‘अन्तबाट ल्याएर मुख्यमन्त्री बनाउनुपने’
![‘अन्तबाट ल्याएर मुख्यमन्त्री बनाउनुपने’ ‘अन्तबाट ल्याएर मुख्यमन्त्री बनाउनुपने’](https://ebudhabar.com/wp-content/uploads/2015/09/emale.gif)
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले अब चाँडै राष्ट्रिय सरकार निर्माण हुने बताउनुभएको छ । संविधान जारी पछि गठन हुने सरकारका बारेमा नेपाली कांग्रेससँग एक खालको समझदारी भएको उल्लखे गर्दै उहाँले त्यही समझदारी र संविधान जारी गर्नुअघि चार दलबीच भएको १६बुँदे सहमतिको ‘स्पिरिट’मा चाँडै राष्ट्रिय सरकार गठन हुने बताउनुभएको हो ।
मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग भएको समझदारी के थियो भन्ने नखुलाए पनि दुई पार्टीबीच संविधान निर्माणपछिको सरकारको नेतृत्व एमालेले गर्ने भन्ने समझदारी भएको बताइन्छ । अब बन्ने राष्ट्रिय सरकारले संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणको कामलाई गति दिने ओलीले बताउनुभयो । कार्यक्रममा ओलीले संविधान पुनर्लेखन हुनुपर्ने माग कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अनावश्यक माग राखेर मुलुकलाई बन्धक बनाउने काम गरिएको छ त्यस्ता मागहरू स्वीकार गर्न सकिँदैन ।’ तर, कतिपय जायज माग र विषय संविधान संशोधनबाट सम्बोधन गर्न सकिने उहाँको भनाइ थियो । नागरिकताको बारेमा मधेसमा नचाहिँदो भ्रम फैलाइएको भन्दै त्यस्ता कुनै पनि भ्रममा नपर्न पनि अध्यक्ष ओलीले आग्रह गर्नुभयो । ‘मधेसीले नागरिकता नै नपाउने भनेर हल्ला चलाइएको छ । जबकि यो संविधानले सबै नेपालीलाई नागरिकता दिएको छ, बाहिरबाट आएकालाई समेत अंगीकृत नागरिकता दिने भनेको छ’– उहाँले भन्नुभयो– ‘तर, तिनीहरू राष्ट्रपति,
प्रधानमन्त्री नै ताक्छन् भने त्यो मधेसी जनताका लागि आपत्तिको कुरा हो । के तराईमा मुख्यमन्त्री हुनका लागि हाम्रै नेपाली छैनन् र बाहिरबाट ल्याउनुपर्ने ?’
भारतले नेपालजस्तो भूपरिवेष्ठित सानो देशमा नाकाबन्दी गर्नु अनुचित भएको भन्दै ओलीले आपूर्ति व्यवस्थालाई अविलम्ब सहज बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘मेरो अनुरोध छ, यसलाई लामो समयसम्म निरन्तरता दिनु हुँदैन, यो नेपाली जनताको आकांक्षा पनि हो ।’ देशलाई दूरगामी असर पार्ने र एकता, राष्ट्रिय अखण्डतालगायतका कुरालाई स्वीकार्न नसकिने उल्लेख गर्दै ओलीले नेपालले संविधान जारी गरेकोमा विश्वका सबै देशले स्वागत गर्दा पनि नजिकको छिमेकीले स्वागत नगर्नु अचम्मको कुरा भएको बताउनुभयो । भारत जस्तो नजिकको मित्र राष्ट्रले यस्ता कुरामा अल्झनु ठीक नभएको उहाँको भनाइ थियो । सीमांकनको विषय आयोगले टुंगो लगाउने विधि नै संवैधानिक र सर्वस्वीकार्य रहेको भन्दै उहाँले सीमांकन हेरफेरका लागि आयोगमार्फत छलफल गर्नसकिने बताउनुभयो । राज्यका सबै सरकारी सेवामा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता संविधानमा भए पनि त्यसलाई अपव्याख्या गरिएको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भूगोलमा एउटा जिल्लाको एउटा क्षेत्र नघट्ने गरी बाँकी जनसंख्याकै आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस्तो नगर्ने हो भने कर्णाली अञ्चलमा एउटा पनि निर्वाचन क्षेत्र हुँदैन, तर यसमा अनावश्यक विरोध भइरहेको छ, के कर्णालीमा प्रतिनिधित्व चाहिँदैन ?’
अध्यक्ष ओलीले उपराष्ट्रपतिलाई परमानन्द झालाई राजनीति नगर्न पनि आग्रह गर्नुभयो । उपराष्ट्रपति झाद्वारा सोमबार जारी विज्ञप्तिप्रति लक्षित गर्दै उहाँले भन्नुभयो–‘महामहिमज्यू, म भन्न चाहन्छु, यो संविधान कुनै ख्यालठट्टा हैन । जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको संविधान हो । राजनीति नगर्नुपर्ने संस्थाले राजनीति नगर्दा नै राम्रो हुन्छ ।’ देशभरका ६ सयभन्दा बढी अगुवा नेता–कार्यकर्ता सहभागी एक दिने भेलामा संविधानमा भएका विशेषता र संविधान निर्माणमा पार्टीले खेलको भूमिका र अब के गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । भेलामा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, सभासद्, पूर्वसभासद्, जिल्ला अध्यक्ष तथा जनवर्गीय संगठनका पदाधिकारीहरूको सहभागिता थियो ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply