एकतामा ढिलाइ हुँदा अनेक चलखेल
काठमाडौं । सैद्धान्तिक, वैचारिक र सांगठनिक संरचनामा कुरा मिलिसकेपछि पनि दुई ठूला वाम दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतामा भइरहेको ढिलाइले दुवै पार्टीका कार्यकर्तामा मात्र नभएर सबैतिर संशय सुरु भएको छ । कहिले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअगावै त, कहिले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाखमा एकता घोषणासभा गर्ने भनिए पनि एकता प्रक्रिया लम्बिँदै जाँदा दुवैतर्फ संशय पैदा हुँदै गएको हो ।
एकता घोषणाको शृंखलाले सात महिना पूरा गरिसक्दा मजदुर दिवस (मे १) हुँदै कार्ल माक्र्सको द्विशतवार्षिकी–५ मे (२२ वैशाख) सम्मको दिनलाई एकता घोषणासभाको सम्भावित मिति बनाइने चर्चा चल्दै आएको छ । तर, मजदुर दिवस गुज्रिसकेकाले अबको चार दिनभित्रै एकता घोषणासभाको मिति टुंगो लाग्ने कुनै विश्वासिलो आधार दुवै पार्टीका तर्फबाट अझै सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमै सीमित रहेको दिनहुँका घण्टौं वार्ताले एकताका लागि के–कस्ता उपलब्धि हासिल हुँदै छन्, दुईजनाबाहेक कसैलाई जानकारीमा छैन । दुई अध्यक्षले न्यायोचित एकता भन्दै आएका छन् भने अन्य नेताहरूले केही दिनभित्र एकता हुने सैद्धान्तिक जवाफ दिनेबाहेक नियमित वार्ताका विषय र भित्री कुराहरू सार्वजनिक भएका छैनन् । त्यसैले पनि धेरै ठूलो कारणबिनै दुई अध्यक्षबीचको संवाद तन्किँदै जाँदा एकताविरोधीका लागि दुवै पार्टीले खेल्ने मैदान दिएको चर्चा हुन थालेको छ ।
सरकारले सय दिन पनि पार गरेको छैन, तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको संघारमा मधेसकेन्द्रित दलले समर्थन फिर्ता लिने धम्की दिनु, संवादका विषयहरू बाहिर नआउनु र पार्टी एकता संयोजन समितिको बैठकै नबस्नुले दुवै पार्टीका कार्यकर्ताहरूको संशयलाई बल प्रदान गरिरहेको छ ।
दुई ठूला वाम दल मिल्दा केन्द्र र प्रदेशमा दुई तिहाइ मतको कम्युनिस्ट सरकार बनेका बेला देशलाई विकासको नयाँ युगमा प्रवेश गराउने कतै ऐतिहासिक अवसर गुम्ने हो कि भन्ने कार्यकर्ता तहमा चिन्ता थपिँदै गएको छ । शान्ति, स्थिरता र समृद्धिको मूल ध्येयका साथ गठबन्धन सरकार अघि बढ्दा राष्ट्रिय एकता बलियो भएको छ भने राष्ट्रिय स्वाभिमानका साथ सन्तुलित विदेश नीतिका आधारमा नेपालले ठूलो लाभ हासिल गर्ने धेरै ठूलो सम्भावना देखिन्छ । तर, एकतामा भइरहेको ढिलाइले यस्तो ऐतिहासिक अवसरलाई दुई ठूला पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डले गुमाउने हुन् कि भन्ने गम्भीर चिन्ता र चासो प्रकट भइरहेको छ । सार्वजनिक कार्यक्रमहरूमा कुनै पनि दिन अप्रत्यासित एकता घोषणा हुने बताएर दुई नेताबीच दिनहुँ बसाइ र घण्टौं छलफल भए पनि आखिरमा के भइरहेको छ ? स्वाभाविक प्रश्न उठिरहेको छ । स्वयं दुवै पार्टीका वरिष्ठ तहका नेताहरूबाटै झिनो असन्तुष्टिको स्वर आउनुले दुई अध्यक्षको नियमित छलफलमाथि प्रश्न उठेको छ ।
संविधान निर्माणपछि भएका तीन तह स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कम्युनिस्टहरूले धेरै ठूलो उपलब्धि हासिल गरेका छन् । शान्तिपूर्ण प्रतिस्पर्धामा कम्युनिस्टहरूले यति ठूलो ऐतिहासिक उपलब्धि विश्वकै लागि नमुनाका रूपमा चर्चामा छ । त्यसो त एमाले–माओवादी अलगअलग भिड्दा पनि स्थानीय तहमा वाम पक्षमा जुन जनमत देखिएको थियो, त्यसले यी दुई दल अलग अस्तित्वमा रहनुको औचित्य नहुने साबित गरेको थियो । त्यही निर्वाचनको सन्देशपछि एकता प्रक्रियामा अघि बढिरहेका दुई दलको संवाद शृंखलाले सात महिना पार गरेर एकीकृत पार्टीको राजनीतिक, वैचारिक लाइनदेखि सांगठनिक संरचनाको खाकासमेत तयार गरिसकेको छ । एकता हुन नदिने अनेक चलखेल परास्त गर्दै संवाद शृंखला अघि बढिरहँदा वाम सरकार टिक्न नदिने र समाजवादसम्मको यात्राको कार्यक्रम लागू हुन नदिने वैदेशिक षड्यन्त्रहरू पनि जारी रहेको अनुमान लगाउन थालिएको छ । तर, एकताका सबै विषय मिलिसक्दा पनि दुई अध्यक्षबीचको संवाद अहिले कसैको स्वार्थबाट प्रभावित भएको हो कि भन्ने गम्भीर प्रश्न उठ्नु स्वाभाविक छ । एकीकृत पार्टीमा दुवै दलका अध्यक्षको समान हैसियत हुनेदेखि क्षेत्राधिकारसमम्म विधानले प्रस्ट पारिसकेको छ । केन्द्रदेखि तल्लो तहसम्मको कमिटीको संख्यासमेत तयार भए पनि यसलाई थपघट गर्ने अधिकार दुवै अध्यक्षलाई दिइएको छ । एकता गर्दा सम्मानजनक हैसियतसहित हुने भएकाले एकीकृत पार्टीमा कुन नेताको हैसियत के रहनेजस्ता विषय उसले भविष्यमा देखाउने योग्यता, क्षमताका साथै योगदानले निर्धारण गर्ने प्रस्टै देखिन्छ । अझ समझदारीमै एकताको महाधिवेशन सम्पन्न गर्नेसम्मका भद्र सहमति भइसकेको परिप्रेक्ष्यमा एकीकृत पार्टीमा पूर्वएमाले या पूर्वमाओवादी केन्द्रको अस्तित्व भन्दा पनि तत्कालीन आवश्यकताले धेरै कुरा निर्धारण हुने पनि प्रस्ट नै छ । यति हुँदाहुँदै पनि दुई अध्यक्षबीचको छलफल आलोपालो प्रधानमन्त्री हुने कि नहुने ? एकीकृत पार्टीको अध्यक्ष अहिल्यै कसलाई बनाउनेजस्ता विषयमा अल्झिएको प्रचारबाजी हुन थालेको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply