कांग्रेस–विवाद झनै चुलिँदो
काठमाडौं । जतिजति महाधिवेशन नजिकिँदै छ, नेपाली कांग्रेसभित्रको अन्तरद्वन्द्व झनै पेचिलो बन्दै गएको छ । आगामी फागुनमा चौधौं महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अहिलेसम्म आन्तरिक विवाद मिलाउन सकेको छैन । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच चर्किएको विवादले नयाँ–नयाँ रूप लिँदै गएको छ ।
महाधिवेशनकै एजेन्डामा छलफल गर्न कांग्रेसले आगामी असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठकको आह्वान गरेको छ । तर, वरिष्ठ नेता पौडेल पक्षधर भने केन्द्रीय कार्यसमितिको बैठकअगावै विगतका गल्तीहरू सच्याउनुपर्ने अडानमा रहेका छन् । वरिष्ठ नेता पौडेल समूहले विगतमा विधान, विधि र प्रक्रिया मिचेर गरेका निर्णयहरू सच्याउनुपर्ने माग गर्दै आएको छ । अस्ति सोमबार मात्रै पौडेल समूहले विगतका गलत निर्णयहरू सच्याउनुपर्ने माग राखी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र दर्ता गराएको छ । पदाधिकारी र केन्द्रीय सदस्यसमेत गरी २७ जनाले हस्ताक्षर गरेर ज्ञापनपत्र दर्ता गराइएको हो ।
महाधिवेशन नजिकिँदै जाँदा संस्थापन पक्षले विभिन्न विभाग गठन गरेपछि पौडेल समूह असन्तुष्ट बन्दै आएका छन् । पौडेल समूहको असहमतिका बीच संस्थापन पक्षले केही समयअघि २० वटा विभाग गठन गरेको थियो । कांग्रेसको विधानमा २८ विभाग गठन गर्ने उल्लेख छ । तर, संस्थापन पक्षले भने विधानलाई बेवास्ता गर्दै ४७ वटा विभाग गठन गर्ने तयारी थालेको छ । महाधिवेशनको मुखमा विभागको संख्या बढाइनु र धमाधम विभाग गठन गरिनुलाई पौडेल समूहले शंकास्पद रूपमा लिएका छन् । ती विभागहरूमा आफ्ना पक्षका कार्यकर्ताहरूलाई भर्ती गर्ने उद्देश्य रहेको भन्दै पौडेल पक्षले त्यसलाई महाधिवेशन कब्जा गर्ने संस्थापन पक्षको प्रयत्नको रूपमा अथ्र्याउँदै आएको छ ।
पौडेल पक्षले भने महाधिवेशनको प्रक्रियामा पार्टी गइसकेको हुँदा अहिले विभाग गठन गर्नु औचित्यपूर्ण नरहेको तर्क गर्दै त्यसको विरोध गर्दै आएका छन् । महाधिवेशन भएको चार वर्षसम्म पनि कुनै विभाग गठन नगर्नु र महाधिवेशनको मुखमा विभागहरू गठन गरेर आफ्ना कार्यकर्तालाई खुसी पार्ने देउवाको कार्यबाट पौडेल पक्ष क्षुब्ध बन्न पुगेका हुन् ।
देउवाको कार्यशैलीप्रति पौडेल पक्षधर पहिलादेखि नै असन्तुष्ट बन्दै आएका हुन् । विजयकुमार गच्छदारलाई कांग्रेसमा प्रवेश गराएर दर्जनभन्दा बढी केन्द्रीय सदस्य दिएपछि नै पौडेल पक्षधरले चित्त बुझाइरहेका थिएनन् । पछिल्लो समय महाधिवेशनको मिति तय भइसकेपछि राप्रपाका नेता सुनीलबहादुर थापालगायतलाई कांग्रेसमा प्रवेश गराएर आमन्त्रितसमेत गरी सातजना केन्द्रीय सदस्य दिने निर्णय भएपछि पौडेल पक्षधर संस्थापनप्रति झनै असन्तुष्ट हुँदै आएको छ । संस्थापनको पहलमा भित्रिएका गच्छदार र थापा देउवाकै सहयोगीका रूपमा उभिने भएका हुँदा पनि पौडेल पक्षधर असन्तुष्ट बनेको हो ।
पौडेल पक्षले संस्थापन पक्षको निर्णयविरुद्ध कदम उठाए पनि कांग्रेसमा तेस्रो धारका रूपमा चिनिने कृष्णप्रसाद सिटौला समूहले भने अहिलेसम्म कुनै प्रभावकारी कदम चाल्न सकेको छैन । संस्थापन पक्षको गतिविधिप्रति सो समूह असन्तुष्ट रहे पनि पौडेल पक्षले जस्तै कदम चाल्न चाहिरहेको छैन । पछिल्लो समय पौडेल पक्षले ज्ञापनपत्र बुझाउँदा पनि सिटौला पक्षले कुनै चासो दिएको छैन । तर, पौडेल पक्ष भने सिटौला पक्षलाई पनि सभापति देउवाविरुद्ध लगाउन प्रयत्नरत रहेको देखिन्छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply