पार्टीमा गुटबन्दी र निवारणका उपाय
गुटबन्दी भनेको पार्टीको औपचारिक–संस्थागत सीमाभन्दा बाहिर गएर व्यक्ति वा व्यक्तिहरूका स्वार्थका लागि पार्टीको औपचारिक–संस्थागत जीवनलाई प्रभावित पार्न निर्माण गरिने समूह र त्यसको गतिविधि हो । मुलुक, जनता, सिद्धान्त–विचार, मूल्य वा पद्धतिजस्ता विषयले त्यस्तो समूहलाई संगठित गर्दैन, बरु व्यक्तिका स्वार्थहरूको व्यवस्थापकीय कला नै त्यस समूहलाई एकताबद्ध पार्ने मुख्य साधन हुन्छ । प्रायजसो ती गुटहरू ‘शक्तिशाली’ वा ‘प्रभावशाली’ व्यक्तिवरिपरि बन्छन् । गुटका सदस्यहरूलाई बाँध्ने तŒव केवल निजी स्वार्थको परिपूर्ति हो ।
ती गुटका नेताको मुख्य काम गुट सदस्यहरूका अनेक स्थार्थहरूको व्यवस्थापन गर्नु हो । उनीहरू पार्टी बनाउँदैनन्, पार्टीका नाममा केवल गुटबन्दी गर्छन् । तर, उनीहरू जे गर्छन् त्यो पार्टीकै नाममा गर्छन् । जसरी अर्को पार्टीको विरोध र आफ्नो पार्टीको पक्षधरता सबै राजनीतिक पार्टीका सदस्यको सामान्य योग्यता हुन्छ, त्यसैगरी अर्को गुटका व्यक्तिहरूको विरोध र आफ्नो गुटको पक्षधरता नै हरेक गुटका सदस्यहरूको मुख्य योग्यता बन्छ । त्यसैगरी, हरेक गुटमा अर्को गुटको सत्तोसराप गर्ने र आफ्नो गुटको महिमामण्डन गर्नेहरूको बढुवा हुँदै जान्छ । गुटभित्रै पनि विधि–विधान, अनुशासन आदिको लाज वा डर मान्नेहरू क्रमशः पछि धकेलिँदै जान्छन् । किनकि, तिनले गुटबन्दीको मैदानमा आवश्यक ‘योग्यता’ देखाउन सक्दैनन् । यसरी गुटहरू बिस्तारै राजनीतिक गुन्डाहरूको कब्जामा पर्दै जान्छन् । गुटहरू पार्टीमा प्रभावशाली हुँदै जाँदा पार्टी नै गुटहरूको फेडरेसन (संघ) मा रूपान्तरित हुँदै जान्छ । सुरुमा गुटहरू पार्टीभित्रैबाट जन्मिन्छन्, अब गुटले पार्टीमा शासन गर्छन्, पार्टीमार्फत समाज र राज्यमा पनि हप्कीदप्की बढाउँदै जान्छन् ।
गुटबन्दीको पनि अर्थराजनीति वा समाजशास्त्र हुन्छ । सामन्ती समाजको गुटबन्दी शक्ति र प्रसिद्धिका लागि हुन्थ्यो । सामान्यतः त्यस्तो गुटबन्दीको आधार परिवार, कुल, वंश वा गोत्र वा जातिको परम्परा, धर्म वा संस्कृति हुन्थ्यो । संसारभरि मध्यकालीन राज्यहरूमा भएका भारदारहरूको कचिंगलको इतिहासले त्यही बताउँछ । पुँजीवादी समाजमा गुटबन्दी पद र पैसाका लागि हुन्छ । पुँजीवादले परिवार, कुल, धर्म, नैतिकता, मूल्यजस्ता सामन्ती अवधारणाहरूमाथि पुँजीको चिसो पानी खन्याउँछ र विशुद्ध नाफालाई स्थापित गर्छ भन्ने कुरा माक्र्स–एंगेल्सले ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’मा कति जीवन्त व्याख्या गरेका छन् ! सामन्ती समाजमा प्रसिद्धिले शक्ति र शक्तिले प्रशिद्धिलाई बढाउँथे ।
पुँजीवादमा पुँजीले पद र पदले पुँजीलाई बढाउँदै लैजान्छन् । राजनीतिक विचारधारा, आफंैले स्वीकार गरेका सिद्धान्त, त्यसका विधि–विधान, त्यसप्रति नैतिक प्रतिबद्धता र व्यावहारिक जीवनमा त्यसको अनुशासनजस्ता ‘पुराना’, ‘नदेखिने’ र ‘वास्तविक जीवनभन्दा टाढाका’ मूल्यहरूको दोहोलो नकाढीकन पुँजीवादी राजनीतिले आफ्नो तरक्की देखाउनै सक्दैन । यस क्रममा पार्टी भनेको पुँजीबजारका व्यापारिक गुटहरूको भिडन्तको थलोजस्तो हुन जान्छ– कार्टेलिङ, स्पेक्युलेसन, राज्यको कानुनको धज्जी र कालोबजारीजस्ता ‘नयाँ’, ‘देखिने’ र ‘जीवनोपयोगी’ मूल्यहरूलाई स्थापित गर्न गुटहरू लुछाचँुडी गर्छन् । जसरी पुँजीबजारमा योग्यताको निर्धारण निजी नाफाले गर्छ, त्यसैगरी गुटहरू र गुटमार्फत पार्टीमा योग्यताले पदको होइन, पदले योग्यताको निर्धारण गर्छ ।
आधुनिक समाजवादी पार्टीले आफ्ना विचार–सिद्धान्तलाई समाजमा लैजान्छ, जनताको परीक्षामा उभिन्छ, स्वीकृति लिन्छ र त्यस स्वीकृतिको वैधताका आधारमा राज्यलाई जनताको हितमा रूपान्तरित गर्छ, त्यसबाट जनतामा त्यस पार्टीको प्रभाव विस्तार हुन्छ र त्यसले अझ ठूलो दायराको सहमति निर्माण हुन्छ । यस क्रममा समाजमा पार्टीको वर्चस्व आजभन्दा भोलि, भोलिभन्दा पर्सी बढ्दै जान्छ–पुरानो पुँजीवादी समाजको ठाउँमा समाजवाद निर्माण हुँदै जान्छ । यही नै आजको माक्र्सवादी–समाजवादी बाटो हो । तर, गुटबन्दीले माक्र्सवादी–समाजवादी यात्राको आरम्भमै विचार–सिद्धान्तको नाभीमा आक्रमण गर्छ । त्यसले पार्टीमा विचार–सिद्धान्तलाई बेवास्ता गर्छ, सकेसम्म अरुचि जगाउँछ, इतिहासलाई इन्कार गर्छ । हरेक घटनाको अध्ययन इतिहास र सिद्धान्तको नजरबाट होइन, आफू बसेको ठाउँबाट गर्छ । विचार–सिद्धान्तको ठाउँमा स्वार्थशास्त्रलाई राख्छ, सिद्धान्तहीनतालाई नै सिद्धान्त बताउन थाल्छ । यो गुटबन्दी यात्राको पहिलो चरण हो ।
त्यसपछि गुटबन्दी दोस्रो चरणमा प्रवेश गर्दछ । यसबेला गुटले पार्टीको वैधानिक व्यवस्थामाथि आक्रमण गर्न थाल्छ । पार्टीका वैधानिक व्यवस्थाहरूको ठाउँमा नक्कली संरचनाहरू स्थापित गर्न थाल्छ । जो नेता छ, ऊ नै विधान हो जस्तो गर्न थाल्छ । यहाँसम्म आइपुग्दा पार्टीका नाममा गुटहरू क्रियाशील हुन थाल्छन्– पार्टी सदस्यता, कमिटीका कामहरूको सञ्चालन, पदहरूको वितरण, राजकीय निकायका नियुक्तिहरू, दण्ड–पुरस्कार आदि सबै प्रक्रियामा गुटहरू निर्णायक हुन्छन् । पार्टीमा व्यक्तिका हितहरूको लुछाचुँडीलाई ‘प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने’ भनेर सिद्धान्तको जलप लगाइन्छ, ठाउँ–कुठाउँ विभिन्न नेताका उक्तिहरू तेस्र्याइन्छ, कमरेड मदन भण्डारीलाई समेत घिसारिन्छ । यो दोस्रो चरणमा अपादर्शी, दोहोरो–तेहोरो मापदण्ड भएका मानिसहरूको बोलवाला चल्न थाल्छ । ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो’ भन्ने वाक्यांशमा परेको जीवनको शास्त्रीय अर्थको विनिर्माण गरिन्छ, जीवन भनेको व्यक्तिको दैनिक जीवन हो र हरेक व्यक्तिका लागि आफ्नो स्वार्थ नै खास सिद्धान्त हो भन्ने व्याख्या स्थापित हुन थाल्छ । अब व्यक्तिहरूले जुन भाषा बोल्छन्, त्यो नक्कली हुन थाल्छ, गुटहरूले जुन दाबी गर्छन् ती पनि नक्कली हुन्छन् ।
समाजवादी विधारधाराको नजरबाट हेर्दा अनौठो दृश्य देखिन्छ– सबै नक्कली अरू नक्कलीहरूसँग नक्कली सम्बन्ध बनाइरहेका हुन्छन् । नक्कलीहरूका प्रतिस्पर्धामा सबैभन्दा नक्कलीहरू नै श्रेष्ठ हुन्छन् । पुरानो जमानाका मूल्यहरू भत्किँदै गरेको देख्दा रोई–कराई गर्ने पाका–पुराना कमरेडहरू नयाँ जमानाको प्रतिस्पर्धाको अखडामा टिक्नै सक्दैनन् ः या त किनारा लाग्छन् या नयाँ भाषा बोल्नुपर्दा शब्दका स्वराघातहरू नमिले पनि जबर्जस्ती बोल्छन् र ‘नयाँ’ युगमा आफूलाई अनुकूलन गर्छन्, राजनीतिको पेन्सन पकाउँछन् ।
गुटहरूको विकासको दोस्रो चरणमा जुन प्रवृत्तिहरू देखिन्छन्, त्यस्ता प्रवृत्तिहरूविरुद्ध तर्क–बहस पनि भइरहन्छ । गुटहरूले बेला–बेलामा सिद्धान्तको आड लिन खोज्छन् । एउटै गुटहरूभित्र पनि बेला–बेलामा विधारधाराको, वैधानिक व्यवस्थाको प्रश्न उठिरहन्छ । तर, ती क्रमशः कमजोर बन्दै जान्छन् । गुटहरू अर्धवैधानिक हुन्छन् । यो चरण समाजवादी–क्रान्तिकारी पार्टी र नयाँ ‘श्रेष्ठतावादी’ पार्टीको तानातानीको चरण हो । त्यसैले, यो पार्टीका लागि संरचनात्मक संकटको चरण हो, पुरानो संरचना भत्किँदै गरेको तर नयाँ संरचना पूर्ण रूपले नबनिसकेको चरण हो ।
जब दोस्रो चरणको गुटबन्दी पूर्णतः विकसित हुन्छ तब गुटबन्दी तेस्रो चरणमा पुग्छ । यहाँसम्म आइपुग्दा पार्टी नयाँ संरचनामा ढालिइसकेको हुन्छ । गुटहरू वैधानिक बन्छन्, पार्टीका हरेक विषय गुटहरूको खुलमखुला सौदाबाजीका विषय बन्छन् । अर्थात्, अब हिजो बुर्जुवा वा पुँजीवादी भनिएका पार्टीहरूसँग यसको भिन्नता केवल पार्टीका नाममा, झन्डामा र चुनाव चिह्नमा मात्रै रहन जान्छ । पार्टी तर्साउन र फकाउन सक्नेहरूको हातमा पुग्छ । त्यसैले, आज हाम्रो पार्टीको गुटबन्दी कुन चरणमा, कस्तो स्वरूपमा छ भन्ने विषयमा खुला दिमागका साथ छलफल गर्नुपर्छ, गुटबन्दी निवारण गर्न सकिन्छ, त्यसको उपाय छ ।
कसरी एउटा क्रान्तिकारी पार्टी गैरक्रान्तिकारी बन्दै जान्छ र सिद्धान्त, विचार, क्रान्तिकारी पार्टीहरूको उद्भव, विकास र पतनजस्ता प्रश्नमा माक्र्सवादी सिद्धान्तका पछिल्ला सिद्धान्तकार तथा अध्येताहरूले प्रशस्त अध्ययन गरेका छन् । माक्र्सवादी सिद्धान्तको ढाँचामा बुद्धका चार आर्य सत्यलाई व्याख्या गर्दा गुटबन्दीबाट निर्माण भएको दुःखको भवसागर जतिसुकै ठूलो भए पनि, गुटबन्दीको जतिसुकै जगजगी भए पनि त्यसको अस्तित्वलाई स्वीकार गर्ने, कारण पत्ता लगाउने, निदान खोज्ने र दुःख निवारणको बाटो अवलम्बन गर्ने हो भने त्यसबाट पार पाउन सकिन्छ र पार्टीको क्रान्तिकारी तथा समाजवादी चरित्रलाई जोगाइराख्न सकिन्छ । इतिहासका समस्त शिक्षाहरूको सार यही हो ।
नेकपा एमालेको निर्माण र विकाससँगै यसले दक्षिणन्थ र उग्रपन्थका विरुद्ध सफलता हासिल गर्दै आएको छ । आरम्भमै उल्लेख गरिएका सामथ्र्यले गर्दा नेपालका कुनै पनि अन्य पार्टीको तुलनामा नेकपा एमाले नै सबैभन्दा संगठित पार्टी हो भन्ने कुरा प्रस्ट छ । अहिलेको गुटबन्दीले पार्टीमा अव्यवस्था ल्याएको छ, तर यो अव्यवस्थाले नयाँ व्यवस्था पनि खोजिरहेको छ । पार्टीमा भएको गुटबन्दीबाट आर्थिक वा अन्य फाइदा उठाउने÷उठाइरहेका थोरै व्यक्तिबाहेक गुटबन्दीमै लागेको भए पनि ठूलो पंक्तिले या त गुटबन्दीविरुद्ध छ या गुटबन्दीले नै जनताको बहुदलीय जनवादको रक्षा गर्छ भन्ने बुझेको छ । अर्थात्, आफैं पनि कुनै गुटको सेवक भइरहेको तर आफंै गुटबन्दीमा छु भन्ने थाहा नपाइरहेका इमानदार कार्यकर्ताहरू स्वयं गुटबन्दीविरुद्ध छन् । पार्टी कार्यकर्ताको ठूलो पंक्तिले पार्टी निर्माणका अनेकौं उतारचढाव बेहोरेको वा देखेको छ । यो पार्टी निर्माणमा बगाएको रगत–पसिनाका कारणले पनि उनीहरूले यो पार्टीको भविष्यमा आफ्नो भविष्य देख्छन् । यी यस्ता आधारहरू हुन्, जसले गुटबन्दी निवारण गर्ने आधारहरू दिन्छन् ।
बैठकमा जब गुटबन्दीको चर्चा हुन्छ तब हामीले ‘अबदेखि गुटबन्दी नगर्ने’ प्रस्ताव पारित गर्छौं । तर, प्रस्ताव पारित गरेर गुटबन्दीको अन्त्य भएको छैन, हुँदैन । भएको विधिलाई थन्क्याएर र गुटबन्दी अन्त्य गर्न प्रस्ताव पारित गरेर हामी कहीँ पुग्दैनौं । किनभने, गुटबन्दीको आरम्भ प्रस्ताव पारित गरेर भएको होइन । त्यसैले, गुटबन्दीको वस्तुगत कारण खोज्नुपर्छ र समाधानको बाटो हिँड्नुपर्छ । हाम्रो समस्या यहीँनेर छ । त्यस बाटोको पहिलो पाइलो पार्टीलाई हामी आफैंले बनाएका विधि–विधानमा ल्याउने हो । सबैभन्दा पहिले पार्टी स्थायी कमिटी र सचिवालयलाई विधिअनुरूप चलाउने तयार होऔं । त्यस दौरानमा हामीले केन्द्रीय कमिटीलाई विधिअनुरूप चलाउन थाल्नेछौं र क्रमशः पार्टीका सबै अंगहरू व्यवस्थित हुँदै जानेछन् । अहिले पनि नेकपा एमालेका लागि तुलनात्मक लाभको एउटा क्षेत्र संगठन नै हो । यो जसरी बनेको छ त्यसको बनोट नेपालका अन्य पार्टीहरूको तुलनामा धेरै समृद्ध छ ।
हाम्रो पार्टीको विधान राज्यको पुरानो ढाँचामा आधारित भएर बनेको थियो । अहिले हामी संघीय ढाँचामा प्रवेश गरिसकेका छौं । यसक्रममा विधानका धेरै प्रावधानहरू खल्बलिँदै छन्÷खल्बलिनेछन् । प्रादेशिक कमिटीलगायत कैयौं मामिलामा हामीले बाधा–अड्काउ फुकाउने उपायबाट काम चलाउँदै छौं । यो अवस्था लामो समय राख्नुहुँदैन । किनकि, त्यसले तदर्थवादलाई प्रश्रय दिन्छ । विधानकै व्यवस्थाबमोजिम हामीले महाधिवेशन भएको १८ महिनाभित्र विधान अधिवेशन आयोजना गर्ने र वैधानिक व्यवस्था गर्ने निर्णय गरेका थियौं । त्यसैले, विधान अधिवेशनको आयोजना यथाशक्य छिटो गर्नुपर्छ ।
ड्ड कुनै पनि पार्टीको विधान भनेको त्यस पार्टीका सदस्य र कमिटीहरूको अधिकार र कर्तव्यको व्यवस्था हो । त्यो व्यवस्था पार्टीको सिद्धान्त र कार्यक्रमअनुसार निर्धारित हुन्छ । त्यसको अर्थ के हो भने कुनै पनि पार्टीको सिद्धान्त र कार्यक्रमले पार्टीमा व्यक्ति र कमिटीहरूको अधिकार र कर्तव्यलाई निर्देशित गर्छ । सिद्धान्त र कार्यक्रमको जानकारीको अभावमा कुनै पनि संगठनको अर्थ रहन्न । सिद्धान्त र कार्यक्रमप्रति व्यक्तिको प्रतिबद्धताले संगठनप्रति प्रतिबद्धता सिर्जना गर्छ ।
यसर्थ, पार्टी निर्माणको पहिलो काम सिद्धान्त र कार्यक्रमबारे आफ्ना सदस्यहरूलाई अवगत गराउनु हो । नवौं महाधिवेशनपछि यो काम रोकिएको छ । अहिले स्कुल विभागले तयार गरेको पाठ्यसामग्रीमा भर परेर नवौं महाधिवेशनको सिद्धान्त र कार्यक्रम स्थापित हुँदैन, किनकि ती सामग्रीले महाधिवेशनको सैद्धान्तिक मर्मलाई बुझ्न र बोक्न सकेका छैनन् । तसर्थ, नवौं महाधिवेशनका निर्णयहरू पार्टीव्यापी रूपमा स्थापना गर्नु नितान्त जरुरी छ । त्यसले पार्टी कमिटी र सदस्यहरूलाई आफ्ना अधिकार र कर्तव्यको पालना गर्न मनोवैज्ञानिक रूपमा तयार गर्नेछ । त्यसबाट पार्टी सदस्यहरूले कुन कुरा पार्टीको सिद्धान्तको पक्षमा छ र कुन विरुद्धमा छ भन्ने आफैंले विश्लेषण गर्न थाल्नेछन् । र, कसले गुटबन्दी गरिरहेको छ र कसले पार्टी निर्माण गरिरहेको छ भन्ने थाहा पाउनेछन् ।
संगठनका क्षेत्रमा हामीले नयाँ व्यवस्था गर्नुपर्नेछ । पहिलेको संगठन राजनीतिक क्रान्ति गर्ने उद्देश्यले बनेको थियो, अहिलेको संगठन क्रान्तिका राजनीतिक उद्देश्यलाई सामाजिक–आर्थिक क्षेत्रमा लागू गर्ने ध्येयले बनाउनुपर्नेछ । हिजोको पार्टी केवल क्रान्तिकारी पार्टी थियो, आजको पार्टी शासकीय चरित्र पनि भएको पार्टी हुने छ, सत्तामा रहेका कतिपय कम्युनिस्ट पार्टीको चरित्र केवल शासकीय छ, हाम्रो पार्टीको चरित्र आन्दोलनकारी पनि हुनुपर्नेछ । यसरी हेर्दा हामी संगठनात्मक सिद्धान्तका क्षेत्रमा बिल्कुलै नयाँ हिसाबले अध्ययन र अभ्यास गर्नुपर्ने ठाउँमा उभिएका छौं । यो संगठन विभाग वा सचिवालय वा कुनै कार्यदलले मात्रै पूरा गर्ने काम होइन । हामी नयाँ युगमा नयाँ पार्टी बनाउँदै छौं भन्ने मनोविज्ञानका साथ सम्पूर्ण पार्टी पंक्तिलाई यस विषयको छलफलमा सहभागी गराएर नयाँ वैधानिक व्यवस्था स्थापित गर्न बेलैमा ध्यान दिनुपर्छ । यसरी नयाँ युगको नयाँ पार्टी निर्माण हुँदै जाँदा अहिलेको गुटबन्दी पनि अन्त्य हुँदै जानेछ ।
(नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले स्थायी समितिमा प्रस्तुत गर्नुभएको पूरक प्रस्तावको एक अंश)
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply