अब एउटै कम्युनिस्ट पार्टी ओली र प्रचण्ड आलोपालो अध्यक्ष
काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिँदै दुई ठूला वाम दल एमाले र माओवादी केन्द्र अब नेपाल कम्युनिस्ट पार्टी बन्ने भएका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुप्रतीक्षित एकता टुंगो लगाउँदै नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ मोडमा अघि बढाउने ऐतिहासिक समझदारी गरेका हुन् । पार्टी एकतापछि नयाँ सरकार गठन गर्ने पछिल्लो समझदारीसँगै छिट्टै दुवै पार्टी बहुमत प्राप्त देशकै ठूलो दलमा रूपान्तरित हुनेछन् ।
शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाकै बाटोबाट समाजवादतर्फ अघि बढ्ने संकल्पका साथ हुन लागिरहेको दुई पार्टी एकतालाई नेपाली कम्युनिस्ट आन्दोलनको एउटा विशिष्ट परिघटनाका रूपमा चर्चा गरिएको छ । ६८ वर्षको नेपाली कम्युनिस्ट आन्दोलन धेरै विभाजनकै इतिहास हो । यो तथ्यबाट गम्भीर शिक्षा लिँदै दुवै पार्टीले मुलुकलाई शान्ति, स्थिरता र समृद्धिको दिशामार्फत समाजवादमा पुग्ने कार्यदिशा तय गरेका छन् । बुधबारै एकता संयोजन समितिबाट ओली र प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्दै अध्यक्षता गर्ने संक्रमणकालीन मोडलमा एकताको टुंगो गरिँदै छ । यो परिघटनालाई अन्तराष्ट्रिय क्षेत्रसमेत तरंगित बन्नेछ । किनभने, संयोजन समितिले गर्ने निर्णयबाट शान्तिपूर्ण बाटोबाटै नेपालमा पाँच वर्षसम्म सञ्चालन हुने करिब दुई तिहाइ बहुमतको वाम सरकार निर्माण हुँदै छ ।
एकीकृत पार्टीमा दुवै पार्टी प्रमुखले अध्यक्षता गर्ने गरी सहअध्यक्षको संक्रमणकालीन मोडलमा सहमति भएको छ । यो मोडललाई एकीकृत पार्टीमा दुवै अध्यक्ष प्रमुख रहने भनिए पनि खासमा पदका हिसाबले सहअध्यक्ष हुने अर्थात् संक्रमणकालीन मोडलको संज्ञा दिइएको छ । ‘दुवै अध्यक्षले कोचेयर गर्नुहुनेछ,’ माओवादी केन्द्रका नेता जनाद्र्धन शर्माले भने, ‘यो समझदारीसँगै पार्टी एकताले अब नयाँ मोड लिएको छ, जनताको लामो अपेक्षा पूरा हुँदै छ ।’ एकता घोषणापछिको निरन्तर छलफललाई सोमबार निर्णायक मोड दिँदै ओली र प्रचण्डबीच एकीकृत पार्टीमा दुवै सहअध्यक्ष रहने संक्रमणकालीन (एकता महाधिवेशनअघि) मोडलमा सोमबार सहमति भएको हो । त्यस सहमतिलाई मंगलबार थप छलफल गरेर ओली र प्रचण्डले अन्तिम रूप दिएका छन् । सम्भवतः बुधबार बस्ने दुवै पार्टीको बैठकले अनुमोदन गरेपश्चात् एकता संयोजन समितिको निर्णयलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै छ ।
पछिल्लोपटक दुई अध्यक्षबीच मात्र एकताको विभिन्न मोडालिटीमा छलफल केन्द्रित हुँदै आएको थियो । छलफलमा एमालेबाट अध्यक्ष र माओवादीबाट सहअध्यक्ष, एमाले र माओवादी दुवैबाट अध्यक्ष या सहअध्यक्ष रहने मोडालिटीमा छलफल केन्द्रित थियो । त्यस्तै, ओली सर्वोच्च नेता, एमाले र माओवादीबाट सहअध्यक्ष रहने, प्रचण्ड अध्यक्ष र एमालेबाट महासचिव हुने माले–माक्र्सवादी एकताको मोडालिटी पनि विकल्पका रूपमा छलफलमा थियो । यी विकल्पहरूबारे दुवै अध्यक्षले पार्टीका शीर्ष नेताहरूसँग परामर्श गरेपछि दुवैले अध्यक्षता गर्ने मोडल सहमतिमा पुगेको हो । यस मोडालिटीमा एकताको महाधिवेशनअघिसम्म दुवै पार्टी अध्यक्षसहित नेताहरूको ‘सम्मानजनक स्थान’ रहने बताइएको छ ।
एउटा छुट्टै छरितो स्थायी समितिमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भूमिका र मर्यादा वरिष्ठ नेताको हैसियतमा रहने समझदारी भएको छ । दुवै पार्टीका उपाध्यक्ष, महासचिव र पदाधिकारीहरू रहेको स्थायी समिति बनाउने कि छरितो स्थायी समिति बनाउने विषय भने टुंगो लागिनसकेको स्रोतले जनाएको छ ।
सरकारको नेतृत्व आलोपालो गौण
पार्टी एकतासँगै प्रधानमन्त्रीका रूपमा केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने प्रचण्डले कार्यकारी प्रमुखका रुपमा एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने भनिए पनि प्रधानमन्त्रीमा आलोपालो हुने कि नहुने सहमतिबारे नेताहरू स्पष्ट खुलेका छैनन् । यद्यपि, कतिपय माओवादी नेताहरूले भने प्रधानमन्त्रीमासमेत साढे दुई वर्षपछि आलोपालो गर्ने ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको दाबी गरेका छन् । माओवादी केन्द्रका नेता शर्माले भने आलापालोमार्फत सरकारको नेतृत्व हुने कि नहुने विषय दुवै अध्यक्षमा निर्भर रहने बताए । ‘प्रधानमन्त्री केपी ओली नै हुनुहुन्छ, आलोपालोका विषयमा आन्तरिक कुरा भोलि के हुन्छ भन्ने हो अहिलेलाई त्यस्तो केही पनि (समझदारी) भएको छैन,’ उनले भने ।
एकीकृत पार्टीबाट प्रधानमन्त्री बन्ने कसरत
एकता संयोजन समितिबाट एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी टुंगो लगाउने, पार्टीको नयाँ नाम घोषणा भएपछि दुवै पार्टी नयाँ पार्टीको नामबाट सञ्चालनमा आउने र त्यसलगत्तै सरकार गठन प्रक्रिया अघि बढाउने गरी छलफल भइरहेको बुझिएको छ । संयोजन समितिको बैठकलगत्तै दुवै पार्टीको एकीकृत बैठक बसेर निर्वाचन आयोगमा दल दर्ता भएपछि सरकार गठन प्रक्रिया सुरु गर्ने गरी छलफल केन्द्रित भएको एक नेताले बताए । एकता संयोजन समितिबाट लागेपछि ओली संविधानको धारा ७६ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा प्रधानमन्त्रीमा सर्वसम्मत चयन हुन सक्नेछन् । तर, त्यसका लागि केही दिन निर्वाचन आयोगको निर्णय कुर्नुपर्ने हुन सक्छ ।
कार्यदललाई वैचारिक र सांगठनिक गृहकार्यको जिम्मा
वैचारिक र सैद्धान्तिक विषयमा कार्यदलमार्फत गृहकार्य गर्ने दुई दलबीच समझदारी छ । समाजवादउन्मुख समृद्धिको कार्यदिशामा अघि बढ्ने, जबज र एक्काइसौं शताब्दीको जनवादका समानताहरूको पहिचान गर्ने र हल हुन नसकेका विषयलाई एकताको महाधिवेशनमा लैजाने दुई दलबीच समझदारी छ । पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीको स्वरूप, प्रदेश, जिल्लादेखि गाउँ तहसम्मको एकताको विधि, भ्रातृ संगठनहरूको एकताको विधि र प्रक्रियालगायतका विषयमा कार्यदलले गृहकार्य गर्नेछ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply