कसरी भए डा.महत उत्कृष्ट अर्थमन्त्री ?
काठमाडौं । दुई दशकको अवधिमा आधा दर्जन पटक अर्थमन्त्री भएका डा.रामशरण महतलाई ‘द बैंकर’ले ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ घोषणा गरेपछि अहिले विभिन्न क्रिया/प्रतिक्रियाहरू उत्पन्न हुन पुगेका छन् । बेलायतबाट प्रकाशन हुँदै आएको ‘द बैंकर’ले पूर्वअर्थमन्त्री डा.महतलाई ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’को पगरी गुथाएर उनले उक्त पदवी पाउनुको कारण खुलाउँदै भनेको छ– ‘गत वर्षको भूकम्पलगत्तै उद्धार र त्यसपछि अन्तर्राष्ट्रिय सहायता ल्याउन महतले गरेको कामले उनी एसिया–प्रशान्त क्षेत्र र विश्वभरिकै उत्कृष्ट अर्थमन्त्री छानिएका हुन् ।’
भूकम्पपछि अन्तर्राष्ट्रिय सहायता ल्याउन भूमिका खेलेबापत डा.महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीको रूपमा एउटा पत्रिकाले उभ्याएपछि त्यसबाट अनेक प्रश्नचिह्न उब्जिन पुगेका छन् । एक जना अर्थशास्त्रीले प्रतिक्रिया दिँदै भने– ‘कुन अर्थमन्त्री उत्कृष्ट र कुन निकृष्ट हुन भनेर मापन गर्नुअघि सम्बन्धित देशको आर्थिक अवस्थालाई अनिवार्य रूपमा नियाल्नुपर्ने हुन्छ । अहिले डा.महतलाई उत्कृष्ट अर्थमन्त्री भनेर घोषणा गरिएको छ, तर, देशको आर्थिक स्थितिलाई नियाल्दा र उनले अर्थ मन्त्रालय सम्हाल्दा उत्कृष्ट हुने गरी आफ्नो कुनै पनि कार्यक्षमता देखाएको पाइँदैन ।’
भूकम्पपछिको पुनर्निर्माण कार्यमा विदेशी मुलुकहरूलाई संलग्न गराउने गरी तत्कालीन सरकारले पहल गरेको थियो । एमालेसँगको गठबन्धनमा बनेको पूर्ववर्ति सरकारले भूकम्प पीडितको उद्धार, राहत वितरण र पुनर्निर्माणलगायत कार्यमा तत्परता देखाएको थियो । तर, अन्तर्राष्ट्रिय सहायता जुटाउने कार्यको श्रेय तत्कालीन अर्थमन्त्री डा.महतलाई मात्र दिइनु उपयुक्त नभएको तर्क पनि उठेको छ । एक अर्थशास्त्रीको त्यस्तै कथन छ–‘अन्तर्राष्ट्रिय सहायता जुटाउनुलाई मात्र ठूलो कार्य ठानिनु उपयुक्त देखिँदैन । विगतमा हैटीमा भूकम्प जाँदा पनि अन्तर्राष्ट्रिय सहयोग ओइरिएको थियो । प्राकृतिक विपत्तिमा परेका मुलुकलाई मानवीय आधारमा पनि अरू मुलुकले सहायता गर्नु स्वाभाविक पक्ष हो । प्राकृतिक विपत्ति परेको बेला अन्तर्राष्ट्रिय समुदायले जुन देशमा जो अर्थमन्त्री भए पनि सहयोग गर्छ । महत अर्थमन्त्री हुँदा सहयोग आउने र उनी नहुँदा नआउने भन्ने प्रश्नै रहँदैन ।’
गत वैशाखमा आएको विनाशकारी भूकम्पले नेपाली जनजीवनलाई बिथोलेपछि त्यसमा अन्तर्राष्ट्रकै ध्यान खिचिएको थियो । भूकम्पपछि धेरै नै जनधनको क्षति भएपछि असारको पहिलो हप्ता अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गरेर पुनर्निर्माण कार्यमा सघाउनका लागि दातृ राष्ट्र र निकायहरूलाई सरकारले आह्वान गरेको थियो र दातृ राष्ट्र र निकायहरूबाट त्यतिबेला करिब ४ खर्ब रुपियाँ सहयोगको प्रतिबद्धतासमेत व्यक्त भएको थियो ।
भूकम्प आएपछि ६ महिनासम्म अर्थमन्त्रीमा डा.महत नै कार्यरत थिए । तर, पुनर्निर्माण प्राधिकरण विधेयक पारित गराएर प्राधिकरण गठन गरी पुनर्निर्माण कार्यलाई तीव्रता दिनुपर्ने कार्यमा भने उनी नराम्ररी चुकेको प्रस्टै छ । अन्तर्राष्ट्रिय सहायताका लागि प्रतिबद्धता आएपछि प्राधिकरण गठन गरेर पुनर्निर्माणको कार्य अघि बढ्न नसक्दा त्यसको असर भूकम्प प्रभावित क्षेत्रहरूमा अहिलेसम्म नै परिरहेको छ । वर्तमान सरकारले विधेयक पारित गरेर पुनर्निर्माण प्राधिकरण गठन गरेपछि भने पुनर्निर्माण कार्यले अब भने गति लिने अपेक्षा गरिएको छ ।
कतिपय अर्थशास्त्रीले भने डा.महत उदारवादको पक्षमा अडिग रहेकै कारण उनलाई पुरस्कारस्वरूप ‘विश्वकै उत्कृष्ट अर्थशास्त्री’को रूपमा घोषणा गरेको बताउँछन् । एक अर्थशास्त्रीको तर्क छ– ‘लामो समयदेखि डा.महत कुनै सम्झौता नगरीकन उदारवादको पक्षमा अडिग रहँदै आएका छन् । पुँजीवादी अर्थतन्त्रको पक्षमा उभिने कुनै पनि अर्थमन्त्री वा अर्थशास्त्रीहरूलाई पुँजीवादी सञ्चारमाध्यमहरूले बढाइचढाइ गर्नु र त्यस्ता संस्थाहरूले पुरस्कृत गर्नु अनौठो कुरा होइन । डा.महतलाई पनि त्यही आधारमा पुरस्कृत गरिको मान्न सकिन्छ ।’
त्यसो त, ६ पटकसम्म अर्थमन्त्री र एक कार्यकाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेका डा.महतलाई ‘सफल अर्थमन्त्री’को रूपमा पनि लिने गरिएको छैन । उनी अर्थमन्त्री रहेकै बेला अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने थुप्रै नीतिगत निर्णयहरू भएका थिए । उनकै पालामा निजीकरणको कार्यक्रम व्यवस्थित नगरीकनै अगाडि बढाउने काम भएको थियो । खर्बौं रकममा स्थापना गरिएका सरकारी कम्पनीहरूलाई हचुवाको भरमा निजीकरण गरेपछि त्यसले समस्या निम्त्याउने काम मात्रै गरेको थियो । अहिले निजीकरण गरिएका सरकारी कम्पनीहरूमा विकृति मात्रै फस्टाएको बताइन्छ ।
डा.महत अर्थमन्त्री भएकै बेला कृषि क्षेत्रसमेत खुम्चिन पुग्यो । उनकै समयमा कृषि क्षेत्रलाई दिइँदै आएको अनुदान फिर्ता लिने निर्णय भएपछि कृषि उत्पादकत्वमा लागत बढ्न पुगेको थियो । ‘हाम्रो कृषि उत्पादन लागत महँगो बनाएर हाम्रै उत्पादन बिक्री नहुने स्थितिको सिर्जना महत अर्थमन्त्री भएकै बेला भएको हो’– एक कृषिविज्ञले बताए । मुलुकलाई औद्योगिकरणको दिशातर्फ बढाउने, कृषि उत्पादकत्व बढाउने विशेष कार्यक्रम ल्याउने र रोजगारी सिर्जना गर्नेजस्ता कार्यमा डा.महत अर्थमन्त्री हुँदा कुनै काम नभएको देखिन्छ । कुन कार्यक्षमताको आधारमा डा.महतलाई उत्कृष्ट अर्थमन्त्री मान्ने ? अहिले अर्थशास्त्रीहरूबीच यस्तो बहस चल्न थालेको छ ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply