देउवाको एकलौटीविरुद्ध कांग्रेसमा मोर्चाबन्दी विशेष महाधिवेशनको चेतावनी
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा बहुमतको आडमा महासमितिले पारित गरेको विधान उल्ट्याएपछि उनीविरुद्ध केन्द्र हुँदै जिल्लासम्म संगठित मोर्चाबन्दी सुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधिका लागि निर्वाचित हुनुनपर्ने बहुमतको निर्णयविरुद्ध केन्द्रीय समितिमा ‘नोट अफ डिसेन्ट’ लेखेलगत्तै मंगलबारबाट ५६ जिल्लाका सभापतिहरूले देउवाविरुद्ध मोर्चाबन्दीको घोषणा गरेका छन् ।
देउवाविरुद्ध माथिदेखि तलसम्म भएको पछिल्लो मोर्चाबन्दीले कांग्रेसभित्र नयाँ तरंग सिर्जना भएको छ । सभापतिहरूले कुनै हालतमा केन्द्रीय समितिले उल्ट्याएको निर्णय नमान्ने भन्दै विशेष महाधिवेशनका लागि पहल लिन सक्ने कडा चेतावनीसमेत दिएका छन् । महासमिति बैठकको निर्णय यथावत् राख्न जिल्ला सभापतिहरूको मोर्चाबन्दीलाई महामन्त्री शशांक कोइरालासहित कोइराला परिवारकै साथ छ । यसरी सभापति देउवा अन्ततः कोइराला परिवारको मात्र होइन, पौडेल र सिटौला समूहको माथिदेखि तलसम्म घेराबन्दीमा परेका छन् । देउवाले यो पछिल्लो संकट पार लगाउन नसके या पार्टी विभाजन या त विशेष महाधिवेशनको सामना गर्नुपर्ने परिस्थिति बन्दै गएको विश्लेषण गर्न थालिएको छ ।
गत पुस २९ देखि माघ ९ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले अधिकांश महासमिति सदस्यहरूको प्रस्तावअनुसार विधानमा उल्लिखित स्वतः प्रतिनिधिसम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहो¥याएर अवसर नदिनेसम्बन्धी व्यवस्था बैठकबाट पास गरेको जिल्ला सभापतिहरूले विज्ञप्ति जारी गर्दै स्मरण गरेका छन् । महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आमपार्टी सदस्यहरूलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निरास बनाएको जिल्ला सभापतिहरूको निष्कर्ष छ ।
‘महासमिति भन्दा ठुलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केही नेताहरू देखा पर्नु दुर्भाग्यपूर्ण हो । उक्त दुई विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रूपमै दर्ता भएको (द.नं. ९३) महासमिति सदस्यहरूको हस्ताक्षरलाई बेवास्ता गरी संशोधन प्रस्ताव नै नआएकोजस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासमिति बैठक र यसको निर्णयबाट उत्साहित आमपार्टी सदस्यहरूलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निरास बनाएको छ ।. पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पु¥याउने उक्त निर्णयमाथि शीघ्र पुनर्विचार गर्न जोडदार माग गर्दछौं अन्यथा विशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौं ।’
कांग्रेसको केन्द्रीय महाधिवेशन नियमित रूपमा चार वर्षमा हुने गर्छ । यसअनुसार आगामी फागुनभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । तर तीन वर्ष नेतृत्वमा रहँदा देउवाले अहिलेसम्म केन्द्रीय विभाग गठन गर्न सकेका छैनन् । त्यस्तै, केन्द्रीय अनुशासन समिति गठनमा पौडेल पक्षको असहमति कायम छ भने भ्रातृ संगठनहरू दिनप्रतिदिन लथालिंग बन्दै गएका छन् । संसद् हुँदै राष्ट्रिय राजनीतिमा कांग्रेस एजेन्डाविहीन मात्र होइन, उपस्थिति नै फितलो बन्दै गएको असन्तुष्ट पक्षको आरोप छ । ठूलो राजनीतिक कोर्स परिवर्तनपछि मुलुक संघीय ढाँचामा प्रवेश गरेको तीन वर्ष भइसके पनि त्यसअनुसार कांग्रेसले अहिलेसम्म स्थानीय तहसम्म संरचना तयार गर्न सकेको छैन । यति मात्र होइन, बदलिएको परिस्थितिमा सामाजिक न्यायसहितको आर्थिक समृद्धिको लोकतान्त्रिक समाजवादको कार्यक्रम कस्तो हुनेबारे कुनै ठोस प्रस्ताव अघि सार्न नसकेको आरोप लाग्दै आएको छ ।
पार्टी नेतृत्वमा असफल साबित भएपछि देउवाले युवा नेताहरूलाई क्रमशः तानेर महाधिवेशनसम्म पोजिसन बलियो बनाउने र एक वर्ष समयावधि बढाएर महाधिवेशनको मिति लम्ब्याउने खेलमा लागेको अहिल्यैदेखि आरोप लागेको छ । पार्टीमा सुरुमा गगन थापालाई पार्टी प्रवक्ता बनाउने कोसिस गरेका देउवाले विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएर युवाहरूबीच फुट ल्याउने कोसिस गरेका थिए । अहिले संस्थापन पक्षका गुरुराज घिमिरे, गोविन्द भट्टराई, रामकृष्ण यादवलाई आफ्नो समूहमा ल्याउन सफल भइसकेकाले थप केही युवालाई आश्वसनसहित प्रवेश गराएर झन् शक्तिशाली हुने दाउमा रहेको बताइन्छ ।
यी हुन् मोर्चाबन्दीमा सामेल ५६ जिल्ला सभापति
लिला देवी बोखिम, नरेन्द्र कुमार केरुङ्ग, हिमालय कर्माचार्य, उद्धव थापा, गोबिन्द ढुंगाना, नन्दमणि राई, नरेशकुमार श्रेष्ठ, बिनोद बस्नेत, राजिब कोइराला, डिगबहादुर लिम्बु, बिदुर बस्नेत, दिपेनकुमार श्रेष्ठ, कृष्णदेव यादव, अजय सुबेदी, उज्जल बराल, मधु आचार्य, लवश्री न्यौपाने, विकास लामा, जगदीशनरसिंह केसी, दुर्लभ थापा, सबुज बानियाँ, पेम्बाछिरिङ लामा, रमेश धमाल, जितनारायण श्रेष्ठ, बैकुष्ठ न्यौपाने, कृष्ण केसी, खम्ब गर्वुजा, यङजिङ बिष्ट, कुमार राणा, विष्णुप्रसाद लामिछाने, भेषबहादुर पौडेल, हरिबहादुर घले, अर्जुन पोखरेल, वीरबहादुर राणा, भुवन श्रेष्ठ, विष्णुप्रसाद खनाल, सुरेन्द्रप्रसाद आचार्य, अम्मरप्रसाद भण्डारी, अमरसिंह पुन, केशरमान रोका, किरण कोइराला, सञ्जय गौतम, खड्गबहादुर शाही, दीपबहादुर शाही हर्षबहादुर बम, कृष्णकुमार बीसी, कमलराज रेग्मी, प्रेमप्रकाश ओली, गणेशबहादुर चनद, दिपकजंग शाही, जयपति रोकाया, अंगत बुढा, कर्णबहादुर मल्ल, ललितसिंह बोहरा, नरेन्द्रसिंह थापा र हर्क जंग बहादुर सिंह ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply