आत्मविश्वासका साथ अस्पतालबाट डिस्चार्ज हुँदै प्रधानमन्त्री
काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा राम्रो सुधार हुँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जले डिस्चार्ज गर्ने अन्तिम तयारी गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर मिर्गौला प्र्रत्यारोपणमा संलग्न चिकित्सकहरूको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइसकेको र डिस्चार्ज गर्ने अन्तिम तयारी भइरहेको जानकारी गराएका छन् । मिर्गौला प्रत्यारोपण सफल हुनेमा विश्वस्त हुँदै अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली सरकार र पार्टी नेतृत्वमा क्रियाशील हुन स्वास्थ्यले पूर्ण साथ दिने थप आत्मविश्वासका साथ बालुवाटार फर्किनेछन् । त्यसो त अस्पताल भर्ना हुने क्रममा पनि प्रधानमन्त्री ओलीले थप ऊर्जा र उत्साह बोकेर सफल मिर्गौला प्रत्यारोपणपछि देश र जनताको काममा जुट्ने भन्दै भिडियो सन्देश जारी गरेका थिए ।
गत २१ फागुनमा सफल रूपमा मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा दिनहुँ सुधार भइरहेको छ । उनी अहिले यताउति हिँडडुल गर्ने, कुराकानी गर्ने, खाना खानेलगायत सामान्य काम गर्न सक्ने अवस्थामा पुगेका छन् । सामान्यतया प्रत्यारोपण भएको बिरामीलाई पाँच दिनभित्र डिस्चार्ज गर्ने अस्पतालको अभ्यास रहे पनि चिकित्सकहरूले भने उनलाई केही दिन अस्पतालमै राखेर निगरानी गर्न चाहे । सोही कारण ढिलाइ भए पनि आज वा भोलि डिस्चार्ज गर्ने अस्पतालको तयारी रहेको बुझिएको छ । प्रधानमन्त्रीको बलियो आत्मबलले पनि स्वास्थ्य सुधारमा उल्लेख्य भूमिका खेलेको भन्दै चिकित्सकहरूले अब कम्तीमा एकदेखि डेढ महिना भीडभाड र धपेडीबाट टाढै राखेर आरामका लागि समय दिनुपर्ने सुझाव दिएका छन् । मिर्गौला प्रत्यारोपण गरेको बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले केही समय संक्रमणको उच्च जोखिमबाट जोगिनुपर्ने चिकित्सकहरूको निष्कर्ष छ ।
प्रधानमन्त्रीको दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपणपछि खुसियाली छाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, मन्त्रीहरू, सरकारी अंगका उच्च अधिकारीहरू, सयौं नेता तथा कार्यकर्ताहरू, समर्थक, शुभेच्छुकहरू अस्पताल पुगेका थिए । सफल शल्यक्रियाको सात दिनसम्म अस्पतालमा अझै भीड घटेको छैन । कतिपय उनका शुभचिन्तक अस्पतालमै टेन्टभित्र बसेर पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण महाराजगञ्जस्थित युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्राडा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्राडा प्रेम ज्ञवालीको नेतृत्वमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको थियो । प्रत्यारोपणमा ‘ब्याक सपोर्ट’का लागि प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार पनि नेपाल आएका थिए । १२ वर्षअघि २०६४ साउनमा उनकै नेतृत्वमा दिल्लीस्थित एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गरेकी छन् । त्यस निम्ति प्रधानमन्त्री ओलीसँगै उनी पनि अस्पताल भर्ना भएकी थिइन् । उनको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको बताइएको छ । स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णय र त्यसले प्राप्त गरेको सफलतापछि मुलुकको चिकित्सा क्षेत्र मात्रै होइन, आमजनता उत्साहित छन् । देश, जनता र यहाँका चिकित्सकप्रति प्रधानमन्त्रीको विश्वासले नयाँ ऊर्जा पैदा गरेको र त्यसले मुलुकको चिकित्सक क्षेत्रमा मात्रै होइन, राजनीतिक क्षेत्रमा समेत गहिरो छाप छाड्ने विश्लेषण गरिएको छ । अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले भनेका थिए, ‘आफ्नै मुलुकमा, आफ्नै मुलुकका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गर्ने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्त खुसी पनि छु । भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ ।’
९० वर्षीय पिता मोहनप्रसाद ओलीको आशीर्वाद लिएर अस्पताल प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा भिडियो सन्देश जारी गरेका थिए । त्यसमा उनले मिर्गौला प्रत्यारोपणपछि थप ऊर्जा र आत्मविश्वास लिएर आफू पुनः काममा फर्कने विश्वास व्यक्त गरेका थिए । आफ्नो स्वास्थ्यलाई लिएर सबैलाई ढुक्क रहन आग्रह गर्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्किने बताएका थिए । प्रत्यारोपणका लागि उच्च मनोबलका साथ मुस्कुराउँदै अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली नभन्दै थप दृढ विश्वास र ऊर्जाका साथ सरकारी निवास बालुवाटार फर्किने तयारीमा छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply