सहमतिका लागि भित्रभित्रै गृहकार्य
काठमाडौं । एक सय ४४ दिनदेखि मधेसमा जारी आन्दोलन टुंग्याउनका लागि दलहरूले फेरि आन्तरिक गृहकार्यलाई तीव्रता दिएका छन् । पछिल्लो समयमा सद्भावनाका नेता राजेन्द्र महतोमाथि लाठी चार्ज भएपछि प्रमुख राजनीतिक दल र मधेसी मोर्चाबीच धमिलिएको वातावरणमा फेरि सुधार आएको छ ।
महतोमाथिको आक्रमणलाई नै निहुँ बनाएर मोर्चाले वार्तामा नबस्ने बताएको थियो भने लामो समयदेखि सरकारले पनि वार्ताका लागि मोर्चालाई औपचारिक रूपमा आग्रह गरेको थिएन । यो अवस्थाको अन्त्य गत आइतबारबाट भएको छ । मधेसको समस्या सम्बोधन गर्ने र नाकाको समस्या हल गर्नकै लागि प्रमुख तीन दल र मोर्चाबीच २३औं शृंखलाको रूपमा आइतबार बैठक बसेको थियो । जबकि सरकार र मोर्चाबीच मंसिर २७ यता कुनै वार्ता नै भएको थिएन । २२ दिनपछि बल्ल बसेको वार्ता सकारात्मक बनेको थियो ।
आइतबार भएको वार्ता र छलफलकै ‘स्प्रिट’मा मंगलबार मोर्चाले वार्तालाई सार्थक बनाउने प्रयोजनका लागि कार्यदल बनाएको छ । आइतबारको वार्ताको सुरुमै प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन विधेयकको भाषा परिमार्जन गर्न र मोर्चाका मागलाई साँघुरो बनाउन प्रमुख तीन दलले तीन सदस्यीय कार्यदल बनाएको थियो । जसमा कांग्रेसबाट महेश आचार्य, एमालेबाट भीम रावल र एमाओवादीबाट कृष्णबहादुर महरा रहेको कार्यदल बनाएको बैठकमा प्रधानमन्त्री ओलीले मोर्चाका नेताहरूलाई जानकारी गराएका थिए । कार्यदलले ११ बुँदे मागलाई कंक्रिट रूप दिएपछि मात्र शीर्ष तहको बैठक बस्ने प्रमुख तीन दलको प्रस्ताव थियो । कार्यदलमा एक जनाको नाम दिन गरेको प्रस्तावमा मोर्चाका संयोजक महन्थ ठाकुरले अनौपचारिक रूपमा समर्थन जनाएका पनि बैठकमा उनले ‘मोर्चाका साथीहरूसँग सल्लाह गरेर निर्णय दिने’ बताएका थिए । तर, एक जनाको नाम दिनुको सट्टा मोर्चाका तीन पार्टीकै प्रतिनिधित्व रहने गरी मोर्चाले अलग्गै कार्यदल बनाएको छ । कार्यदलमा तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी, तराई मधेस सद्भावनाका रामनरेश यादव र संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ रहेका छन् ।
आइतबार तीन दलको बैठकपछि उक्त बैठक कर्मकाण्डी मात्र भएर भन्दै कार्यदललाई मोर्चाले नाम नदिने सार्वजनिक अभिव्यक्ति दिएका त्रिपाठी आफैं अहिले कार्यदलको सदस्य बनेका छन् । संविधान संशोधन प्रक्रियालाई भारतले समेत स्वीकार गरिसकेको अवस्था एकातिर र अर्कातिर आन्दोलनमा नेताको सहभागिता न्यून भएपछि ‘सेफ ल्यान्डिङ’ खोजरहेका मोर्चाका नेताहरू भित्र–भित्र समस्या समाधानका लागि सकारात्मक रहेको स्रोतले बतायो । मोर्चा र तीन पार्टीको कार्यदलले संशोधन प्रस्तावको भाषा परिमार्जनमा आवश्यक तयारी गरेर त्यसलाई कंक्रिट रूप दिएपछि छिट्टै शीर्ष नेता बसेर एउटा सहमतिमा पुग्ने स्रोतको दाबी छ । बिरामी नेता वर्षमान पुनलाई भेट्न एमाओवादी अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक प्रचण्ड बिहीबार बैंकक जाने कार्यक्रम छ । प्रचण्ड बैंकक जानुअघि नै सहमतिमा पुग्ने गरी गृहकार्य भइरहेको बुझिएको छ ।
मोर्चामा विभाजन
सहमतिका लागि अनुदार बन्दै गएको मोर्चाको एक घटक सद्भावना पार्टी मोर्चाबाट अलग भएको छ । यद्यपि, यसको औपचारिक घोषणा भएको छैन । सद्भावनाले सरकार र तीन पार्टीसँगको मात्र होइन, मोर्चाकै बैठक पनि बहिष्कार गर्दै आएको छ । मंगलबार बसेको मोर्चाको बैठकमा पनि सद्भावना आएन । सद्भावना नआएपछि ऊबिनै अन्य तीन पार्टीले वार्ताको प्रक्रिया अगाडि बढाउनका लागि कार्यदल बनाएका हुन् । सद्भावनाका अध्यक्ष राजेन्द्र महतोको क्रियाकलापप्रति पहिलेदेखि नै मोर्चाका अन्य घटकले भित्रभित्रै असन्तुष्टि प्रकट गरेका थिए । महतोका कुरा सुन्ने हो भने मधेसको समस्या कहिल्यै समाधान नहुने देखेरै मोर्चाका अन्य घटक महतोलाई छाडेर वार्ता र संवादमार्फत नै समस्याको समाधान खोजेर जाने निष्कर्षमा पुगेको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply