प्रादेशिक ढाँचामा जानेबारे एमालेमा छलफल सुरु
काठमाडौं । नेकपा एमालेले पार्टीको सांगठनिक संरचनालाई प्रादेशिक ढाँचामा रूपान्तरण गर्ने गृहकार्य अघि बढाएको छ । करिब एक वर्षपछि मंगलबारबाट सुरु भएको पोलिटब्युरो बैठकले पार्टीको सांगठनिक संरचनालाई प्रादेशिक ढाँचामा रूपान्तरण गर्नेलगायतका प्रमुख एजेन्डामा छलफल अघि बढाएको हो ।
नयाँ संविधान जारीपछि पनि पुरानै ढाँचाअनुसार चल्दै आएको एमालेले सांगठनिक संरचनालाई प्रादेशिक रूप दिन पोलिटब्युरोमा विधान संशोधन प्रस्तावमा छलफल प्रस्ताव गरेको छ । नवौं महाधिवेशनबाट पारित विधानमा रहेको बाधा अड्काउ प्रयोग गर्दै प्रतिनिधि परिषद्मार्फत विधान संशोधन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामायिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । वर्तमान परिस्थिति, शक्ति सन्तुलन, अबको कार्यभार, सरकारको कामको समीक्षालगायतका विषय समेटिएको प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्नेछन् । साथै, बाधा अड्काउमार्फत पुरानै प्रतिनिधि परिषद् ब्युँताएर विधान संशोधन गर्ने कि नयाँ परिषद्मार्फत गर्ने विषयमा बैठकले निर्णय गर्ने कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । पोलिटब्युरोबाट पारित प्रस्तावमाथि २७ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।
नेतृत्व एकताबद्ध बनेर संविधान निर्माणको नेतृत्व गरे पनि पार्टीको संस्थागत पद्धति र प्रक्रियालाई पार्टी नेतृत्वले लत्याएकोमा तीव्र आलोचना भइरहेका बेला संगठनलाई पुनव्र्यवस्थिति र गतिशील बनाउने गरी पोलिटब्युरोमा छलफल सुरु भएको हो । विधान संशोधनपछि तत्कालका लागि एमालेका १७ अञ्चलको संरचना ७ भौगोलिक प्रदेश र अन्य संरचना विशेष प्रदेशका रूपमा रूपान्तरण हुनेछन् । प्रदेश कमिटीका काम, कर्तव्य र अधिकार पनि तोकिनेछ भने तलका कमिटी प्रदेशअन्तर्गत रहनेछन् । प्रदेश कमिटी कसरी बनाउने, तत्कालका लागि संयोजक, सचिव को रहने, कसरी व्यवस्थित गर्ने विषयमा भने छलफल भइसकेको छैन । अञ्चल कमिटी पूर्ण रूपमा गठन भइनसकेको र प्रादेशिक कमिटीहरू पनि नबनिरहेको पृष्ठभूमिबीच
पनि एमालेका तल्ला कमिटीहरूले देशभर संविधान र राष्ट्रिय एकताका पक्षमा जनपरिचालन र विभिन्न अभियान सञ्चालन गरेका थिए । पोलिटब्युरो बैठकमा नेताहरूले अध्यक्षको कार्यशैली, सरकारको काममा देखिएका कमजोरीलगायतका विषयलाई छलफलमा उठाउने तयारी गरेका छन् ।
हिजोको बैठकको सुरुमै महासचिव ईश्वर पोखरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । मुख्य बुँदा उल्लेख गर्दै अध्यक्ष केपी ओलीले प्रतिवेदनबारे सदस्यहरूलाई जानकारी गराएका थिए । प्रतिवेदनमा ओलीले खासगरी संविधान घोषणाको ऐतिहासिक उपलब्धि, भारतीय नाकाबन्दी र राष्ट्रिय स्वाभिमानको सवाल, तराई मधेसमा उत्पन्न समस्या र सो समस्या समाधानका लागि चालिएको कदम, छिमेकी मुलुकको भ्रमण र सम्बन्धमा आएको नयाँपन, सरकारले गरेका केही राम्रा काम साथै संविधान कार्यान्वयनमा एमालेले चलाएको तीन महिने अभियानबारे उल्लेख गरेका छन् ।
विभाग गठन टुंग्याउन कार्यदल
स्थायी समिति बैठकले मापदण्डका आधारमा केन्द्रीय विभागसम्बन्धी विवाद टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ । महासचिव ईश्वर पोखरेल संयोजक रहेको कार्यदलमा सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र अर्का सचिव तथा मोर्चा फाँट प्रमुख गोकर्ण विष्ट सदस्य छन् । विभागीय प्रमुखले सिफारिस गरेका नामलाई मुख्य आधार मानेर उनीहरूकै सहमतिमा कार्यदलले विभाग गठनको टुंगो लगाउने सचिव भट्टराईले बताए । कार्यदलले सिफारिस गरेका विभागका नाम स्थायी समितिबाट पारित गरी आसन्न केन्द्रीय कमिटीमा राखिनेछन् । ‘विभागीय प्रमुखहरूले जे नाम सिफारिस गरेका छन्, त्यसलाई मुख्य आधार बनाउने गरी कार्यदल गठन भएको हो,’ भट्टराईले भने, ‘यसको मुख्य काम सम्बन्धित विभागीय प्रमुखहरूलाई बोलाएर उनीहरूको सहमतिमा नाम टुंग्याउनुहुनेछ ।’ कार्यदलले मापदण्डका आधारमा सिफारिस भएको/नभएको छानबिन गरी विभागीय प्रमुखको सहमतिमा नाम हेरफेर गर्न सक्नेछ । ‘अब व्यक्तिका विषयमा विवाद भयो भने पनि कार्यदलमै हुन्छ, स्थायी समिति र पोलिटब्युरोमा प्रवेश पाउँदैन,’ भट्टराईले भने ।
एमालेमा नवौं महाधिवेशनबाट ३२ विभागको संरचना ल्याइए पनि सदस्य र सचिवहरूसहित चयन गरेर कमिटीलाई पूर्णता दिन नसक्दा विभागीय काम ठप्प हुँदै आएका छन् । केन्द्रीय विभाग र प्रादेशिक कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन र सल्लाहकार कमिटीले पूर्णता नपाउँदा करिब ३ हजार कार्यकर्ता बेरोजगार छन् । एमालेका शीर्ष तहकै नेताहरूले समेत संगठनलाई पुनव्र्यवस्थित गर्दै नेतृत्वले जिम्मेवारी दिन नसकेको भन्दै पार्टी भूतपूर्वहरूको मञ्चजस्तो बनिरहेको भन्दै आलोचना गर्दै आएका थिए । केन्द्रीय सल्लाहकार मनोनयन र ज्येष्ठ कम्युनिस्ट मञ्चको एजेन्डा स्थायी समितिले टुंग्याउने गरी सहमति भएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply