माथुरको मन्त्रणापछि मन मिलाउन कसरत
काठमाडौं । नेपालमा संविधान बनेपछि खुलेरै विरोधमा उत्रिएको भारतलाई त्यसबाट हात झिक्न निकै सकस परिरहेको छ । ‘बहादुरी’ का साथ त्यसबाट कसरी पछि हट्ने भन्दै भारतीय राजनीतिक नेतृत्वले कत्तिको सोचेको छ कुन्नि † तर, काठमाडौंमा चाहिँ त्यसको जिम्मा पाएका भारतीय बहालवाला तथा पूर्वगुप्तचर अधिकारीहरूले दलका नेतालाई भेट्दै एकपछि अर्को प्रस्ताव अघि सारिरहेका छन् । संविधान बनेको एक सातामै संशोधन समेत गर्ने गरी मधेसीसँग वार्ता तीन दलले टोली गठन गरेपछि भारतीय अधिकारीहरू आफ्नो प्रयास सफलतातर्फ उन्मुख भएको भन्दै थप लबिङमा सक्रिय बनेका छन् ।भारतीय बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग (र) का पूर्व उच्चअधिकारी एबी माथुर एक सातादेखि काठमाडौंमा सक्रिय छन् । ह्यात होटलमा अड्डा जमाएर बसेका माथुरको दिनचर्या बिहानै बा६च ५६०२ नम्बरको कार चढेर नेताका घरमा पुगेर सुरु हुन्छ । बिहान एउटासँग ब्रेकफास्ट, दिउँसो लन्च र साँझ डिनर तीनथरी नेताकोमा गर्दै उनले भारतका विभिन्न विकल्पका बारेमा कुराकानी गरिरहेको स्रोतले जानकारी दिएको छ ।
गत बिहीबार (अक्टोबर २४) नेपाल आएका माथुरले मुख्य दलका मुख्य नेतासँग दुई–दुई पटक भेटिसकेका छन् भने अरू नेताहरूलाई पनि भेटेर कुरा गरिरहेका छन् । स्रोतका अनुसार, नेताहरूसँग समय मिलाउने र सँगै पुगेर कुराकानी गर्ने जिम्मेवारी नेपाली कांग्रेसका सांसद् अमरेशकुमार सिंहले लिएका छन् । अहिले कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवानिकट रहेका सिंहले देउवालाई केन्द्रमा राखेर भारतीय अधिकारीलाई ब्रिफिङ गरेको र भारतीयहरूले त्यही अनुसार अरू नेतासँग कुरा गर्ने गरेको सूचना एमाले नेतृत्वसमक्ष आइपुगेको छ । तर, एमाले नेताहरूसँग भेट्दा भने सिंह सहभागी थिएनन् ।
ओलीलाई फुक्र्याउने प्रयास
बिहीबारै एमाले अध्यक्ष केपी ओलीको निवासबाट माथुरले आफ्नो भेटघाट सुरु गरेका थिए । त्यसक्रममा मधेसका समस्या समाधानका बारेमा कुरा गर्नुभन्दा नयाँ सरकारकै बारेमा बढी कुरा भएको थाहा भएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष ओलीले माथुरसँगको भेटका बारेमा ब्रिफिङ गरेका थिए– ‘मलाई उनले तपाईं प्रधानमन्त्री बन्ने मान्छे, यति रिजिड हुनुभएन भने । मैले म रिजिड छैन, नाकाबन्दी लगाएर तपाईंहरूले नराम्रो काम गर्नुभएको छ भनें ।’
स्रोतका अनुसार, माथुरले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्नमा आफूहरूले सहयोग गर्ने लोभ देखाउँदै आफ्नो मुद्दामा लचिलो बन्न आग्रह गरे पनि उनीबाट प्राप्त उत्तरबाट भने सन्तुष्ट बन्न सकेका रहेनछन् भन्ने कुरा अरू नेतासँगका कुराकानीबाट थाहा भएको छ । माथुरसँग भेटेका एक नेताले उनको भनाइ उद्धृत गर्दै बुधबारसँग भने– ‘ओलीजीले समाधानका बारेमा चासो देखाउनुभएन, उहाँ मधेसीलाई पेलेर जानुपर्छ भन्ने मनस्थितिमा पाएँ ।’दुवै पटकका भेटमा माथुरले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्दै त्यसअनुकूलको नेतृत्व गर्न ‘सुझाव’ दिएका थिए । आफ्नो पुरानो र विश्वासिलो मित्र भएका कारण ओलीप्रति विशेष सम्मान रहेको उल्लेख गर्दैै माथुरले ओलीलाई फकाउने कोसिस गरेका थिए ।
देउवासँग डिनरपछि हलचल
सोही साँझ कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा लामो बातचित भएको थियो । अमरेशकुमार सिंहसमेत सहभागी कुराकानी राति निकैबेरसम्म चलेको थियो । खानपिनसहित उनीहरूबीच देउवालाई कसरी प्रधानमन्त्री बनाउन सकिन्छ भन्नेबारेमा कुराकानी भएको थियो । स्रोतले भन्यो– ‘कैलालीका बारेमा आफ्नो कुरै नबुझी देउवाले ढिपी लिएको गुनासो सुनाउने काम पनि भयो, भावी सरकारका बारेमा पनि कुराकानी भयो ।’ टीकापुरमा हिंसात्मक घटना हुँदा आक्रोशित भएर पत्रकार सम्मेलन गरेका देउवा त्यसयता चाहिँ मौन छन् ।कांग्रेस वरिष्ठ नेता देउवासँग राति अबेरसम्म बसेर डिनर चल्यो भन्ने थाहा पाएपछि बालकोटबाट माथुरलाई पनि डिनरमै निम्ता गरिएको थियो । शुक्रबार साँझ ७ बजे बालकोट पुगेका माथुर अध्यक्ष ओलीको शयनकक्षमै खानपिन गरेर राति ९ बजे बाहिरिएका थिए । उनका चालकलाई चाहिँ भान्सामै लगेर खाना खुवाइएको थियो ।
सुशीलसँग दुई घन्टा वार्ता
शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास छिरेका माथुरले प्रधानमन्त्री सुशील कोइरालासँग दुई घन्टा कुराकानी गरेका थिए । भारतसँग सुमधुर सम्बन्ध नभएको मानिएका प्रधानमन्त्री कोइरालाले समस्या समाधान गर्नका लागि भारतको सहयोगको अपेक्षा प्रकट गर्नुभएको थियो । माथुरले चाहिँ मधेसका विषयमा केन्द्रित रहेर कुरा गर्न चाहेका थिए भने प्रधानमन्त्रीले अघोषित नाकाबन्दीका बारेमा नै धेरे चर्चा गरेको थाहा भएको छ ।
बाबुरामलाई घरमै पुगेर बधाई
शनिबार अचानक पार्टी छोडेका एमाओवादीका पूर्वनेता बाबुराम भट्टराईलाई माथुरको टोलीले शनिबार सानेपास्थित निवासमै पुगेर बधाई दिएको थियो । ‘राष्ट्रका लागि जोखिम मोल्नुभएको छ, तपाईंको उचित मूल्यांकन हुनेछ’ भन्दै माथुरले पार्टी छोडेकोमा भट्टराईलाई बधाई दिएका थिए । त्यहाँ पनि दुई जनाबीच रातिसम्म कुराकानी भएको थियो । मधेसको आन्दोलनलाई कसरी परिणाममुखी बनाउने र कसरी भट्टराईलाई स्थापित गर्ने भन्नेबारेमा कुराकानी केन्द्रित हुने नै भयो । बाबुराम तराईमा जाने, तराईका दलहरूले सहयोग गर्ने र उनको व्यक्तित्वका आधारमा आन्दोलनलाई उचाइँ दिने योजना पनि तय भएको छ ।
पाँच जिल्लाबारे नयाँ प्रस्ताव
इन्डियन एक्सप्रेसमार्फत सार्वजनिक भएका भारतका सात सरोकारमध्ये तराईका पाँच जिल्लालाई मधेसतिरै राख्नुपर्ने एक प्रमुख छ । पूर्वगुप्तचर प्रमुख माथुरले त्यसैमा केन्द्रित रहेर कुराकानी गरिरहेको थाहा भएको छ । माथुरको कुरा सुनेको एक स्रोतले त्यसका बारेमा नयाँ प्रस्ताव आएको बुधबारसँग खुलासा गर्यो । कांग्रेस, एमाले र एमाओवादीका नेताले एउटै मुखले पाँच जिल्लाका बारेमा पुनर्विचार
गर्न नसकिने जवाफ दिएपछि माथुरले दोस्रो चरणमा भेट्दा प्रस्ताव गरेका छन्– ‘त्यसो भए कम्तीमा संविधानमा ती पाँच जिल्लाका बारेमा सीमांकन आयोगले टुंगो लगाउनेछ भनेर संशोधन गरिदिनूस्, अहिलेलाई समस्या समाधान हुन्छ ।’भारतीय उक्त प्रस्तावप्रति पनि नेताहरू सहमत छैनन् । अहिले पाँच जिल्लालाई विवादित रूपमा राखेर संविधान संशोधन हुने हो भने तराईमा झन् ठूलो विवाद भइरहने, पाँच जिल्लाका लागि भन्दै अझ आन्दोलन हुने र अन्तत: कुनै पनि हालतमा ती जिल्लालाई तराईमा हाल्ने कोसिस हुने कुरा उनीहरूले बुझेका छन् । त्यही भएर उनीहरूले भारतीय दूतलाई भनेका छन्– ‘त्यसो गर्न सकिँदैन ।’
भारतीय पक्षबाट जेसुकै कारणले भए पनि भारतले अडान सार्वजनिक भइसकेका कारण फेस सेभका लागि भए पनि नेपाली पक्षले केही कुरा मानिदिनुपर्ने उनीहरूको भनाइ छ । पछिल्लो कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो– ‘मधेसीहरू आन्दोलनमा छन् । उनीहरूलाई सम्बोधन गर्नुपर्छ भनेर हामीले अडान राखेका छौं । अब केही माग पनि पूरा नभएपछि हामीले के भनेर मुख देखाउने ?’ अंगीकृत नागकिरताका प्रश्नमा नमाने पनि त्यसबाहेक संविधान संशोधन गरेर पाँच जिल्लाका बारेमा विवादित भनेर संविधानमा राख्नुपर्ने, प्रस्तावनामा मधेस शब्द राख्नुपर्ने, समावेशी समानुपातिक शब्द थप्नुपर्ने अन्तिम अडानका रूपमा राखिएको छ ।
पानीको जवानीमा आँखा
भारतले पाँच जिल्लाका बारेमा त्यति धेरै जोड गर्नुका पछाडि भारतीय मूलका मधेसीको चिन्ताभन्दा पनि पूर्वमा कोसी र पश्चिमका कर्णाली नदीको पानीमा केन्द्रित रहेको शीर्ष नेताहरूले बुझेका छन् । पूर्वमा सुनसरी दुई नम्बर प्रदेशमा आउने हो भने कोसी नदी स्वत: दुई नम्बर क्षेत्रमा पर्दछ भने पश्चिममा कैलालीलाई यतै राखेर मधेसको मात्रै प्रदेश बनाउने हो भने त्यो नदी पनि मधेसकै प्रदेशमा हुन्छ । एक नेताले भने– ‘भारतको नियत नै सफा नभएको आशंका भइरहेको बेला नदीलाई ध्यानमा राखेर कुरा अघि आएकाले समस्या देखिएको छ ।’
दाहाललाई कम महत्त्व !
पहिला–पहिला खुबै महत्त्व दिएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय गुप्तचर एजेन्सीका मान्छेहरूले भेट्ने गर्दथे । तर, यसपटक चाहिँ दाहालसँग औपचारिकताका लागि मात्रै भेटघाट भएको थाहा भएको छ । पार्टी फुटाउनमा उनीहरूको हात रहेको विश्लेषण गरेका दाहालले शनिबार भेट्न पुग्दा त्यही गुनासो घुमाउरो भाषामा गरेका थिए । विजय गच्छदार, महन्थ ठाकुरलगायतका नेताहरूसँग पनि भेटेर माथुरको टोलीले समाधानका सम्भावित उपायका बारेमा छलफल गरेको थाहा भएको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply