त्यताको नुन खाएकाहरूले त्यही काम गरे
नेपाल यतिबेला गम्भीर र जटिल मोडमा उभिएको छ । हामीले राजतन्त्र समाप्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेकै दिन संकल्प गरेका थियौं, नेपाल अब युगौंदेखिको पछौटेपनको अवस्थामा बस्नेछैन । तर, नयाँ किसिमले समस्याहरू सिर्जना गरिए । देशलाई जाति–जातिको राज्यमा विभाजन गर्ने, तराई, पहाड र हिमालका बीचमा विभाजन गर्ने मात्र होइन, नेपालको नाम नै परिवर्तन गर्ने, झन्डा परिवर्तन गर्ने, नयाँ नेपाल बनाउने नाममा नेपालको अस्तित्व समाप्त पार्नेसम्मका षड्यन्त्रमूलक क्रियाकलापहरू भए । यस्ता षड्यन्त्रलाई पार गर्दै हामीले दोस्रो संविधानसभाबाट संविधान जारी गर्न लाग्दा पनि अवरोधहरू सिर्जना भए ।
संविधान जारी हुन नदिनका निम्ति ०७२ भदौ ७ गते कैलाली जिल्लाको टीकापुरमा अमानवीय घटना घटाइयो । त्यसलाई नेपालको तराईलाई अलग राष्ट्र बनाउने कामको सुरुवात भनेर भनिएको थियो । भारतका धेरै पत्रपत्रिकाले नेपाल गृहयुद्धमा गयो, नेपालमा मधेस राष्ट्र निर्माण हुँदै छ भने । तर, त्यो सफल हुन सकेन । हामीले संविधान जारी गरेरै छाड्यौं । संविधान जारी गरेपछि हामीले ज्यादै गम्भीर रूपमा, अमानवीय उत्पीडनका साथ त्यसको सामना गर्नुप¥यो । ०७२ असोज ३ गते हामीले संविधान जारी ग¥यौं । ४ गतेदेखि नेपालका विरुद्ध भारत सरकारले नाकाबन्दी सुरु ग¥यो । हामीले देख्यौं, नेपाल र भारतका सिमा–नाकाहरूमा आफूलाई नेपाली भन्ने कतिपय व्यक्तिहरू गएर, पाल टाँगेर नेपालमाथि लगाइएको नाकाबन्दीलाई साथ दिए । के कुनै नेपालीले आफ्नो देशको जनताविरुद्ध नाकाबन्दी लगाउन सक्छ ? तर, मधेसी मोर्चा नामका नेता र कार्यकर्ताहरू नाकामा बसेर नेपालमा भारत भएर आउने सम्पूर्ण सामानहरू नेपालमा छिर्न नदिने गरी नाकाबन्दी लगाइयो । हामीले के गल्ती गरेका थियौं ?
हामीले संविधान जारी ग¥यौं । संविधान जारी गर्नु आफंैमा नेपाली जनताको सार्वभौम अधिकारको प्रतीक हो । नेपाल इतिहासदेखि आजसम्म स्वतन्त्र छ, सार्वभौमसत्ता सम्पन्न छ । अखण्ड नेपाल, २ सय ५० वर्षदेखि आजसम्म शिर ठाडो गरेर रहेको छ नेपाल । छिमेकीहरू ब्रिटिस अंग्रेजको उपनिवेशभित्र गुलामी भएर बसेका बेला पनि नेपाल स्वतन्त्र थियो, आज पनि स्वतन्त्र छ । हो, हामी भूपरिवेष्टित छौं । भूपरिवेष्टित भए पनि संयुक्त राष्ट्रसंघको बडापत्रले, त्यसपछि भएका अनेकौं अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूले भूपरिवेष्टित देशलाई समुद्रसँग जान र आउनका लागि कसैले अवरोध गर्न पाउँदैन । भारत सरकारले पनि त्यसमा हस्ताक्षर गरेको छ । तर, हामीले नाकाबन्दी बेहोर्नुप¥यो । किनभने, हामीले संविधान जारी नगर्न भनिएका उनीहरूका आग्रहलाई अस्वीकार गरेर संविधान जारी गरेका थियौं । संविधान जारी गर्दाताका धम्की आएको थियो, ‘तिमी जे गर्दै छौं, त्यसको बदलामा कहिल्यै नबेहोरेको कष्ट बेहोर्नुपर्नेछ ।’ तर, नेपाली जनताले इतिहासमा पहिलोपटक संविधान जारी गरे । अन्तर्राष्ट्रिय जगत्मा नेपाली जनता मात्र नेपालका मालिक हुन्, अरू कोही पनि यो देशका मालिक होइनन् भन्ने कुरा सावित गराइदिएका थिए । त्यो हाम्रा छिमेकीलाई मान्य भएन । भारत सरकारलाई मान्य भएन । भारत सरकारको इसारामा, नेपालमाथि लगाइएको नाकाबन्दीमा मधेसी मोर्चाका नेता र कार्यकर्ताले नाकामा बसेर यो नाकाबन्दी भारतले लगाएको होइन, हामीले लगाएका हौं भने । तर, नेपाली जनताले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई भने, ‘प्रधानमन्त्रीज्यू ! तपाईं नझुक्नुस्, हामी तपाईंका साथमा छौं । हामी बरु एक छाक मात्र खाएर बस्न तयार छौं, पानी मात्र पिएर बाचांैला, तर यो सगरमाथाको देश हो । सगरमाथा कहिल्यै झुक्दैन । नेपालको स्वाभिमान पनि कहिल्यै झुक्दैन ।’
नेपाली जनता, सरकार झुक्न तयार भएनन् । नाकाबन्दी फिर्ता भयो । अनि, मधेसी मोर्चाका मानिसहरूले पोल खोले । उनीहरूले भने, ‘हामीलाई उपयोग गरेर नाकाबन्दी गराउने, आज हाम्रा कुराहरू पूरा नभई नाकाबन्दी फिर्ता लिने ?’ नाकाबन्दी भारत सरकारको हितका निम्ति गरिएको रहेछ । यो नुनको सोझोभन्दा अरू केही होइन । नुन खाएकाहरूले यसै गर्छन् । त्यताबाट आएको नुन खाएकाहरूले त्यही काम गरे ।
आज नाकाबन्दी छैन । नाकाबन्दी नभए पनि नेपाललाई चारैतिरबाट घेराबन्दी गर्नका निम्ति नेपालका सम्पूर्ण देशभक्त, राष्ट्रवादी पार्टीहरूलाई एक्लो पार्नका निम्ति ठूलो षड्यन्त्र भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको सरकारले जब बजेट प्रस्तुत ग¥यो, नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो, नेपालका जनता सबैले महसुस गरे कि नेपाल अब समृद्धिको बाटोमा अगाडि बढ्छ । किनकि, त्यो बजेट र नीति तथा कार्यक्रमले नेपालको विकासको समग्र योजना प्रस्तुत गरेको थियो । त्यो बजेटले नेपाल जनतालाई एउटा आशा–भरोसा दिलायो । त्यो बजेटले सबैभन्दा धेरै कार्यक्रम नेपालको तराईमा प्रस्तुत ग¥यो । विकासका निम्ति आएको करिब ६ खर्बमध्ये ३ खर्बभन्दा बढी तराईमा मात्र गयो । धेरैले भने, इतिहासमा पहिलोपटक नेपाल सरकारले तराईलाई देख्न सकेको छ । संसद्बाट नीति तथा कार्यक्रम पास भयो, बजेट पास भयो, जनता खुसी छन् । तर अचम्मलाग्दो कुरा, यो संसारमा कहीँ पनि बजेट र नीति तथा कार्यक्रम पास भएपछि सरकार गिराउने काम हुँदैन, नेपालमा गिराइयो । संख्या पु¥याएर गिराइयो । संख्याका आधारमा नेपाली जनताको भावनालाई लत्याइयो । आज तिनै लर्बराउने पार्टीहरू नेपालको राष्ट्रियताका सम्बन्धमा जनताका अधिकारका निम्ति लड्ने शक्तिहरूका विरुद्धमा विदेशीको इसारामा नाच्ने गरी एकताबद्ध भएका छन् । नेपाली जनतालाई अधिकारसम्पन्न हुन नदिने, नेपाली जनताले जारी गरेको संविधान कार्यान्वयन हुन नदिने र देशलाई अस्तव्यस्त बनाउने काममा लागेका छन् । यिनै पार्टीहरू, तिनका आसेपासेहरूले सञ्चालन गरेको सरकारसमेत संलग्न भएर नेकपा (एमाले) लाई समाप्त गर्ने खेल खेल्दै छन् । तर, यो थाहा पाउन जरुरी छ, नेकपा (एमाले) नेपाली जनताको सबैभन्दा पछाडि परेको जनसमुदायको घरभित्र जन्मेर, हुर्केको पार्टी हो । नेपाली जनता छँदासम्म नेकपा (एमाले) लाई कसैले पनि समाप्त गर्न सक्दैन । तर, षड्यन्त्र भइरहेको छ । त्यो षड्यन्त्रको एउटा हिस्सा थियो, सप्तरीको घटना ।
हामी अगाडि बढ्दै छौं । हामीले आफ्नो कामलाई अगाडि बढाउँदै छौैं । जब गाउँमा हात्ती आउँछ, कुकुरहरू धेरै भुक्छन् । हात्तीले कुकुरलाई वास्ता गर्दैन । नेकपा (एमाले) लाई चलाउने कुकुरहरू जति छन् त सबै समाप्त हुन्छन्, हात्तिरूपी नेकपा (एमाले) अगाडि बढ्छ ।
नेकपा (एमाले) नेपालको एक मात्र यस्तो पार्टी हो, जसले नेपालको स्वतन्त्रता रक्षाको घोषणा गरेको छ । जो नेपालको सार्वभौमसत्ताको निम्ति खडा भएको छ । कसैले, कोही देशभक्त नेपालीले डराउनुपर्दैन, तपाईंका अगाडि नेकपा (एमाले) छ । जनताको घरदैलोमा बसेको नेकपा (एमाले) लाई समाप्त गर्न कसैले सक्दैन । यो अगाडि बढ्यो, यसले देशको जिम्मा लिएको छ । निर्वाचन हुँदै छ । स्थानीय तहको निर्वाचनमा एमालेले दिग्विजय प्राप्त गर्नेछ । ०७४ माघ ७ गतेभित्र सबै तहको चुनाव हुन्छ । सबै निर्वाचनमा हामीले बहुमत हासिल गर्छौं । एमालेको सरकार बन्छ । त्यसका लागि नौ महिना मात्र पर्खनुपर्नेछ । त्यसपछाडि नेकपा (एमाले) आयो, अगाडि बढ्यो । हामीले साँच्चिकै देश विकासको खाका अगाडि प्रस्तुत गर्नेछौं । सामाजिक सुरक्षाका सम्बन्धमा आजसम्म नभएका कामहरू हामी गर्छौ । देशको विकासका निम्ति ऊर्जा तथा पूर्वाधारको क्षेत्रमा विकास गर्छौं । सम्पूर्ण जनतालाई नेपालको पुनर्निर्माणमा सामेल गरेर एमालेले नेतृत्व गरेर अगाडि लैजानेमा द्विविधा छैन ।
एमालेलाई छेक्नका निम्ति कोसिस गरिँदै छ । तर, यसले केही लछारपाटो लगाउने छैन । नेकपा (एमाले) को रौं पनि हल्लाउन सक्ने अवस्था छैन ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply