मर्यादाको मापदण्ड टाउका कि योग्यता ?
‘मलाई मरिदिए हुन्थ्यो भन्ने साथीहरू छन् ।’
‘नेकपामा राजा महाराजाहरू जन्मे ।’
‘सार्वजनिक सम्पत्ति हडप्नेहरू हामी भित्रै छन् ।’
‘मुलुकमा प्रतिगमनको खतरा छ ।’
‘गुटकालाई मात्र काखि च्याप्ने प्रवृत्ति जन्म्यो ।’
यी भनाइहरू कम्युनिस्टविरोधी पुँजीवादी पार्टी वा व्यक्तिका होइनन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विरोधी अरू कम्युनिस्ट पार्टीका पनि होइनन् । प्रतिबन्धित विप्लव नेकपाका हुन् भन्ने पनि लागेको छैन । नेकपा (नेकपा) का असन्तुष्ट तल्लो तहका कार्यकर्ताका समेत होइनन् । यी भनाइ त नेकपा (नेकपा) का उच्च तहका सर्वाेच्च नेताहरूका मुखबाट ओकलिएका हुन् । यी महावाणी कोठाभित्र वा बैठकमा आएका होइनन् । केही नेताका बीचमा छलफल गर्दा निस्केका वचनहरू पनि होइनन् यिनी । यी त सार्वजनिक रूपमा भाषण गर्दा वा पत्रकार सम्मेलन गर्दा प्रस्फुरित भएका डकारका शैलीमा आएका वास्तविकताहरू हुन भन्ने कुरा कसलाई थाहा भएन र !
पहिलो भनाइ, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको मुखारविन्दबाट निस्केको हो भन्ने कुरा सबैलाई थाहा भएको छ । आपूmलाई ‘मरिदिए हुन्थ्यो’ भन्ने साथी पार्र्टीभित्रै छन् भन्ने लागेको रहेछ उहाँलाई । उनी मनमा पिरको भारी बोकेरै गएका छन् सिंगापुरतिर, औषधोपचार गर्न । गम्भीर बिरामी भएका पार्टी अध्यक्ष तथा नेपालका प्रधानमन्त्रीका मनमा यस्तो लाग्ने स्थितिलाई सामान्य मान्न सकिन्छ जस्तो लागेन । दोस्रो भनाइ हो, अहिलेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको । उनले आपूm कार्यकारी अध्यक्ष हुँदा बित्तिकै सार्वजनिक रूपमा बोलेका हुन् यस्तो । तेस्रो भनाइ, वर्तमान कार्यवाहक प्रधानमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य ईश्वर पोख्रेलको हो । उनले नाम नलिए पनि पार्टीका निश्चित उच्च नेताप्रति लक्षित गरेर बोलेको कुरा सजिलै बुझ्न सकिन्थ्यो । चौथो निष्कर्ष, प्रधानमन्त्री केपी ओली उपचारका निम्ति विदेशतिर जानुभन्दा अगाडि बसेको सर्वदलीय बैठकको हो भन्ने सबैलाई जानकारीमा आएको विषय हो । पाचौं कुरा, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका कलम र मुखबाट निस्केको कुरा कसलाई थाहा भएन र ! उनले पार्टी सचिवालयको बैठकका निर्णयहरूमा फरक मत दर्ज गर्दा लेखी बुझाएका छन् भन्ने चर्चाले व्यापकता पाएको छ ।
यी भनाइ जोडेर हेर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक रूप छताछुल्ल भएर प्रकट भएको देखिन्छ । यसरी पार्टीका आन्द्राभुँडी छिरलिएको देख्दा कसलाई घिन नलागेको छ र । पार्टीको नेतृत्वमा बनेको शक्तिशाली सरकारको जनतामा परेको प्रभावको प्रतिविम्ब पनि हो यो भन्नेमा अन्यथा नमाने हुन्छ ।
नेकपाको नेतृत्व सामन्तवादी छ र यो दलाल पुँजीवादी अर्थतन्त्रभित्र जकडिएको छ भन्ने कुरा यसकै नेताका मुखबाट सुनिएको थियो । यही कुराको पुष्टि गर्छ पुष्पकमल दहालको प्रस्तुतिले । राजा महाराजहरूले सामन्तवाद र नोकरशाही दलाल पुँजीवादको प्रतिनिधित्व गरेको कुरा सबैलाई थाहा भइसकेको विषय हो । पार्टी अध्यक्षले सार्वजनिक रूपमा भनेको कुरामाथि अविश्वास गर्नु कसरी ? त्यसलाई विश्वास गर्दा पार्टीको सदस्यलाई कसरी ठान्नु कम्युनिस्ट पार्टीको सदस्य । सार्वजनिक सम्पत्ति (जमिन) हडप्नेलाई भूमाफिया भनिने गरेको छ । त्यस्ता व्यक्ति नेपाल कम्युनिस्ट पार्टीभित्रै उच्च नेता छन् भनेर कसरी पत्याउनु । नपत्याउनु पनि कसरी जब पार्टीका स्थायी कमिटी सदस्य तथा कार्यवाहक प्रधानमन्त्रीले सार्वजनिक रूपमा भनेका छन् यो कुरा । त्यसो हो भने त्यस्ता निन्दनीय व्यक्तिलाई कारबाही गर्न किन सकिएन ? सार्वजनिक सम्पत्ति हडपेर देशलाई ठग्ने व्यक्तिलाई कारबाही गर्न नसक्ने पार्टीलाई कम्युनिस्ट पार्टी मान्ने कि नमान्ने ? यस्ता प्रश्नहरू उठ्नु अनुचित हो जस्तो लाग्दैन ।
जहाँसम्म माधव नेपालको फरक मतमार्पmत लगाएको आरोपको कुरा छ, त्यो ध्यानाकर्षण योग्य छ जस्तो लागेको छ । पार्टीमा गुटबाजी हुनुलाई उचित मानिँदैन । जिम्मेवारी बाँडफाँट गर्दा आफ्नो गुटका मान्छेलाई काखी च्याप्ने कुरा त झन् अनुचित मानिन्छ । खासगरी कम्युनिस्ट पार्टीमा पूर्ण रूपमा अस्वीकार गरिन्छ गुटबन्दीलाई । पार्टी अध्यक्षबाटै हुने गुटबन्दीले त पार्टीलाई निकै बढी नोक्सानी गर्दछ । गुटबन्दी पार्टीको क्यान्सर हो । यसले ढिलढिलै भए पनि पार्टीलाई विघटन गर्नुपर्ने स्थितिमा पु¥याउन सक्छ । यस्तो स्थिति आउन नदिन प्रयत्न गर्नु अस्वाभाविक मानिँदैन भन्ने लाग्छ ।
पार्टीमा खुट्टा तानातान गर्ने प्रवृत्ति धेरै पहिलादेखि सुरु भएको थियो । उच्च तहका नेतामा नै देखिएको थियो त्यस्तो प्रवृत्ति । केही नेता मिल्ने र एउटालाई एक्लो पारेर पछार्ने दुःखद स्थिति बन्दै आएको महसुस भएको छ । पछिल्लो कालको कुरा गरौं । २०७५ जेठ ३ गते एमाले र माओवादीका बीचमा पार्टी एकीकरण भएको थियो । त्यतिबेला नेताहरूको मर्यादाक्रमका सम्बन्धमा बढी नै छलफल भएको कुरा सुनिएको थियो । एमालेका वरिष्ठ नेता झलनाथ खनाल दोस्रो मर्यादामा थिए । माधव नेपाल तेस्रोमा थिए । पार्टी एकीकरण भइसकेपछि परिस्थिति बदलिएको थियो । नेताको मूल्यांकनको आधार पनि फेरियो । एकीकरणका निम्ति खेल्नुपर्ने भूमिका नखेलेको आरोपमा झलनाथलाई माधव नेपालभन्दा पछाडि पारिएको थियो । परिणामस्वरूप मर्यादाक्रममा दुई अध्यक्षपछि माधवको नाम लेखिन थाल्यो भने झलनाथको माधव पछि । एकीकरणका समयमा झलनाथ खनाल विदेश भ्रमणमा भएकाले उतिबेला बैठकमा कुरा गर्न नपाउनु अस्वाभाविक भएन । उताबाट फर्केपछि आफ्नो असन्तुष्टि राखेका थिए, सार्वजनिक रूपमा समेत । त्यतिबेला केही नेता मिलेर उनलाई एक्ल्याएको महसुस गरिएको हो ।
यतिबेला त्यो नियति भोग्नुप¥यो माधवकुमार नेपालले । पहिलाको समीकरण उल्टियो । यसले झलनाथ खनाललाई खुट्किलो चढाइदियो । माधवकुमार नेपाललाई बसिरहेको सिँढीबाट तल खसालिदियो । मर्यादाक्रम टाउकाको अल्पमत बहुमत गनेर होइन, व्यक्तिको योग्यता र क्षमताका आधारमा गरिनुपर्छ भन्ने हामीले बुझेको कुरा थियो । उहिले झलनाथलाई फाल्ने र माधवलाई तान्ने काम गरियो । अहिले झलनाथलाई उकाल्ने र माधव नेपाललाई धकेल्ने काम गरियो । यस्तो काम सक्रियता, योग्यता र क्षमताका आधारमा हुने गरेको भए प्रश्न उठाउनुपर्ने थिएन । नीति र विचारका आधारमा भएको भए बोलिरहनु आवश्यक थिएन । यहाँ त टाउका मात्र गनेर काम गरियो भनिएको छ । यो कार्यशैली कम्युनिस्ट पार्टीका निम्ति सुहाउने कुरा भएन भन्ने लागेको छ ।
माधव नेपालसँग प्रतिपक्ष भएको अनुभव छैन । उनलाई कमजोर बनाउने मानिस उनकै गुटभित्र छन् भन्ने सुनिन्छ । उनका हातगोडा कमजोर छन् । उनले लामो समयसम्म नेतृत्वका गलत क्रियाकलापका विरोधमा उभिन सक्छन् जस्तो लाग्दैन । उनलाई टिकाउने हो भने उनका अनुयायीहरूले दह्रो खुट्टा टेकाउन सक्नुपर्ने देखिन्छ । कडा कदम चाल्ने हो भने आफ्नै स्वार्थमा बाधा पुग्ने देखेर माधवलाई हतोत्साहित गराउने चलखेल गुटभित्रै नभए उनको खुट्टो लडखडाउँदैन कि ?
एकपटक वामदेव गौतमलाई जिम्मेवारी विहीन बनाइयो । संसदीय निर्वाचनमा पनि पराजयी हुनुप¥यो उनलाई । यो सबै विचारका आधारमा होइन, टाउकै गनेर भएको थियो । अहिले वामदेवलाई यति धेरै जिम्मेवारी दिइयो कि उनी थिचिइरहेका छन्, किचिइरहेका छन् । यो पनि टाउकैका गणनामा आधारित भएर गरिएको छ । हिजोजस्तो हातखुट्टा दह्रा भएका नेता छैनन् उनी । उनी लुलिएका छन् अहिले । कसरी उठाऊन् यो भारी ? कताबाट टाउको उठाउने हो भन्ने मेसै पाएका छैनन् उनले ।
नेताहरूका बीचमा देखिएको तान्ने र घचेट्ने, घिसार्ने र छिर्के हान्ने क्रियाकलापले नेताको तौल त घटिरहेकै छ । पार्टीको लोकप्रियता र शक्तिलाई पनि लुल्याइरहेको छ भन्ने बुझ्नु समयोचित हुनेछ । अध्यक्ष पुष्पकमल दाहालको सभापनित्वमा बसेको सचिवालय बैठकले नेताका विरोधमा बोल्नुलाई अनुशासनहीनतासँग जोडिने निर्णय गरेको भन्ने सुन्नमा आएको छ । यो कुरा ठीक वा बेठीक जे भए पनि जथाभावी बोल्ने नेतालाई त छुट हुने होला नि । यसैलाई भनेको बुझिएको छ सामन्तवाद । ठूलालाई छाडापन सानालाई अनुशासन ।
सम्बन्धित समाचार
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply