एक वर्षपछि नेपालकै दस्तावेज हुबहु, मसान्तमा बैठकको तयारी
काठमाडौं । पार्टी एकताको साँढे १३ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक दस्तावेज प्रकाशनमा गएको छ । एकता घोषणामै भइसकेको समझदारीलाई अनेक कोणबाट प्रश्न उठाउने, सैद्धान्तिक–वैचारिक बहसका नाममा पार्टी एकतालाई कमजोर बनाएर शीर्ष नेताहरूबीच अनावश्यक दूरी बढाउन खेलोफड्को भइरहेको बेला दस्तावेज प्रकाशनमा पठाइएको हो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दस्तावेज प्रकाशनका लागि पठाइएको वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि जानकारी गराएका छन् ।
पार्टी एकताको संघारमा तत्कालीन एमाले–माओवादीबीच एकता महाधिवेशनसम्म अबको कार्यदिशा जनताको जनवाद रहने र दुवै पार्टीले अपनाउँदै आएका जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद र माओवादलाई महाधिवेशनमा छलफलमा लैजाने सहमति भएको थियो । यो सहमतिको जगमा टेकेर एकताका निम्ति वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा दुवै पार्टीका नेता सम्मिलित कार्यदलले राजनीतिक दस्तावेज तयार पारेको थियो । वतर्मान कम्युनिस्ट आन्दोलन, अबको कार्यदिशा, राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थिति, विभिन्न शक्तिहरूलाई हेर्ने दृष्टिकोणलगायतका विषयमा नेपाल नेतृत्वको कार्यदलले अघि सारेको दृष्टिकोणलाई पार्टी एकता संयोजन समितिले अनुमोदन गरेपछि मात्र दुई पार्टीबीच एकता घोषणा भएको थियो । उक्त दस्तावेजलाई पार्टी स्थायी समिति र सचिवालय बैठकले पारित गरिसके पनि अबको कार्यदिशा जबज कि जनताको जनवाद भन्दै बेमौसमको खेती गर्न खोजिएपछि एकता प्रक्रियामाथि नै आशंका पैदा भएका थियो । विशेषगरी सचिवालय सदस्य ईश्वर पोखरेलले त्यस्तो कामको नेतृत्व गर्न खोजेपछि पार्टी पंक्तिमा भ्रम पैदा गर्ने मात्र होइन, नेताहरूबीच गम्भीर अविश्वास पैदा हुने स्थिति बनेको थियो । तर, त्यस्ता प्रयासलाई पाखा लगाउँदै तीन नेताको सहमतिमा प्रकाशित दस्तावेज अब कार्यकर्ता तहमा पुग्ने भएको छ ।
नेपाल नेतृत्वले तयार पारेको दस्तावेजमा शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट श्रेष्ठता हासिल गरेर सामाजिक–आर्थिक रूपान्तरण गर्दै समाजवादतर्फ अघि बढ्ने जनताको बहुदलीय जनवादको दार्शनिक पक्षलाई आत्मसात् गरिएको छ । त्यति मात्र होइन, जबजका सबै विशेषतालाई समावेश गरेर अन्तरिम कालका लागि मात्र पार्टीको कार्यदिशाको नाम जनताको जनवाद दिइएको छ । तर, त्यो जनवाद समाजवादउन्मुख हुने किटानी गरिएको छ । जबजले नै सामन्तवादविरोधी क्रान्तिपछि उत्पादन र उत्पादन शक्ति, राज्यको चरित्रमा परिवर्तन गर्दै शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादतिर अघि बढ्ने कार्यदिशाको बाटो देखाएको छ । त्यसैको जगमा टेकेर बनाइएको एकीकृत पार्टींको दस्तावेजलाई निरन्तरता दिँदै प्रकाशनमा पठाइएको छ । नेपालको नेतृत्वमा तयार भएको प्रतिवेदनको अंशमा सामान्य भाषिक सम्पादनबाहेक हुबहु छपाइका लागि पठाएको बताइएको छ । दस्तावेज छपाइको सहमतिसँगै पार्टी एकताका समझदारीहरूलाई अक्षरशः पालना गर्दै अघि बढ्ने प्रतिबद्धता पुनः दोह¥याइएको मात्र छैन, एकता प्रक्रियाका बाँकी कामलाई पनि छिट्टै पूरा गर्ने नेताहरूबीच समझदारी बनेको छ ।
एकतासँग जोडिएका थुप्रै काम बाँकी छन् । नेताहरूको कार्यविभाजन, सम्पर्क मञ्चहरूको एकीकरण, प्रवास कमिटीहरूको एकीकरण, विशेष प्रदेश कमिटी गठन, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, केन्द्रीय आयोगहरूको एकीकरण, पार्टी एकता सन्देशका लागि देशभर सञ्चालन गर्ने भनिएको अभियानजस्ता प्रस्तावहरू लामै समयदेखि थाँती छन् । ती सबै प्रस्तावहरूमाथि क्रमशः निर्णय गर्दै जानेगरी केन्द्रीय सचिवालय बैठक बोलाउन अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदै आएको छ । खासगरी नेताहरूको कार्यविभाजन जिल्ला अध्यक्ष, सचिवहरूको चयन गर्दा अपनाइएको निश्चित विधि, प्रक्रिया र मापदण्ड अपनाउने कि नअपनाउने विषयमा अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालबीच सहमति हुन बाँकी छ । तीन नेताहरूबीच अन्तिम समझदारी हुनेबित्तिकै कार्यविभाजन प्रक्रिया टुंगिनेछ । एकतासँगैको जिम्मेवारी र कार्यविभाजन सामाजिक न्यायका आधारमा एक व्यक्ति ः एक जिम्मेवारीलाई दृढतापूर्वक लागू गर्नुपर्ने आवाज उठिरहेको छ । यो मापदण्ड अपनाउँदा एकता र कार्यविभाजनसँग जोडिएको काम पनि छिट्टै टुंगिने स्थिति छ । पछिल्लोपटक नेताहरूबीचको समझदारीमै राजनीतिक दस्तावेज प्रकाशन भएकाले सचिवालयका प्रस्तावित एजेन्डामा पनि छिट्टै समझदारी जुट्ने अपेक्षा गरिएको छ । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच सोमबार यिनै विषयमा केन्द्रित रहेर कुरकानी भएको बुझिएको छ । ओलीसँगको छलफलपछि वरिष्ठ नेता साताव्यापी भ्रमणको सिलसिलामा श्रीलंका प्रस्थान गरेका छन् । उनी २९ गते फर्किने र ३० गते सचिवालय बैठक बोलाउने समझदारी भएको बुझिएको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply