बहुमतको लक्ष्यसहित एमालेको उम्मेदवार छनोट कार्यसूची
सर्वसम्मतितर्फ प्रेरित, हार निरुत्साहित
काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनमा बहुमत स्थानमा जित हासिल गर्ने योजना सफल पार्ने उद्देश्य राखेर उम्मेदवार छनोटको तालिकासहितको कार्यसूची अघि बढाएको छ । स्थानीय तहमा टिकट पाउने उम्मेदवारले प्रदेश र संघीय संसद्को चुनावमा उठ्न नपाउने कडा निर्णय गर्दै एमालेले कार्यसूची अघि बढाएको हो । सार्वजनिक कार्यतालिकाअनुसार अबको सात दिनभित्र वडाहरूमा उठ्ने उम्मेदवार सिफारिस हुनेछन् भने १२ वैशाखसम्म सबै उम्मेदवारका सूची सार्वजनिक भइसक्नेछन् ।
एउटै व्यक्ति सन्निकट प्रदेश र संघीय संसद्मा दोहो¥याएर उम्मेदवार उठ्न नपाउने गरी स्थायी समितिमार्फत गरिएको निर्णयले एमाले पंक्तिमा उत्साह थपेको छ । त्यसरी कडाइका साथ निर्णय गर्नुका पछाडि मूलतः तीनवटा कारण रहेको एमाले नेताहरू बताउँछन् । पहिलो, २० वर्षपछि हुन गइरहेको निर्वाचनमा आकांक्षी बढी देखिएकाले यो निर्णयले आफू कुन तहका लागि योग्य हो स्वयंलाई मूल्यांकन गर्न प्रेरित गर्नेछ भने तीनवटै निर्वाचनमा भाग नलिनेहरूका लागि पार्टीको सांगठनिक नेतृत्व लिने कुरामा प्रेरित गरेको छ । दोस्रो, आकांक्षी बढी देखिएको स्थानमा सकभर जिल्ला तह गाउँ हुँदैै सर्वसम्मत उम्मेदवार चयनका लागि नेता–कार्यकर्तालाई प्रेरित गरेको छ । तेस्रो, स्थायी समितिको त्यस निर्णयले विगतमा एकपटक कुनै निर्वाचनमा सहभागी भएर फेरि जुनसुकै प्रकृतिको चुनावमा पनि उम्मेदवार बन्न अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रवृत्तिलाई पूर्णतः निरुत्साहित गरेको छ । त्यति मात्रै होइन, टिकट लिएर उठ्ने उम्मेदवारले नजितेको खण्डमा अरू निर्वाचनमा दाबी गर्न नपाउने भएकाले उसमाथि जित्नैपर्ने दबाब सिर्जना गरेको छ । आकांक्षीहरूसमेत दीर्घकालीन भविष्य हेरेर चुनावी काममा खट्न सक्ने र त्यसले पार्टीलाई जसरी पनि जिताउने परिस्थिति सिर्जना हुने एमालेले आँकलन गरेको छ ।
‘एउटा व्यक्ति तीन तहमध्ये एउटा तहको निर्वाचनको टिकटका लागि मात्रै योग्य हुने बैठकको निर्णय हो,’ सचिव योगेश भट्टराईले भने, ‘स्थानीय तहमा उठ्ने उम्मेदवारले प्रदेश र संघीय संसद्को निर्वाचनमा टिकटको दाबी गर्न पाउनेछैनन् ।’ जितेका उम्मेदवारले पनि कम्तीमा एउटा शासकीय जिम्मेवारीमा अब्बलता हासिल गरेर थप नेतृत्व विकास गरोस् भन्ने निर्णयको आशय रहेको स्थायी समिति सदस्य छविलाल विश्वकर्माको भनाइ छ । ‘यसको आशय कम्तीमा विजयी बनेपछि एक कार्यकाल एउटा तहमा राम्रो काम गरेर नेतृत्व विकास गरोस् भन्ने पनि हो,’ विश्वकर्माको कथन छ ।
त्यसो त एमालेमा प्रदेश र संघीय संसद्मा प्रत्यक्ष र समानुपातिकतर्फ योग्य सयौं उम्मेदवारहरू पनि स्थानीय तहको उम्मेदवारका लागि प्रतिस्पर्धाको दौडमा सामेल छन् । ‘वर्तमान संविधानअनुरूप हुन गइरहेको तीन तह (स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद्) को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरिएको छ ।’ स्थायी समितिको विज्ञप्तिमा भनिएको छ । यो निर्णयले पार्टीभित्र विधि र पद्धतिलाई सही ढंगले स्थापित गर्नुका साथै दण्ड र प्रोत्साहनको नयाँ संस्कृति स्थापित गर्ने दाबी पनि गरिएको छ ।
उम्मेदवार छनोटको कार्यतालिका
स्थायी समितिले वडा कमिटीहरूलाई ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीलाई ४ वैशाखसम्म उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने स्थायी समितिको निर्णय छ । त्यस्तै, जिल्ला कमिटीले ७ वैशाखसम्म र प्रदेश कमिटीहरूले १० वैशाखसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्न निर्देशन दिइएको छ । त्यसअनुसार एमालेले वडा अध्यक्षहरूको जिल्ला कमिटीबाट ७ वैशाख र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको टुंगो १० वैशाखभित्र प्रदेश संगठन कमिटीबाट लगाइसक्ने कार्यतालिका सार्वजनिक भएको छ । उपमहानगर र महानगरका मेयर र उपमेयरको उम्मेदवारको अन्तिम निर्णय भने १२ वैशाखमा बस्ने स्थायी समिति बैठकबाट निर्णय हुने एमालेले जनाएको छ । सम्बन्धित कमिटीमै सर्वसम्मत छनोट भएको उम्मेदवारको हकमा भने माथिल्लो कमिटीबाट अनुमोदन मात्रै गरिने बताइएको छ ।
यसरी बन्दै छ घोषणापत्र
उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा एमालेले १५ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति बनाएको छ । समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, विन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य छन् ।
पोखरेलको नेतृत्वमा अनुगमन समिति
त्यस्तै, महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा अर्को १५ सदस्यीय स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति बनेको छ । समितिमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य छन् ।
अन्तिम तयारी ३ गते
निर्वाचनको अन्तिम तयारीका लागि एमालेले ३ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय तथा विभागका सदस्यहरू, सांसद र जनसंगठनका केन्द्रीय नेतालाई प्रदेश समन्वय कमिटीको समन्वयमा आ–आफ्नो क्षेत्रमा तत्काल क्रियाशील हुन निर्देशन दिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply