोले पुर्याएको मानवीय र भौतिक क्षतिबाट सिंगो नेपाली समाजलाई मुक्त गर्नु र भविष्यप्रति आशा जगाउनु आवश्यक छ । तर, त्यो काम भने त्यति सजिलो छैन । तर पनि कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझंै चुनौतीका बीचमा आशा जगाउनु हरेक सचेत नागरिकको कर्तव्य हो । किनकि आशाको दियोले नै संकटको समयमा पनि मानिसलाई धूलो टक्टक्याएर अघि बढ्नका लागि प्रेरित गर्दछ ।
भनिन्छ, प्रत्येक चुनौतीसँगै अवसर समेत जोडिएर आएको हुन्छ । भूकम्पका कारण सिर्जित महाविपत्ति हाम्रा लागि असाधारण चुनौती हो भने त्यत्तिकै ठूलो अवसर पनि हो । पुर्खाको नासो र आफ्नो भावना जोडिएको भन्ने नाममा मानिसहरु जतिसुकै कमजोर संरचना भए पनि हत्पत्ति त्यसलाई भत्काउन वा सुरक्षित ठाउँमा सार्न चाहँदैनथ्यो । कैयौं असुरक्षित ठानिएका बस्तीहरुलाई स्थानान्तरण गर्ने सरकारका प्रयासहरु यस्तै भावनाका कारण विगतमा असफल बनेका थिए । भूकम्पको उच्च जोखिमको कुरा हुने गरे पनि अतिरिक्त लगानी गर्नुपर्ने अवस्थामा मानिसहरुले त्यसको पीडा नभोगेका कारण सहज रुपमा तयार हँुदैनथे । आधुनिक विकासका दृष्टिकोणले हाम्रा बस्तीहरु असुरक्षित, अनुपयुक्त र असान्दर्भिक भए पनि मानिसहरु त्यसलाई छोड्न तयार हँुदैनथे । तर, यस विनाशकारी भूकम्पले एकपटक सबैको मनमस्तिष्कलाई हल्लाइदिएको छ र जनमानसलाई धेरै कुरा सिक्न बाध्य बनाइदिएको छ । हिजोका परम्परागत जडता र भावनात्मक संकिर्णताको पर्खाल यस घटनाले भत्काइदिएको छ । राज्यलाई पनि नयाँ सोच र योजनाका साथ व्यवस्थित र सुरक्षित बसोवासका लागि कार्यक्रम अघि बढाउने अनुकूल आधार प्राप्त भएको छ । यस अकल्पनीय विनाशसंँगै मुलुकभित्र र बाहिरबाट सहयोगका लागि अघि बढेका हातहरुले सरकारलाई छोटो समयमा धेरै काम गर्नसक्ने र गर्नैपर्ने अवसर र चुनौती एकसाथ सिर्जना गरिदिएको छ । निश्चय नै यस्तो बेलामा संकटग्रस्त समुदायलाई आशा जगाएर लामो समयसम्म संयमित रुपमा राखिरहन सम्भव हुँदैन । त्यसका लागि जे गर्ने हो दु्रत गतिमा पीडितहरुको विश्वास नभत्कँदै गर्नुपर्ने हुन्छ । त्यसका लागि सिंगो राष्ट्र एक भएर उक्त काममा अर्जुनदृष्टि लगाएर जुट्नु आवश्यक छ ।
सुरुका दिनहरुमा सरकार अन्योलको अवस्थामा देखिए पनि यतिबेला सबैको साथ सहयोग लिने गरी अघि बढ्ने कोसिसमा छ । व्यवस्थापिका संसदले संकल्प प्रस्ताव पारित गरेर यस विपत्तिको सामना गर्न सिंगो राष्ट्र एकतावद्ध रहेको सन्देश दिएको छ । राज्यप्रतिको चरम अविश्वासका बीचमा पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनविश्वास आर्जन गर्ने भगिरथ कोसिस गरेका छन् । निजामति प्रशासनले पनि क्रमश: आफूलाई विपद् सामनाको कार्यमा क्रियाशील बनाउन सुरु गरेको छ । देशविदेशमा रहेका नागरिकहरुले संकटको यस घडीमा आफूलाई भावनात्मक र भौतिक दुवै हिसाबले एक ठाउँमा उभ्याउने कोसिस गरिरहेका छन् । मित्रराष्ट्रहरु र मानवतावादी संघसंस्थाहरुले विभिन्न हिसाबले आफूलाई यस दु:खको घडीमा नेपाल र नेपाली जनतासँग जोड्ने कोसिस गरिरहेका छन् । निश्चय नै यो अकल्पनीय संकटको सामना गर्नका लागि महत्वपूर्ण पुँजी हो । तसर्थ यस विपत्तिको घडीमा सबैभन्दा चुनौतीपूर्ण भूमिका र जिम्मेवारीमा रहेका सरकार, राजनीतिक दल र त्यसको नेतृत्वले यस चुनौतीलाई अवसरमा बदल्ने कोसिस गर्नु पर्दछ र त्यसमा सफलता हासिल गर्नैपर्ने हुन्छ । अन्यथा लामो समयसम्म यस विपद्ले सिंगो राष्ट्र नै असाधारण संकटमा फस्न पुग्नेछ ।
उद्धार र राहतको काम जे जति चुनौतीपूर्ण रहेको भए पनि मुलुकले अन्तर्राष्ट्रिय समुदाय समेतको सहयोगमा त्यसको एक हदसम्म सामना गरेको छ । प्रत्यक्ष पीडामा परेका मानिसहरु बाहेक अन्य मानिसहरु यतिबेला क्रमश: सामान्य अवस्थातिर फर्कन लागिरहेका छन् । वास्तविक पीडितहरुमा केन्द्रित रहेर काम गर्नका लागि यो उपयुक्त अवस्था पनि हो । अब सरकार भरपर्दो र पारदर्शी संयन्त्रहरु निर्माण गरेर पुन:स्थापना र पुनर्निर्माणको काममा केन्द्रित हुनुपर्दछ । त्यसका लागि सरकारले सबैभन्दा पहिले पीडितहरुको प्रकृति वर्गीकरण गरेर लगत तयार गरी परिचयपत्र जारी गर्ने काम गर्नुपर्दछ । भूकम्पका कारण अस्थायी शिविरमा असुरक्षित रुपमा बस्न बाध्य भएका व्यक्तिहरुका कारणले संक्रामक रोग र महामारी फैलिन नपाओस् भन्ने हिसाबले पूर्वसतर्कता अपनाउनु पर्दछ । भूकम्पका कारण जमिनको बनोटमा परिवर्तन आई ठाउँ–ठाउँमा धाँजा फाटेको अवस्था छ । त्यसले वर्षायामको सुरुवातसँगै पहिरो र बाढीको समस्या पैदा गर्ने खतरा छ । तसर्थ त्यस परिस्थितिको सामना गर्नका लागि अहिलेदेखि नै पूर्व तयारीमा जुट्नु आवश्यक छ । घरवारविहीन भएकाहरुका लागि घरबासको व्यवस्था प्राथमिकतामा रहनु स्वाभाविक हो । तर जति नै युद्धस्तरमा काम थाले पनि सबैका लागि वर्षायाम अगावै स्थायी बसोवासको व्यवस्था मिलाउन सम्भव छैन । वर्षायाम सुरु भएपछि निर्माणको काम अघि बढ्न सक्ने अवस्था पनि रहँदैन । तसर्थ स्थायी बसोवासको व्यवस्था नहुन्जेलसम्मका लागि अस्थायी सुरक्षित आश्रयस्थलको व्यवस्था गर्नु जरुरी छ । अहिले वितरण गरिएको त्रिपाल र टेन्टहरुले त्यो आवश्यकता पूरा हुन सक्तैन । त्यसका लागि स्थानीय तहमा उपलब्ध हुने कच्चा पदार्थको प्रयोग गरेर अस्थायी घर टहराहरु बनाउनु पर्दछ । बरु त्यसका लागि तत्काल राज्यले एकमुष्ट न्यूनतम आर्थिक सहयोग उपलब्ध गराउनु उपयुक्त हुन्छ ।
दीर्घकालीन हिसाबले अब नेपालले वैज्ञानिक भू–उपयोग नीति बनाएर सम्पूर्ण भौतिक सुविधा प्रदान गर्नसक्ने गरी व्यवस्थित र सुरक्षित बस्ती विकासका योजना बनाई कार्यान्वयन गर्नुपर्दछ । भूकम्प प्रभावित क्षेत्रका लागि मात्रै होइन, समग्र नेपालमा सुरक्षित, व्यवस्थित र वैज्ञानिक बस्ती विकास गर्नु आवश्यक छ । यसका लागि सहरी र ग्रामीण क्षेत्रको राम्ररी विन्यास गर्नुपर्दछ । आवास क्षेत्र र व्यावसायिक क्षेत्रलाई पनि अलग गरिनुपर्दछ । आवास क्षेत्रमा कुनै पनि हालतमा बहुतले अग्ला भवनहरु बनाउन नदिने नीति कडाइका साथ अवलम्बन गरिनुपर्दछ । आवास क्षेत्रमा घरको आकारका हिसाबले हुने र नहुनेबीचका विभेद देखिने अवस्था अन्त्य गरिनुपर्दछ । आवास तथा व्यापारिक केन्द्रहरुको निर्माण गर्दा सुरक्षित भू–बनोटको छनोट गरिनु पर्दछ । असुरक्षित भू–बनोटमा निर्माण भएका बस्ती तथा व्यापारिक केन्द्रहरुलाई निश्चित समयावधिमा स्थानान्तरण गर्ने नीति अवलम्वन गरिनुपर्दछ । विकट क्षेत्रमा छरिएर रहेका बस्तीहरुलाई समेत यस क्रममा स्थानान्तरण र केन्द्रिकृत गर्ने नीति अवलम्वन गरिनुपर्दछ । सबै प्रकारका संरचनाहरुलाई भूकम्पीय दृष्टिकोणले सुरक्षित बनाउनु पर्दछ । त्यसका लागि भूगर्भविद्, समाजशास्त्री, इन्जिनियर लगायत बहुआयामिक क्षेत्रको विस्तृत र एकीकृत परामर्श सेवा प्राप्त गरिनु पर्दछ । विज्ञहरुको सहयोगमा तयार गरिने उपरोक्त कार्ययोजना कार्यान्वयन गर्नसक्ने ढंगले नीतिगत र कानुनी व्यवस्था गरिनु पर्दछ ।
पुन:स्थापना र पुनर्निर्माणको काम एकसाथ अघि बढाउने कुरा नै यतिबेलाको मुख्य चुनौती हो । उद्धार र राहतको काममा झैं पुनर्निर्माण र पुन:स्थापनाको काममा पनि दाताहरु आफंै प्रत्यक्ष रुपमा सहभागी हुन चाहन्छन् । भू–राजनीतिक महत्वका कारण पनि नेपालमा भौतिक रुपमा उपस्थिति हुन चाहने दाताहरुको संख्या ठूलो छ । तर पुनर्निर्माण र पुन:स्थापनाको काम दाताहरुको चाहनाका आधारमा अघि बढाउने हो भने यो कहिल्यै पूरा नहुने असफल परियोजनाका रुपमा चित्रित हुनेछ । किनकि नेपालमा बाह्य पक्षको चासो यस विपद्को मानवीय पक्षसँग मात्रै जोडिएको छैन र भविष्यमा त झन् यसको मानवीयताको पक्ष अझै गौण भएर जानेछ । तसर्थ अहिलेदेखि नै राज्यले आफ्नो भूमिकालाई केन्द्रविन्दुमा राखेर पुन:स्थापना र पुनर्निर्माणको काम अघि बढाउनुपर्ने हुन्छ । त्यसका लागि राज्यले सबैको विश्वास जित्नेगरी व्यवस्थित र पारदर्शी कार्ययोजना र कार्यविधि अघि बढाउनु पर्दछ । अरुमा आश्रित रहने भन्दा आत्मनिर्भर रहेर अरुको सहयोग लिने नीतिका आधारमा अघि वढ्नुपर्दछ । यो काम भूकम्पीय प्रभाव क्षेत्रका लागि मात्रै होइन, सिंगो नेपालका बस्तीहरुलाई सुरक्षित, वैज्ञानिक र व्यवस्थित बनाउने ढंगले अघि बढाउनु पर्दछ । यद्यपि यो कामको सुरुवात घरवारविहीन भएकाहरुबाट नै गरिनु पर्दछ । भविष्यमा यो अभियान देशका अन्य भागमा विस्तार हुने विश्वास सम्प्ेरषण गर्नुपर्दछ । यस अर्थमा भूकम्पको महाविनाससँगै सुरु हुने पुन:स्थापना र पुनर्निर्माणको काम नेपालको सन्दर्भमा नव–नेपाल निर्माणको काम बन्नु पर्दछ ।
ठूलो संकटको सामना गर्ने क्रममा समेत कतिपय मुलुकले समृद्धि हासिल गरेका दृष्टान्त छन् । दोस्रो विश्वयुद्धपछि युद्धले जर्जर भएका रुस र जापानले गरेको प्रगतिलाई त्यही परिप्रेक्ष्यमा लिन सकिन्छ । भूकम्पको महाविनासपछि इण्डोनेसियाले गरेको पुनर्निर्माण पनि हाम्रा लागि सकारात्मक दृष्टान्त बन्न सक्छ । अमेरिकाको सिकागो सहरको आधुनिकता आगजनीले सिंगो सहर विनास भएपछि खरानीको थुप्रोबाट योजनाबद्ध रुपमा अघि बढ्दाको परिणाम हो । गुजरातको पछिल्लो विकासलाई पनि प्राकृतिक विपदासँगको योजनाबद्ध लडाइँको परिणामका रुपमा लिने गरिन्छ । यस अर्थमा हाम्रासामु आएको यो विपत्ति अनिश्चित भविष्यको परिणति ठानेर निरास हुनुपर्ने अवस्था होइन । अनेकांैं अभावका बीचमा पनि हाम्रा पुर्खाले अनेकांैं पटक यस प्रकारका भूकम्पका झट्काहरुलाई सहँदै र सामना गर्दै आएको तथ्य पनि हाम्रोसामु छ । त्यस अर्थमा यस विपत्तिलाई चुनौतीका रुपमा ग्रहण गर्न सक्ने हो भने यो आफैंमा अवसर बन्न सक्छ । होइन, यसलाई सामना गर्ने सामथ्र्य र साहस नदेखाउने हो भने हामीले पनि हाइटीको जस्तै पीडा ब्यहोर्नु नपर्ला भन्न सकिँदैन । यस्तो बेलामा कुन बाटो रोज्ने ? पुर्पुरोमा हात राखेर दैवलाइ सरापेर बस्ने कि पीडा भुलेर धूलो टक्टक्याउँदै नयाँ र उज्यालो भविष्यको खोजीमा अघि बढ्ने, हामी आफैले तय गर्ने कुरा हो । दृढ इच्छाशक्ति र संकल्प भए जस्तोसुकै चुनौतीका बीच पनि सफलता हासिल गर्न सकिन्छ । यस महाविपत्तिले हाम्रासामु त्यही प्रकारको इच्छाशक्ति र संकल्पको माग गरेको छ । नेपालीहरुको संस्कारको रुपमा रहेको सहयोगी भावना, भातृत्व, एकताको भावनालाई आत्मसात गर्दै शोकलाई शक्तिमा बदल्ने संकल्पका साथ अगाडि बढ्ने हो भने निश्चित रुपमा हामीले यस संकटको सामना गर्ने मात्रै होइन, समृद्धिको हाम्रो सदियौं पुरानो सपना पनि पूरा गर्न सक्नेछौं ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply