संगठन ठूलो कि नीति, सिद्धान्त ?
राजनीतिक पार्टी वा संगठन निश्चित नीति, विचार, सिद्धान्त, मूल्य, मान्यता, कार्यक्रम आदिको व्यवस्थापन र समायोजनले संचालित हुन्छ र हुनुपर्छ । संगठन र पार्टी भनेको निश्चित सिद्धान्त, विचार, नीति र कार्यक्रमबाट चल्ने गतिशील मानवीय संरचना, अभियान र आन्दोलनको नाम हो । राजनीतिक संगठन र पार्टीमा राजनीति र कार्यक्रम पहिलो आधारभूत कुरा हुन्छ । राजनीतिक पार्टी र संगठन सञ्चालन गर्ने निश्चित विधि, प्रणाली र प्रक्रिया दोस्रो महत्वपूर्ण शर्त हो । निश्चित प्रकारको संगठन र त्यसको विधिसम्मत्त व्यवस्थापन अर्काे अनिवार्य विषय हो । राजनीतिमा पार्टी र संगठन, जनता, नागरिक र राज्य प्रणालीसँगको सहकार्य गर्ने औजार हो । यसैले, राजनीतिक पार्टी सञ्चालनका लागि उसले आफ्नो सिद्धान्त, विचार, दर्शन बनाएको हुन्छ र बनाउनुपर्दछ ।
सिद्धान्तलाई लागू गरी अघि बढ्न सो अनुकूलको राजनीतिक संगठनको आवश्यकता पर्दछ । संगठनलाई निश्चित विधि र प्रक्रियाबाट संचालन गर्न त्यहाँ विधि, पद्धत्ति, विधान, नियम, न्यूनतम मूल्य आदिलाई संस्थागत गरिएको हुन्छ र हुनुपर्दछ । निश्चित विधिमा पार्टी संचालन हुन सकेन भने त्यो अराजक भीडमा परिणत हुन पुग्छ । अराजक भीड जति नै ठूलो भए पनि त्यसले लक्ष्य लिन र उत्कृष्टता हासिल गर्नै सक्दैन । भीडले नेताको उक्साहटमा वा अन्य कारणबाट बिगार्न, भत्काउन, नाश गर्न, नोक्सान गर्न, विभिन्न प्रकारका क्षति गर्न सक्ने क्षमता राख्छ । तर निर्माण गर्न, बनाउन, सुधार गर्न, सच्चाउन, सत्कार्य सम्पन्न गर्न, तथा समग्र व्यवस्थापन गरी निश्चित लक्ष्यमा पुग्न भने उद्देश्यमूलक विचार, सिद्धान्त र कार्यक्रमसहितको निश्चित संगठन चाहिन्छ । र, त्यसलाई सञ्चालन गर्ने स्थापित विधि र प्रक्रिया आवश्यक पर्छ । स्थापित विधि, प्रक्रिया र पद्धत्तिले संगठनलाई सहकार्य, सहमति र एकताको सूत्रमा बाँध्न सहयोग गर्दछ । विधि, प्रक्रिया र प्रणाली बनाइन वा लागू गरिएन वा उल्लंघन गर्ने तरिका भयो भने त्यसले अराकता र विधिहीनता निम्त्याउँदछ । त्यस्तो तरिकाले संगठनमा चौतर्फी अराजकता सिवाय केही दिँदैन । अराजकता, नीतिहीनता, विधिहीनता, सिद्धान्तहीनता, प्रणालीहीनताजस्ता पक्षले संगठन खासमा संगठन रहँदैन । यस्तो संगठनको कुनै भविष्य पनि हुँदैन । यस्ता सबै पक्ष र विषयको तर्कसम्मत्त, विधिसम्मत्त, वस्तुगत तथा विज्ञानसम्मत व्यवस्थापन गर्न सक्नु संगठनको मूल कार्य हो । व्यवस्थापनका व्यापक पक्ष र पाटा हुन्छन् । नीति विचारको व्यवस्थापनदेखि लिएर कार्यक्रमको व्यवस्थापन तथा संगठनकै पनि व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।
संगठनको जिम्मेवारी र पदीय व्यवस्थापनको पक्षले पनि संगठन र पार्टीमा ऊर्जा थप्ने र ऊर्जा गिराउने कार्य गर्ने हुन्छ । जिम्मेवारीमा अन्याय भयो र पक्षपात गरियो भने त्यसले संगठनमा लाग्नेहरूको मनोबल गिराउने कार्य गर्छ । मनोबल गिरेको संगठनले केही गर्न सक्दैन । त्यसैले, समग्र पक्षमा ऊर्जा र उत्साह ल्याउन नीति, विचार, कार्यक्रम, संगठन सबैतिर आवश्यक समन्वय, सहकार्य, व्यवस्थापन तथा अन्तरसम्बन्धको मान्यतालाई ख्याल गर्नुपर्ने हुन्छ । अन्तरसम्बन्ध र व्यवस्थापनको अर्थ र महŒव बुझ्न सकिएन भने संगठन मात्र होइन केही पनि चल्दैन ।
राजनीतिक विचार र संगठन
राजनीतिक विचार र संगठन जनता र नागरिकलाई गोलबन्द गर्ने मान्यता र विधि हो, तरिका र प्रक्रिया हो । राजनीतिक विचार, नीति र मान्यतालाई सामाजिक विचार र सांस्कृतिक प्रणालीलाई समेत नेतृत्व गर्ने अवधारणा हो । राजनीतिक विचार र संगठनलाई आलोचनात्मक र विधिसम्मत्त ढाँचामा अघि बढाउन सहयोग गर्ने मूल्य हो । विचार र संगठनलाई विश्वव्यापी मान्यता र मूल्यसँग समायोजन गर्न सहयोग गर्ने दार्शनिक औजार हो । राजनीतिक विचार र संगठनले मानवीय मूल्य, मानवीयता, मानवीय व्यवहारलाई निर्देशित गर्न सहयोग गर्दछ । विचार, सिद्धान्त, नीति र संगठनलाई गतिशीलतामा बुझ्ने र व्याख्या गर्नुपर्दछ । राजनीतिक विचार, संगठन, नीति, सिद्धान्त र कार्यक्रमलाई समय, औचित्य, आवश्यकता र वस्तुगत विश्लेषणको आधारमा आवश्यक परिमार्जन र सुधार गर्दै लगिने र लान सकिने कुरा हो । संगठनलाई त्यसैले पनि निश्चत विधिमा अघि बढाउनुपर्ने हुन्छ । नीति, विचार, कार्यक्रम, सिद्धान्त, मूल्य र मान्यता आदिको सम्बन्धमा विभिन्न स्तरमा छलफल र बहस गर्नु गतिशील संगठनका लागि न्यूनतम आवश्यक कुरा हो ।
सिद्धान्त र जनता
राजनीतिक पार्र्टी जनताद्वारा जनताको हित र राजनीतिक तथा सामाजिक आवश्यकताको सुरक्षाका लागि खोलिने मानवीय समूह र संरचना हो । सिद्धान्त, विचार र नीति जनताको हितका लागि हुनुपर्छ । त्यसैले जनता र नागरिकको तहबाट आएका आलोचना र सुझावलाई आत्मसात् गर्न सक्नुपर्छ । नीति, विचार, कार्यक्रम र सिद्धान्तलाई वैज्ञानिकता र यथार्थतामा बुझ्ने र व्याख्या गर्ने कुरा हो । पार्टी र संगठनमार्फत राज्य सञ्चालनको प्रणालीमा सुधार र परिवर्तनका लागि सहकार्य गर्ने कुरा हुन्छ । मुलुकको संवैधानिक र कानुनी प्रणालीलाई जनता र सार्वजनिक हितमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराले जनताको बृहत् हितको सुरक्षा हुन सहयोग गर्छ । राजनीतिक विचार, सिद्धान्त, नीति, कार्यक्रम र राजनीतिक संगठनका कुरा अन्तरसम्बन्धित विषय हुन् । गतिशील संगठनबिनाको नीति विचार, कार्यक्रम, सिद्धान्त, मान्यता दराजमा राखिएको पुस्तकभित्र रहेको कालो अक्षरजस्तो मात्र हो । नीति, विचार, कार्यक्रय, विधि, प्रणाली, सिद्धान्त नभएको संगठन असनको भीडजस्तो हुन्छ । जसमा मानिस पनि हुन्छन् । गति पनि हुन्छ । क्रियाकलाप पनि हुन्छ । तर निश्चित आकार हँुदैन । निश्चित लक्ष्य, उद्देश्य, कार्यक्रम, योजना केही पनि हुन्न । सामूहिकता भन्ने कुरा केही हुन्न । भीडमा साझा कुरा र सामूहिकता खोज्न सकिन्न । त्यसैले भीडमा कसैको लक्ष्य, मान्यता, सिद्धान्त कसैसँग मिल्दैन । यसैकारण निश्चित नीति, विचार, सिद्धान्त संगठन आवश्यक हुन गएको हो । निश्चित संगठनसहितको नीति, विचार, सिद्धान्त, कार्यक्रमले मात्र केही गर्न सक्छ । र, नीति, विचार, सिद्धान्त, लक्ष्य आदि भएर मात्र संगठन रहन सक्छ ।
राजनीतिक नैतिकता र व्यवहार
राजनीति एउटा आदर्श विचार, सिद्धान्त र दर्शन हो । यस्तो दर्शन मानिसको बृृहत् हितको सुरक्षा गर्न प्रयोग गर्न राजनीतिक पार्टी र संगठनको आवश्यकता पर्ने गर्छ । राजनीतिक दर्शन, सिद्धान्त, विचार र मान्यता नभएको राजनीतिक संगठन भुत्ते हतियारजस्तो हुन्छ । राजनीतिक विचार र सिद्धान्त तथा संगठनको सम्बन्ध मानिससँग हुने भएकाले त्यसमा मानिसका मानवीयता, नैतिकता, मानवीय मूल्य, सदव्यवहार, गुण, आदत र कार्यशैलीको ठूलो भूमिका र अर्थ रहेको हुन्छ । राजनीतिक संगठन सञ्चालन मानिसले नै गर्ने भएकाले जबसम्म मानिसमा न्यूनतम नैतिकता, मूल्य र मानवीय व्यवहार बच्न सक्छ तब मात्र विचार, सिद्धान्त, कार्यक्रम र संगठन प्रभावकारी बन्न सक्छ । राम्रो सिद्धान्त र उत्कृष्ट संगठन भएर पनि नेतृत्व गर्ने नेतृत्वकर्तामा आधारभूत नैतिकता र व्यवहार भएन र पालना गरिएन भने त्यो झूटो सिद्धान्त र कमजोर संगठन बन्न पुग्छ । त्यसैले, राजनीतिक विचार, सिद्धान्त र संगठनको सम्बन्धको चर्चा गरिन्छ भने स्वाभाविक हिसाबले त्यहाँ नेतृत्वकर्ताको आधारभूत नैतिकता तथा मानवीय व्यवहार हुनैपर्ने हुन्छ ।
निष्कर्ष
राजनीतिक पार्टी र संगठनमा नीति, विचार, सिद्धान्त, कार्यक्रम, लक्ष्य, उद्देश्यजस्ता पक्ष अन्तरसम्बन्धित विषय हुन् । विचार र सिद्धान्तले संगठन चल्ने हुन्छ भने संगठन भएर नीति, विचार, कार्यक्रम लागू गर्न सकिन्छ । यस अर्थमा एकको अभावमा अर्काे बाँच्न कठिन हुन्छ । आर्दश र विचारकका दर्शनलाई पनि त्यसलाई पालना र सम्मान गर्ने तथा बुझ्ने मानिसहरूको खाँँचो पर्छ । गौतम बुद्धका विचार र दर्शन पनि यसकारण मान्य र जीवित छन् कि त्यहाँ त्यो मान्यता र विचारलाई आदर्श ठान्दै पालना गर्नेहरूको संख्या अत्यधिक रहेको छ । यस अर्थमा विचार, दर्शन र मूल्यको पालना गरिदिने मानिस भएन भने त्यो विचार केवल विचार मात्र रहन्छ । यसैले राजनीति र राजनीतिक पार्टीमा विचार, सिद्धान्त, नीतिको घनिष्ठ अन्तरसम्बन्ध रहेको हुन्छ । यी दुवैको सन्तुलन मिलाउन सक्नु तथा व्यवस्थापन गर्नु नै उत्कृष्ट नेतृत्वको कला र क्षमता हो ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply