अराजकता, गुटबाजी र विखण्डन अस्वीकार्य
हाम्रा दुई पार्टी नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच आज विचारधारात्मक (आइडोलोजिकल) प्रश्न र विचारधारा (थट) का बारेमा जुन उचाइबाट छलफल प्रारम्भ भएको छ, यसले मलाई अत्यन्त खुसी र उत्साहित बनाएको छ । दुई पार्टीबीच बढ्दो घनिष्ठतासँगै हामीले देखेको समृद्धिका सपना, हामीले बोकेको विचार र त्यसको सिर्जनात्मक प्रयोगका सकारात्मक परिणाम र सामना गर्नुपरेका चुनौतीबारे अनुभव आदानप्रदान हुनु एकदमै स्वाभाविक र सान्दर्भिक रहेको म ठान्दछु । छिमेकीको हिसाबले, चीन र नेपाल परापूर्वकालदेखिकै घनिष्ठ मित्रहरू हुन् । हामी अग्ला हिमाल र हिमाली नदीहरूबाट जोडिएका छौं । प्रकृतिले हाम्रा सिमानामा खडा रहेको हिमाल र बगिरहेको हिमनदीले हाम्रा सम्बन्ध पनि हिमाल जत्तिकै उच्च र कञ्चन छ, बेगवान गतिमा बगिरहने हिमाली नदीजस्तै स्वच्छ र अविछिन्न छ भन्ने बताइरहेको छ ।
हाम्रो मित्रता खुला छ, स्वतन्त्र छ र अटल छ । हामी एकअर्काको सार्वभौम सत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौं । एकअर्काका हितहरू र संवेदनशीलताको ख्याल गर्दछौं । राष्ट्रिय स्वाभिमानको कदर गर्दछौं । तर हाम्रो मित्रता स्वार्थहरूको लेनदेनभन्दा धेरै माथि सम्मान, साथ र सहयोगमा उठेको छ । हाम्रा दुई देशबीच समस्यारहित सम्बन्ध छ । हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगी भावनाका आधारमा अघि बढाइरहेका छौं । समयक्रममा अघि बढ्दा आइपर्ने विषयहरूलाई मैत्रीपूर्ण आपसी संवादका माध्यमबाट समाधान गर्दै अघि बढ्छौं । हामी एक चीन नीतिमा सधैं स्पष्ट र दृढ छौं । छिमेकी मित्रराष्ट्र चीनविरुद्ध हामी, हाम्रो भूमिको प्रयोग हुन दिँदैनौं । कुनै देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप, कुनै बहानामा किन नहोस्, हुनुहुँदैन भन्ने हाम्रो दृढ मान्यता छ । हामी चीनको आन्तरिक मामिलामा पनि कुनै बहानामा बाह्य चलखेल हुनुहुँदैन भन्नेमा स्पष्ट छौं । कुनै देशको शान्ति, सुव्यवस्था र अमनचैन खल्बल्याउन, स्थायित्वमा समस्या ल्याउन, सामाजिक एकतालाई बिथोल्न वा विकास प्रयासका गतिमा व्यवधान खडा गर्न बाहिरबाट प्रत्यक्ष वा परोक्ष रूपमा कसैले पनि, कुनै पनि अवस्था र बहानामा हात हाल्नु उचित हुनै सक्तैन ।
मुलुकहरू बलियो हुँदा कहिलेकाहीँ अनपेक्षित रूपमा दम्भ बढ्छ र तिनीहरूबाट असहज गतिविधि हुने गर्छ । तर, चीन शक्तिशाली देश भईकन पनि यस्ता अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिदृश्य हो । यस व्यवहारबाट चीनले अँगालेको राजनीतिक प्रणालीसँग अरू राजनीतिक प्रणालीको भिन्नता र श्रेष्ठतालाई स्पष्ट पारेको छ । चीन न्यायोचित विश्व व्यवस्था, शान्ति, समानता, सहअस्तित्व एवं भविष्यतर्फ उन्मुख सहयोगात्मक अग्रसरतामा विश्वास गर्छ भन्ने कुरा यस व्यवहारबाट पनि स्पष्ट हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं राष्ट्रिय कंग्रेसमा पार्टीका महासचिव कमरेड सी चिन फिङद्वारा अघि सारिएको ‘टुवार्ड अ फ्युचर अफ सेयर्ड प्रस्पेरिटी’ अवधारणा र चीनको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ले यस कुरालाई अझ स्पष्ट पारेको छ । क्रान्तिको नेतृत्व गरेर मात्र होइन, समृद्धि हासिल गर्ने जनताको चिरकालदेखिको सपना पूर्ण गरेर चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो गौरवमय इतिहास रचेको छ । विकास र सुशासनको मामिला चिनियाँ प्रगति र दृढसंकल्प वास्तवमै प्रेरणादायी छ । कम्युनिस्ट पार्टीहरूले क्रान्तिको नेतृत्व त गर्न सक्छन् तर विकासको गर्न सक्दैनन् भन्ने बुर्जुवा शक्तिको प्रचारलाई चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वले झुटो साबित गरिदिएको छ । तर यस अवस्थासम्म आइपुग्न स्थापनाको समयदेखि हालसम्म चिनियाँ कम्युनिस्ट पार्टीले झन्डै एक शताब्दी लामो, उतारचढावपूर्ण यात्रा तय गरेको छ । यदि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व हुँदैन थियो भने क्रान्तिपूर्वको २८ वर्ष लामो कठिन क्रान्तिकाल र जनवादी गणतन्त्र चीनको स्थापनापछिको सात दशकभित्रै चिनियाँ समाजको रूपान्तरणमा आजको अभूतपूर्व उपलब्धि सम्भव हुने थिएन ।
चिनियाँ कम्युनिस्ट पार्टीले क्रान्तिको नेतृत्व गरिरहेको समयमा चिनियाँ विशेषतासँग मिल्दो अनुशरण गर्न मिल्ने देश वा आन्दोलनहरूसमेत थिएनन् । जे–जस्तो नीति अवलम्बन गर्नुपर्ने थियो, ती सबै आफ्नो अनुभव र क्षमताकै आधारमा गर्नुपर्ने थियो । त्यही बाध्यता र चिनियाँ नेतृत्वको सिर्जनशीलताले ‘माओ विचारधारा’ जन्मायो, जुन चिनियाँ क्रान्तिका लागि मार्गदर्शक सिद्धान्त मात्रै बनेन, संघर्षरत विभिन्न मुलुकका आन्दोलनका लागि पनि प्रेरणा बन्न पुग्यो । माक्र्सवादको रक्षा र प्रवद्र्धनमा सिर्जनात्मक प्रयोगको मामिलामा पनि चिनियाँ अनुभव अब्बल रहँदै आयो । म स्मरण गर्छु– पार्टी इतिहासमा मुख्य मोडहरूको चर्चा गर्दा चिनियाँ मित्रहरू अक्सर तीन प्रमुख विचारधारात्मक मोडहरूबारे चर्चा गर्ने गर्नुहुन्छ ः
सातौं राष्ट्रिय महाधिवशेनद्वारा माओत्से तुङ विचारधाराको स्वीकृति, जसले चीनमा माक्र्सवादको सिर्जनात्मक र नवीन प्रयोग गर्न मार्गप्रशस्त ग¥यो, कमरेड माओको निधनपछि सिर्जना भएको अन्योललाई चिर्दै कमरेड तङ स्याओ पिङद्वारा प्रतिपादित खुलापन र आधुनिकीकरणको नीति, जसले चीनमा विकासको नयाँ युगको प्रादुर्भाव ग¥यो । र, चिनियाँ विशेषतासहितको समाजवाद तथा नयाँ युगका लागि सी चिन फिङ विचारधारा । निःसन्देह अहिलेको समयमा सबै प्रगति र उपलब्धिहरूको श्रेय चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं महामहिम चिनियाँ राष्ट्रपति सि चिन फिङलाई जान्छ । उहाँको सही र गतिशील नेतृत्व एवं चीनको आन्तरिक तथा विश्व व्यवस्थासम्बन्धी उहाँका सुल्झिएका, समायानुकूल र गतिशील सोचहरूको शृंखलाले एउटा विचार प्रणाली (स्कुल अफ थट) को आकार ग्रहण गरेका छन् । जसलाई चिनियाँ कम्युनिस्ट पार्टीले ‘सी चिन फिङ विचारधारा’को नाम र दर्जा दिएको छ । आर्थिक–सामाजिक विकासका अनेक क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गरेर मित्रराष्ट्र चीनले विभिन्न मानक कायम गरी विश्वलाई नै चकित तुल्याइदिएको छ । एक्काइसौं शताब्दीको विकास र सफलताको मार्ग वास्तवमा चीनको विकास र सफलताको मार्गले निर्धारण गर्नेछ भन्नेमा अब धेरैमा भ्रम रहेन । त्यसैले, चिनियाँ मोडेलको विकास दिगो र सफल हुने कुरामा विश्वास गर्न सकिन्छ । यस मोडेलमा ६ संकट प्रकट हुने र देखापरेका चुनौतीहरू सामना गर्न सकिने कुरामा पनि विश्वास गर्न सकिन्छ । किनभने यो विकास, आफ्नै मौलिक जगबाट उठेको, आफ्नै बुद्धि, पसिना एवं प्रयासमा हुर्किएको र व्यापकतालाई अँगालेको हुन्छ । यो मोडेल र यस मोडेलले अँगालेको अबको जमानाको विकास मोडेल, औपनिवेशिक जमानाको जस्तो उपनिवेशका स्रोतमाथि कब्जा जमाएर तिनका पसिनामा सवार भएर हासिल गरिएको कृत्रिम विकास र वैभव होइन । चीन अहिले विश्वको दोस्रो ठूलो अर्थव्यवस्था, औद्योगिक वस्तु उत्पादन गर्ने सबैभन्दा ठूलो देश, वैदेशिक मुद्रा सञ्चय गर्ने विश्वको सबैभन्दा ठूलो देश, व्यापारिक मालवस्तु निर्यात गर्ने विश्वको सबैभन्दा ठूलो देश, वैदेशिक प्रत्यक्ष लगानी गर्ने विश्वको दोस्रो ठूलो देश, विकासका लागि वित्त व्यवस्था गर्ने विश्वकै अगुवा मुलुक र विश्वको आर्थिक वृद्धि र समृद्धिमा महŒवपूर्ण योगदान गर्ने मुख्य देश हो । नेपाल चीनसँग विकास साझेदारी गर्न चाहन्छ । आपसी अन्तरनिर्भरतामा आधारित सम्बन्ध स्थापित गरी दुवै देशबीच लाभकारी सहकार्य स्थापना गर्न सकिन्छ भन्ने हाम्रो साझा निष्कर्ष हो । चीनको घनिष्ठ र नजिकको छिमेकी भएका नाताले आर्थिक–सामाजिक तथा प्रविधि विकासका क्षेत्रमा चीनले गरेको चौतर्फी र तीव्र प्रगतिबाट नेपाली जनता अत्यन्तै खुसी छन् ।
नेपालले हालसालैका वर्षमा महŒवपूर्ण राजनीतिक परिवर्तन तथा उपलब्धि हासिल गरेको छ । द्वन्द्व र अस्थिरतामा रुमलिएर लामो अवधि व्यतीत गरेपछि नेपाल प्रगतिशील र लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको छ । आउने हप्ता तपार्इंहरूले धुमधामसँग मनाउने राष्ट्रिय दिवसजस्तै तीन दिनअघि हामीले पनि भव्य रूपमा राष्ट्रिय दिवसका रूपमा मनायौं । सात दशक लामो अनवरत संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गरी नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम नागरिकका रूपमा स्थापित गर्न सफल भएका दिन अर्थात् संविधान जारी भएको दिनलाई हामीले संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउन थालेका हौं ।
विचारधारात्मक सिर्जनात्मकताका हाम्रा आ–आफ्नै तर समान प्रकृतिका अनुभव तथा ऐतिहासिक मोडहरू छन् । सन् १९७० को दशकको झापा विद्रोहले टुक्रा–टुक्रामा विभाजित तत्कालीन कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र पुनर्जीवित गर्न नयाँ गोरेटो पहिल्यायो । तत्कालीन नेकपा (एमाले) का महासचिव जननेता कमरेड मदन भण्डारीको उदय तथा उहाँले प्रतिपादित गर्नुभएको नौलो सिर्जनात्मक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ले सन् १९९० मा कम्युनिस्ट आन्दोलनमा आएको निराशालाई चिर्न मार्गदर्शन ग¥यो । नेपाल कम्युनिस्ट पार्टी, जनवादी गणतन्त्र चीन स्थापना भएकै वर्ष स्थापित भएको थियो । अनेक टुक्रामा विभाजित नेकपालाई, स्वरूपको हिसाबले सन् १९४० कै अवस्थामा र शक्तिको हिसाबले त्योबेलाको भन्दा कैयौं गुना बलियो, देशकै बलशाली पार्टीका रूपमा एकीकरण गर्ने काम करिब डेढ वर्षअघि सम्पन्न भयो । त्यो एकीकरण प्रक्रिया सन् १९७० कै दशकमा निर्मित नेकपाको अर्को बलियो भँगालो तत्कालीन नेकपा (माओवादी केन्द्र) र तत्कालीन नेकपा (एमाले) बीचको ऐतिहासिक एकतापछि सम्पन्न भयो ।
चीनको तुलनामा हाम्रा आफ्ना केही भिन्न विशेषता छन् । हामीले माक्र्सवादलाई हाम्रा आफ्नै अनुपम र विशिष्ट आवश्यकता र चुनौतीलाई सामना गर्ने गरी स्थानीयकरण गरेका छौं, तदनुरूपको साँचोमा ढालेका छौं । संवैधानिक सर्वोच्चता, आवधिक निर्वाचन, मानवअधिकार, शक्ति पृथकीकरण, शक्ति सन्तुलन र स्वतन्त्र न्यायपालिकाजस्ता कुराहरू समाविष्ट भएको प्रतिस्पर्धात्मक बहुदलीय शासनप्रणाली हामीले अपनाएका छौं । जनतासँग आफूलाई निरन्तर रूपमा जोडिराख्ने तन्तुहरू गुमाएको कुनै पनि राजनीतिक दलले सामाजिक उन्नति थेग्न वा त्यसका लागि योगदान गर्न सक्दैन । आमजनताको अटुट साथ र समर्थनले मात्र राजनीतिक दलहरूलाई सामाजिक रूपान्तरण गर्न र सुशासन प्रदान गर्न सक्षम बनाउँछ ।
तत्कालीन एमाले र माओवादी केन्द्र बीचको एकीकरणपछि जनताको जनवाद नेकपाको सिद्धान्त हो । ‘जनता’ शब्द हाम्रो जनवादको वर्गीय सार हो । प्रतिस्पर्धामा आधारित बहुदलीयता हाम्रो शासन प्रणालीको रूप हो । नेपाली समाजको विविधतायुक्त सामाजिक सांस्कृतिक जगमा आधारित विशिष्टतालाई समुचित सम्बोधन गर्न हामीले यस प्रकारको सिर्जनात्मक प्रयोग गरेका हौं । हामी विविधता र बहुलताको सम्मान गर्दछौं र माक्र्सवादले जोड दिने मूल आधारहरूप्रति समेत उत्तिकै कृतसंकल्पित छौं । कम्युनिस्ट पार्टीको भूमिका प्रकाश देखाउने मसालवाहकको झैं अनुपम र विशिष्ट हुने गर्दछ । यसले कैयौं मुलुकमा क्रान्तिको नेतृत्व गरी सामाजिक– आर्थिक रूपान्तरणको अगुवाइ गरेको छ । त्यसो हुँदा समृद्धि र सुशासनका लागि कम्युनिस्ट पार्टीको भूमिका अपरिहार्य रहन्छ । हामीलाई लाग्छ, त्यस्तो भूमिका प्रतिस्पर्धात्मक प्रणालीमार्फत गर्न सकिन्छ । तर, कम्युनिस्ट पार्टी अनुशासित र एकताबद्ध हुनैपर्छ । कुनै बहाना या नाममा अराजकता, गुटबाजी र विखण्डन सह्य र स्वीकार्य हुनै सक्दैन । पार्टीले अँगीकार गरेको विचार जति राम्रा भए पनि त्यस्ता प्रवृत्तिहरूले ती राम्रा विचारलाई समाप्त बनाउँछ ।
गत वर्ष भएको मित्रराष्ट्र चीनको राजकीय भ्रमणका बेला मैले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय पार्टी स्कुल, बेइजिङमा सम्बोधन गर्ने मौका पाएको थिएँ । सो अवसरमा मैले हामीले अपनाएका केही सारभूत सिद्धान्त निम्नानुसार रहेको उल्लेख गरेको थिएँ ।
१. हाम्रा मूल क्रान्तिकारी भावना र आदर्शहरू ओइलाउन नदिन हामीले समुचित बन्दोबस्त गरेका छौं । दलीय राजनीतिमा प्राप्त सफलताले कार्यकर्ता पंक्तिमा आउन सक्ने आत्मसन्तुष्टिमा रमाउने प्रवृत्ति तथा पार्टीका असल उद्देश्यबाट विचलित हुन सक्ने खतराप्रति हामी सचेत छौं । कमरेड माओले भनेझैं ‘शत्रुले परास्त गर्न नसकेका सहयोद्धाहरू विलास, अकर्मण्यता, भ्रष्ट आचरण तथा आत्मप्रसंशाजस्ता मीठा गोलीले ढल्न सक्छन् ।’ म विश्वस्त छु, नेपाली तथा चिनियाँ दुवै देशका समाजवादी प्रारूपले यस कुरालाई बुझेका छन् ।
२. पुँजीवाद निर्देशित सामाजिक उन्नतिको कथनमार्फत पुँजीवाद र बुर्जुवा संस्कृतिबाट हाम्रो आन्दोलन पथभ्रंश हुन सक्छ भन्ने तथ्यप्रति हामी सचेत छौं । हामीले के देखेका छौं भने समाजको उपल्लो तहलाई समृद्ध बनाए पनि, नवउदारवादले केही व्यक्तिको वर्ग रूपान्तरण गरे पनि, अन्ततः पुँजीवादले न्यायपूर्ण, समानतापूर्ण र जनकेन्द्रित विकाससहितको समाज स्थापना गर्न सक्दैन । जनताले अनुभूत गर्न सक्ने असली प्रगति समाजवादमा मात्र सम्भव छ ।
३. पार्टीका मूल सिद्धान्त, आदर्श तथा दृष्टिकोणसँग अविचलित राखिराख्न पार्टीका कार्यकर्ता पंक्तिलाई निरन्तर प्रशिक्षित, अभिमुखीकरण र मार्गदर्शन गरिराख्ने काम गर्नु आवश्यक छ । हाम्रो ध्यान युवापुस्तामा केन्द्रित हुनुपर्दछ, जसमा बल, ऊर्जा र सिर्जनात्मक शक्ति प्रचुर हुन्छ । तथापि, आक्रामक रूपले फैलिरहेको विश्व पुँजीवादको प्रभावले युवा समूहमा व्यक्तिवाद, उपभोक्तावाद तथा सामाजिक दायित्वबाट विमुख हुने प्रवृत्ति बढ्दो छ । तसर्थ, क्रान्तिमा परिपक्व भएका लामो अनुभवी पुस्ता र ऊर्जाशील युवापुस्ताबीचको खाडल पुर्न हामीले विशेष ध्यान दिनुपर्दछ ।
४. माक्र्सवादको रक्षा, प्रवद्र्धन तथा सिर्जनात्मक प्रयोग गर्नुपर्दछ । नवीन विचार तथा सोचप्रति हामी सदैव खुला रहनुपर्दछ । नवप्रवर्तन र सिर्जनात्मकताको विकास हुने यसरी नै हो ।
अन्तमा, राजनीतिक दलले अनुकरण गर्नैपर्ने कुनै खास सूत्र हुँदैन । जतिसुकै सुन्दर भए पनि नक्कल, नक्कलै हो, त्यसो गर्नुहुँदैन । त्यो दिगो पनि रहन्न, अर्काको अनुकरणबाट सफलतामा पुग्नै सकिन्न । माक्र्सवाद सफल त्यतिखेर मात्रै हुन्छ, जब त्यसलाई हरेक देशले आफ्नै मौलिक परिस्थितिअनुरूप प्रयोग गरेको हुन्छ । चीनले आफ्नै ढाँचाको समाजवादी मोडेल प्रस्तुत गरेको छ । हामीले परिवर्तन र विकासको आफ्नै परिवेश अन्तर्राष्ट्रिय परिस्थिति अनुरूपको नितान्त आफ्नै मोडेल अपनाएका छौं । यसरी हाम्रा दुई पार्टीहरू ‘जुत्ताको नापमा खुट्टा काट्ने’ होइन परिस्थितिको ठोस विश्लेषण गर्दै आ–आफ्ना मुलुकको धरातलीय यथार्थताका आधारमा सिर्जनात्मक तरिकाले माक्र्सवादको प्रयोग र विकासमा समर्पित छन् ।
सम्बन्धित समाचार
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply