बत्तीस लक्षणका होइनन् प्रधानमन्त्री
खेत र बारीमा मिहिनेत पोखेर राम्रो उब्जनी लिनेलाई राम्रो किसान, पँुजी र श्रमलाई उचित समय र ठाउँमा विन्यास गरेर धन कमाउनेलाई राम्रो उद्योगी/व्यापारी, कडा रोग लागेका बिरामीलाई उपचार गरेर निको पार्नेलाई राम्रो डाक्टर, अप्ठ्यारो बाटोमा पनि दुर्घटना नपारी गाडी र यात्रुलाई गन्तव्यमा पुर्याउनेलाई राम्रो चालक भनेझैं योग्य शासकका योग्यता के होलान् ?
संसार र मुलुकलाई बुझेर त्यसै अनुसार योजना बनाई मुलुकलाई अघि बढाउन सक्ने, कर्मचारीलाई अदबमा राखेर आफ्नो योजनामा चलाउन सक्ने, जनतामा उत्साह जगाई परिचालन पनि गरेर देशलाई अघि बढाउन सक्ने, विपक्षीका सबै अस्त्रलाई परास्त गरेर राजनीतिक स्थायित्व दिन सक्ने, छिमेकी देशसँग नझुकी स्वाभिमान बचाउन सक्ने वा छिमेकीलाई समेत प्रभावमा पार्न सक्ने, आर्थिक समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन सक्ने वा अरू केही ?
जनताले आफ्नो शासकमा खोज्ने विशेषताको सूची योभन्दा धेरै लामो हुन सक्छ । तर, यथार्थ के हो भने आफूले खोजेको विशेषता भएका शासक थोरै ठाउँका जनताले मात्र पाउँछन् । बाँकी ठाउँका जनताले कामचलाउ शासकबाटै चित्त बुझाउनुपर्छ वा चित्त नबुझ्दा त्यो देशको परिस्थितिअनुसार आफ्नो बाटो तय गर्नुपर्छ ।
हामी नेपालीले पनि मुलुकको लामो इतिहासमा धेरै शासक बेहोर्यौं । बेहोरेका कोही शासक खराब र अयोग्य थिए भने कोही केही राम्रा र योग्य । सबै शासक उस्तै अयोग्य र नराम्रा थिएनन् भन्ने धिमा गतिमै भए पनि मुलुक अघि बढेर यहाँसम्म आउनुले प्रमाणित हुन्छ । इतिहासका कैयौं कालखण्डमा कैयौं शासकले गरेका सही निर्णयले मुलुकलाई अघि बढाउन महत्वपूर्ण योगदान पुर्याएको पनि हामीले बिर्सन हुँदैन । दुई ठूला छिमेकी विदेशीको अधीनमा पर्दा हामी स्वतन्त्र नै रह्यौं, यो तत्कालीन शासकको योग्यताबिना सम्भव थिएन । पश्चिमाले शासन नगरेकाले यातायातको सञ्जाल र भौतिक विकास हामीले छिमेकीभन्दा धेरै पछि मात्र भित्र्याउन पायौं तर ढिलै भए पनि चेतना र विकासमा हामी उनीहरूलाई पछ्याउँदै छौं । हामी ढिलो हुनुमा राजनीतिक स्वतन्त्रताको संघर्षका लागि हाम्रो लामो समय बित्नु एउटा कारण हुन सक्छ भने पछिल्लो सात दशकमा राजनीतिक स्थायित्व कमै समय मात्र हुनु अर्काे कारण हुन सक्छ ।
पछिल्लो सात दशकमा छिमेकीहरूले एउटा बाटो पक्रिएर अघि बढ्दा हामी भने बाटो खोज्दै अलमलिनुपरेकाले आम मानिसको मनोविज्ञान पनि अलमलमै परेको देखिन्छ । हामी अघि बढ्ने बाटो कुन हो र के गर्दा हाम्रो गति तीव्र हुन्छ भन्ने तय गर्न बौद्धिक र नेतृत्व वर्गले नै नसकेको देखिन्छ । बौद्धिक वर्ग र नेतृत्व नै अलमल पर्दा आम मानिस अलमल पर्नु अस्वाभाविक होइन । र, निर्दिष्ट बाटो र लक्ष्य नदेखेर अलमल पर्नेहरू निराशाको भूमरीमा पर्ने पनि त्यतिकै सत्य हो ।
अहिले हाम्रो मुलुकमा पनि निराशाको माहोल कायम रहनु यीभन्दा अरू कारण देखिँदैनन् । यस्तो बेला कसैले आशा देखायो भने पत्याउनेभन्दा नपत्याएर हाँसोको विषय बनाउने धेरै हुन्छन् भन्ने अहिलेको हाम्रै उदाहरणले देखाएको छ । दुवै छिमेकीसँग सुमधुर सम्बन्ध राखेर विकासलाई तीव्र गतिमा अघि बढाउने वर्तमान प्रधानमन्त्री केपी ओलीले राखेको धारणा र त्यसअनुसार उनले अघि बढाएका पाइलाहरूले धेरैको विश्वास आर्जन गर्न नसक्नुमा इतिहासले दिएको निराशाको बिरासतबाहेक अरू होइन ।
यो बेग्लै हो कि, मानिसमा आशा बाँड्दा कार्यान्वयनको योजना पनि विश्वसनीय रूपमा राख्दा मात्र धेरैको विश्वास आर्जन गर्न सकिन्छ । यसमा प्रधानमन्त्री ओलीको कमजोरी रहेकोमा शंका छैन । तर, भारतसँगको सम्बन्धलाई ठीक ठाउँमा ल्याउन उनले गरेको पहल गलत छैनन् र चीनसँगको सम्बन्धलाई बलियो बनाउन उनले अघि बढाएका प्रयास पनि ठीक दिशामै छन् । बाँकी काम त त्यसपछि मात्र हुन सक्छ भन्ने कम्तीमा बौद्धिकहरूले बुझेकै हुनुपर्छ ।
रह्यो व्यक्तिका शैलीका कुरा, माथि भनिएझैं बत्तिसै लक्षणले युक्त शाषक एक युगमा एउटा देशका जनताले मात्र पाउने हुन् । बाँकीले त ३१ या त्योभन्दा कम लक्षणयुक्तबाटै काम चलाउनुपर्ने हो ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply