नेकपा विचारको नाभि ः बहुलवाद र बहुदलीयता
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नजानिँदो पाराले वैचारिक बहस सुरु भएको छ । बहसमा खासगरी तीनवटा पदावली चर्चामा छन् । ती हुन्– बहुलवाद, बहुदलीयता र समाजवाद । यिनै पदावलीको सेरोफेरोमा बहसलाई केन्द्रित गर्ने मनशायले यो आलेख तयार पारिएको छ ।
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीले प्रस्ताव गरेको र पाँचौं महाधिवेशनको अत्यधिक बहुमतले पारित गरेको कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ का १४ विशेषतामा ‘बहुलवादी खुला समाज’ लाई दोस्रो नम्बरमा राखिएको छ । त्यसको पेटबोलीमा भनिएको छ, ‘प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रका निम्ति सोच्ने र बोल्ने तथा आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्छ । यो स्वाभाविक र प्रकृतिसंगत कुरा हो । त्यसको उल्टो केवल शासक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाइने र विरोधमा मुख खोल्न नपाइने व्यवस्था अरू पक्षमा जतिसुकै राम्रो भए पनि टिकाउ हुन सक्दैन । प्रत्येक व्यक्तिलाई सरकार, राजनीतिक पार्टीहरू, सामाजिक संस्थाहरू, नेताहरू र अधिकारीहरूका बारेमा आफूलाई लागेका कुराहरू स्वतन्त्र रूपमा बोल्न दिनुपर्छ । मुलुकको संविधान र नियम कानुनको आधारमा प्रेस र पर्यटनको स्वतन्त्रता हुनुपर्छ । बाहिरी दुनियाँबाट अलगथलग, बन्द र एकोहोरो समाज हुनुहँुदैन । कम्युनिस्ट पार्टीले शासन चलाएका कतिपय देशमा बहुलवाद र खुलापन रहेन र त्यसको परिणाम पनि राम्रो भएन । हामी बहुलवाद र खुला समाजको पक्षमा छौं ।’
लामो समयदेखि नयाँ जनवादी वैचारिक धरातलबाट आएको तत्कालीन एमालेले जनताको बहुदलीय जनवादी अभ्यास सुरु गरेसँगै तत्कालीन चौथो महाधिवेशन पक्षले माओवादी अभ्यास सुरु गरेको थियो । सो पक्षको खुला मोर्चा जनमोर्चा नेपालको ब्यानरमा २०४८ सालमा चुनावमा ९ सिट पाएको तर २०५१ सालको मध्यावधि चुनावमा शून्य सिट पाएपछि ‘जनयुद्ध’ मा होमिए पनि ‘सर्वपक्षीय गोलमेच सम्मेलन’, ‘संविधानसभाको चुनाव’ र ‘लोकतान्त्रिक गणतन्त्र’को नारामा आइपुग्दा सो पक्षले ‘बहुलवाद’लाई निषेध नगरी लुकाएर ल्याएको थियो । किनभने, ती तीनवटै नारामा बहुलवाद अन्तर्निहित थियो । त्यही वैचारिक कडी हो, जसले तत्कालीन एमाले र माओवादीलाई नजिक बनाउँदै एकताको बिन्दुमा पु¥यायो ।
त्यही निष्कर्ष नेकपाको अन्तरिम विधानमा अभिव्यक्त भएको छ । अन्तरिम विधानको प्रस्तावनामा लेखिएको छ, ‘जनताको बहुदलीय जनवाद अवलम्बन गर्दै आएको नेकपा (एमाले) र माओवाद र २१औं शताब्दीको जनवाद अबलम्बन गर्दै आएको नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट निर्मित यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायापलिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ ।’
आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा ‘बहुलवाद’ एक अभिन्न अंगका रूपमा रहेको छ । बहुलवादका खास केही मान्यता छन् ः
– स्रोत, साधन र त्यहीअनुसार शक्ति पनि समाजमा छरिएर रहेको हुन्छ ।
– कमसेकम केही स्रोत र साधन सबैका लागि उपलब्ध हुन्छन् ।
– कुनै पनि समय वास्तविक शक्तिभन्दा सम्भावित शक्ति अधिक हुन्छ ।
–कोही पनि सर्वशक्तिमान् हँुदैन आदि ।
यो पृष्ठभूमिमा नेकपाका नेताद्वय देव गुरुङ र विशाल खड्काले बहुलवादलाई नेकपाको प्रमुख दुस्मनका रूपमा रहेको प्रमाणित गर्न निकै पापड बेलेका छन् । नेता गुरुङले भनेका छन्, ‘स्वाधीनतासहित समाजवादको दिशामा जाने या जनताको बहुदलीय जनवाद भन्दै सामन्तवादविरोधी आन्दोलनको बेला अंगीकार गरिएको पुरानै बहुदलीय व्यवस्थालाई समाजवादी क्रान्तिको चरणमा पनि निरन्तर रूपमा बहुलवादलाई अंगीकार गर्ने वर्तमान वर्गसंघर्षको विशेषताअनुरूप त्यसको प्रतिबिम्बन कम्युनिस्ट पार्टीभित्रको अन्तरसंघर्षमा पनि स्वतः पर्छ र यी दुई कार्यदिशा प्रकट हुने गर्दछ । बहुदलीयताले यथास्थितिको कार्यदिशालाई जनाउँछ । त्यो भनेको संसद्वाद हो । संसद्वाद भनेको अर्को शब्दमा बहुलवाद हो । बहुलवाद साम्राज्यवादको सिद्धान्त हो ।’
अर्का नेता खड्का लेख्छन्, ‘आज बहुदलीय जनवाद (जबज) क्रान्तिको चक्रलाई उल्टो दिशा दिन खोज्ने र व्यक्तिगत एवं गुटगत प्रतिस्पर्धालाई सबैथोक ठान्ने बहुलवादी चिन्तन एकैचोटि हाबी हुँदै गइरहेको छ । बहुलवाद, समाजवादी यात्राको डरलाग्दो तगारो हो, जो पुँजीवादी घरमा जन्मिएर कम्युनिस्ट चुलोमै हुर्किंदै कम्युनिस्ट आन्दोलनलाई नै रोक्न लागिरहन्छ । यसले इतिहास निर्माणमा जनसमुदायको भूमिकालाई नकार्दछ र सत्यता भनेको जीवन र जगत्को वस्तुगत यथार्थ हो भन्ने यथार्थता विपरीत निजी अनुभवको विषय हो भनेर व्याख्या गर्छ । व्यक्तिको अनुभवलाई सिद्धान्त भनेर सत्यताविरुद्ध भ्रमको खेती लगाउँछ । यसरी हेर्दा ज्ञान दर्शनको क्षेत्रमा बहुलवाद आत्मर्निभर अनुभववाद हो भने चिन्तनमा हेर्दा बहुलवादले गैरपक्षधरतावाद वा तटस्थतावाद देखाइरहेको हुन्छ । व्यावहारिकताका नाममा विचारको गहन बहसबाट कटाउने र आन्दोलनलाई दिशाविहीन बनाउने अनि विषयको सारतŒवमा नगईकन श्रमजीवी वर्ग र समुदायको मुद्दालाई उनीहरूसँगै टाढा छाडिदिए र भएका व्यक्तिव्यक्ति सम्बोधनलाई समाधान सम्झने विधि अवलम्बन गर्दछ । जो माक्र्सवादविपरीत चरम व्यक्तिवादी सिद्धान्त र दृष्टिकोण हो ।’
कम्युनिस्ट आन्दोलनमा बहुलवादसम्बन्धी मदन भण्डारीको तर्क, यसका वास्तविक आयाम र यी नेताको बुझाइमा आनका तान फरक छ । आधारभूत रूपमै भिन्न छ । तर, कसैले नचाहेर पनि नेपाली समाज बहुलवादी समाज नै हो र यसलाई बलपूर्वक एकांकी समाजमा बदल्न सकिन्न । बिनातथ्य मन नपरेको विचारलाई साम्राज्यवादी विचार र मन नपरेको मान्छेलाई साम्राज्यवादी दलाल भनेर आरोपित गरेर नेताको जिम्मेवारी पूरा हुदैन कि ?’
स्थापनाकालदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनले बहुदलीयतालाई मान्दै र आत्मसात् गर्दै आएको छ । पार्टी स्थापनापछि जारी भएको नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चामा प्रयोग भएका ’प्रजातन्त्र’, ‘पूर्ण नागरिक स्वतन्त्रता’, ‘लोक जनवाद’ जस्ता शब्दले बहुदलीयतासंगको सामीप्य दर्शाउछन् । २०१५ सालको चुनावमा नेकपाको प्रतिस्पर्धादेखि अहिलेसम्मका नेकपाले भाग लिएका बहुदलीय प्रतिस्पर्धाले यही प्रमाणित गरेका छन् । अरू त अरू ‘जनयुद्धको भट्टीबाट उत्सर्जित २१औं शताब्दीको जनवाद’ ले पनि बहुदलीयतालाई अस्वीकार गर्न सकेको छैन । अनि बहुदलियताले यथास्थितिको कार्यदिशा समाउँछ भनेर तर्क गर्न सुहाउछ ?
जसरी नेपालमा नौलो जनबादबारे कम्युनिस्ट पार्टी गठन भएयता हालसम्म पनि कतिपय नेताहरूमा भ्रम बाँकी छ, त्यसरी नै वैज्ञानिक समाजवादबारे पनि काफी भ्रम छ । करिब एक शताब्दी अघि वैज्ञानिक समाजवादका व्याख्याताहरूले वैज्ञानिक समाजवाद भनेको योग्यताअनुसारको काम, कामअनुसारको दाम भन्ने परिभाषा गरेका थिए । योग्यता अनुसारको काम दिलाउन र कामअनुसारको दाम दिलाउन समाजवादी राज्यले देशको स्रोतसाधनलाई आफ्नो जबर्जस्ती नियन्त्रणमा लिई वितरणको नीति अवलम्बन गरेको थियो । त्यसो गर्दा जनताको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास मात्र आएन, व्यक्तिको नैसर्गिक स्वतन्त्रतामाथि समेत प्रहार ग¥यो । समाजवादका व्याख्याताहरूले समाजवाद प्राप्तिका लागि पूर्ण स्वतन्त्रता आवश्यक हुन्छ भन्ने साझा निष्कर्ष निकाले पनि व्यवहारमा राज्य नियन्त्रित समाजवादको अभ्यास हुन पुग्यो ।
एक शताब्दी अगाडिको विश्व र वर्तमान विश्व परिस्थितिमा आमूल भिन्नता आइसकेका कारण त्यो बेलाको समाजमा उपयुक्त मानिएको समाजवाद वर्तमान विश्वको कुनै कुनामा पनि लागू हुन सक्दैन । त्यतिबेला, व्यक्तिको भूमिमाथिको अधिकार र उद्योग कलकारखाना माथिको स्वामित्वलाई प्रमुख रूपमा हेरिन्थ्यो भने अहिले व्यक्तिको प्रविधि र सीपको पहुँच, जग्गा जमिन र उद्योगधन्दामाथिको उसको स्वामित्वभन्दा प्रभावशाली र मूल्यवान् हुँदै आएको छ । गुगल, फेसबुक, ट्वीटर, टिकटक, विच्याट आदिका सञ्चालकहरूले संसारमा पार्ने प्रभाव र कमाउन सक्ने आर्थिक लाभ हजारौं एकड जमिन वा विश्वका ठूल्ठूला उद्योगधन्दाले प्राप्त गर्ने मुनाफाभन्दा कम छैन । उनीहरू कतिपयको वार्षिक आम्दानी नेपालको कैयांै वर्षको बजेटबराबर छ । त्यसकारण उत्पादनका साधनमाथिको स्वामित्व नभएको व्यक्तिलाई कार्ल माक्र्सले सर्वहारा भनेर परिभाषा गरे तर अहिले उल्लिखित सीप र सूचना भएमा त्यो ‘सर्वहारा’ छोटो अवधिमै विश्वको सबभन्दा धनी मानिस हुन बेर लाग्दैन । विडम्बना हाम्रो देशमा हालसम्म पनि क्रान्तिकारी भूमिसुधारका नाममा जग्गा बाँड्ने र खोस्ने लुकामारी चलिरहेको छ । आज कुनै व्यक्तिलाई बासका लागि एक टुक्रा जमिन दिनुभन्दा उसलाई बाँच्न सीप, योग्यता र सूचनाबाट समृद्ध पार्नु बढी आवश्यक छ । ‘माछा दिनुभन्दा माछा मार्न सिकाउनु बेस हुन्छ’ भन्ने चिनिया उखान यहाँ स्मरणीय छ । समुचित भूउपयोग नीति निर्माण गर्नु आवश्यक छ । न कि दशकौं अगाडि व्यवहारमा रहेको भूमि वितरण ।
नेपालको कम्युनिस्ट आन्दोलन म्याद सकिएको औषधिजस्तो विचार मात्र बोकेर अब अगाडि बढ्न सक्दैन । देशको वस्तुगत अवस्थासँग असान्र्दभिक विचारहरूको भजन गर्न छाडेर विश्व कम्युनिस्ट आन्दोलनले अनुभव गरेर आएका विभिन्न विचार र घटनालाई सन्दर्भ सामग्रीका रूपमा लिएर नेपालको वर्तमान वस्तुगत परिस्थितिको ठोस विश्लेषणका आधारमा प्रतिस्पर्धामा आधारित समाजवाद निर्माणका लागि नया कार्यनीति रणनीतिको निर्माण गर्नु आवश्यक छ । अन्यथा, नेपालको कम्युनिस्ट आन्दोलनको रथ अघिअघि र घोडा पछिपछि हुने परिस्थितिको सिकार हुन बेर लाग्दैन । समग्र कम्युनिस्ट आन्दोलनका लागि जसरी नयाँ विचारको आवश्यकता छ, त्यसरी नै त्यो विचार बोक्ने क्रान्तिकारी पार्टीको आवश्यकता रहन्छ । परिवर्तन, अग्रगमन र भावी कार्यनीतिक कार्यदिशालाई पुराना आँखाले हेर्ने परिपाटी कायम रहेसम्म वर्तमान अवस्थामा ताŒिवक परिवर्तनको अपेक्षा गर्न सकिँदैन । यो त केवल साथी डुब्न लाग्दा त्यसलाई कसरी बचाउने भन्ने उपाय किताबमा खोज्ने बनारसी पण्डितको तरिकाजस्तो मात्र हुन्छ ।
अबको वैज्ञानिक समाजवाद विगतमा अभ्यास गरिएको जस्तो निषेधकारी तरिकाले निर्माण गर्न सम्भव छैन । अब निर्माण गर्ने वैज्ञानिक समाजवाद ज्ञान, सीप, दक्षता र सूचनाले समृद्ध मानिसहरूको स्वस्थ एवं इमानदार प्रतिस्पर्धाबाट निर्माण गरिनुपर्छ । व्यक्तिको सांस्कृतिक एवं चारित्रिक रूपान्तरण, प्रत्येक नागरिकलाई राज्यको समान सेवा, शिक्षा स्वास्थ्यजस्ता नैसर्गिक अधिकारमा समान पहुँच र उपलब्धता प्रतिस्पर्धात्मक समाजवाद निर्माणका प्रस्थान बिन्दु हुन सक्छन् । वैज्ञानिक विश्व दृष्टिकोण, सहकारी एवं सामूहिक प्रयासद्वारा निजी आवश्यकताको परिपूर्ति, प्रगतिशील आरक्षण, समावेशीमरण, सकारात्मक विभेद र लोक कल्याणकारी राजकीय कदमहरूको माध्यमबाट समाजवादतर्फ देशलाई उन्मुख गराउन सकिन्छ ।
संसारको कुनै शासन व्यवस्थाले प्रतिस्पर्धालाई निषेध गर्न सक्दैन । प्रतिस्पर्धा मानव स्वभाव हो । समाजवादमा मात्र होइन, साम्यवादमा पनि मानवमानवबीच स्वस्थ प्रतिस्पर्धा रहिरहन्छ । यो जन्मजात गुण भएकाले त्यसलाई नियन्त्रण गर्न खोज्नु कसैका लागि सुहाउने कुरो होइन ।
एकदलीय अधिनायकवाद लागु गरेर समाजलाई जबर्जस्ती नियन्त्रण गर्ने अभिलाषा बोकेर बहुलवाद र बहुदलीयताको विरोध गरिएको भए यो नेकपालाई मान्य हुँदैन । किनभने, बहुलवाद र बहुदलीयता नेकपा विचारका नाभि अर्थात् केन्द्र भाग हुन् । नेकपा विगतको माओवादी वा अहिलेको वैद्य माओवादी वा विप्लव माओवादीजस्तो किमार्थ हुन सक्दैन ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply